मोहनविक्रम सिंह ##
उपन्यासमा ठुलो सङ्ख्यामा नारी पात्र छन् । उनीहरूका चरित्रको बेग्लाबेग्लै प्रकारले चित्रण गरिएको छ । उनीहरूमध्ये प्रमुख पात्र कामरेड जलजला नै हुन् । उपन्यासमा उनको भूमिका अत्यन्त कम छ तैपनि उपन्यासको सुरुदेखि अन्त्यसम्म उनको उल्लेख गरिएको छ र त्यसरी पूरै उपन्यास नै सुरुदेखि अन्त्यसम्म उनको वरिपरि नै घुमिरहन्छ । त्यसरी उनी उपन्यासकी प्रमुख पात्र हुन् । त्यसका साथै उनी धेरै नै विवादित पात्र पनि हुन् किनभने उनले एउटा विवाहित र छोराछोरीको बाउसित प्रेम गर्दथिन् र त्यसका लागि पार्टीले उनीमाथि कारबाही पनि गरेको हुन्छ तर उनको चरित्रको अर्को महत्त्वपूर्ण पक्ष हो, उनी पार्टीकी एउटा कार्यकर्ता हुन् र उनले उनीसम्बन्धी सबै विवाद, पार्टीको कारबाही र जीवनको अत्यन्त कठिन परिस्थितिमा पनि उनको माक्र्सवादी–लेनिनवादी सिद्धान्त र पार्टीप्रतिको आस्था सधैँ कायम रहन्छ र मृत्युको अन्तिम दिनसम्म पनि उनी आफ्नो जिम्मेवारी पूरा गर्न सक्रिय भइरहन्छिन् ।
सुनन्दा उपन्यासकी अति महत्त्वपूर्ण महिला पात्र हुन् । उनी कुमाउँको सौका जातिकी युवती हुन् । पहिले उनी पर्वतारोही थिइन् । पछि उनले अल्मोडाको कौसानीको लक्ष्मी आश्रममा बसेर छात्रालाई अध्यापन गर्न थालिन् र गान्धीवादी भइन् । पछि उनी नयाँदिल्लीको जवाहरलाल नेहरू युनिभर्सिटीको शोधछात्रा बनिन् । पछि घटनाक्रमले उनी माक्र्सवादी–लेनिनवादी बन्दछिन् ।
उनी गान्धीवादी भएको अवस्थामा होस् वा माक्र्सवादी–लेनिनवादी भएको अवस्थामा, सधैँ उनी उच्चस्तरको सिद्धान्तनिष्ठ, कत्र्तव्यपरायण वा समाजसेवाको भावना वा त्यसका लागि आफूलाई सम्पूर्ण रूपले समर्पण गर्ने उच्च प्रकारको भावनाद्वारा प्रेरित भएकी हुन्छिन् । उनी उच्च प्रकारको सर्वहारा अन्तराष्ट्रवादको चेतनाद्वारा ओतप्रोत हुन्छिन् । अन्त्यमा उनले नेपाल कम्युनिस्ट पार्टीको सदस्यताका लागि दरखास्त दिन्छिन् र कामरेड भामा बन्दछिन् । वास्तवमा उनीविना उपन्यासको प्रवाह अगाडि बढ्न नै सक्दैन ।
विद्या रोका थबाङकी एउटी युवती हुन् । उनी थबाङबाट जलजलाका साथै लखनऊ आउँछिन् र त्यहाँ चिया पसल गरेर बस्ने आफ्नो बाउसित बसेर पढ्न थाल्छिन् र उच्च शिक्षा प्राप्त गर्छिन् । जलजलाको प्रभावले उनी कट्टर कम्युनिस्ट बनेकी थिइन् । उनको आग्रहका कारणले नै सुनन्दा जलजलालाई खोज्न नेपाल आएकी थिइन् र त्यही बेला उनी भैरहवा जेलमा पनि परेकी थिइन् । काठमाडौँ आएपछि एउटी सिडिओकी दुलहीसितको केही बेरको कुराकानीपछि उनी कम्युनिस्ट विरोधी बन्छिन् र उनले कामरेड जलजलालाई पनि घृणा गर्न थाल्दछिन् तर दिल्लीमा एउटा बस दुर्घटनामा