काठमाडौँ । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले भदौ २३ भन्दा अघि प्रतिगामी खतरा मुख्य रहेकोमा अहिले राष्ट्रियतामाथिको सङ्कट पनि गम्भीर बनेको धारणा व्यक्त गर्नुभएको छ ।
अन्तर्राष्ट्रिय नेपाली एकता समाजद्वारा २०८२ मङ्सिर १९ गते अबेर राति सम्पन्न भर्चुअल प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिको रूपमा प्रशिक्षण दिँदै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।
‘पहिले देशमा मुख्य खतरा प्रतिगामीबाट थियो । प्रतिगामीहरू लोकतन्त्र र धर्मनिरपेक्षता उल्ट्याउन लागिपरेकै थिए’ उहाँले भन्नुभयो– ‘भदौ २३–२४ गतेको जेनजी आन्दोलनपछि नयाँ खतरा उत्पन्न भएको छ, राष्ट्रियतामाथिको खतरा । नेपालको राष्ट्रियतामाथि अमेरिकाबाट गम्भीर खतरा छ ।’
नेपालको मात्रै होइन, विश्वकै उत्पीडित राष्ट्रमाथि अमेरिकी साम्राज्यवादको खतरा रहेको स्पष्ट पार्दै महामन्त्री सिंहले दलाई लामाले सुशीला कार्की सरकारलाई बधाई दिनु नै नेपाली राजनीतिमा अमेरिकी खतराको प्रमाण भएको उहाँको दाबी थियो ।
भारत र अमेरिका दुवैले ‘एक चीन’ नीतिलाई समर्थन गरे पनि तिब्बत मामिलालाई चीनको विरुद्ध उपयोग गरिरहेको महामन्त्री सिंहको भनाइ थियो ।
‘अमेरिका र भारत दुवैले एक चीन नीति माने पनि दुवै देशले तिब्बतलाई चीनबाट अलग्याउन चाहान्छन्, तिब्बतमा दलाई लामालाई पुन:स्थापना गर्न चाहान्छन्’ उहाँले स्पष्ट पार्नुभयो ।
चीन विरोधी गतिविधिकै रूपमा नेपाल, भारत र विश्वभरि फ्री तिब्बत अभियान चलेको र त्यो अभियानले जेनजी आन्दोलनमा समेत घुसपैठ गरेको उहाँको बुझाइ थियो ।
पछिल्लो समयमा दक्षिण एसियामा चीनलाई घेर्ने राजनीति अमेरिकाले प्रायोजित गरेको बताउँदै उहाँले त्यसका लागि एमसिसी पारित गर्ने पुराना दलको भूमिका पर्याप्त नभएर राष्ट्रिय स्वतन्त्र पार्टीजस्तालाई स्थापना गरिएको उहाँले जिकिर गर्नुभयो ।
भदौ २३ गतेको घटनाका लागि ओली जिम्मेवार
प्रशिक्षणको क्रममा महामन्त्री सिंहले भदौ २३ गते गोली चलाउँदा १९ जनाको ज्यान जानुमा केपी शर्मा ओली नै जिम्मेवार रहेको बताउनुभयो ।
‘भदौ १९ गते गोली चलाउँदा जुन १९ जना युवाविद्यार्थीको ज्यान गयो, त्यसका लागि ओली सरकार नै जिम्मेवार छ’ उहाँको भनाइ थियो ।
अहिले ओलीले त्यसका लागि आफू जिम्मेवार नरहेको दाबी गरे पनि त्यसको पक्षमा ठोस प्रमाण दिन नसकेको उहाँको तर्क थियो ।
‘ओलीले भदौ २३ गते गोली चल्नुमा आफू जिम्मेवार नरहेको बताइरहेका छन्’ उहाँले भन्नुभयो– ‘प्रधानमन्त्रीजस्तो व्यक्तिले त्यत्तिकै म जिम्मेवार छैनँ भनेर हुँदैन, प्रमाण प्रस्तुत गर्नुपर्दछ । उनले प्रमाण प्रस्तुत गरे भने त्यसबारे गम्भीर प्रकारले विचार गरिनुपर्दछ तर त्यसभन्दा अघि ओली नै जिम्मेवार हुन्छन् ।’
जेनजी आन्दोलनको छानबिनका लागि बनेको समितिले बोलाउने सोधपुछमा आफू नजाने ओली अभिव्यक्तिको उहाँले भत्र्सना गर्नुभयो ।
‘ओलीले छानबिन समितिले बयानमा बोलायो भने म जान्न भनेका छन् । उनका युथ भोलेन्टियर फोर्सले पनि ओलीलाई बयानमा बोलाइयो भने लाखौँ युवा सिंहदरबार छिर्ने बताएका छन्’ महामन्त्री सिंहले भन्नुभयो– ‘यो तरिका गलत छ । छानबिन समितिसमक्ष बयान दिन ओली जानुपर्दछ ।’
उहाँले बयानमा जाँदा आफू फस्छु कि भन्ने भयले ओली बयानमा जान नखोजेको हुन सक्ने बताउनुभयो ।
चुनाव भए राजमो सहभागी हुने
प्रशिक्षणको क्रममा महामन्त्री सिंहले आगामी फागुन २१ गते चुनाव भए वैधानिक मोर्चा राजमोमार्फत मसाल त्यसमा सहभागी हुने बताउनुभयो ।
