• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

मनोगत संवाद–१५

"सन्दर्भ ‘कामरेड जलजला’ उपन्यास–३५ "

  •   आइतबार, कार्तिक ३०, २०८२ मा प्रकाशित
  • मोहनविक्रम सिंह ##

    Advertisement

    सुनन्दा युनानबाट फर्केर प्लेनद्वारा दिल्ली आइन् र त्यहाँबाट विद्यासँगै लखनऊ आइन् । उनी लखनऊको रेलवे स्टेसनमा उत्रँदा उनकी आमा, जेठा बा अनुपसिंह, सरस्वती, विद्याका बाबासमेत सबै जना सुनन्दालाई स्वागत गर्न स्टेसनमा आएका थिए ।

    त्यस सन्दर्भमा उपन्यासमा लेखिएको छ– “उनी जुन गहिरो व्यथा लिएर रुस गएकी थिइन्, त्योभन्दा कैयौँ गुना बढी मानसिक दु:ख र व्यथा लिएर नयाँ दिल्ली फर्केकी थिइन् । अब फुपूका अगाडि रोएर उनले आफ्नो मनको दु:ख हल्का गर्न चाहन्थिन् । उनलाई थाहा थियो, कामरेड जलजलाले अजितलाई नै सबैभन्दा बढी माया गर्दथिन् । दुवैका बिचको माया कति सच्चा र गहिरो थियो ? जलजलाका कुरा र उनले अजितलाई पठाएका पत्रबाट उनीबाट त्यो कुरा लुकेको थिएन । कामरेड जलजलाको मृत्युबाट उनलाई कति धेरै दु:ख लागेको होला ? उनलाई कति धेरै धक्का पुगेको होला ? उनको (कामरेड जलजलाको) मृत्युबाट उनलाई (सुनन्दालाई) ता त्यति धेरै दु:ख पुगेको थियो भने त्यसबाट अजितको अवस्था कस्तो भएको होला ? त्यो अन्दाज गर्न उनलाई मुस्किल पर्दैनथ्यो । उनको मनमा पुन: अजितप्रति गहिरो समवेदना र सहानुभूति उत्पन्न भएको थियो ।

    अजित नै जलजलाका सबैभन्दा नजिकका व्यक्ति थिए । त्यसैले उनी उनलाई भेट्न आत्तिएकी थिइन् । उनका अगाडि बसेर रुन चाहन्थिन् । कामरेड जलजलाको मृत्युबाट उनलाई पुगेको सम्पूर्ण दु:खलाई पोख्न चाहन्थिन् तर उनको पत्ता लागेको थिएन र उनलाई (अजितलाई) पत्ता लगाउने कुनै उपाय पनि थिएन । दिल्लीमा कामरेड जलजलालाई चिन्ने कैयौँ साथीद्वारा उनले अजितको पत्ता लगाउने प्रयत्न गरेकी थिइन् तर सबैले एउटै जबाफ दिएका थिए, हामीले अजित नाम गरेको कुनै मान्छेलाई चिन्दैनौँ… ।”

    घरमा पुगेपछि उनकी फुपू सरस्वतीले एउटा मान्छेले उनलाई मात्र दिनू भनेर खाममा बन्द गरेको चिठी दिइन् । त्यो पत्र अजितको थियो । त्यसमा लेखिएको थियो–

    प्रिय कामरेड सुनन्दा,

    म तपाईंलाई भेट्न आएको थिएँ तर भेट हुन सकेन । तपाईं दिल्ली नै हुनुहुँदो रहेछ । कामरेड जलजलाको डायरीमा तपाईंका बारेमा धेरै कुरा लेखिएको रहेछ । मैले सबै पढेँ र तपाईंका बारेमा मलाई धेरै कुरा थाहा भयो ।

    कामरेड जलजलाको अन्तिम संस्कारपछि मैले सबै डायरी पढेको थिएँ र उनको सबै कागजपत्र हेरेको थिएँ ।

