काठमाडौं । नेकपा एमालेले विरोधका बिच विधान महाधिवेशनको निर्णय उल्टिएको छ । पदाधिकारी र स्थायी कमिटीको संख्या पुरानै कायम गरिएको भएता पनि विधान महाधिवेशनले पदाधिकारीको संख्या १५ र स्थायी कमिटी नै नराख्ने निर्णय गरेको थियो ।
अध्यक्ष केपी शर्मा ओलीले आजको बैठकमा पदाधिकारी बढाउनुपर्ने दबाब रहेको भन्दै केन्द्रीय कमिटीको आकार बनाउने प्रस्ताव राखेका थिए । सोही अनुसार अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव ३ र सचिव ७ जना बनाइएको छ । यसैगरी ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्युरो बनाइएको छ । यसरी जम्मा केन्द्रीय कमिटी ३०१ सदस्यीय बनेको छ । यसभन्दा पहिले पनि केन्द्रीय कमिटी ३०१ सदस्यीय नै थियो ।
गत भदौमा भएको विधान महाधिवेशनबाट २५१ सदस्यीय बनाउने व्यवस्था गरिएको थियो । त्यत्रो मिहिनेत र खर्च गरेर विधान महाधिवेशनबाट टुंगो लगाइसकेको विषयलाई अहिले फेरि संशोधन गर्न खोजिएको भन्दै कतिपयले विरोध जनाएका थिए । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बदलिएको परिस्थितिले अंक बढाउने बारे विरोध गरेका छन् । संख्या बढाउँदैमा एमालेको क्षमता बढ्ने के ग्यारेन्टी छ ? प्रश्न समेत गरे ।
यसअघि बिहानै सुरु गर्ने भनिएको बन्दसत्र सारेर ३ बजे पुर्याइएको हो । केन्द्रीय कमिटीको बैठकपछि प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले बन्दसत्र ३ बजेका लागि सरेको जानकारी दिएका हुन् ।