काठमाडौँ । नेकपा (एमाले) को एघारौँ नेतृत्व चयन महाधिवेशनको मतदान बिहीबार बिहानसम्म चल्ने देखिएको छ ।
गत १० घण्टादेखि जारी रहेको मतदानमा अहिलेसम्म एक हजार ७५ भोट मात्रै खसेको निर्वाचन सहजकर्ता समूहका अधिवक्ता प्रवल शर्माले जानकारी दिएका छन् ।
अझै आधाभन्दा बढी मत खस्न बाँकी रहेको छ । यही अनुपातमा मतदान भए अझै कम्तीमा पनि १० घण्टासम्म चल्ने अनुमान गरिएको छ ।
मतदानका लागि मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म थप भएको छ । सहभागीका लागि कुपनको व्यवस्था समेत गरिएको छ ।
कछुवा गतिमा मतदान
लामो मतपत्र र प्यानलको सूचीलाई भिडाएर मतदान गर्नुपर्दा मतदाताहरू लामो समय अल्मलिने गरेका छन् । त्यसले गर्दा मतदान कछुवा गतिमा चलेको हो ।
अध्यक्षका दुई प्रत्याशी केपी शर्मा ओली र ईश्वर पोखरेलले आआफ्नो प्यानल बनाएर प्रतिस्पर्धा गरिरहेकाले मतदाता प्यानलको सूची बोकेर मतदान गर्न जाँदा ढिलाइ भएको बताइन्छ ।
विद्युतीय भोटिङ मेसिनका सञ्चालक रामलक्ष्मणमध्येका रामले भने– ‘सुरुसुरु फोटो र नाम हेरेर मतदान गरेको भए चाँडै सकिन्थ्यो । यता सूची हेर्दै उता फोटो खोज्दै गर्दा ढिलाइ भइरहेको छ ।’
प्यानल सूचीविना मतदान गर्न गएकाहरूले आधा घन्टाभित्रै सिध्याउने तर सूची बोकेर गएकाले डेढ घन्टासम्म समय खपत गरिरहेको उनले जानकारी दिए ।
महाधिवेशनमा दुई हजार दुई सय ६३ मतदाता छन् । उनीहरूले छ सय ४२ उम्मेदवारबाट छानेर तीन सय एक पदका लागि मतदान गर्नुपर्छ । यही गतिमा मतदान हुँदा भोलि बिहान चार बजेसम्म सकिने रामले बताए ।