मोहनविक्रम सिंह
उपन्यासमा लेखिएको छ– ‘बनारसको बर्माघाटबाट एउटा मोटरबोट गङ्गा नदीतिर लाग्यो । त्यसमा करिब ४० जना जन्ती थिए । आज त्यही मोटरबोटमा नै अजित र सुनन्दाको विवाह हुन थालेको थियो ।’
उपन्यासमा अगाडि लेखिएको छ– ‘अजित र सुनन्दा मोटरबोटको एउटा सिटमा बसेका थिए । सुनन्दाको एकातिर अर्चना र दुर्गा र अर्कातिर भेलेन्टिना र विद्या बसेका थिए । सबै जनाले आपसमा विभिन्न विषयमा कुराकानी गर्दै थिए । अजित र सुनन्दा चुपचाप थिए । उनीहरूको विवाह हुन थालिरहेको थियो । त्यसकारण उनी दुवै जना प्रसन्न थिए तर त्यो प्रसन्नताभित्र ठुलो दु:ख र पीडा पनि लुकेको थियो । जुन कुराले उनीहरूलाई सबैभन्दा बढी दु:ख पुर्याएको थियो, त्यो थियो कामरेड जलजलाको मृत्यु । त्यसरी उनीहरू दुवै जना एकैसाथ प्रसन्न पनि थिए अर्कातिर त्यसका साथै धेरै दुखी पनि ।’
विवाहको कार्यक्रम सुरु भयो । त्यहाँ उपस्थित कैयौँ अतिथिले दुलाहादुलहीलाई आआफ्ना शुभकामना दिँदै गए । जीवन शर्माले आफ्नो एउटा गीतद्वारा उनीहरूलाई शुभकामना दिए :
पानीमा खेल्ने माछी तिमी पौडी खेल्दै जाऊ
फुटेझैँ हुन्छ नदी कतै बगरहरूमा सुक्नलाई
टुटे झै हुन्छ नदी कतै ढाँडहरूमा लुक्नलाई
पानीमा खेल्ने माछी तिमी चाल्दै चाल्दै जाऊ
ज्वारभाटासँग जुध्नुछ भोलि भुमरीसँग खेल्दै जाऊ
सुखको सागर भेटिन्छ एकदिन यो दु:खी जीवन जेल्दै जाऊ
सागर भेट्न जाँदैछ नदी सँगैसँगै जाऊ
पानीमा खेल्ने माछी तिमी पौडी खेल्दै जाऊ
बिचमा कतै नहराऊ
सुनन्दालाई त्यो गीत सुनेपछि यस्तो लाग्यो, त्यो गीतले अजित र उनलाई नै कुनै सन्देश दिन खोजेको थियो । त्यो गीतले उनीहरूलाई नै सबै प्रकारका ज्वारभाटाका विरुद्ध सङ्घर्ष गर्दै अगाडि बढ्न आह्वान गरेको थियो ।
उनले मनमनै सोचिन्, त्यो गीत उच्च साहित्यिक कृति ता थियो नै, त्यसका साथै त्यो दार्शनिक महत्त्वको कृति पनि थियो ।
त्यो गीतको अन्तमा भनिएको थियो– बिचमा कतै नहराऊ । सुनन्दाले मनमनै प्रतिज्ञा गरिन्, म कहिल्यै पनि बिचमा कतै हराउने छैन ।
त्यसपछि बसन्त र उर्मिला दुलाहादुलहीलाई शुभकामना दिन अगाडि आए । बसन्त एउटा दृष्टिविहीन व्यक्ति थिए र उनले सडकमा गीत गाएर आर्जन गरेको पैसाबाट जीवन निर्वाह गर्दथे । उर्मिला अपाङ्ग महिला थिइन् र खोच्याएर हिँड्ने गर्दथिन् । उनले पनि सडकमा भिक मागेर जीवन निर्वाह गर्दथिन् । दुबै जना पति पत्नी थिए र उनीहरूको पहिले बनारसमा नै जलजला र सुनन्दासित परिचय र घनिष्ठता कायम भएको थियो ।
