काठमाडौँ । प्राइमरी इलेक्सनमा खस–आर्यतर्फ रास्वपामा पहिलो भएका रमेश पाँचौँमा, तेश्रोभएका विपिन पहिलोमा राखेको छ । यसरी उक्त पार्टीले समानुपातिक उम्मेदवार छान्ने नाममा कार्यकर्तालाई छारो हाल्ने काम गरेको पाइएको छ ।
रास्वपाले गरेको प्राइमरी इलेक्सन कार्यकर्तालाई छारो हाल्ने मेलो मात्र बनेको भन्दै उक्त पार्टी वृत्तमा असन्तुष्टि बढेको समाचार छ । सो पार्टीमा प्राइमरी इलेक्सनमा खस–आर्यतर्फ सबैभन्दा धेरै मत ल्याएका रमेश प्रसाईंलाई समानुपातिक सूचीको पाँचौँ नम्बरमा र तेस्रो नम्बरको मत पाएका विपिन आचार्यलाई पहिलो नम्बरमा उकालिएसँगै पार्टीको आन्तरिक रुपमा असन्तुष्टि बढेको हो ।
त्यसैगरी, खस–आर्य महिलातर्फ सबैभन्दा धेरै मत ल्याएकी रञ्जु दर्शानालाई दशौँ नम्बरमा र छैठौं नम्बरमा मत पाएकी प्रतिभा रावललाई पहिलो नम्बरमा ल्याएर राखिएको छ ।

विपिन आचार्य र प्रतिभा रावल दुवै सहकारी प्रकरणमा मुछिएको ग्यालेक्सी फोर के टेलिभिजनमा कार्यरत तथा रवि लामिछानेका निकट सहकर्मी भएको बताइन्छ ।
यसरी सबैभन्दा धेरै मत प्राप्त गरेका रमेश प्रसाईं र रञ्जु दर्शाना भने समानुपातिकबाट सांसद बन्ने सम्भावना गुमाउने अवस्थामा पुगेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालका छोरा सचिन ढकाल समानुपातिक सूचीमा छन् । उनी खस आर्यतर्फ सहमहामन्त्री विपिनकुमार आचार्यपछि दाेस्राे नम्बरमा परेका छन् । कुनै राजनीतिक पृष्ठभूमि नभएका ढकाल सिधै दाेस्राे नम्बरमा कसरी परे ? रास्वपा नेताहरूले प्रश्न उठाएका छन् ।
पूर्वराजदूत भीमकृष्ण उदासकी छोरी सुम्निता उदास पनि समानुपातिक सूचीमा छन् । उनी आदिवासी जनजाति महिलातर्फकाे तेस्राे नम्बरमा छिन् ।