    कामरेड जलजलाको डायरीबाट मलाई थाहा भएको छ, उनले तपाईंमाथि पूरा विश्वास गर्दथिन् । उनले हाम्रा कैयौँ व्यक्तिगत प्रसङ्गबारे पनि तपाईंलाई बताएकी थिइन् । त्यसरी कामरेड जलजला र मेरो सम्बन्धबारे तपाईंलाई सबै कुरा थाहा छ । त्यसकारण मैले आफ्नो कुनै व्यक्तिगतभन्दा व्यक्तिगत कुरा पनि तपाईंबाट लुकाउनु पर्ने आवश्यकता देखिनँ ।

    कामरेड जलजलाको नोटबुकमा तपाईंकी फुपूको ठेगाना थियो । त्यसको आधारमा मैले तपाईंकी फुपूको घर पत्ता लगाएँ ।

    जलजलाका कागजपत्रमा तपाईंले पार्टीको सदस्यताका लागि दिएको दर्खास्त पनि थियो । त्यसका लागि पनि मैले तपाईंसित कुरा गर्नुछ, म तपाईंलाई भेट गर्न धेरै नै उत्सुक छु । तपाईंलाई भेट्न पाउँदा मलाई धेरै खुसी लाग्नेछ । पछि मैले पुन: लखनऊमा आएर वा दिल्ली आएर तपाईंलाई भेट्नेछु ।

    अभिनन्दन सहित अजित

    त्यो पत्र पाएर सुनन्दाको मुख उज्यालो भयो ।

    उपन्यासमा अगाडि लेखिएको छ– “सुनन्दाले आफ्नी फुपूलाई सोधिन्, त्यो चिठी दिने मान्छे फेरि ता आउनुभएन ?

    आउनुभएको थियो रे ! म घरमा थिइन । केही कागज विद्याका बाबुकहाँ छाडेर जानुभएको छ रे ! तिमीलाई भेट्न दिल्ली जाने कुरा पनि गर्नुहुन्थ्यो रे ! तिमी विवाह गर्न रुस गएको कुरा थाहा पाएपछि फर्केर जानुभएछ ।

    उनले तुरुन्तै बुढा बाका घरमा गएर अजितले उनलाई दिन भनी छाडेका कागजपत्र ल्याएर आइन् र बेलुका सबै जना सुत्न गएपछि उनले ती कागज पढ्न थालिन् । ती कागजमा कामरेड जलजलाको मृत्युपछि अजितले लेखेको डायरी पनि थियो । सुनन्दाले त्यसलाई पढ्न थालिन् । त्यो डायरीमा लेखिएको थियो– मैले गाडी हिँड्ने प्रतीक्षा गर्दैछु तर मलाई यस्तो अनुभव भइरहेको छ, मेराअगाडि आफ्नो व्यक्तिगत जीवनमा प्रतीक्षा गर्नका लागि कुनै कुरा बाँकी रहेको छैन । जलजलाको मृत्युपछि मेरो जीवन शून्यजस्तो भएको छ । शून्य ! महाशून्य !”

    अजितको डायरीमा लेखिएका ती सबै कुरा कैयौँ बेरसम्म सुनन्दाको मस्तिष्कमा घुमिरहे । त्यो डायरीमा यो पनि लेखिएको थियो– मेरा व्यथाको मूल फुटेर बाहिर आउन सकिरहेको छैन । त्यो भित्रभित्रै गुम्सिरहेको छ । त्यसकारण त्यो झन् बढी असह्य भएको छ ।
    सुनन्दाले मनमनै सोचिन्, उनको जस्तै असह्य ! सायद उनकोभन्दा कैयौँ गुणा बढी असह्य !