उर्मिलाले आफ्नो ब्यागबाट केही सामान निकालिन् । ती सामानमा राम्रोसित प्याक गरिएका दुईओटा प्याकेट थिए । तिनीहरूमध्ये एउटामा एउटा सल थियो भने अर्कोमा कुर्ता सुरुवाल । ती दुवै एउटै कलरका थिए, क्रिम कलरका थिए ।
ती उपहार देखेर सुनन्दा भावविह्वल भइन् । उनीहरूले सडकमा गीत गाएर जम्मा गरेको पैसाबाट नै ती उपहार किनेका थिए होलान् । दु:ख, गरिबी, कष्ट र अभावका बिचमा नै उनीहरूले ती उपहार किनेर ल्याएका थिए । त्यसैले ती बहुमूल्य उपहार थिए । उनले त्यो सल हातमा लिएर छातीमा टासिन् । ती उपहार बसन्त र उर्मिलाको उनीहरूप्रतिको आदर र प्रेमका प्रतीक थिए । त्योबेला उनी रुन मात्र सकेकी थिइनन् ।
बसन्तले दुलाहादुलही दुबै जनालाई शुभकामना दिँदै भने– ‘म दृष्टिविहीन व्यक्ति हुँ । त्यसैले मैले आँखाले बाहिर संसारलाई देख्न सक्दिनँ तर जुन मान्छेले आँखाले बाहिरको संसारलाई देख्न सक्दैन, उसले अन्तरात्माले सारा संसारलाई देख्दछ । बाह्य आँखाले बाहिरी संसारलाई मात्र देख्न सक्दछ तर अन्तरआत्माले मानिसको अन्तरआत्मालाई देख्न सक्दछ । त्यसैले मैले आँखाले देख्न नसक्ने भएकाले कामरेड जलजला र सुनन्दा बहिनीहरूको अनुहार देख्न सकेको थिइनँ । उहाँहरूको अनुहारमा कति समानता थियो वा भिन्नता थियो ? त्यो पनि मैले छुट्याउन सकेको थिइनँ तर बाहिरबाट उहाँहरूको अनुहार देख्न न
सके पनि उहाँहरू दुवै जनाको अन्तरआत्मालाई मैले राम्ररी देखेको थिएँ ।’
उनले अगाडि भन्दै गए– ‘ बाह्य रूपमा उहाँहरूको अनुहारमा कति समानता वा भिन्नता थियो । त्यो मलाई थाहा भएन तर जस्तो कि मैले पहिले पनि भनेँ, उहाँहरू दुवै जनाको अन्तरआत्माको एकै ठाउँमा घुलमिल भएको थियो । यस्तो अत्यन्त कम हुने गर्दछ । दुई जना जुम्ल्याहा दाजुभाइ वा दिदीबहिनीमा पनि त्यस्तो कमै देख्न पाइन्छ तर उहाँहरू दुवै जनाका अन्तरआत्मा पूरै नै एकअर्कामा मिलेका थिए । उहाँहरू दुवै जनाका बिचमा कुनै अन्तर गर्नु सम्भवै थिएन । अहिले जलजला बहिनी हाम्राबिचमा नभए पनि मैले आफ्नो अन्तरआत्माले छर्लङ्ग देखिरहेछु छु, सुनन्दा बहिनीको अन्तरआत्मामा जलजला दिदी बस्नुभएको छ । त्यसैले भन्न सकिन्छ, जलजलामा सुनन्दा बहिनी हुनुहुन्छ र सुनन्दामा जलजला बहिनी । दुवै जना एउटै हुनुहुन्छ । त्यसकारण यही सत्य हो । त्यसरी सांसारिक अर्थमा जलजला बहिनीको मृत्यु भएको भए पनि वास्तवमा उहाँ सुनन्दा बहिनीको रूपमा हाम्रा अगाडि जीवित हुनुहुन्छ । सायद तपाईंहरू सबैले त्यो कुरा देख्न सक्नुहुन्न तर मेरो अन्तर्आत्माले त्यो कुरा झलझली देखिरहेको छ ।’
