महेन्द्रनगर । राष्ट्रिय जनमोर्चा कञ्चनपुरले सीमा समस्या र कोरोना नियन्त्रणसम्बन्धी समस्या समाधान गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । २०७७ असार २८ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्रीलाई ज्ञापन बुझाइएको हो ।
यसअघि राजमोले भारतद्वारा हुलाकी राजमार्ग निर्माणमा अवरोध पुर्याएको बेलौरी–८ पचुईस्थित निर्माणाधीन सडकको अवलोकन गरेको थियो भने जिल्लाभरका क्वारेन्टिनको वस्तुस्थिति अनुगमन गरेको थियो । ज्ञापनपत्र बुझाउँदै राजमो जिल्ला अध्यक्ष रामबहादुर कार्कीले दक्षिणी क्षेत्रमा भारतले अतिक्रमण गरेको क्षेत्रबारे जानकारी दिँदै नेपाली जनताले निर्बाध रूपमा आफ्नो जमिन उपभोग गर्न पाउने वातावरण बनाउन आग्रह गर्नुभयो ।
यस्तै, अस्तव्यस्त क्वारेन्टिन सुधार गर्न, पिसिआर परीक्षण बढाउन, कोरोना सङ्क्रमण विरुद्ध अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलगायतको बिमा गर्न, प्रभावकारी उपचारको व्यवस्था मिलाउन राजमोले माग गरेको छ ।
राजमो केन्द्रीय सदस्य एवं सुदूरपश्चिम इन्चार्ज मनोज भट्टको नेतृत्वको टिममा जिल्ला अध्यक्ष रामबहादुर कार्की, सचिव अहिमान थापा, सहसचिव लालबहादुर कुँवर, युवा नेता प्रशान्त थापा र जातीय समता समताका महासचिव गोविन्द विक सहभागी हुनुहुन्थ्यो ।