काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र राजनीतिक संघर्ष चर्किएको बेला नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीको सक्रियता बढेको छ ।
दुई महिना अघि पनि प्रधानमन्त्री ओलीको राजीनामा मागेर विवाद बढिरहेका बेला चिनियाँ राजदूत यान्छीले नेताहरुसँग भेटघाट बढाएकी थिइन् । अहिले पुनः शक्ति संघर्षले नेकपामा चिरा पर्न लागेपछि यान्छिको भेटघाट बाक्लिएको छ ।
मंगलबार मात्रै राजदूत यान्छि र नेकपाका वरिष्ठ नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । भेटमा द्विपक्षीय हितका कुरा भएको भनिएपनि नेकपा भित्रको विवाद समाधानबारे चर्चा भएको बताइन्छ । कोरोना भाइरसको बढ्दो संक्रमण र नेकपामा विवाद बढ्दै जाँदा चिनियाँ राजदूत यान्छीको सक्रियता पनि उत्तिकै बढिरहेको छ ।
आइतवार साँझमात्र नेकपाका वरिष्ठ नेता तथा विदेश विभाग प्रमुख माधवकुमार नेपाललाई उनकै निवास कोटेश्वरमा पुगेर भेट गरेकी राजदूत होउले मंगलवार बिहान डल्लु पुगेर नेकपाका अर्का वरिष्ठ नेता खनाललाई भेट गरेकी हुन् ।
भारतीय मिडियाले चिनियाँ राजदूत होउ यान्छीले नेपालको सरकार सत्तारुढ दलमाथि पकड जमाएको भनेर प्रचार गरिरहेका बेला त्यसलाई पुष्टि गर्ने गरी यान्छिको सक्रियता बढेको हो ।
वैशाखमा पनि नेकपाभित्र राजनीतिक किचलो उत्कर्षमा रहेका बेला उनले प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र नेता नेपाललाई छुट्टाछुट्टै भेट गरेकी थिइन् । त्यसपछि नेकपाको विवाद मत्थर भएको थियो ।
यसअघि असार ५ मा नेकपाको स्कुल विभागले चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका पदाधिकारीसँग छलफल तथा प्रशिक्षण आयोजना गरेको थियो ।
यसअघि नेपालमा नयाँ राजनीतिक घटनाक्रम हुँदा भारतीय पक्षको सक्रियता बढ्ने गरेकोमा पछिल्लो समय चिनियाँ सक्रियता बढ्ने गरेको छ । यद्यपि, भारतीय राजदूतले पनि गोप्य रुपमा नेपालका राजनीतिक नेतृत्वसँग छलफल गरेको स्रोतको दाबी छ ।