    त्यो डायरीमा अगाडि लेखिएको थियो– सबैतिर जीवन छ । जीवनको स्पन्दन र प्रफुल्लता । बाहिरतिर हरिया खेत देखिन्छन् । हरिया बगैँचा तर ती सबै मबाट धेरै टाढा भएजस्तो लाग्छ । मैले आफूलाई सबैबाट टाढा कुनै टापुमा भएजस्तो अनुभव गरिरहेको छु । मृत्युको कुनै अँधेरो गुफामा ।

    डायरीमा अगाडि लेखिएको थियो– गाडीको चालमा गति छ तर त्यो गतिको प्रकृति भौतिक छ । यसमा जीवनको प्रकाश छैन । जीवनको स्पन्दन छैन । त्यो कुरा सोच्दासोच्दै कुनै कुनै बेला मेरो मनमा अकस्मात् यो प्रश्न उठ्छ, मेरो जीवनको गति पनि अकस्मात् त्यस्तै त भएको छैन ? जीवनको स्पन्दन र प्रवाहबाट विहीन यन्त्रवत् । मलाई यस्तो अनुभव भइरहेको थियो, मेरो जीवनको गति अकस्मात् रोकिएको छ । कुनै कुनै बेला मलाई लाग्न थाल्छ, कामरेड जलजलाको बसमा दुर्घटनाका साथै मेरो जीवनमा पनि कुनै बस दुर्घटना भएको छ ।

    सुनन्दाले ध्यानमग्न भएर त्यो डायरी पढिरहिन् । त्यो बेला उनको अन्य कुनै कुरामाथि ध्यान गइरहेको थिएन । त्यो बेला उनलाई यस्तो लागिरहेको थियो, उनले स्वयम् आफ्नै डायरी पढिरहेकी थिइन् ।

    डायरीमा अगाडि लेखिएको थियो– भारतको एउटा माक्र्सवादी–लेनिनवादी कमिटी (माले) का कामरेडले भन्नुभयो, कुनै पनि देशको शोषित वर्गको मुक्ति र क्रान्तिका लागि काम गर्ने क्रान्तिकारी त्यो देशका मात्र हुन्नन्, उनीहरू विश्वभरिका मिहिनेतकश जनताका अभिन्न अङ्ग हुन्छन् । त्यसकारण उहाँको मृत्यु हाम्रा लागि पनि दु:खको कुरा हो ।… का. जलजलाको मृत्यु भए पनि जुन उद्देश्य र कर्तव्यका लागि काम गर्दागर्दै उहाँले आफ्नो जीवनोत्सर्ग गर्नुभयो, हामीले तिनीहरूलाई पूरा गर्ने प्रतिज्ञा र सङ्कल्प गर्नुपर्दछ । त्यही नै मरेर जानेप्रतिको हाम्रो सच्चा श्रद्धाञ्जली हुनेछ ।

    उपन्यासमा अगाडि लेखिएको छ– “डायरीको त्यो अंश पढेपछि सुनन्दाले मनमनै प्रतिज्ञा र सङ्कल्प गरिन्, ‘मैले पनि जुन क्रान्तिकारी सिद्धान्त र उद्देश्यका लागि उहाँले आफ्नो जीवन बलिदान गर्नुभयो, तिनीहरूलाई पूरा गर्ने प्रतिज्ञा र सङ्कल्प गर्दछु ।”

    डायरीमा अगाडि लेखिएको थियो, क्रान्ति र पार्टीको भविष्यबारे सधैँ त्यो कुरा सत्य हो । जतिसुकै ठुलो दमनबाट पनि जनताको आन्दोलन रोकिन्न । कुनै क्रान्तिलाई प्रतिक्रान्तिले दलाउन सक्दैन । त्यो सत्यमाथि मेरो अगाध विश्वास छ तर मेरो जीवनमा के पुन: सूर्योदय आउने छ वा छैन ? यस प्रश्नको मसित कुनै जबाफ छैन । त्यस प्रकारको सूर्योदयको मैले टाढासम्म पनि कुनै आशाको किरण देख्दिनँ । मलाई यस्तो अनुभव भइरहेको छ, जलजलाको मृत्युको साथै मेरा जीवनमा पनि सधैँका लागि सूर्यास्त भएको छ… ।