उनको मृत्यु भएपछि उनलाई ठुलो पश्चात्ताप हुन्छ र उनले पुन: कामरेड जलजला र कम्युनिस्ट पार्टीलाई समर्थन गर्न थाल्दछिन् । त्यसरी उपन्यासमा यो देखाउने प्रयत्न गरिएको छ, कसैको कम्युनिस्ट पार्टीप्रति जति उच्च प्रकारको समर्थन भए पनि त्यस प्रकारको समर्थन सैद्धान्तिक स्पष्टतामाथि आधारित भएन भने सानो पनि हावाबाट त्यो खलबलिन सक्छ । त्यसैले कुनै सैद्धान्तिक परिपक्वताका कारण होइन, कामरेड जलजलाप्रतिको मायाको कारणले नै विद्यामा कम्युनिस्ट पार्टीप्रति उच्च प्रकारको आस्था तयार भएको थियो तर काठमाडौँमा दिव्या, जो एउटा सिडिओकी पत्नी थिइन्, सितको केही बेरको कुराकानी पछि उनी पूरै कम्युनिस्ट विरोधी भएकी थिइन् । जलजलाको मृत्युपछि उनमा कामरेड जलजला र कम्युनिस्ट पार्टीप्रति पनि पुन: तीव्र समर्थनको भावना उत्पन्न भएको थियो । त्यसरी कम्युनिस्ट पार्टीप्रतिको उनको समर्थन वा विरोधमा मुख्य रूपले उनको भावनात्मक पक्षले नै काम गरेको थियो ।
उजेली उपन्यासकी अर्की एउटी प्रमुख महिला पात्र हुन् । उनी पार्टीकी एउटा पेसेवर कार्यकर्ता थिइन् । उनी सधैँ पार्टीको काममा सक्रिय हुने गर्दथिन् । उनी कुनै बेला जेलमा पर्दथिन् वा कुनै बेला भूमिगत भएर पार्टीको काममा देशका विभिन्न भागमा पुगिरहन्थिन् । उनी उच्च प्रकारको क्रान्तिकारी स्प्रिटद्वारा प्रेरित थिइन् ।
दिव्या अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (छैठौँ) कि कार्यकर्ता थिइन् । उनकी दिदीको मृत्यु भएपछि उनको विवाह आफ्नो भिनाजु, जो सिडिओ पनि थिए, सित भएको थियो । आफ्नी दिदीले आफ्ना भिनाजुलाई पूरै भ्रष्टाचारमा लगाएर धेरै पैसा कमाएकोमा उनले धेरै गर्व गर्दथिन् र अब कम्युनिस्ट पार्टीमा काम गर्नेजस्तो कार्यलाई व्यर्थको कार्य ठान्दथिन् । उनको उदाहरणले नेपालमा कुनै बेला कम्युनिस्ट पार्टीमा वा वामपन्थी सङ्गठनमा काम गरेका व्यक्तिको पनि कसरी पतन हुने गर्दछ ? त्यो कुरामाथि प्रकाश हाल्ने प्रयत्न गरिएको छ ।
उपन्यासमा दुर्गा पौडेलको पनि चर्चा गरिएको छ । उनी १० वर्षकी बालिका हुन्छिन् तर उनमा उच्च प्रकारको जोस र उत्साह तथा ठुली भएपछि जलजला दिदीजस्ती क्रान्तिकारी बन्ने उत्साहले काम गरेको हुन्छ ।
थबाङका तुलकुमारी र उर्मिलाको पनि उपन्यासमा चर्चा गरिएको छ । उनीहरू दुवै जनाले पार्टीको भूमिगत कार्यमा उत्साहप्रद: प्रकारले मदत गर्ने गरेका हुन्छन् ।
उपन्यासमा गोरखपुरको मछली दफ्तरकी कुन्तीदेवी, बनारसकी शान्तीदेवीहरूको पनि चर्चा गरिएको छ, जसले पार्टीको सम्पर्क केन्द्रका रूपमा काम गर्ने गर्दछन् ।