त्यस सिलसिलामा उपन्यासमा अगाडि लेखिएको छ– बसन्तले उनलाई र कामरेड जलजलालाई एउटै बताएका थिए र उनीभित्र जलजलाको पनि अस्तित्व रहेको बताएका थिए । उनको त्यो भनाइले सुनन्दाको मनलाई धेरै नै मर्माहत बनाएको थियो ।
उनले आँखा उठाएर अजिततिर हेरिन् । अजितले पनि सुनन्दातिर हेरे । वसन्तको भनाइले उनको मनको जलजलाको मृत्युबाट पुगेको दु:खलाई धेरै कम पारिदिएको थियो । त्यो बेला उनलाई यस्तो लागिरहेको थियो, कामरेड जलजलाको मृत्यु भएको थिएन र सुनन्दा स्वयम् जलजलाको रूपमा उनका अगाडि आएकी थिइन् । उनले धेरै बेरसम्म एकटक लगाएर सुनन्दालाई हेरिरहे ।
त्यसपछि डा. जगदीशले दुलाहादुलहीलाई शुभकामना दिन थाले । उनले भने– ‘सुनन्दासित मेरो प्रेमको दु:खान्त कथा जोडिएको छ ।’
उनले अगाडि भन्दै गए– ‘मेरो उनीसितको दु:खान्त प्रेमको कथा एकतर्फी नै रहेको छ । मैले उनलाई प्रेम गरेँ र उनीसित विवाह गर्ने प्रस्ताव पनि राखेको थिएँ तर उनले मेरो प्रेम वा विवाहको प्रस्तावलाई नम्रतापूर्वक तर दृढताका साथ अस्वीकार गरिन् । उनीसँग विवाह गर्ने मेरो विचार थियो तर उनी गान्धीवादी थिइन् । म कम्युनिस्ट । त्यसैले उनले मेरो विवाहको प्रस्तावलाई सधैँ अस्वीकार गरिन् । नेपालबाट फर्कदा उनी माक्र्सवादी–लेनिनवादी भएकी रहिछन् । मलाई त्यो कुरा थाहा थिएन । पछि उनी मेरो विवाहको प्रस्तावलाई स्वीकार गरेर मसित विवाह गर्न रुस आइन् । म कम्युनिस्ट हुँ । कम्युनिस्टले आत्मालोचना गर्दछन् । मैले पनि केही नलुकाईकन आत्मालोचना गर्दछु ।’
उनले अगाडि भन्दै गए– ‘मेरो विचार थियो, उनी गान्धीवादी नै छिन् । म लामो समयदेखि कम्युनिस्ट पार्टीमा थिएँ र अहिले पनि भारतीय कम्युनिस्ट पार्टीको सदस्य छु तर उनीसित विवाह गर्नका लागि म माक्र्सवाद–लेनिनवाद र कम्युनिस्ट पार्टी छाड्न पनि तयार थिएँ । मैले उनीसित माक्र्सवाद पनि छाड्न सक्ने र आवश्यक पर्यो भने गान्धीवादी सिद्धान्त पनि अपनाउन सक्ने कुरा बताएँ । मैले यो कुरा पनि बताउँदै गएँ कि अब कम्युनिस्ट आन्दोलनको कुनै भविष्य छैन । म कम्युनिस्ट पार्टीबाट पनि अलग भएर उनलाई खुसी बनाउन जे पनि गर्न तयार छु ।
पूरै नै धनसम्पत्ति कमाउने काममा लाग्नेछु । मैले त्यो बनावटी कुरा गरेको थिइनँ । उनीसित विवाह गर्नको लागि म माक्र्सवाद र कम्युनिस्ट पार्टी पनि छाड्न साँच्चिकै तयार थिएँ तर मेरा कुराहरूको उल्टो असर परेछ । त्यही बेला उनले मलाई स्पष्टसित भनिन्, मैले तपाईंसित विवाह गर्दिनँ । मसित विवाह गर्न भनेर रुस आएकी मान्छेको त्यस प्रकारको कुरा सुनेपछि म आश्चर्यचकित भएँ । मलाई रिस पनि उठ्यो ।