    उपन्यासमा अगाडि लेखिएको छ– “सुनन्दालाई चिच्याएर टाढासम्म अजितले सुन्ने गरेर भन्न मन लाग्यो, होइन, होइन, कामरेड अजित ¤ होइन । तपाईंको जीवनमा म सूर्यको नयाँ किरण ल्याएर आउनेछु । मैले तपाईंको जीवनमा सधैँका लागि सूर्यास्त हुन दिन्न ।”

    सुनन्दाले कैयौँ बेरसम्म त्यो डायरीलाई समातिरहिन् । उनलाई त्यो डायरी छाड्न मन लागिरहेको थिएन । त्यसबाट यस्तो भान हुन्थ्यो, उनले मनमनै कुनै निश्चय गर्न थालेकी छन् । एक छिनपछि उनी एक्लै बडबडाइन् । म अब जलजला दिदीले देखाएको बाटोमा नै अगाडि बढ्नेछु… तर फेरि उनी केही अकमकाइन् ।

    कामरेड जलजलाले देखाएको बाटोमा अगाडि बढ्नका लागि कम्युनिस्ट पार्टीमा सामेल हुनु आवश्यक थियो । अजितको पत्रबाट थाहा भएको थियो, उनले पार्टीको सदस्यताका लागि दिएको दर्खास्त अजितले प्राप्त गरेका थिए । त्यसरी कम्युनिस्ट पार्टीमा प्रवेशका लागि उनको बाटो सोझिएको थियो तर अजित भनेका को हुन् ? उनी कहाँ छन् र उनीसित कसरी भेट हुन्छ ? त्यो कुरा नै अनिश्चित थियो तर उनी निराश भइनन् । उनले हिम्मत हारिनन् । उनले जसरी भए पनि अजितलाई खोज्ने र भेट्ने निश्चय गरिन् ।

    सुनन्दाले अजितलाई भेट्न जाने निश्चय गरिन् तर उनलाई कहाँ भेट्ने ? उनलाई अजितको वास्तविक नाम पनि थाहा थिएन । कुनै ठेगाना पनि थाहा थिएन अनि उनलाई कहाँ गएर के भनेर खोज्ने ?

    अब अजितलाई कहाँ खोज्ने ? त्यसका लागि उनका अगाडि कुनै मार्गचित्र थिएन । उनले उनलाई अन्धकारका बिचमा नै छामछुम गर्दै खोज्नुपर्नेछ तर उनलाई आशा थियो, कतै कुनै उपाय निस्कनेछ । सायद अन्धकारका बिचमा कतै कुनै किरण देखा पर्नेछ ।

    एथेन्समा भेलेन्टिनासित भएको कुराकानीको एउटा प्रसङ्गको उनलाई सम्झना भयो । उनले उनलाई अजितको नाम र ठेगाना थाहा नभएको कुरा बताउँदा उनले उनलाई बताएकी थिइन्, नाम र ठेगाना ता तपाईंलाई पहिले का. जलजला दिदीको पनि थाहा थिएन तर तपाईंले हिम्मत हार्नुभएन र अन्त्यमा उहाँलाई पत्ता लगाउनुभयो । मैले एउटा कुरा थाहा पाएको छु र राम्ररी थाहा पाएको छु, राम्ररी बुझेको पनि छु ।
    के थाहा पाएकी छौ । तिमीले ? के बुझेकी छौ तिमीले ?

    तपाईं दृढ इच्छाशक्ति भएको मान्छे हुनुहुन्छ नत्र भने भारतबाट जगदीश अङ्कलसित विवाह गर्न भनेर रुससम्म आएकी मान्छेले उहाँसितको विवाहलाई अस्वीकार गर्न सक्नुहुँदैनथ्यो । साधारण महिलाले कहिल्यै पनि त्यसो गर्ने हिम्मत गर्न सक्दैनथे । वास्तवमा तपाईं लौह महिला हुनुहुन्छ । सायद कुरा त्यति मात्र होइन, तपाईं स्पातले बनेकी मान्छे हुनुहुन्छ । तपाईंका लागि कुनै पनि कुरा असम्भव छैन । आवश्यक पर्‍यो भने—तपाईंले मलाई समाचार दिनुहोला—म रुसबाट भारतमा आउनेछु र तपाईंले र मैले मिलेर अजितलाई खोजौँला । तपाईंहरू दुवैजनाको भेट गराएपछि म रुस फर्केर आउनेछु । जस्तो कि कुनै दिन जलजलालाई खोज्ने तपाईंको मिसन भएको थियो, त्यस्तै तपाईंको अजितसित भेट गराउने मेरो मिसन हुनेछ ।

