मोहनविक्रम सिंह ##
सुनन्दा, अजित र खगुलाल गुरुङसहित थबाङ पुगेकी थिइन् । जलजला धुरीमा अजितलाई गिरफ्तार गर्न असफल भएपछि प्रहरी फर्केर गएका थिए । त्यसैले अब गाउँमा प्रहरीको कुनै डर थिएन ।
सुनन्दा वर्मन बुढाको घरमा बसेकी थिइन् । उनी, जस्तो कि उनको सधैँको बानी थियो, बिहानै उठिन् । त्यस सन्दर्भमा उपन्यासमा लेखिएको छ– आज “मन शान्त थियो । उनको मनमा प्रगाढ शान्ति थियो । एक प्रकारले सायद त्यो त्यस्तै अनुभव थियो, जस्तो कि “गीता” वा अन्य कैयौँ हिन्दु ग्रन्थमा लेखिएको हुन्छ, परमानन्दको अवस्था, जुन बेला कुनै पनि प्रकारको दु:खको अनुभँति नै हुँदैन, सुखको पनि कुनै अनुभँति हुँदैन । त्यो सबै प्रकारका दु:ख वा सुखभन्दा पनि धेरै माथिको अवस्था हो ।”
सुनन्दालाई लागिरहेको थियो, उनी त्यही प्रकारको परमानन्दको अवस्थामा पुगेकी थिइन् । उनले आफ्नो सबैभन्दा माया गरेको चिजलाई हराएकी थिइन् । सधैँका लागि हराएकी थिइन् । त्यो चिज थियो– जलजला तर उनलाई खुसी लागिरहेको थियो, आज उनी त्यही ठाउँमा थिइन् । जहाँ जलजलाले आफ्नो जीवनको सबैभन्दा महत्त्वपँर्ण पहिलो पाइला राखेकी थिइन् । त्यो ठाउँ थियो– थबाङ ।
उपन्यासमा अगाडि लेखिएको छ– “थबाङबाट उनको महाप्रस्थान सुरु भएको थियो र त्यो यात्रा अनन्तमा गएर बिलाएको थियो । सुनन्दाले आँखा उठाएर टाढाटाढासम्म हेरिन् । सबैतिर अँध्यारो थियो । गाढा अँध्यारो । उनले त्यस अँध्यारोमा जलजलालाई खोज्ने प्रयत्न गरेकी थिइन् तर उनले कतै पनि उनलाई भेट्याइनन् तैपनि उनलाई लाग्यो, उनी सबैतिर व्याप्त थिइन् । माथि आकाशमा । धर्तीदेखि दँर क्षितिजसम्म । सुदँर अन्तरिक्षसम्म । टाढाटाढासम्म फैलिएका सबै तारामण्डलसम्म हजारौँ, लाखौँ, करोडौँ, अरबौँ तारामण्डलसम्म उनी फैलिएकी थिइन् ।
जलजला उनका अगाडि थिइनन् । उनी कतै थिइनन् तर उनी सबैतिर थिइन् । उनी सबैतिर व्याप्त थिइन् । त्यो सोचाइले उनलाई धेरै आनन्द दिएको थियो । ठुलो सुखानुभँति ।”
जलजलाको धुरीमा उनको अजितसित भेट भएको थियो । त्यस सिलसिलामा उपन्यासमा लेखिएको छ– “त्यो अप्रत्याशित भेट थियो । का. अजितसितको उनको भेट सामान्य कुरा थिएन । उनका लागि अजित अपरिचित व्यक्ति थिएनन् । उनका लागि अजितको महत्त्व यस कुरामा थियो, उनलाई जलजलाले प्रेम गरेकी थिइन् । अर्कातिर अजित ती व्यक्ति थिए, जसले जलजलालाई प्रेम गरेका थिए । त्यसकारण उनका लागि अजित खालि अजित मात्र थिएनन्, अजित जलजला पनि थिए ।