उपन्यासमा पेरिसकी जुलियटको पनि चर्चा गरिएको छ । उनी वामपन्थी विद्यार्थी नेता र जीवन्त प्रकारकी फ्रान्सका महिला प्रतिनिधि थिइन् । उनले सधैँ फ्रेन्च साम्राज्यवादको विरोध गर्दथिन् ।
जर्मनीकी अर्चनाको पनि उपन्यासमा उल्लेख गरिएको छ । उनी भारतीय महिला थिइन् र पछि एउटा जर्मन मजदुरसित विवाह भएको थियो । एउटा विदेशीसित विवाह गरेको हुनाले उनका माइतीले उनलाई पूरै बहिष्कार गरेका थिए । उनले समाजवाद र कम्युनिस्ट पार्टीमाथि आस्था राख्दथिन् ।
भेलेन्टिना स्तालिनग्रादकी युवती थिइन् । उनी रुसको सेनामा उच्च पदमा काम गर्ने सैनिक अफिसर थिइन् । रुसमा समाजवादको पतन भएको र त्यहाँ पुँजीवादको पुन:स्थापना भएकोमा उनको मनमा तीव्र असन्तोष थियो ।
उपन्यासमा युनानको सोली गाउँका महिलाको पनि चर्चा गरिएको छ, जसले दुस्मनको आक्रमणबाट आफ्नो इज्जत बचाउन आफ्ना केटाकेटीसहित पहाडको शिखरबाट हाम फालेर जीवनको बलिदान दिएका थिए ।

उपन्यासमा उल्लेख गरिएकी अर्की महत्त्वपूर्ण पात्र लखनऊकी सरस्वती हुन् । उनले पहिले आफ्ना पतिले भारतीय स्वतन्त्रता सङ्ग्रामका लागि पूरै जीवन दिएकाले आफ्नो पतिलाई छाडेर माइत गएर बसेकी थिइन् तर पछि उनले आफ्नो पतिको स्वतन्त्रता सङ्ग्रामको कामलाई पूरै समर्थन गरेकी थिइन् । सुनन्दासित उनको कुनै नाता पर्दैनथ्यो तर उनले सुनन्दालाई आफ्नी छोरीजस्तै माया गरेर उच्च मानवीय गुणको परिचय दिएकी थिइन् । पछि अजित र सुनन्दाको विवाहको बेलामा शुभकामना दिने बेलामा अजितमा पनि उनका पतिमा जस्तो त्याग र सेवाको भावना भएको भनेर प्रशंसा गरेकी थिइन् । उनी गान्धीवादी थिइन् तैपनि उनकी भदै कम्युनिस्ट भएको भए पनि उनीप्रतिको उनको माया कायम रहेको थियो र अजितजस्तो कम्युनिस्टमा पनि उनले आफ्नो पतिको प्रतिबिम्ब भएको देखेकी थिइन् । त्यसले उनको चिन्तनमा भएको उदात्त विचारलाई बताउथ्यो ।
उपन्यासमा बेग्लाबेग्लै प्रसङ्गमा अरू पनि कैयौँ महिलाको चर्चा गरिएको छ† जस्तै कि ओखरकोटकी हेर्मी, कपिलवस्तुका दुर्गाकी आमा र दिदीबहिनी, त्यहाँको नजिकैको गाउँ बनकसियाका थारू महिला, अर्घाखाँची जुकेनाकी बुढी बज्यै र उनकी नातिनी, तुलसीदेवी, युनानका महिला गाइड, रुसकी भेलिन्टिनाकी आमा, नतासा आदि ।
उपन्यासले विभिन्न नारी पात्रको मात्र चर्चा गरेको छैन, नारी मुक्ति आन्दोलनबारे पनि उच्च दार्शनिक स्तरमा चर्चा गरेको छ । खास गरेर का. अजितको “कामरेड जलजला” भन्ने लेखमा त्यसबारे विस्तृत रूपले चर्चा गरिएको छ । त्यो लेखमा लेखिएको छ– ‘आजको समाजमा महिलाको अर्थ हुन्छ, दासताको जीवन ।’