    भेलेन्टिनाको त्यो कुरा सम्झेर उनका मनमा आशा पलायो र उनको मनमा जसरी भए पनि अजितको पत्ता लाग्नेछ भन्ने विश्वास दृढ भयो । अकस्मात् उनको मनमा एउटा विचार आयो, गएर कान्तालाई भेट्ने । अब उनका अगाडि कान्ता मात्र एक जना व्यक्ति थिइन्, जोद्वारा अजितको पत्ता लाग्न सक्दथ्यो । त्यो सोचाइले उनलाई अकस्मात् अन्धकारको बिचमा एउटा ज्योति फेला परेजस्तो लाग्यो ।

    उनी लखनऊबाट बनारसका लागि हिँडिन् तर कान्ता त्यहाँ थिइनन् । त्यसपछि उनी त्यहाँबाट गोरखपुर पुगिन् । त्यहाँ उनको भेट खगुलाल गुरुङसित भयो । उनी सँगै उनी प्युठानतिर लागिन् । उनले सोचिन्, त्यहाँ अवश्य पनि अजितको कुनै न कुनै पत्ता लाग्नेछ ।

    त्यसबारे उपन्यासमा लेखिएको छ– “गोरखनाथबाट रिक्सा रेलवे स्टेसनतिर गइरहेको थियो । उनी खगुलालसित सँगै रिक्सामा बसेकी थिइन् तर उनको ध्यान कुमाउँतिर गइरहेको थियो । त्यो बेला उनले राजुला र बालु शाहीको कथा सम्झिरहेकी थिइन् । राजुला पनि बालु शाहीलाई खोज्न घरबाट निस्केर दक्षिणतिर लागेकी थिइन् । उनलाई लाग्यो, आज उनी पनि अजितलाई खोज्न उत्तरतिर जाँदै थिइन् । उनलाई लागिरहेको थियो, कहीँ उनको यात्रा पनि राजुलाको जस्तै त थिएन ? राजुलाको कथा दु:खान्त रूपमा टुङ्गिएको थियो तर उनको कथा पनि त्यसरी नै दु:खान्त रूपमा टुङ्गिने त होइन तर उनलाई लागिरहेको थियो, उनका विषयमा त्यस्तो हुने छैन । उनको विश्वासका लागि कुनै आधार थिएन तैपनि उनको मनभित्रबाट आवाज आइरहेको थियो, उनको कथाको अन्त्य राजुलाको जस्तो हुने छैन ।”

    ट्रेन बढनीतिर जाँदै थियो तर बढनीमा पुगेपछि उनले खगुलाललाई त्यहीँ झर्न भनिन् । उनको मन त्यहाँबाट तौलिहवा हुँदै कुश्मा जाने र दुर्गालाई भेट्ने थियो । उनले पहिले पनि त्यहाँ गएर शिव पौडेल र उनकी बहिनी दुर्गालाई भेटेकी थिई । जलजलाको मृत्युपछि उनलाई दुर्गालाई भेट्न धेरै नै मन लागेको थियो ।

    त्यसबारे उपन्यासमा लेखिएको छ– “उनले दुर्गालाई भेटेर कामरेड जलजलाको मृत्युबाट पुगेको दु:खलाई केही कम गर्न चाहन्थिन् । सुनन्दाले दुर्गाले भनेको यो कुरा सम्झेकी थिइन्, ठुली भएपछि म कामरेड जलजला दिदीजस्तै क्रान्तिकारी हुनेछ । उनले दुर्गामा कामरेड जलजलाको झलक देख्न थालेकी थिइन् ।

