मेरो देशका हिमालहरू
आकाशको छातीमा टाँसिएका
निःशब्द गीतहरूजस्तै उभिएका छन्—
उनीहरूको मौनता भित्र
हजारौँ, लाखौँ शताब्दीयौँको इतिहास लुकेको छ।
टाढैबाट हेर्दा
ती हिमाल पराजित नहुने वीरहरू जस्ता देखिन्छन्,
हिउँका कवचले चम्किँदै,
घामको किरणमा स्वाभिमान फैलाउँदै ।
हो, त्यही हिमालहरू मुसार्न मन छ मलाई ।
मलाई कहिलेकाहीँ लाग्छ—
यदि म ती हिमाल नजिक जान सक्थेँ भने
सिंगो देशको धड्कन सुन्न सक्थेँ,
जुन नदी बन्दै बग्छ,
जुन हावा बन्दै गाउँका छाना–छानामा टक्किन्छ,
जुन पुतली बनि
फूलको बगैँचामा रमाइरहन्छ ।
म त्यो हिमाल मुसार्न चाहन्छु—
सार्न होइन,
छुन मात्र,
किनकि ती छोएर
म आफूभित्रको साहस भेट्टाउँन चाहन्छु।
हिमाल त स्थिर छन्,
तर उनीहरूले धेरै मनहरू चलाएका छन्—
धेरै भावनाहरूलाई सितलता दिइरहेका छन् ।
गाउँका बालकदेखि
थाकेका किसानसम्म,
उनीहरूले साहस सिकेका छन्
उनीहरूले आशा जगाएका छन्
उनीहरूको कठोर साँघुरो बाटोबाट ।
कठांग्रिने सिरोटोमा पनि न्यानो पाइरहेका छन् ।
साँझको उज्यालोमा
हिमालको छायाँ लामो हुन्छ,
जसरी मान्छेको सपना
समयसँगै फैलिन थाल्छ।
म पनि मेरो एउटा सपना बोकेको छु—
एक दिन ती हिमालको काखमा बसेर
देशलाई नजिकबाट महसुस गर्नेछु ।
मेरो देशका हिमालहरू
ढुंगामाटो मात्र होइनन्—
उनीहरू आशा हुन्,
उनीहरू पहिचान हुन्,
उनीहरू हाम्रो मनको उचाइ हुन् ।
र जब म भन्छु
मेरो देशको हिमाल मुसार्न मन छ मलाई
त्यो मेरो आफ्नो जरा छोइन लागेका हातहरू हुन्,
जुन हरेक पुस्ताले
गौरवसाथ बोकेका छन्।