महिला र दासता—दुवै एकअर्काका पर्यायवाची बनेका छन् । त्यस प्रकारको जीवनलाई स्वयम् उनीहरूले नै स्वाभाविक र न्यायपूर्ण ठान्छन् । महिलाको त्यस प्रकारको सोचाइलाई प्लेटोले “रिपब्लिक” मा चर्चा गरेका गुफाका मानिसको सोचाइसित तुलना गर्न सकिन्छ ।
प्लेटोले आफ्नो त्यो पुस्तकमा कल्पना गरेका छन्, केही मानिसलाई जन्मकालदेखि नै अँध्यारो गुफामा नै थुनेर राखिन्छ भने उनीहरू त्यही प्रकारको जीवनका लागि अभ्यस्त बन्छन् । त्यहाँबाट बाहिर जान चाहन्नन् । कसैले उनीहरूलाई बाहिर उज्यालोतिर लैजान खोजेभित्र अँध्यारो गुफातिर नै दगुर्दछन् । अन्धकारमा नै उनीहरूले आनन्द, सुख र सन्तोष प्राप्त गर्दछन् । प्रकाश उनीहरूका लागि असह्य हुन्छ । त्यसबाट उनीहरूले असीम दु:ख र पीडा अनुभव गर्दछन् । त्यही कुरा हाम्रो समाजका महिलाबारे पनि सत्य हो ।
त्यस सिलसिलामा उपन्यासमा लेखिएको छ– युगौँदेखि पुरुषको अधीन भएर दासताको जीवन बिताउने अभ्यास, त्यही प्रकारको जीवनलाई उचित ठहराउन बनेको धर्म, संस्कृति, संस्कारको असर, त्यही प्रकारको सामाजिक वातावरणमा विकसित हुँदै आएको मनोविज्ञान, चालचलन, रीतिरिवाज आदिका कारणले उनीहरूको सम्पूर्ण सोचाइ प्लेटोको अँध्यारो गुफामा बस्ने मानिसको जस्तो भएको छ । त्यही प्रकारको दासता र अर्धदासतामा महिलाहरू रमाउँछन् । स्वतन्त्रता वा समानताको विचारले उनीहरूलाई कष्ट र पीडा दिन्छ । उनीहरूलाई लाग्छ, नारीका लागि स्वतन्त्रता र समानताको अर्थ हो, उनीहरूको सम्पूर्ण जीवनको विनाश, बर्बादी, सत्यानाश, अधर्म र पाप ।
कुनै महिलाले त्यस प्रकारको जीवनबाट बाहिर निस्कन सङ्घर्ष गर्न थालेमा महिलाले नै त्यस प्रकारका प्रयत्नको विरोध गर्दछन् । निन्दा गर्दछन् । हाँसो उडाउँछन् । स्वतन्त्रता र समानताको दिशामा उठेको कदमलाई पछाडिबाट तान्ने प्रयत्न गर्दछन् । उनीहरूका त्यस प्रकारको सोचाइलाई अमेरिकाका दासको सोचाइसित तुलना गर्न सकिन्छ ।
उपन्यासमा अमेरिकाका दासमनोभावका महिलाको दास मानसिकतासित तुलना गर्दै त्यसबारे प्रकाश हालिएको छ । अमेरिकाका दासलाई यो कुराको चिन्ता थियो, दास प्रथा समाप्त भएमा उनीहरूको खानपिन वा जीवन निर्वाहको जिम्मेवारी कसले लिन्थ्यो ? त्यसैले उनीहरूले दास प्रथा उन्मूलनको विरोध गरेका थिए । सायद त्यही प्रकारको मनोभावद्वारा हाम्रा समाजमा महिला पनि ग्रसित थिए । अहिलेको पारिवारिक प्रथा वा पुरुषको प्रभुत्वमा नै उनीहरूले आफ्नो जीवन सुरक्षित भएको महसुस गर्दथे र महिला स्वतन्त्रतामा उनीहरूले गम्भीर प्रकारको खतरा भएको महसुस गर्दथे ।