उनको अनुहार, उनको व्यक्तित्व सायद उनको मनमस्तिष्कमा र आत्मामा पनि जलजला बसेकी थिइन् । त्यसैले उनका मनमा पनि अजितप्रति अगाध प्रेमको भावना पैदा भएको थियो । उनले अजितबाट बदलामा केही चाहँदिनथिन्† जस्तो कि उनले थबाङलाई प्रेम गर्दथिन् तर त्यसको बदलामा उनले केही चाहँदैनथिन् । जलजला धुरीलाई माया गर्दथिन् तर त्यसको बदलामा केही चाहँदैनथिन् । त्यही प्रकारले अजितलाई प्रेम गरे पनि उनले बदलामा केही चाहँदैनथिन् तर उनले अजितलाई प्रेम गर्दथिन् र जीवनभरि प्रेम गरेर रहन चाहन्थिन् । त्यति भए उनलाई पुग्थ्यो ।
अजितप्रतिको त्यो प्रेम जलजलाप्रतिको उनको प्रेमको रूपान्तरित प्रेम थियो । उनले जीवनभरि, जनमभरि अजितलाई प्रेम गरिरहन चाहन्थिन् । त्यस विचारले आज उनलाई धेरै नै प्रसन्नता दिइरहेको थियो । उनले ठुलो सुखको अनुभँति गरिरहेकी थिइन् । त्यही सुखानुभँतिका कारणले उनको मन परमानन्दको अवस्थामा पुगेको थियो ।”

उज्यालो भएपछि अजित, खगुलाल, हर्के, बर्मन बुढासहित कैयौँ साथी एकैसाथ भित्र पसेँ । अजितलाई देखेर उनले मनमनै सोचिन्, अब उनका लागि अजित पहिलेका अजित थिएनन् । उनी उनकी जलजलाका अजित थिए । त्यसकारण उनी उनका पनि अजित थिए । त्यो सोचेर उनलाई केही सङ्कोच लाग्यो । उनलाई केही लाज पनि लागेर आयो तर उनलाई लाग्यो, त्यो कुरा सत्य थियो, परम सत्य । अब कुनै कुराले कुनै शक्तिले पनि त्यो सत्यलाई उल्टाउन सक्दैनथ्यो ।
उनले मनमनै भनिन् र उनको मनको त्यस भनाइमा दृढता थियो– ‘अब अजित मेरा हुन् ।’ उनको त्यो भनाइमा दृढता थियो । उनले अजितको मुखमा हेरिरहेकी थिइन् । उनले सोचिरहेकी थिइन्, अजितले केही भनुन् तर उनी चुप थिए तर सुनन्दालाई लागिरहेको थियो, उनी बाहिरतिर चुप भए पनि वास्तवमा चुप थिएनन् । उनको अनुहार हेर्दा थाहा हुन्थ्यो, उनका मनमा धेरै कुरा खेलिरहेका थिए । उनले मनमनै भनिन्, ‘के उनले मेराबारे पनि केही सोचिरहेका होलान् ?’ अहिले त्यसबारे केही अनुमान गर्नु सम्भव थिएन तर उनले मनमनै भनिन्, ‘उनले मेराबारेमा केही सोचेको भए पनि वा नसोचेको भए पनि त्यो मेरो मतलबको विषय होइन । मलाई यत्ति थाहा छ र यत्ति भए मलाई पुग्दछ : जलजलाले उनलाई प्रेम गर्दथिन् र अजितले उनलाई प्रेम गर्दथे । त्यसकारण उनले पनि अजितलाई प्रेम गर्दथिन्…. ।
चिया नास्ता खाएपछि उनीहरू सबै जना विद्या रोकाको घरमा गए । त्यही घरमा जलजला बसेकी थिइन् ।
विद्याकी आमाले एउटा कोठाभित्रको एउटा खाट देखाउँदै भनिन्– ‘जलजला नानी सुत्ने गरेको खाट यही हो ।’
सुनन्दाले कैयौँ बेरसम्म त्यो खाटलाई हेरिरहिन् अनि उनी चुपचाप गएर त्यो खाटमा बसिन् । त्यो बेला उनलाई रुन मन लागेको थियो तर उनले जबर्जस्ती आफ्ना आँसुलाई रोकिन् ।
वर्मन बुढाले सुनन्दाको टाउकोमा हात राखेर भने– ‘सुनन्दा नानी, अब बढ्ता पिर नगर्नुस् ।’
खगुलालले सुनन्दालाई सम्बोधन गर्दै भने– ‘भामा ! का. भामा ।’