    कामरेड जलजलाका आमा, दाइ र दिदीले दुर्गाको जुन प्रकारको चरित्र चित्रण गरेका थिए, त्यसले सानै उमेरमा उनमा कामरेड जलजलाको चरित्रको झलक मिल्दथ्यो । उनका (दुर्गाका) दाइ शिव पौडेलले भनेका थिए, उनी (दुर्गा) कसैसित डराउन्निन् । सबैमाथि हुकुम चलाउने गर्दथिन् । त्यसैले सुनन्दाको मनमा यस्तो लागिरहेको थियो, उनमा प्रच्छन्न रूपले जलजलाको व्यक्तित्व लुकेर बसेको थियो । त्यसैले उनले (सुनन्दाले) दुर्गालाई एकपल्ट भेटेर जलजलाको मृत्युबाट पुगेको दु:खलाई केही कम गर्न चाहन्थिन् ।”

    उनीहरू राति कुश्मा गएर शिव पौडेलको घरमा बसे । सुनन्दा र दुर्गासँगै सुते ।

    त्यस सन्दर्भमा उपन्यासमा लेखिएको छ– “राति अबेलासम्म उनीहरूले धेरै कुरा गरिरहे । उनीहरूको धेरैजसो कुरा जलजलाबारे नै भइरह्यो ।”

    गोरखपुरमा सुनन्दाले “झिम्रुक नदी र चिबेचरा” शीर्षकको एउटा खण्डकाव्य पढेकी थिइन् ।

    उपन्यासमा लेखिएको छ– “त्यो खण्डकाव्य मोहनविक्रम सिंह नाम गरेका कुनै लेखकले लेखेका थिए । त्यो उनका लागि कुनै अपरिचित नाम थिएन । उनले काठमाडौँमा पत्रिकामा उनी कम्युनिस्ट पार्टीका एउटा ग्रुपका नेता भएको पढेकी थिइन् । कामरेड जलजलाले उनलाई उनी (मोहनविक्रम सिंह) चौथो महाधिवेशनको महामन्त्री चुनिएको पनि बताएकी थिइन् ।”

    त्यो खण्डकाव्यका कैयौँ कविता उनलाई धेरै राम्रा लागेका थिए । त्यसमा कामरेड जलजला धुरी, भामा ओडार र थबाङको पनि चर्चा थियो । त्यसैले त्यो खण्डकाव्यप्रति उनको विशेष उत्सुकता देखा परेको थियो । त्यो खण्डकाव्यमा कैयौँ पङ्क्ति उनलाई धेरै राम्रा लागेका थिए । त्यो कविताका तलका पङ्क्ति पढेर उनी धेरै प्रसन्न भएकी थिइन् :

    “मलाई अरू केही चाहिन्न
    बादलको अलिकति गर्जना देऊ
    कुखुराको पहिलो डाँको
    सूर्यको पहिलो किरण
    तुफानको सङ्गीत देऊ
    चट्टानको एउटा टुक्रा
    आरानको आरनको रातो फलाम
    धानको एउटा बालो
    मकैको एउटा घुँगा
    अनि मैले
    क्रान्ति गरेर देखाइदिनेछु ।”

    त्यो खण्डकाव्यमा अर्को ठाउँमा लेखिएको थियो :
    “क्रान्ति आफै आउन्न
    त्यसका लागि भेटी चढाउनुपर्छ
    कर्तव्यको वेदीमा
    रगतको आहुति दिनुपर्दछ
    कुटो, कोदालो र जोत्ने हलो
    सुख, समृद्धि र घरबार सर्वस्व
    बाउको लाडप्यार, छोराको ओठको हाँसो
    आमाको प्रेम, बहिनीको ममता र
    पत्नीका आँखाका आँसु
    व्यक्तिगत उन्नतिका
    सबै महत्त्वाकाङ्क्षाहरू
    मान प्रसिद्धि र कीर्तिका
    सबै इच्छा
    उच्च जीवनका सबै प्रलोभन
    ह्दयको धड्कन, छातीको उमङ्ग र
    प्रेमका सबै कल्पनाहरू
    सबै कोमलतम् भावनाहरू !
    सबै मधुरतम् सपनाहरू !”