उपन्यासमा जुन महिलाको तस्बिर खिच्ने प्रयत्न गरिएको छ, ती महिला न प्लेटोको अँध्यारो गुफामा बस्ने व्यक्तिजस्ती हुन्छिन्, न उनी अमेरिकाका दासजस्ती हुन्छिन् । त्यसको विपरीत उपन्यासमा यस्ती नारीको कल्पना गरिएको छ, जो जन्मजात रूपमा नै उच्च स्वतन्त्रताको भावद्वारा ओतप्रोत हुन्छिन् । उनलाई दासताको कुनै पनि भावनाले दु:ख पुर्याउँछ र उनी सधैँ त्यसका विरुद्ध विद्रोह गर्न तयार हुन्छिन् ।
त्यस सिलसिलामा उपन्यासमा लेखिएकोछ– जलजला शब्दले नारीको त्यही विद्रोही र क्रान्तिकारी स्वरूपको प्रतिनिधित्व गर्दछ । जलजला शब्दले नारीको त्यही प्रकारको जीवनको प्रतिनिधित्व गर्दछ । नारीको त्यस प्रकारको उच्च र आदर्श रूप । त्यो कुनै देश वा कालको सीमामा बाँधिएको हुन्न । त्यसकारण नारीको त्यस प्रकारको स्वरूपको शाश्वत र विश्वव्यापी महत्त्व हुन्छ । जलजलाको त्यस प्रकारको स्वरूपको महत्त्व वर्तमानसम्म मात्र सीमित हुन्न । त्यसको महत्त्व अतीतदेखि भविष्यसम्म फैलिएको हुन्छ । आदिदेखि अनन्तसम्म ।
उपन्यासमा प्लेटोको सामान्यको चर्चा गर्दै लेखिएको छ– “संसारका सबै मानिस मात्र होइन, सबै जीव वा पदार्थको पनि मूल आकृति दिव्यलोकमा बसेको हुन्छ । जब संसारमा लाखौँकरोडौँ प्रतिरूप हुन्छन् । कामरेड जलजलाको जुन स्वरूपको कल्पना गरिएको थियो, त्यो पनि सायद प्लेटोले बताएजस्तो कतै दिव्यलोकमा बस्ने नारकिो एउटा सामान्य वा मूल आकृति थियो, जसमा संसारमा लाखौँकरोडौँ प्रतिरूप हुन सक्दथे तर सायद त्यो कुरा पूरै सत्य थिएन । कामरेड जलजलाको मूल आकृतिलाई कुनै यस्तो रूपमा लिन सकिंँदैनथ्यो, जो संसारभन्दा बेग्लै दिव्यलोकमा बस्दथ्यो । प्लेटोको त्यो व्याख्याभन्दा अरस्तुको व्याख्या बढी सही हुन सक्दथ्यो । अरस्तुले पनि सामान्य वा मूल आकृतिको परिकल्पना गर्दथे तर उनको व्याख्याअनुसार त्यस प्रकारका मूल आकृति वा सामान्यहरू दिव्यलोकमा नबसेर सांसारिक प्राणी वा पदार्थमा नै समाहित हुन्थे । त्यस प्रकारको सोचाइले जलजलालाई दिव्य लोकबाट लौकिक संसारमा नै ल्याउँथ्यो र त्यो बढी प्रसन्नताको कुरा हुन्थ्यो ।
सुनन्दाको ध्यान का. अजितको लेखमा उल्लेख गरिएको हेगेलको अवधारणातिर गयो । उनले बताएका थिए कि मूल तत्त्व विचार नै हुन्छ तर त्यसमा हुने द्वन्द्वात्मक प्रक्रियाका दौरानमा विचार झन्पछि झन् परिस्कृत र उच्च रूपमा विकसित हुँदै जान्छ । हेगेलको त्यस प्रकारको सोचाइले मूल तत्त्व विचारलाई नै मान्दथ्यो । त्यसकारण त्यो सही थिएन । त्यही पनि उनी कुनै पदार्थ द्वन्द्वात्मक प्रक्रियामा गएर परिमार्जित वा विकसित हुँदै जाने र अन्तमा त्यसले उच्च रूपग्रहण गर्ने कुरा महिलाबारे पनि लागु हुन्थ्यो ।
