केरसिंह अदै, तौलिहवा ।
राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले शुसिला कार्की सरकार संकटमा परेको बताउनु भएको छ ।
भट्टले कपिलवस्तुको आयोजनामा पुस ४ गते शुक्रबार राजमो कपिलवस्तुको आयोजनामा सम्पन्न जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथिको आसनबाट सम्बोधनका क्रममा सो धारणा राख्नुभएको हो । कार्यक्रम जिल्लाको बानगंगा नगरपालिका स्थित सुठौलीमा सम्पन्न भएको थियो ।
‘जेनजी आन्दोलानलाई हाईजेक गरेर, जेनजीहरूको रगत माथि साम्राज्यवादीहरूको उद्देश्य पूरा गर्न बनेको असंवैधानिक शुसिला कार्की सरकार संकटमा परेको छ ।’, भट्टले भन्नु भयो– ‘यो सरकारले जेनजीको माग र साम्राज्यवादीहरूको माग पुरा गर्न नसकेको कारण शुसिला कार्कीले दलहरूलाई गुहार्न लागेका छन् ।’
भट्टले जेनजी र शक्ति केन्द्रहरूमा फाटो आएको कारण पनि यो सरकार असफल हुने दाबी गर्नु भयो । भारत, अमेरिका, दरबारको चलखेल, ठूला दलहरूको अदुरदर्शिताका कारण देश गम्भीर संकटमा फस्दै गएको भट्टको भनाई थियो । उपयुक्त निकास चुनाव नै भएको बताउँदै भट्टले– ‘अदालतमा संसद पुनर्स्थापनाको मुद्दा रहेको र संसद पुनर्स्थापना भए पनि संविधान र गणतन्त्र बच्ने छ ।’

प्रशिक्षण कार्यक्रममा जेनजी आन्दोलन, नयाँ पुस्ताको बारेमा प्रगतिशील पत्रकार संघ नेपालका केन्द्रीय सदस्य सशी सापकोटाले जेनजी भनेर अखिल नेपाल युवक संघलाई बुझ्नु पर्ने बताउनु भयो । नेपामा युवा विद्यार्थी अर्थात् जेनजी उमेर समूहले हरेक आन्दोलनमा अग्रणी भूमिका खेलेको इतिहासलाई प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा अखिल नेपाल किसान संघका केन्द्रीय उपाध्यक्ष शिव पौडेल, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार दधिराम आचार्य, अखिल नेपाल शिक्षक संघका केन्द्रीय सदस्य हिमलाल बेल्बासेको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा उपस्थित सबैलाई अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य नर बहादुर घर्तिले स्वागत गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष रामप्रसाद बेल्बासेले र सञ्चालन राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव केरसिंह अदैले गर्नु भएको थियो ।