मैले उनको विचारमा परिवर्तनको कारण सोधेँ । उनले अलिकति पनि नढाँटीकन सिधैँ भनिदिइन्– ‘मैले विवाह गरेपछि तपाईंलाई बताउँला भन्ने सोचेकी थिएँ । मैले अब माक्र्सवादी–लेनिनवादी दर्शनमा विश्वास गर्न थालेकी छु । गान्धीलाई मैले अहिले पनि सम्मान गर्छु तर अब गान्धीवादी दर्शनमाथि मेरो विश्वास छैन । मैले सोभियत संशोधनवादको पनि विरोध गर्छु र मैले माओत्सेतुङ विचारधारालाई समर्थन गर्न थालेकी छु ।’
उनले अगाडि भने– ‘उनको कुरा सुनेर म दङ्ग परेँ । त्यो थाहा पाएको भए त मैले उनीसित माक्र्सवाद र कम्युनिस्ट पार्टी छाड्ने कुरा गर्ने नै थिइन ।’
उनको कुरा सुनेर त्यहाँ बसेका मानिस गलल्ल हाँसे तर, उनले जन्ती हाँसेको कुराको ख्याल नगरीकन अगाडि भन्दै गए– ‘उनले मलाई स्पष्टसित भनिदिइन्, तपाईंको कुनै सिद्धान्त छैन । मसित विवाह गर्नका लागि माक्र्सवादी–लेनिनवादी सिद्धान्त छाड्न र गान्धीवादी हुन पनि तयार हुनुहुन्छ । यस्तो मान्छेसित मैले विवाह गर्न सक्दिनँ । मैले पार्टी र क्रान्तिका लागि आफ्नो सम्पूर्ण जीवन समर्पण गर्ने निश्चय गरेकी छु । पहिले गान्धीवादी हुँदा पनि त्यसका लागि मैले आफ्नो सम्पूर्ण जीवन समर्पण गर्ने निश्चय गरेकी थिएँ । अहिले मेरो विचारमा परिवर्तन भएर म माक्र्सवादी–लेनिनवादी बनेकी छु । कसैको विचारमा परिवर्तन हुनु गलत होइन तर त्यस प्रकारको परिवर्तन आस्थाको आधारमा हुनुपर्छ ।
सैद्धान्तिक मान्यताका आधारमा हुनुपर्दछ । कुनै पनि प्रकारको दबाब, भय, त्रास वा व्यक्तिगत स्वार्थका लागि विचारमा परिवर्तन गर्नु अवसरवाद हो तर तपाईंले कुनै सैद्धान्तिक आधार वा आस्थाका आधारमा होइन, मसित विवाह गर्नका लागि नै माक्र्सवादी–लेनिनवादी विचार छाड्ने वा गान्धीवादीसम्म हुने विचार प्रकट गर्नुभएको छ । यो चरम प्रकारको सिद्धान्तहीनता हो । त्यस्तो सिद्धान्तहीन व्यक्तिसित मैले विवाह गर्न सक्दिन ।’
उनले नढाटीकन आत्मालोचना गर्दै गए– ‘उनको विचार थाहा पाएपछि मैले उनलाई माक्र्सवाद–लेनिनवाद पनि मान्छु† खु्रस्चेभ र सोभियत संशोधनवादको पनि विरोध गर्छु† माओत्सेतुङ विचारधारालाई पनि समर्थन गर्छु भनेर धेरै सम्झाउने कोसिस गरेँ तर मेरो सबै कुरालाई उनले हाँसेर उडाइदिइन् । त्यसरी उनीसितको मेरो प्रेम दुखान्त रूपमा टुङ्गियो तर म उनीसित रिसाएको छैनँ । मैले सोचेँ, गल्ती मेरो नै हो । म साँच्चिकै ढुलमुल र अवसरवादी थिएँ । त्यसैले उनले मलाई अस्वीकार गरेकी हुन् । म उनका लागि योग्य थिइनँ । मैले उनलाई सामान्य युवती ठान्थेँ तर उनको व्यक्तित्व धेरै माथि उठेको रहेछ । उनी आफ्नो सिद्धान्त र उद्देश्यमा समर्पित छिन् । त्यसकारण मेरो मनमा उनीप्रति असीम अगाध श्रद्धा छ ।’