त्यस सिलसिलामा उपन्यासमा लेखिएको छ– कुनै महिलामा जन्मजात रूपमा नै स्वतन्त्रता र समानताको आकाङ्क्षा हुन्छ । त्यसमाथि गरिने कुनै दमनका विरुद्ध स्वाभाविक रूपमा असन्तोष, विरोध, आक्रमण वा विद्रोहको भावना हुन्छ तर दूषित सामाजिक वातावरण, पुरुषप्रधान सामाजिक व्यवस्था, परम्परागत संस्कार, प्रचलनका कारणले महिलाको त्यो जन्मजात स्वभाव कुण्ठित हुन्छ । त्यसले आफ्नो स्वाभाविक रूपले विकास गर्न पाउँदैन ।
हेगेलले प्रकृति र विचारका बिचको सम्बन्धबारे प्रकट गरेको विचार अर्थात् मूल सत्ता विचार वा चेतनाको हुन्छ र पदार्थ विचारको मूर्त रूप हुन्छ भन्ने विचारले होइन तर कुनै पदार्थभित्र नै विचार वा चेतना अन्तर्निहित हुन्छ र त्यसमा (पदार्थ) मा हुने द्वन्द्वात्मक प्रक्रियाले चेतनालाई उच्चस्तरमा विकासका लागि विशेष भूमिका खेल्छ भन्ने सोचाइले हाम्रा लागि विशेष अर्थ राख्छ ।
उनको त्यो विचारले हामीलाई यो बुझ्न मदत गर्दछ, महिलामा जन्मजात रूपमा विद्यमान मूलभूत विशेषता, गुण वा भावनाले द्वन्द्वात्मक प्रक्रियाले विकास गर्दै गएर उच्चतम रूपमा विकास गर्न सक्दछ । त्यही प्रक्रियाका बिचबाट गएर उनीहरूमा दबेर बसेको मूल चेतना प्रस्फुटित भएर सामान्य नारी कामरेड जलजलामा बदलिन्छन् ।
हेगेलको दार्शनिक सोचाइले महिलाले चेतनाको विकासमा कैयौँ प्रकारले महत्त्वपूर्ण योगदान दिन्छ । हेगेलको दर्शनमा निषेधको पनि महत्त्वपूर्ण स्थान छ । महिलाहरू जीवनमा पनि निषेधले कति धेरै र महत्त्वपूर्ण भूमिका खेल्छ ? त्यसबारे उपन्यासमा विस्तृत रूपले प्रकाश हालिएको छ, जो यस प्रकार छ–
हेगेलको दार्शनिक मान्यताअनुसार कुनै पनि पदार्थ वा विचारको विकासमा निषेधले अत्यन्त ठुलो भूमिका खेल्छ । कुनै पनि विचार वा सत्ताभित्र स्वाभाविक रूपले नै अन्तर्विरोध अन्तर्निहित हुन्छ । तिनीहरूभित्र लगातार निषेधको प्रक्रिया चलिरहन्छ । त्यस प्रक्रियाले कुनै वस्तु वा विचारको सत्तालाई पूरै समाप्त गरिदिन्छ । त्यस क्रममा एउटा उच्च सत्ता वा विचार निर्माण हुन्छ ।
निषेधको प्रक्रियाले व्यक्तिको अहम्पन, विशिष्टता वा वैयक्तिकतालाई समाप्त पार्दै लैजान्छ । तिनीहरूका ठाउँमा सर्वव्यापकता, निर्वैयक्तिकता, सामान्य आत्मबोध वा आत्मचेतनाको विकास हुन्छ । त्यसरी विशेष सामान्यमा बदलिन्छ । त्यही कुरा नारीमा अन्तर्निहित गुण वा क्षमताबारे पनि भन्न सकिन्छ ।
जब प्रदूषित सामाजिक वातावरण वा व्यवस्था, परम्परागत संस्कार, प्रचलन, अन्धविश्वास, धार्मिक मान्यता, रूढिवादी नैतिकता, प्रतिगामी बन्धन, सङ्कुचित विचार, पिछडिएको भावनाको निषेधद्वारा महिलाको चेतनामाथि उठ्दै जान्छ र त्यसरी उनीहरूमा आत्मबोध वा आत्मचेतनाको विकास हुँदै जान सक्छ, त्यसपछि उनीहरूमा चिजलाई सङ्कीर्ण, वैयक्तिक र पूर्वाग्रहयुक्त प्रकारले हेर्ने दृष्टिकोणको अन्त हुन्छ । उनीहरूमा चिजलाई सर्वव्यापक, निर्वैयक्तिक र सामान्य प्रकारले हेर्ने विश्वदृष्टिकोणको विकास हुन सक्छ ।