भामा ? का. भामाको सम्बोधनबाट उनलाई करेन्टले छोएजस्तो भएको थियो । अजितले सुनन्दाका काँधमा हात राखे । सुनन्दाले टाउको उठाएर आफ्नो काँधमा हात राखेर उनको छेउमा उभिएका अजितको मुखमा हेरिन् । दुवै जनाले एकअर्कालाई हेरिरहेका थिए तर उनीहरूको मुखबाट कुनै आवाज निस्किएको थिएन । उनी सुनन्दा थिइन् । सुनन्दाबाट उनी भामा बनेकी थिइन् ।
“का. भामा” अब अजितलाई यस्तो लागिरहेको थियो । उनी भामा वा का. भामा मात्र थिइनन्, उनका अगाडि जुन युवती बसिरहेकी थिइन्, उनी जलजला नै थिइन् । अजितको मुखबाट अकस्मात् एउटा आवाज निस्कियो, ‘जलजला’ ।
आफँलाई जलजला भनेर सम्बोधन गरेको सुनेर सुनन्दा एक प्रकारले आश्चर्यचकित भइन् । त्यो सम्बोधनबाट उनी धेरै खुसी र रोमाञ्चित पनि भइन् । उनी एक प्रकारले धेरै नै भावविह्वल पनि भएकी थिइन् ।
उनी खाटबाट झरिन् र अजितका अगाडि गएर उभिइन् । उनले अजितलाई अँगालो हाल्न चाहन्थिन् तर सकिनन् । त्यसका लागि उनी हिचकिचाइरहेकी थिइन् । अजितले आफ्ना अगाडि उभिएकी सुनन्दालाई सम्बोधन गर्दै भने– ‘का. जलजला !’ अजितले उनलाई अँगालो हाल्नका लागि आफ्ना दुईओटा हात सुनन्दातिर बढाए ।
त्यही बेला गाउँको एउटा केटो बिस्ने दगुर्दै आयो । आउँदाआउँदै उसले चिच्याएर भनेको थियो, ‘पुलिस !… पुलिस !… गाउँमा पुलिस… !”
केटाको कुरा सुनेर सुनन्दालाई अँगालो हाल्न उठ्न थालेका अजितका हात बिचमा नै रोकिए ।
पुलिसबाट बच्न उनीहरू सबै जना गाउँको दलित बस्तीको बाटो हुँदै उकालो लागे । केही बेरपछि उनीहरू ढाप्काडाँडामा पुगे । त्यहाँको थुम्कोबाट चारैतिरका दृश्य देखिन्थे । सुनन्दाले त्यहाँबाट चारैतिर हेरिन् । उनलाई यो कुराले सबैभन्दा बढी प्रसन्नता दिएको थियो, अब अजित गिरफ्तार हुने कुनै डर थिएन । उनी अजितको छेउमा उभिएकी थिइन् । त्यसरी अजितको छेउमा उभिन पाउँदा उनलाई धेरै खुसी लागिरहेको थियो । उनले मनमनै भनिन्, म सधैँ यसरी नै तपाईंको छेउमा उभिरहनेछु ।
बेलुका बास बस्न उनीहरू गुराँसेगाउँ पुगे । त्यहाँबाट थबाङ गाउँमा फर्केर अगाडि जाने सल्लाह भयो । त्यहाँबाट जहाँ गए पनि सुनन्दालाई कुनै चिन्ता थिएन । त्यस सिलसिलामा उपन्यासमा लेखिएको छ– “किनभने उनी अजितसँगै थिइन् । पहाड, जङ्गल, खोलानाला, देशविदेश वा भँमिगत जहाँ भए पनि अजितसित सँगै हुन पाए उनका लागि अब त्यो सबैभन्दा ठुलो प्रसन्नताको कुरा हुन्थ्यो ।”
थबाङ गाउँमा पठाएर फर्केर आएका साथीहरूले त्यहाँको समाचार बताए । पुलिसले राति गाउँभरि खानतलास गरेछन् । त्यहाँ कसैलाई फेला नपारेपछि उनीहरू फर्केर गएछन् । अजित र सुनन्दाहरू गुराँसेगाउँबाट अगाडि लागे । त्यस सन्दर्भमा उपन्यासमा लेखिएको छ– “सुनन्दा चुपचापसित हिँडिरहेकी थिइन् । आज उनी धेरै नै प्रसन्न र प्रफुल्ल थिइन् । उनको प्रसन्नताको कारण यो थियो, उनको अजितसित भेट भएको थियो र उनी उनीसित सँगै हिँड्न पाएकी थिइन् । उनलाई यस्तो अनुभँति भइरहेको थियो कि उनी आकाशमा उडिरहेकी थिइन् । उनलाई छिटोछिटो सम्पँर्ण पृथ्वीको परिक्रमा गरिरहेकोजस्तो लागेको थियो ।