अन्तमा, उनले अजिततिर फर्केर भने– ‘तपाईं धेरै भाग्यमानी हुनुहुन्छ । तपाईंले सुनन्दाजस्ती सिद्धान्तनिष्ठ र सच्चा पत्नी पाउनुभएको छ । म उनका लागि उपयुक्त पात्र थिइनँ । त्यसैले मलाई उनले अस्वीकार गरिन् र अब मलाई लाग्दछ, उनले ठिकै गरेकी छिन् । तपाईंले अमूल्य रत्न पाउनुभएको छ । त्यसको सधैँ कदर गर्नुहोला । उनको कदर गर्न तपाईंले अरू केही गर्नुपर्ने छैन, सधैँ आफ्नो सिद्धान्त र उद्देश्यमा दृढ भएर लगातार अगाडि बढिरहनुहोला । तपाईंहरू दुवै जनाको सिद्धान्त र विचार मिल्दछन् । त्यसैले तपाईंहरूको जोडी आदर्श, क्रान्तिकारी जोडी बन्नेछ भन्ने कुरामा मलाई पूरा विश्वास छ र त्यसका लागि मैले तपाईंहरू दुवै जनालाई हार्दिक बधाई दिन्छु ।’
उनको मन्तव्यलाई सबैले राम्रो माने । जे भए पनि उनले केही नढाँटीकन इमानदारिपूर्वक आत्मालोचना गरेका थिए ।
डा. जगदीशको भाषण सकिएपछि सबै जनाले उभिएर ताली बजाए । त्यो ताली धेरै बेरसम्म बजिरह्यो । त्यो ताली सुनन्दाको सम्मानमा बजेको थियो । अहिलेसम्म सबै जनाले उनलाई सामान्य युवती मात्र ठान्थे तर डा. जगदीशको भाषणबाट सबैलाई यो ज्ञान भएको थियो कि उनी कति धेरै सिद्धान्तनिष्ठ महिला थिइन् । डा. जगदीश एउटा उच्च शिक्षा प्राप्त, घरमा सम्पन्न गढवाल र दिल्लीमा समेत घरहभएका र रुसमा ठुलो प्रोजेक्टमा काम गरिरहेका व्यक्ति थिए तर आफ्नो सिद्धान्त, आस्था र उद्देश्यका लागि उनले त्यस्ता व्यक्तिसित पनि विवाह गर्न अस्वीकार गरेकी थिइन् । स्वयम् डा. जगदीशको भनाइबाट थाहा भएको थियो, पार्टी र क्रान्ति तथा सर्वहारा वर्गको मुक्तिका लागि आफूलाई बलिदान गर्नेबाहेक अब उनको कुनै व्यक्तिगत उद्देश्य थिएन । उनको अजितसितको विवाह पनि त्यही प्रकारको क्रान्तिकारी सोचाइको कडीमा जोडिएको थियो ।
अहिले डा. जगदीशले जे कुरा बताएका थिए, ती सबै कुरा अजितलाई पनि थाहा थिएन । उनका (डा. जगदीशका) कुरा सुनेर सुनन्दाप्रतिको उनको प्रेम र आदर कैयौँ गुणा बढेर गएको थियो ।
का. चित्रबहादुर केसीले अजित र सुनन्दालाई शभकामना दिँदै भने– ‘मैले का. अजित र का. भामा दुवैलाई उहाँहरूको विवाहको उपलक्ष्यमा बधाई तथा शुभकामना दिन्छु । सुनन्दालाई केसीले कामरेड भामा भनेर उल्लेख गरेको सुनेर सबै जनाको मुखमा केही आश्चर्य र उत्सुकताको पनि भाव देखा पर्यो । उनीहरूका लागि त्यो नाम नयाँ र अपरिचित सम्बोधन थियो ।’