आफूलाई, विश्वको सम्पूर्ण ऐतिहासिक विकासको प्रक्रिया विश्वभरिमा हुने उथलपुथल, परिवर्तन, संसारलाई बदल्न चल्ने क्रान्तिकारी सङ्घर्षको आधारमा चिजलाई हेर्ने, बुझन् सक्ने विश्वदृष्टिकोणको विकास हुँदै जान्छ । कामरेड जलजला त्यस प्रकारकी विश्वदृष्टिकोणयुक्त नारीको परिकल्पना हो । सबै वैयक्तिक र रूढिवादी सामान्यीकरणको उच्च चरणमा विकसित गरेकी महिलाको अवधारणा ।
प्लेटो वा हेगेलको दर्शनले जलजलाको अवधारणालाई बुझ्न केही मदत गर्दछ तर त्यो सीमित अर्थमा नै हुन्छ । प्लेटोले संसारका सबै व्यक्ति वा पदार्थलाई अवास्तविक ठान्दछन् किनभने उनका लागि सत्य दिव्यलोकमा बस्ने मूल आकृति वा सामान्य नै हुन्छ । त्यसैले प्लेटोको दर्शनलाई आधार बनाएर सोच्ने हो भने जलजलाको अवधारणा या त दिव्यलोकको वस्तु बन्दछ वा धर्तीमा त्यसको वास्तविक अस्तित्व हुन्छ ।
हेगेलका लागि विचार नै मूल तत्त्व हुन्छ र भौतिक तत्त्व विचारको द्वन्द्वात्मक प्रक्रियाका दौरानमा देखा पर्ने गौण वा अवास्तविक तत्त्व । त्यसैले हेगेलको दर्शनको आधारमा विचार गर्ने हो भने कामरेड जलजलाको कुनै भौतिक अस्तित्व हुँदैन वा भए पनि त्यो गौण र अस्थायी हुन्छ तर वास्तवमा कामरेड जलजलाको अस्तित्व कुनै दिव्यलोकमा होइन, धर्तीमा नै हुन्छ र उनको अस्तित्व वास्तविक नै हुन्छ । त्यसैले प्लेटो वा हेगेलको दर्शनले कामरेड जलजलाको वास्तविक अस्तित्वमाथि प्रकाश हाल्न सक्दैनन् । त्यसरी जलजला “विद्यममान संसार” र “त्यसभित्र काम गर्ने भौतिकवादी र वस्तुवादी नियम” सित सम्बन्धित हुन्छिन् ।
त्यस सिलसिलामा उपन्यासमा अगाडि लेखिएको छ : जलजलासम्बन्धी अवधारणा समाजको सम्पूर्ण स्थिति, त्यसमा अन्तर्निहित अन्तर्विरोध, द्वन्द्व, परिवर्तन र विकास, सम्पूर्ण शोषित, उत्पीडित र मिहिनेतकश जनताका अवस्था, समाजमा महिलाको असमान र पराधीन अवस्था तिनीहरूमा परिवर्तनको आवश्यकताको अनुभूति, क्रान्तिकारी परिवर्तनको आवश्यकताको अनुभूतिका सन्दर्भमा नै बुझ्नुपर्दछ । त्यो अर्थमा नै कामरेड जलजलासम्बन्धी अवधारणा प्लेटो र हेगेलको दर्शनभन्दा बेग्लै वास्तविक धरातलमा स्थापित हुनेछ ।
द्वन्द्वात्मक र निषेधको प्रक्रियाले महिलाको चरित्रको विकासमा महत्त्वपूर्ण भूमिका खेल्दछ । उनीहरूको स्तर निम्न स्तरबाट माथिल्लो स्तरमा उठ्दै जान्छ । सामान्यजस्ता देखिने महिलाको व्यक्तिमाथि उठ्दै जान्छ र त्यो क्रममा उनीहरू क्रान्तिकारी पनि बन्दै जान्छन् ।