हिँड्दाहिँड्दै उनको मनमा अकस्मात् आइन्सटाइनको विचार आयो । उनले समयको यात्रा गर्न सकिन्छ भन्ने सिद्धान्तको प्रतिपादन गरेका थिए । केही बेरपहिले उनको मनमा आकाशमा उडेर सम्पँर्ण पृथ्वीको अवलोकन गर्ने विचार आएको थियो तर,अब उनको मनमा सम्पँर्ण अतीत र भविष्यसमेतको यात्रा गर्ने इच्छा पैदा भएको थियो ।
आइन्सटाइनले भविष्यको यात्रा गर्न सकिन्छ भनेका थिए तर अतीतको यात्राबारे उनले केही भनेका थिएनन् वा त्यसो गर्नु सम्भव थिएन भन्ने उनको विचार थियो होला । सुनन्दाको मनमा अतीतको पनि यात्रा गर्ने विचार उत्पन्न भएको थियो ।
अतीत वा भविष्यको यात्रा गर्नका लागि शारीरिक रूपले नै अतीत वा भविष्यतिर जानु आवश्यक हुन्थ्यो तर अहिले उनी अजितसँगै हिँडिरहेकी थिइन् । अजितलाई छाडेर अतीत वा भविष्यतिर जाने कुराको उनले कल्पना पनि गर्न सक्दैनथिन् । त्यति मुस्किलले फेला पारेका अजितलाई उनले कसरी छाड्न सक्दथिन् ? अहिले तुरुन्तै “स्वर्ग” जान पाइन्छ भने पनि अजितलाई छाडेर त्यहाँ जान उनी तयार हुन सक्दैनथिन् ।
उनी अजितलाई छोडेर कतै जान चाहँदैनथिन् तर उनलाई अकस्मात् यस्तो लाग्न थाल्यो, अतीत र भविष्यका कैयौँ घटनाले स्वयम् उनलाई नै परिक्रमा गर्न थालिरहेका थिए । उनका अगाडि पेरिस कम्युन, लन्डनको एउटा पुस्तकालयमा माक्र्सले अध्ययन गरिरहेको, रुसमा लेनिनको नेतृत्वमा समाजवादी क्रान्ति सफल भएको, चीनमा माओको नेतृत्वमा लङमार्चको दृश्य, भियतनाम र क्युबामा क्रान्तिकारी सङ्घर्षका दृश्य, बोलिभियामा चे ग्वेभाराको नेतृत्वमा भएको गुरिल्लायुद्ध, प्राचीन रोमको स्पार्टाकसको नेतृत्वको दासविद्रोह, जर्मनीको हिटलर नेतृत्वको फासिवादी दमनको दृश्य, स्तालिनको नेतृत्वमा स्तालिनग्रादको युद्धमा हिटलरको सेनाको पराजय आदि दृश्य सुनन्दाका मनमा कैयौँ बेरसम्म घुमिरहे । संसारका विभिन्न देशमा ऐतिहासिक कालदेखि र अहिले पनि चलिरहेका कैयौँ क्रान्तिकारी सङ्घर्षका दृश्य पनि उनलाई आफ्नो वरिपरि घुमिरहेजस्तो लागिरहेको थियो ।
अब नेपालका कैयौँ दृश्य पनि उनका मनमा घुम्न थाले । पञ्चायती तानाशाही व्यवस्था, त्यहाँ भएका दमन, नेपालका जेलमा थुनिएका हजारौँ राजबन्दी र भारतमा शरणार्थी भएर बसेका राजनीतिक नेताकार्यकर्ताका दृश्य पनि उनको मनमा घुमिरहे ।
उनका अगाडि अकस्मात् एउटा यस्तो समाजको दृश्य देखा पर्न थाल्यो, जहाँ कुनै शोषण र उत्पीडन थिएन । युद्ध र अशान्ति थिएन । सबैतिर सुख र शान्ति, स्वतन्त्रता र समानताको वातावरण थियो । उनलाई यस्तो लागेर आयो, कहीँ त्यो नै साम्यवादी समाज त थिएन, जसका लागि कम्युनिस्टहरू संसारभरि लड्दै आइरहेका थिए ?