    त्यो खण्डकाव्यको तलका पङ्क्ति पनि लेखिएका थिए :
    “झिमरुकको पानी
    जहाँ जहाँ पुगेको छ
    त्यहाँत्यहाँ युगले कोल्टे फेरेको छ !
    बङ्गालको खाडीमा
    के भइरहेको छ ?
    मलायाका जङ्गलमा
    भियतनामका मैदानमा
    अनि लाओसका पहाडहरूमा
    युगनृत्य भइरहेको छ
    युगनृत्य !
    ताण्डवनृत्य !
    तर यस्तो ताण्डवनृत्य
    जहाँ जीवनको अन्त हुन्न
    तर जहाँबाट जीवनको मूल फुट्छ
    जहाँ क्रान्तिको हार हुन्न
    तर जहाँबाट विजयका स्वरलहरीहरू निस्कन्छन्
    जहाँ निराशाको अन्धकार फैलिन्न
    तर जहाँबाट आशाका तरङ्गहरू उठ्छन्”

    त्यो खण्डकाव्यको अन्त्यमा तलका पङ्क्ति लेखिएका थिए :
    “अथाह जलराशीमा मिलेर
    झिमरुकको
    पृथक् अस्तित्वको अन्त हुन्छ
    झिमरुकको निषेध हुन्छ
    त्यही अन्त
    त्यही निषेध
    उनको महानताको कारण बन्न जान्छ
    झिमरूकका छालहरूले अब
    तुफान बनेर
    समुद्रमा राज गर्छन्
    बादलमा मिलेर
    क्रान्तिको उद्घोष गर्छन्”

    सुनन्दाले खगुलालको कुराकानीमा कतै अजितको नाम आउँछ कि भन्ने आशा गरेकी थिइन् तर कुराकानीमा त्यो नाम आएको थिएन ।
    सुनन्दाले एकपल्ट खगुलाललाई अजितबारे सोधेकी थिइन् । खगुलालले आफूलाई त्यसबारे केही थाहा नभएको बताएका थिए ।

    मच्छी पुगेपछि खगुलाल नारीकोट कोइराको आफ्नो घरतिर लागे । सुनन्दा हर्केसित ओखरकोटतिर लागिन् । राति उनीहरू हर्केको घरमा नै बसे । हर्केकी दुलही उजेलीसित पनि उनको त्यहीँ भेट भयो । उजेलीसित उनको भैरहवा जेलमा भेट भएको थियो तर अर्कोतिर नै उनलाई हवाईजहाजद्वारा काठमाडौँको जेलमा चलान गरिएको हुनाले उनको उजेलीसित कुनै कुराकानी हुन पाएको थिएन ।
    अर्को दिन बिहान सुनन्दा, उजेली र हर्के ओखरकोटको कोटमा पुगे ।