त्यस सिलसिलामा उपन्यासमा लेखिएको थियो– द्वन्द्वात्मक वा निषेधको प्रक्रिया महिलामा देखा पर्ने क्रान्तिकारी चरित्र पनि के उनीहरूमा बीज रूपमा विद्यमान गुणको पुनरावृत्ति वा उच्चतम रूपमा विकास मात्र हो ? होइन । द्वन्द्व, अन्तरसङ्घर्ष वा निषेधको प्रक्रियाद्वारा उनीहरूका अगाडि विद्यमान सामाजिक अवरोधका विरुद्ध सङ्घर्षको क्रममा उनीहरूको क्षमता गुण, चरित्र वा नयाँ गुण, क्षमता वा शक्तिको विकास हुँदै जान्छ । गुणात्मक रूपले नै उनीहरू बेग्लै र नयाँ प्रकारका महिला बन्दै जान्छन् ।
त्यस प्रकारको क्रान्तिकारी प्रक्रियाद्वारा संसारमा छरिएका साधारण, चुल्होचौका र घरगृहस्थीमा कैद भएका पराधीनताको जीवन बिताउन बाध्य भएका महिलाको एउटा बेग्लै उज्ज्वल, गौरवपूर्ण, क्रान्तिकारी, महानतम् र श्रेष्ठतम् पक्षको उद्घाटन हुन्छ । उनीहरूका सधैँ निन्याउरा, दयनीय र हीन देखिने चेहरामा नयाँ प्रकारको ओज, तेज, सौर्य, शक्ति र आत्मा चम्कन थाल्दछ । उनीहरूका चेहरामा क्रान्तिकारी ज्वारभाटा उठ्न थाल्दछ । उनीहरूका कमजोर कदममा तुफानी वेग उत्पन्न हुन्छ । उनीहरूका डाडुपन्युँ मात्र चलाउने, जाँतो मात्र पिस्ने, कुचो मत्र बढार्ने हातले रातारात झन्डा फहराउन थाल्दछन् । मुस्किलले कसेका अगाडि बोल्न सक्ने उनीहरूका मुखमा इन्क्लाब जिन्दावादको गगनभेदी नारा घन्कन थाल्दछ, सारा संसारमा इन्क्लाब जिन्दावादको गगनभेदी नारा ।
संसारमा महिलाको एउटा विशाल सेना खडा हुन्छ, नयाँ प्रकारका महिलाको विशाल सेना । त्यो सेना संसारभरिमा मजदुर, किसान र सम्पूर्ण शोषितउत्पीडित जनताका साथ मिलेर एउटा विशाल प्रलयकारी सेनाका रूपमा बदलिन्छ । महिलाको त्यस प्रकारको सहभागिताका कारणले संसारभरिका मजदुर, किसान र सम्पूर्ण शोषितउत्पीडित जनताको वर्गसङ्घर्ष अजेय क्रान्तिकारी शक्तिमा बदलिन्छ । त्यसपछि महिला र पुरुषका बिचको सम्पूर्ण भेद समाप्त हुन्छ । सबै शोषितउत्पीडित, मिहिनेतकस र क्रान्तिकारी जनता, न महिला, न पुरुष । सबै क्रान्तिकारी जनता । एउटै स्वर, एउटै आवाज, एउटै कदम । एउटै नारा, इन्क्लाब जिन्दावाद !
त्यस सिलसिलामा उपन्यासमा अगाडि लेखिएको छ– त्यसरी बनेको महान् र प्रलयकारी शक्तिका अगाडि शोषण, उत्पीडन, अन्याय अत्याचार, असमानता, पराधीनतामाथि बनेको वा अडेको सम्पूर्ण संरचना पराजित हुन्छ । झुक्दछ । ध्वस्त हुन्छ । धरासायी हुन्छ । त्यसका ठाउँमा महिला र पुरुषका बिचमा मात्र होइन, सम्पूर्ण समाजमा पूर्ण स्वतन्त्रता, समानतामाथि आधारित, सबै प्रकारका शोषण, उत्पीडन, अन्याय, अत्याचार, पराधीनताबाट मुक्त एउटा नयाँ संसार निर्माण हुन्छ, स्वतन्त्र, सुखी तथा शान्त र सुन्दर संसार ।