शिव पन्थी, खलङ्गा ।
नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले देशमा नयाँ जनवादी क्रान्तिको तयारीका लागि भ्रष्टाचार, अनियमितता तथा बेथितीको विरुद्ध व्यापक भण्डाफोरको आवश्यक रहेकोमा जोड दिनुभएको छ ।
महामन्त्री सिंहले सो धारणा २०८२ मङ्सिर २६ देखि पुस २६ सम्म सञ्चालन हुने गरी आजदेखि सुरु भएको अखिल नेपाल जनजाति सम्मेलनको साङ्गठनिक अभियान तथा राष्ट्रिय प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा राख्नुभएको हो ।
‘हामी देशभरको चुनावमा एक्लै जाने निर्णय गरेका छौँ । पैसा, झुट र भ्रमको विरुद्ध इमानदार राजनीतिक मार्गबाट अघि बढ्छौँ’ सिंहले भन्नुभयो– ‘गलत विचारलाई परास्त गर्दै प्रगतिशील विचारको विजय सुनिश्चित गर्नुपर्छ ।’
जनजाति सम्मेलनको अहिले आयोजित अभियानलाई महामन्त्री सिंहले क्रान्तिकै एक प्रकारको तयारी रहेको दाबीसमेत गर्नुभयो ।
यतिखेर सशस्त्र सङ्घर्ष होइन, जनआन्दोलनको चरण प्रमुख रहेको स्पष्ट पार्दै उहाँले सङ्गठनात्मक अभियानले पनि जनआन्दोलनलाई मदत पुग्ने धारणा उहाँको थियो ।
कार्यक्रममा विशेष अतिथि वामपन्थी नेता सुरेश थापाले साम्राज्यवादले देशमा निरन्तर द्वन्द्व भड्काई आफ्ना स्वार्थपूर्ति गर्न खोजेको र यसको विरुद्ध सबै प्रगतिशील शक्ति एकजुट हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
स्वर्गद्वारी नगरपालिका वडा नम्बर ३ जलुकेस्थित धर्मशालामा ‘सम्पूर्ण आदिवासी जनजाति एक हौँ, संविधान, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गरौँ, प्रतिगमन र साम्राज्यवादको विरोध गरौँ’ भन्ने मूल नारासहित सम्मेलनले एकमहिने कार्यक्रम आजदेखि आरम्भ गरेको हो ।
कार्यक्रमको अध्यक्षता जनजाति सम्मेलनका केन्द्रीय अध्यक्ष निमबहादुर बुढाथोकी मगरले र स्वागत मन्तव्य सम्मेलनका केन्द्रीय सल्लाहकार मीनराज रानामगरले गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन जनजाति सम्मेलन प्युठान जिल्ला अध्यक्ष नन्दराम पुनले गर्नुभएको थियो ।

कार्यक्रममा अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सचिवालय सदस्य दुर्गा खरेल, राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश समितिका सल्लाहकार वासुदेव पोखरेल, अखिल नेपाल युवक सङ्घका केन्द्रीय कोषाध्यक्ष कमल पौडेल, जनजाति सम्मेलनकी महिला उपाध्यक्ष उषा पुन, राजमो प्युठानका उपाध्यक्ष इमानसिंह खड्का, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका नेता गोवर्धन सुनार, रक्तिम सांस्कृतिक अभियानकी केन्द्रीय सदस्य बिन्दु परियार, अखिल नेपाल महिला सङ्घकी जिल्ला सदस्य कृष्णा रेग्मी, महिला सङ्घकै स्वर्गद्वारी नगर अध्यक्ष लक्ष्मी पन्थी, जातीय समता समाजका केन्द्रीय सदस्य सूर्य नेपाली, बुद्धिजीवी सङ्घ प्युठानका सदस्य रामबहादुर रोकाया, राजमो जिल्ला सदस्य गिरबहादुर गुरुङ, जनजाति नेता मानबहादुर जिएमले आतिथ्य रहेको थियो ।
मङ्सिर २६, २७ र २८ गते प्रशिक्षण कार्यक्रम सम्पन्न भएसँगै बाँकी २७ दिनसम्म स्वर्गद्वारी नगरपालिका र माण्डवी नगरपालिकामा विशेष अभियान सञ्चालन हुने आयोजकले जनाएको छ ।