काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) ले राष्ट्रपति रामचन्द्र पौडेललाई १३ बुँदे मागपत्र बुझाउँदै त्यसलाई पूरा गर्न १० दिने अल्टिमेटम दिएको छ ।
२०८२ पुस ९ गते बुधबार राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाउँदै माओवादीले उक्त माग पूरा नभए सडक सङ्घर्षमा जाने चेतावनी दिएको हो ।
महासचिव विप्लवको हस्ताक्षर रहेको सो ज्ञापनमा वर्तमान सरकार गठन गरी सर्वपक्षीय सरकार गठन गर्नुपर्ने, संविधानलाई संशोधन वा पुनर्लेखन गर्नुपर्ने, भदौ २३–२४ गतेको घटनाका दोषीलाई कारबाही गर्नुपर्ने, प्रत्यक्ष निर्वाचनबाट कार्यकारी प्रमुख चयन गरिनुपर्ने, वास्तविक सुकुम्बासीलाई जमिन उपलब्ध गराइनुपर्ने माग गरिएको छ ।
त्यस्तै, ज्ञापनमा भ्रष्टाचार छानबिनका लागि उच्चस्तरीय आयोग र न्यायालय गठन गर्नुपर्ने, पाँच सय र एक हजारका नोट खारेज गर्नुपर्ने, साम्राज्यवादी घुसपैठियामाथि कारबाही गरिनुपर्ने र साम्राज्यवादी सांस्कृतिक हस्तक्षेप बन्द गरिनुपर्ने माग राखिएको छ ।