उनको मनमा अकस्मात् जलजलाले बताएको एउटा संस्मरणको रूपान्तरित दृश्य देखा पर्यो । जलजला र अजित जङ्गलको बाटो कतै जाँदै थिए । त्यही बेला उनीहरूले आफ्नाअगाडि एउटा बाघ उभिएको देखेँ । जलजलाले अजितलाई उचालेर टाढै फालिदिइन् र बाघमाथि झम्टिन गइन् । त्यो बेला उनीहरू दुवै जनाले बाघ देखेको कुरा सत्य थियो तर जलजलाले अजितलाई उचालेर फालिदिएको वा उनी बाघमाथि झम्टिन गएको दृश्य त्यो बेला उनको (जलजलाको) मनमा उठेको भाव मात्र थियो र वास्तविक रूपमा घटेको थिएन । सुनन्दालाई अकस्मात् यस्तो लागेर आयो, जलजला साँच्चै बाघमाथि झम्टिन गएकी थिइन् ।
त्यस सन्दर्भमा उपन्यासमा लेखिएको छ– “त्यो बेला उनलाई साँच्चिकै त्यो घटना आफ्नो अगाडि घटेकोजस्तो लागेको थियो र उनले आत्तिएर चिच्चाउँदै भनेकी थिइन्, जलजला दिदी ¤ सुनन्दाको त्यो स्वर उनीसित सँगसँगै हिँडिरहेका सबै जनाले सुने ।
अजितले सुनन्दातिर फर्केर सोधे– के भयो ? के भयो ? किन यसरी चिच्याएको ?
सुनन्दाले आत्तिदै भनिन्– बाघ ! बाघ ! जलजला दिदी… !
त्यो उनको दिवासपना नै थियो तर त्यसमा सत्यताको केही अंश पनि थियो । अजितले बताएका थिए, जलजला र उनी एकपल्ट सँगै शिवपुरबाट प्युठान दोबाटोको बाटो हुँदै प्युठान जान थालेका थिए । एउटा जङ्गलमा उनीहरू दुवै जनाले एउटा बाघ बसेको देखेका थिए । जलजलाले उनलाई तुरुन्तै त्यहाँबाट जान भनेकी थिइन् तर उनी जलजलालाई छाडेर गएका थिएनन् । उनी नगएको देखेर जलजला धेरै रिसाएकी थिइन् । पछि उनले भनेकी थिइन्, “बाघबाट बचाउन मलाई अजितलाई उचालेर परै फालिदिन मन लागेको थियो, त्यो बाघमाथि झम्टन जान मन लागेको थियो ।”
अब सुनन्दालाई यो कुरा थाहा भइसकेको थियो कि उनले भर्खरै जे देखेकी थिइन् वा बताएकी थिइन्, त्यो खालि उनको कल्पना वा भ्रम मात्र थियो । त्यो उनको दिवास्वप्न मात्र थियो । आफँ यसरी चिच्याएको सोचेर उनलाई लाज लागेर आयो र लाजले गर्दा उनको मुख रातो भयो ।
उपन्यासमा लेखिएको छ– “जलजलाको मृत्यु र अजितसित भेट—उनको जीवनका दुईओटा महत्त्वपँर्ण पक्ष थिए : एउटा दु:खद र अर्को सुखद । ती दुवै एकअर्काबाट भिन्न वा एकअर्काको विपरीत थिए तर अहिले उनको जीवनमा ती दुवै पक्ष एकैठाउँमा मिल्न पुगेका थिए । ती दुवैमध्ये कुन प्रधान थियो र कुन गौण ? कुन सत्य थियो र कुन असत्य ? सायद सत्यमा असत्य र असत्यमा सत्य समावेश थियो । सुख र दु:खका दुवै पक्ष आपसमा अभिन्न रूपले जोडिएका थिए वा मिलेका थिए ।
उनले आफ्ना अगाडि हिँडिरहेका अजितलाई हेरिन् तर सायद उनी अजित मात्र थिएनन् । उनी जलजला पनि थिए । सुनन्दालाई यस्तो लागिरहेको थियो, अजित र जलजला बेग्लाबेग्लै नभएर एउटै बनेका थिए । जलजलाको मृत्यु भइसकेको थियो तर उनी अजितमा मिलेकी थिइन् ।”
उपन्यासमा लेखिएको छ– “उनका लागि जलजला जीवित थिइन् । अजितको रूपमा उनी उनका अगाडि थिइन् । अजितको रूपमा उनी जीवित थिइन् । त्यो सोच्दासोच्दै उनका मनमा अजितप्रति अगाध प्रेमभाव पैदा भयो । सायद त्यो भाव मात्र थिएन । एउटा लहर नै थियो । सायद त्योभन्दा बढी एउटा तुफान र ज्वारभाटा नै थियो । अर्का शब्दमा त्यो जलजला नै थियो, ठिक जलजलाको नामअनुरूप, जलजला ।
