काठमाडौं । काठमाडौं उपत्याकामा थप ३० जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थपिएका २९३ जना कोरोना संक्रमित मध्ये काठमाडौं उपत्यकाका ३० जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकामा थप ३० जनामा कोरोना पोजिटिभ भेटिएको जानकारी दिनुभयो ।
त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गरिएको परीक्षणमा काठमाडौंका २१, ललितपुरका २, भक्तपुरका १, वीर अस्पतालमा काठमाडौंका १, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौंका ५ जनामा कोरोना पोजिटिभ आएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा थप १३२ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् । योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ६ हजार ५४७ पुगेको छ ।
आज २५ प्रयोगशालामा ४ हजार ७१० जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले बताउनुभयो ।