केसीले अगाडि भने– ‘सुनन्दाले का. जलजलालाई पार्टी सदस्यका लागि दर्खास्त दिनुभएको थियो । यो दु:खको कुरा हो, अब उहाँ हाम्राअगाडि हुनुहुन्न तर उहाँले हामीलाई आफ्नो उत्तराधिकारी छाडेर जानुभएको छ । पार्टीको हालै बसेको पी.बी. को बैठकले उहाँलाई पार्टीको सदस्यता पनि दिने निर्णय गरेको छ । जलजलालाई हामीले भारत र अन्तर्राष्ट्रिय क्षेत्रमा सम्बन्ध बढाउनका लागि काम गर्ने जिम्मा दिएका थियौँ र त्यसैको लागि उहाँ दिल्ली जानुभएको थियो तर त्यहीँ उहाँको निधन भयो । उहाँलाई हामीले जुन जिम्मा दिएका थियौँ, त्यही जिम्मा अब हामीले का. भामालाई दिने ठेगान गरेका छौँ । सुनन्दा अब हाम्रा लागि कामरेड भामा हुनुहुन्छ ।’
त्यसपछि लीलानाथ कुसुमले भने– ‘अब दुलाहादुलहीले तपाईंहरूका अगाडि केही मन्तव्य राख्नुहुनेछ ।’
पहिले अजितले केही भन्न थाले– ‘मलाई धेरै भन्नु केही छैन । हाम्रो विवाहका लागि तपाईंहरूले जुन शुभकामना दिनुभयो, त्यसका लागि मैले तपाईंहरू सबैलाई धन्यवाद दिन चाहन्छु । विवाह निश्चय नै एउटा व्यक्तिगत विषय हो तर मेरो यो कोसिस हुनेछ र त्यही कुरा मैले सुनन्दाबाट पनि आशा गर्दछु, हाम्रो यो विवाह पार्टी र क्रान्तिको सेवाका लागि हुनेछ । का. भामाको साथ पाएपछि मलाई आफ्नो क्रान्तिकारी उद्देश्यतिर बढ्न अरू मदत पुग्नेछ भन्ने मैले विश्वास गरेको छु ।’
त्यसपछि लीलानाथ कुशुमले भने– ‘अब सुनन्दाले केही भन्नुहुन्छ । त्यसपछि हाम्रो विवाहको कार्यक्रम समाप्त हुनेछ ।’
सुनन्दाले भन्न थालिन्– ‘सर्वप्रथम त पार्टीले मलाई सदस्यको रूपमा स्वीकार गरेकोमा मैले पार्टीलाई धेरै धेरै धन्यवाद दिन्छु । मैले जलजला दिदीलाई चिन्दिनथेँ, त्यसमाथि म गान्धीवादी र उहाँ माक्र्सवादी–लेनिनवादी । हाम्रो विचारमा पनि धेरै अन्तर थियो तैपनि म उहाँलाई खोज्न नेपाल पसेँ । नेपालको हावाले, खास गरेर जेलको जीवनले मलाई माक्र्सवादी–लेनिनवादी बनाइदियो । त्यसका लागि म धेरै प्रसन्न छु । त्यही क्रममा मेरो का. अजितसित विवाह पनि भयो । त्यसलाई पनि मैले आफ्नो जीवनको ठुलो सौभाग्य मानेकी छु । मैले थाहा पाएकी छु, उहाँ एउटा समर्पित कम्युनिस्ट नेता हुनुहुन्छ । त्यसकारण उहाँसित विवाह हुन पाएकोमा मलाई धेरै खुसी लागेको छ । उहाँको नेतृत्व र मार्गनिर्देशनमा पार्टी र क्रान्तिको दिशामा लगातार अगाडि बढ्न मलाई मदत पुग्नेछ भन्ने कुरामा मलाई पूरा विश्वास लागेको छ ।’