जीवनका कैयौँ चक्कर, घुम्ती वा मोडहरूपछि उनको लामो यात्रा अजितमा गएर टुङ्गिएको थियो तर उनलाई लाग्यो, त्यो उनको यात्राको अन्त्य थिएन । त्यो नयाँ यात्राको थालनी थियो ।”
अहिले उनी अजितका पछाडिपछाडि हिँडिरहेकी थिइन् तर उनलाई लागिरहेको थियो, उनीसितको उनको यात्रा एउटा लामो यात्रा हुनेछ । सायद त्यो उनको व्यक्तिगत यात्रा मात्र हुनेछैन । पार्टी र क्रान्तिका कैयौँ घुम्ती, उतारचढाव वा उथलपुथलका बिचबाट हुँदै त्यो यात्रा अगाडि बढ्नेछ । जे जस्तो भए पनि त्यो यात्रा पार्टी र क्रान्तिका लागि हुनेछ । संसारभरका सम्पँर्ण शोषितपीडित जनता र सर्वहारा वर्गको मुक्तिका लागि हुनेछ । त्यसकारण उनलाई विश्वास थियो, त्यो यात्रा गौरवमय र सुखद हुनेछ ।
सुनन्दाको मनमा कैयौँ कुरा खेलिरहेका थिए । मानिसले आफ्ना कैयौँ योजना बनाउँछ । कुनै योजना वा जीवनको यात्रामा मानिसको इच्छाको महत्त्वपूर्ण भूमिका हुन्छ तर सायद मानिसको इच्छाले मात्र सबै कुराको निर्धारण हुँदैन । मानिसको आफ्नो क्षमता वा सीमाभन्दा बाहिरका कैयौँ कुराले पनि कुनै व्यक्तिको जीवनयात्राको गतिलाई निर्धारित गर्दछ ।
सुनन्दाले आफ्नै विषयमा विचार गरिन्, उनी कुनै दिन गान्धीवादी थिइन्, अब माक्र्सवादी–लेनिनवादी बनेकी थिइन् । अब उनले कहिल्यै पनि नदेखेको र सोच्दै पनि नसोचेको मान्छेलाई प्रेम गर्न थालेकी थिइन् । त्यो कुरा खालि उनको इच्छाले मात्र भएको थिएन । परिस्थिति, घटनाक्रम र परिबन्दले नै उनीहरूलाई एकअर्काको नजिक पुर्याएका थिए ।
उनले मनमनै सोचिन् र हाँसिन् पनि । जीवन कति विचित्र हुन्छ ? कति अनिश्चित हुन्छ ? सायद त्यो आफ्नो स्वतन्त्र इच्छाले मात्र चल्दैन र बाह्य परिस्थितिको पनि त्यसमा धेरै असर परेको हुन्छ । त्यसरी जीवन मानिसको आफ्नै इच्छा र बाह्य परिस्थिति दुवै कुराको सङ्गम हुन्छ ।
मानिसको जीवनमा दुखका सयौँ क्षण आउँछन् तर सायद जीवनमा सधैँ त्यस्तो हुने गर्दैन । कैयौँपल्ट सुखका क्षण पनि आउँछन् । सायद ती दुवै एकअर्कामा समाविष्ट वा रूपान्तरित हुने एउटा अलिखित नियम हुन्छ । सूर्योदय सूर्यास्तमा र सूर्यास्त सूर्योदयमा बदलिने प्राकृतिक नियमजस्तै ।
केही उकालाओराला र वनजङ्गलको बाटो काटेपछि उनीहरू एउटा चौपारीमा गएर बसे । हर्केले सुनन्दातिर फर्केर सोधे– ‘तपाईंको के विचार छ ? अब कता जाने विचार छ ? अब त्यो पनि सल्लाह गर्नुपर्यो ।’
सुनन्दाका लागि त्यो कठिन प्रश्न थियो । त्यो प्रश्नको जवाफ दिनु उनका लागि सजिलो थिएन । उनले धेरै मुस्किलले अजितलाई फेला पारेकी थिइन् । अब जहाँ गए पनि उनी अजितसित नै सँगै जान चाहन्थिन् तर त्यो कुरा खुलेर बताउनु पनि उनका लागि सजिलो थिएन । कुन नातासम्बन्धका आधारमा अजितसित सँगै जाने भन्ने ?
