भागवत खनाल ##
‘कल्प’ का अर्थ धेरै छन् । तीमध्ये एउटा अर्थ ‘सानो’ अर्थात् ‘मिहीन’ कल्पना हुन्छ । मलाई सुरुमा सायद त्यही अर्थमा किताबको नाम राखेको होलाजस्तो लागेको थियो तर कथाकारले आफ्नो किताबलाई “समाजमा पछाडि पारिएका वर्गको आवाज” भनेर उल्लेख गरेको पाइएको हुँदा मैले यसलाई वर्तमान युगका विकृति, विभेद र विसङ्गतिका विरुद्ध शङ्खनादको रूपमा बुझेको छु ।
लघुकथा सानो हुन्छ तर यसमा कथातत्त्वको उपस्थिति हुनैपर्छ । कथा बन्नका लागि आवश्यक पर्ने सबै अवयवलाई संयोजन गर्न सकिएन भने लघुकथा लङ्गडो हुन्छ ।
म कथा विधाको पारखी नभई इमानदार पाठक मात्र हुँ । म कुनै कथामा कथातत्त्व समावेश भए/नभएको कुरा परीक्षण गर्न जान्दिनँ । परन्तु कथाले दिएको सन्देश कति समाजोपयोगी र सन्देशमूलक छ भन्ने कुरा मोटामोटी बुझ्न सक्छु ।
लेखक कल्पनाजीले बडो सहज रूपमा ससाना कथा लेखेको देख्दा मलाई रहर लाग्यो । थोरै शब्दमा पूर्ण प्रभाव पैदा गर्नु चुनौतीपूर्ण कार्य हो । कथानक, चरित्र र वातावरणलाई सटिक र तेजिलो तरिकाले वर्णन गर्न सक्नु चानचुने कुरा होइन । हरेक वाक्यलाई धारिलो र असरदार बनाउन नसकिने हो कि भन्ने भयले पनि म लघुकथा लेख्न डराउँछु ।
अचेल लघुकथाको अविरल धारा बहिरहेको देखिन्छ । छोटो हुने हुनाले दुई/चार मिनेटमै पढेर सकिन्छ । कुनै प्रकाशनगृहले नपत्याउला कि भन्ने चिन्ता गर्नु पनि परेन । सामाजिक सञ्जाल सेवा गर्न हरदम तत्पर छ । मनुष्यको हाल अस्तित्वमा रहेको प्रजाति (होमोसेपियन्स) कथा रच्न सिपालु छ । मनुष्यमा कल्पित कथानकमा विश्वास गर्ने स्वभाव पनि जन्मजात हुन्छ । त्यसैले साहित्यका अन्य विधाभन्दा कथा र उपन्यासले प्रसिद्धि हासिल गरिरहेका छन् ।
कल्पनाजीको यस सङ्ग्रहका जम्मा ७६ पृष्ठमा ५५ ओटा कथा अटाएका छन् । यसरी उहाँले थोरै शब्द खर्च गरेर एक बसाइमै पढेर सकिने ५५ ओटा सन्देश प्रसारण गर्न सफल हुनुभएको छ । यस मानेमा म उहाँलाई हार्दिक बधाई दिन चाहन्छु ।
पुस्तकको प्रकाशकीय मन्तव्यअनुसार “साहित्यका माध्यमबाट समाजको रूपान्तरण गर्न सकिन्छ भन्ने पूर्ण अठोटका साथ निरन्तर साहित्य साधनामा तल्लीन” कल्पनाको दृढनिश्चयप्रति हार्दिक सम्मान प्रकट गर्दछु । एउटा लेखक स्वयम् आफ्नो सृजनाप्रति विश्वस्त हुनु अत्यन्त जरुरी छ । पाठकको पालो त्यसपछि मात्र आउँछ ।
धेरै पाना भएको बाक्लो किताबले निकै चर्चा कमाउने र आकारमा सानो हुँदैमा महत्त्वहीन हुने होइन रहेछ । मैले कथाकार कल्पनाबाट यो पाठ सिकेको छु । नेपालगन्जबाट काठमाडौँ आउने सिलसिलामा प्रस्थानकक्षमा जहाजको प्रतीक्षा गर्दा र जहाज चढेपछिको पौने एक घन्टासमेतको समयमा सबै कथा पढेर भ्याएँ । प्रत्येक कथामा केही न केही सन्देश छाड्न सफल हुनुभएकोमा लेखकलाई मनमनै धन्यवाद पनि दिएँ ।
