बुटवल । प्रदेश ५ का सांसद तारा जिसीले प्रदेशका जनताले दुई तिहाई अभिमत सहित निर्णय गर्ने अधिकार दिएपनि स्थाई राजधानी र नामाकरणको निर्णय गर्न नसकेको भन्दै प्रदेश सरकारको आलोचना गर्नुभएको छ । प्रदेश सभाको छैंटौ अधिबेशनको शुन्य समयमा धारणा राख्दै राष्ट्रिय जनमोर्चाका सांसद जिसीले नाम र राजधानी बारे प्रदेश सरकार अनिर्णयको बन्दी बन्नु प्रदेशका जनताको लागी दूर्भाग्य भएको टिप्पणी गर्नुभयो ।
नामाकरण र स्थाई राजधानीको विषयबारे निर्णय गर्ने अधिकार प्रदेश सभामा भएकोले दुई तिहाई समर्थनको सरकारलाई समय र पैसाको बर्बादी नगर्न सुझाव समेत दिनु भयो । यस सम्बन्धमा विज्ञहरुले दिएको सुझाव महत्वपूर्ण हुने उहाँले बताउनुभयो ।
‘हाम्रो प्रदेश नामाकरण र स्थाई राजधानी सम्बन्धि प्रतिवेदन र विज्ञहरुको सुझाव सरकारलाई बुझाएको पनि महिनौं बितिसक्यो । यो सरकारलाई निर्णय गर्न के ले छेकेको छ ?’ सांसद जिसीले प्रश्न गर्नुभयो ।
प्रत्येक अधिवेशनको सुरवातमा जस्तै यो अधिवेशनको प्रारम्भमा पनि यसैमा नामाकरण र स्थाई मुकाम टुङ्गाउँछौं भनी खोक्रो आश्वासन दिएको उहाँले बताउनुभयो । अस्थायी कार्यालयहरु र निवास आदीको ब्यवस्थापनमा वर्षेनी ठुलो धनराशी फजुल खर्च हुने गरेको जिसीको भनाई थियो ।
‘बैलाई स्थायी राजधानी आ–आफ्नै घर आँगनमा चाहिने प्रवृती संघीयताको विकृती हो भन्दै जनताको बीचमा तानातान र भेद–भावको विउ रोपिएको यो अवस्थाले देशलाई कहाँ पू-याउँछ ? जिसीले प्रश्न गर्नुभयो ।