उनले कुनै जबाफ दिइनन् र खालि अजितको मुखतिर हेरिन् ।
उनले भनिन्– ‘पार्टीले मलाई जहाँ जान भन्छ, त्यहीँ जानेछु । अब मेरो जीवनको अर्को कुनै उद्देश्य छैन ।’
अजितले भने– ‘नेपालभित्र कुनै काम गर्न ता तपाईंलाई मुस्किल पर्नेछ । नेपालमा पञ्चायती तानाशाही व्यवस्था छ । राजाको निरङ्कुश शासन त्यसैले….”
सुनन्दाले कुरा काट्दै भनिन्– ‘सुनन्दाले कुरा काट्दै भनिन्, कुनै मुस्किल पर्दैन । मैले जहाँ गएर पनि जुन काम पनि गर्न सक्छु । म पहाडमा नै हुर्केकी मान्छे हुँ । पर्वतारोहणको बेलामा मैले अग्लाअग्ला पहाड र हिमाल चढेकी छु । त्यसो गर्दा मैले ठुला ठुला कष्टको सामना गर्नुपरेको थियो । त्यहाँ जुन बेला पनि मृत्युको खतरा हुन्थ्यो र मृत्युमाथि झम्टदै एकएक पाइला अगाडि सार्नुपर्दछ । त्यसले गर्दा कष्ट र प्रतिकँल परिस्थितिसँग खेल्ने मेरो बानी नै भइसकेको छ । मलाई कसैको डर लाग्दैन ।’
त्यस सिलसिलामा उपन्यासमा अगाडि लेखिएको – “उनलाई गान्धीवादले आफ्नो सिद्धान्त वा आस्थाका लागि आफ्नो सम्पूर्ण जीवन समर्पण गर्ने दिशा दिएको थियो । माक्र्सवादी–लेनिनवादी सिद्धान्तले उनलाई सर्वहारा वर्गको हित वा पार्टी र क्रान्तिको लागि आफूलाई सम्पूर्ण रूपले समर्पण गर्ने क्रान्तिकारी विश्वदृष्टिकोण दिएको थियो । ‘गीता’ बाट उनले निष्काम, अर्थात् फलको आशा नगरीकन कर्तव्यपथमा लगातार बढिरहने शिक्षा दिएको थियो । साङ्ख्य दर्शनले सबै प्रकारका सुख, दु:ख, लाभहानि वा मानअपमानबाट माथि उठेर दृढतापूर्वक अगाडि बढिरहने प्रेरणा दिएको थियो । त्यसैले अहिले उनले जे कुरा बताएकी थिइन्, त्यो उनको कुनै बनावटी, उत्तेजना वा आवेगमा आएर गरिएको कुरा थिएन ।”
अजितले कैयौँ बेरसम्म सुनन्दाको मुखमा एकटक आँखा लगाएर हेरिरहे । पहिले जलजलालाई थबाङमा पठाउने बेलामा उनको प्रश्नको उनले जुन प्रकारको जबाफ दिएकी थिइन्, सुनन्दाको जबाफमा पनि उनले त्यही प्रकारको साहस, दृढता र निर्भयताको भाव महसुस गरेँ । उनलाई यस्तो लाग्यो, उनका अगाडि स्वयम् जलजला नै उभिएकी थिइन् । उनलाई यस्तो लाग्यो, जलजला उनीबाट धेरै टाढा गएकी थिइन् तर सायद होइन, उनी स्वयम् सुनन्दाका रूपमा उनका अगाडि आएकी थिइन् । त्यो कुरा जे भए पनि उनलाई लागेर आयो सुनन्दा बेग्लै धातुले बनेकी मान्छे थिइन् । स्तालिनको शब्दमा उनी साँच्चिकै इस्पातले बनेकी मान्छे थिइन् ।