भ्रुणको लिङ्ग पहिचान गरेर गर्भस्थ छोरी मार्ने समाजलाई कडा व्यङ्ग्य गर्दै मन्दिरा नामकी पात्रको वाणीमा उहाँ भन्नुहुन्छ– “नारीविना सृष्टि चलाउने कुनै यन्त्रको आविष्कार गरेको छैन विज्ञानले ?” यो वाक्य एउटा निर्दयी मान्छेको समेत मथिङ्गल हल्लाउन काफी छ । प्रगतिशील साहित्यकी प्रखर प्रवक्ताझैँ लाग्ने उहाँ लेख्नुहुन्छ– “हामीले अर्घ चढाउने चन्द्रमामा उनीहरूले बस्ती बसालिसके । हजुर अझै पनि यस्ता तर्कहीन कुरामा अल्झिरहनु भएको छ ।”
चन्द्रकलाको जड्याहा लोग्ने पछारिएर मर्छ । चन्द्रकला कसैलाई फोनमा भन्दै थिइन्, “भए हजार शोक, नभए एक शोक । ऐँजेरु काटेजत्तिकै महसुस भएको छ अहिले ।”
जड्याहा, क्रोधी र कामुक पतिको निधनमा यस्तो अभिव्यक्ति दिने नारी पात्रमार्फत कल्पनाले त्यस्तो चरित्रका तमाम लोग्नेहरूलाई सावधान गराउनुभएको छ ।
लेखकको रजस्वलालाई पाप नभई उत्सवको रूपमा लिनुपर्ने सन्देश साह्रै मन पर्यो ।
‘इच्छा’ शीर्षक कथामा मरणासन्न पिताले सम्पूर्ण सन्तानलाई एकै ठाउँमा भेला पारेर भन्छन्– “मरेपछि मलाई पिण्डपानी दिनुपर्दैन । बाँचुन्जेल मिठोमसिनो खान दे बाबु ।”
यो अभिव्यक्तिले मेरो मनलाई निकै हल्लायो । कतै मेरै मनोभावलाई लेखकले आफ्ना शब्दमा उनेको त होइन ?
आफूलाई प्रगतिवादी भन्दै हिँड्ने कतिपय नरनारीका चित्र र चरित्रको भिन्नतालाई लेखकले मार्मिक तरिकाले उजागर गर्नुभएको छ । नारी दिवसका दिन सार्वजनिक मञ्चमा नारी अधिकारका पक्षमा जोड जोडले चिच्याउने पुरुष घरभित्र पुग्नेबित्तिकै श्रीमतीलाई कसरी थर्काउँछन् ? यसमा ज्वलन्त उदाहरण देख्न सकिन्छ । प्रगतिशील साहित्यिक कार्यक्रमका प्रमुख अतिथिले घर पुगेर पत्नीलाई आफ्नो गोडा धोएको “जल” खुवाएको घटना पढ्दा यस्तो पनि हुन्छ र ? भन्न मन लाग्यो तर मन लागेर मात्र के गर्नु ? आजको समाजमा पनि कतै न कतै यसको अवशेष छ ।
“पठन संस्कृति” शीर्षक कथा पढ्दा त म निकै हतप्रभ भएँ । एउटा कृति विमोचन कार्यक्रमका अतिथि वक्ताले “पुरानो कोट लगाऊ, नयाँ किताब किन” भन्ने थोरोको दृष्टान्त प्रस्तुत गर्दै सबैले किताब किनेर लेखकको परिश्रमको सम्मान गर्नुपर्ने प्रेरणा दिन्छन् तर आफू भने किताब राखेको स्टलतिरको बाटो गए किताब किन्नुपर्ला भन्ने डरले अर्को चोरबाटो खोज्दै हुन्छन् ।
अन्त्यमा, ‘अनुकरण’ शीर्षक कथामा श्रीमतीलाई काम गर्न विदेश पठाएर स्वदेशमा मस्ती गर्ने लोग्नेबारे बडो मार्मिक चित्रण छ । श्रीमतीले पैसा पठाएपिच्छे बाइक र केटी फेर्ने पिताको बानी देखेर छोरी साह्रै खिन्न थिइन् । उनले दश वर्षको भाइलाई सम्झाउँदै भनेकी थिइन्– ‘हाम्रा लागि आमाले धेरै सङ्घर्ष गर्नुभएको छ । राम्रोसँग पढ्नुपर्छ, नत्र दु:ख पाइन्छ ।’
भाइ भने पिताबाट प्रभावित छ । उसको कलिलो मनमा विवाह गरेपछि श्रीमतीलाई काम गर्न विदेश पठाएर स्वदेशमा मोजमज्जा गर्नुपर्छ भन्ने छाप परिसकेको छ ।
कल्पनाजीको शब्दमार्फत समाज सुधारको प्रयत्न स्तुत्य छ । साहित्यको काम समाजको यथार्थ स्वरूपलाई उजागर गर्दै असल कुराको जगेर्ना र गलतको उन्मूलन नै हो । यस उद्देश्यमा कल्पनाको कलम सफल छ । उहाँलाई हार्दिक बधाई र शुभकामना ।