‘का. अजितको जुन कुराले मलाई सबैभन्दा बढी आकर्षित गरेको थियो, त्यो थियो पार्टी र क्रान्तिप्रति उहाँको सम्पूर्ण रूपले समर्पणको भावना । त्यसकारण उहाँको त्यस पक्षमा बढीभन्दा बढी सहयोग पुर्याउनु मैले आफ्नो कर्तव्य ठानेकी छु । त्यसैले एउटा माक्र्सवादी–लेनिनवादीको नाताले पार्टी र क्रान्तिको त्यही कडीमा हाम्रो प्रेम टिकेको छ र विवाहपछि पनि त्यसका लागि सम्पूर्ण रूपले समर्पित भएर काम गर्ने मैले प्रतिबद्धता प्रकट गर्दछु ।’
‘मैले जलजला दिदीका कुराकानी उहाँहरू दुवै जनाका चिठीपत्र र अजितजीको डायरीबाट पनि यो बुझेकी थिएँ कि उहाँ पार्टी र क्रान्तिप्रति पूरै समर्पित र एउटा कटिबद्ध कम्युनिस्ट हुनुहुन्छ । जलजला दिदीको प्रेमले उहाँको त्यो काममा धेरै मदत पुर्याएको थियो । मैले मनमनै निश्चय गरेँ, जलजला दिदीको अभावमा मैले त्यो जिम्मेवारी पूरा गर्नुपर्छ र त्यस प्रकारको कुरा सोच्दासोच्दै मैले उहाँलाई कहिल्यै नदेखेको, नचिनेको र एउटा अज्ञात व्यक्तिलाई मनमनै प्रेम गर्न थालेँ । त्यसपछि उहाँलाई खोज्न म एउटा अनिश्चित यात्रामा निस्केँ । त्यो बेला मलाई उहाँको वास्तविक नाम र ठेगानासम्म थाहा थिएन तैपनि मैले सारा संसारको चक्कर लगाएर भए पनि आकाशपाताल गरेर भए पनि उहाँलाई पत्ता लगाउने दृढ सङ्कल्प गरेकी थिएँ । अन्तमा मैले जलजला धुरीमा उहाँलाई फेला पारेँ ।’
केही रोकिएर उनले भनिन्– ‘का. केसीले मलाई का. भामाको रूपमा परिचय दिनुभएको छ । त्यो रूपमा पार्टीको जिम्मेवारी पूरा गर्न मैले पूरै प्रयत्न गर्नेछु ।’
उनले एकपल्ट मोटरबोटमा बसेका सबै जन्तीलाई हेरिन् । त्यसपछि केही बेरसम्म घोरिएर अजितलाई हेरिन् । त्यसपछि उनले आँखा उठाएर आकाशतिर हेरिन् । त्यसरी सायद उनले आफ्नो विवाहका लागि कामरेड जलजलाको शुभकामना खोजिरहेकी थिइन् । त्यसपछि उनले भनिन्– ‘मैले भामा मात्र होइन, का. अजितकी जलजला भएर पनि उहाँको पार्टी र क्रान्तिको काममा जीवनभरि साथ दिनेछु ।’
‘सुनन्दाको त्यो मन्तव्य सुनेपछि अजितले आफूलाई रोक्न सकेनन् र उनले बसेको ठाउँबाट उठेर गएर सुनन्दालाई अँगालो हालेर भने– ‘का.
जलजला !’ सुनन्दाले पनि उनलाई अँगालो हाल्दै भनिन्– ‘का. अजित !’ त्यसपछि उनले पुन: भनिन्– ‘मेरो अजित ।’ त्यसपछि उनले अजितलाई अरू जोडले अँगालोमा कस्दै भनिन्– ‘माई डियर कामरेड अजित ।’
मोटरबोट सुस्तसुस्त गङ्गाको पल्लो तिरतिर गइरहेको थियो ।
(नोट : यो सामग्री पहिले पहिले नै आएको थियो तर कतै मिसप्लेस भएर अस्तिको आइतबार दिन छुटेको थियो ।)