‘यदि फागुन २१ गते चुनाव हुन्छ भने हामीले त्यसमा सहभागिता जनाउने छौँ किनकि चुनाव उपयोग गर्ने हाम्रो नीति छ । चुनावलाई हामीले राजनीतिक भण्डाफोरको रूपमा उपयोग गर्दै आएका छौँ ।’
उहाँले अहिलेको चुनावमा एक्लै सहभागी हुने जानकारी पनि गराउनुभयो ।
राजनीतिक भण्डाफोरलाई प्रभावकारी बनाउन एकल रूपमै चुनाव जाने बताउँदै उहाँले अगाडि भन्नुभयो– ‘हामीले यसभन्दा अघि पनि कैयौँपटक एक्लै चुनावमा भाग लिने गरेका छौँ । त्यस क्रममा हामीले स्थानीय तह र प्रतिनिधिसभामा विजय हासिल गर्ने गरेका छौँ ।’
प्रतिनिधिसभा पुन:स्थापना भए स्वागत
महामन्त्री सिंहले प्रतिनिधिसभा पुन:स्थापनाको विषय अहिले अदालतमा विचाराधीन भएकाले त्यसको पक्षमा आन्दोलनमा नजाने बताउनुभयो ।
‘प्रतिनिधिसभा पुन:स्थापनाको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले हामीले त्यसको पक्षमा आन्दोलनमा जाँदैनौँ’ उहाँले भन्नुभयो– ‘तर यदि अदालतले प्रतिनिधिसभा पुन:स्थापना गर्दछ भने त्यसलाई हामीले स्वागत गर्नेछौँ ।’
संसद् पुन:स्थापना हुँदा पनि संविधान र लोकतन्त्रको रक्षा हुने भएकाले आफूहरू त्यसको पक्षमा उभिएको उहाँको स्पष्टीकरण थियो ।
कार्यकारी राष्ट्रपतिको विचारमा षड्यन्त्र
प्रशिक्षणको क्रममा महामन्त्री सिंहले कार्यकारी राष्ट्रपतिसम्बन्धी विचारमा अमेरिकाको षड्यन्त्र पनि सामेल रहेको आशङ्का व्यक्त गर्नुभयो ।
‘चीनको विरुद्ध अमेरिकी स्वार्थ अगाडि बढाउँदा एउटा मात्रै कार्यकारी राष्ट्रपति हुन्छ भने अमेरिकालाई सजिलो हुनेछ’ उहाँले भन्नुभयो– ‘त्यसैले अमेरिकाले पनि नेपालमा कार्यकारी राष्ट्रपतिको मागलाई समर्थन गर्नेछ ।’
प्रधानमन्त्रीय प्रणाली हुँदा प्रधानमन्त्रीका गलत नीतिलाई संसद्ले रोक्न सक्ने तर कार्यकारी राष्ट्रपति हुँदा त्यो अवस्था नरहने उहाँले बताउनुभयो ।
राष्ट्रपतिको निर्णय नै अन्तिम हुने यो प्रणालीले नेपालको राष्ट्रियतामाथि गम्भीर खतरा रहिरहने उहाँका विचार थियो ।
स्वयम् अमेरिकामा कार्यकारी राष्ट्रपति डोनाल्ड ट्रम्प शासनको उदाहरण दिँदै उहाँले भन्नुभयो– ‘अमेरिकामा तपाईंहामीले देखेकै छौँ, ट्रम्पले कसरी शासन सञ्चालन गरिरहेका छन् ? उनले संसारका विभिन्न देशलाई अमेरिकामा मिलाउने, यो वा त्यो भूभाग अमेरिकालाई चाहियो भनिरहेका छन् ।’
उहाँले अहिले अमेरिकामै पनि अहिले कार्यकारी राष्ट्रपतिको विकल्पबारे गम्भीर बहस भइरहेको जानकारी दिनुभयो ।
युवा पिँढीको भूमिका स्वागतयोग्य
महामन्त्री सिंहले जेनजी आन्दोलनलाई अमेरिका वा भारतले प्रयोग गरे पनि युवा पिँढीको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो ।
‘अहिले जेनजी आन्दोलनलाई अमेरिका र भारतले प्रयोग गरे तर त्यो कारणले युवा पिँढीको भूमिका कमजोर हुँदैन’ उहाँले भन्नुभयो– ‘त्यो कारणले युवा पिँढीको परिवर्तनकारी भूमिका कमजोर हुँदैन ।’
उहाँले सही विचार र सङ्गठनको आधारमा युवा पिँढी सक्रिय हुन सके देशमा आमूल परिवर्तन हुन सक्ने अपेक्षा व्यक्त गर्नुभयो ।
महामन्त्री सिंहले युवा पिँढीमाथि नै देश र जनताको आशा रहेकोसमेत बताउनुभयो ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले समेत प्रशिक्षण दिनुभएको सो कार्यक्रममा राजमो केन्द्रीय सल्लाहकार आनन्द शर्माको पनि आतिथ्य रहेको थियो ।
अन्तर्राष्ट्रियका अध्यक्ष शक्तमान बुढाथोकीको अध्यक्षता तथा महासचिव खुम रायमाझीको सञ्चालनमा अघि बढेको सो कार्यक्रमको अन्तमा शक्तमान बुढाथोकी, यमनारायण सापकोटा, धनराज शर्मा, कुलबहादुर बगाले, प्रेम आचार्य र नवीन बस्याले पूरक जिज्ञासा राख्नुभएको थियो ।