    उपन्यासमा लेखिएको छ– “सुनन्दाले चारैतिर घुमेर त्यो स्थान हेरिन् । त्यहाँ कैयौँ स्थानमा पुराना भग्नावशेषजस्ता सामग्री देखिन्थे । त्यो देखेर उनका मनमा कैयौँ कुरा खेल्न थाले । उनले कैयौँ कल्पना गर्न थालिन् । साँच्ची नै त्यहाँ उत्खनन् गर्ने हो भने कैयौँ महत्त्वपूर्ण ऐतिहासिक सामग्री प्राप्त हुन सक्दथे । त्यहाँ उत्खनन् गरेका सामग्री जम्मा गरेर एउटा सङ्ग्रहालय बनाउने । त्यो सङ्ग्रहालयमा स्थानीय सामाजिक, लोकसंस्कृति, घरेलु रूपमा प्राप्त हुने कृषिसामग्री, भेषभूषा, खेतीपाती, घरेलु उद्योग आदिसम्बन्धी सामग्री पनि राख्ने । त्यहाँका आसपासका जमिनमा रुख र फूल लगाएर सुन्दर बगैँचा बनाउने । चारैतिर पर्खाल लगाएर त्यो बगैँचा वा त्यहाँका फलफूलको रक्षा गर्ने । पर्यटकका लागि एउटा राम्रो होटेल र रेस्टुराँ बनाउने । एउटा पुस्तकालयको स्थापना गर्ने । त्यसमा बाइसे/चौबिसे, राज्यका विषयमा देशीविदेशी विद्वान्ले लेखेका पुस्तक, प्राप्त ऐतिहासिक सामग्रीका फोटोकपी, स्थानीय जनजीवन, लोकसंस्कृति आदिसम्बन्धी सामग्री राख्ने व्यवस्था गर्ने । उक्त विषयमा अध्ययन वा अनुसन्धान गर्ने विद्वान्का लागि आवश्यक व्यवस्था गर्ने । कतैबाट पाइप ल्याएर एउटा टङ्कीको व्यवस्था गर्ने । पिकनिक स्थल बनाउने । एउटा अग्लो भ्यूटावर बनाउने… ।”

    उपन्यासमा अगाडि लेखिएको छ– “चारैतिर हेर्दै त्यस प्रकारका कैयौँ कल्पना गर्दै गइन् । ती सबै व्यवस्था भएमा साँच्चिकै यो कोट राष्ट्रिय महत्त्वको पर्यटक स्थल बन्न सक्नेछ तर विकास हुन नसक्दा त्यति महत्त्वपूर्ण स्थान उपेक्षित बन्न पुगेको थियो । त्यसका लागि उनलाई मनमनै धेरै दु:ख लागेर आयो । उनले मनमनै सोचिन्, उनलाई ओखरकोटमा नै बसेर त्यहाँको इतिहासको अध्ययन वा विकासका लागि काम गर्ने मौका पाए त्यो उनका लागि कति धेरै प्रसन्नताको कुरा हुन्थ्यो । त्यो काम गर्दै आफ्नो सम्पूर्ण जीवन बिताउन पाए पनि उनलाई पश्चात्ताप लाग्ने थिएन… ।”

    ओखरकोटको कोटबाट झरेर उनीहरू पेँदीखर्क पुगे । त्यहाँ उनीहरूको भेट कोटतिर जान लागेका ओखरकोट कोटका पुजारीसित भयो । उनले ओखरकोटको पूजा विधिबारे विस्तृत रूपले बताए ।

    त्यस सन्दर्भमा उपन्यासमा लेखिएको थियो– “सुनन्दाले पुजारीका कुरा सुन्दै थिइन् तर उनका मनभित्र त्यसबारे अरू पनि कैयौँ कुरा खेलिरहेका थिए । बाहिरबाट हेर्दा यहाँको पूजा सामान्यजस्तो मात्र थियो तर त्यो पूजाको विधिभित्र एउटा सामाजिक व्यवस्था र विधान थियो । त्यो व्यवस्थाबाट खालि पूजाको विधि मात्र थाहा हुँदैन थियो तर त्यसले ओखरकोट र बाँदीकोट गाउँको सामाजिक संरचना पनि थाहा हुन्थ्यो । उनलाई लाग्यो त्यहाँको पूजाको विधि अध्ययनद्वारा त्यहाँको सामाजिक संरचनाको पनि अध्ययन गर्न सकिन्थ्यो । यसरी त्यहाँको पूजाको विधि गहन मानवशास्त्रीय अध्ययनको विषय पनि हुन सक्दथ्यो । कसैले त्यो विषयमा गहन अध्ययन गरेमा त्यो धेरै नै प्रसन्नता र स्वागतयोग्य कुरा हुन्थ्यो ।”

    आइतबार, कार्तिक ३०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.