समीर सिंह
हार्दिक श्रद्धाञ्जली प्रिय बिनू
एउटा क्यान्सरयोद्धाको रूपमा जीवनको लामो समयसम्म सङ्घर्ष गर्दै आएकी प्रिय जीवनसाथी बिनू केसी ‘खुसी’ को असामयिक निधन भएको छ । २०८२ कात्तिक २० गते दिउँसो ३ बजे उनी हामी सबैलाई अलबिदा भन्दै सदाका लागि भौतिक शरीरको त्याग गरिन् ।
उनी आफ्नो अन्तिम साससम्म पनि छोरासँग भेट हुने आशामा सङ्घर्ष गरिरहेकी थिइन । कात्तिक १९ गते राती १० बजे छोरा अविदर्शन अस्पतालको आइसियू कक्षमा पुग्दा उनको अनुहारमा बेग्लै मुस्कान थियो । छोरा अविदर्शन र बिनूको बिचमा आइसियू कक्षमा लामो समयसम्म मिठो कुरा भइरह्यो र छोरा अवि र अम्यूदयले लामो समयसम्म आफ्नो मामुसँग कुरा गरिरहे । आफ्नो ममी यसरी छटपटाइरहेको हुनुहुन्छ भनेर छोरा अविले कल्पना पनि गरेको थिएन होला ।
छोरा अविलाई एउटा असल र सफल व्यक्ति बनाउने बिनूको सपना थियो । छोरा त्यो उचाइमा पुगको बिनूले देख्न सकिनन् तर पनि आफ्नो गर्भमा ९ महिना बस्दादेखि नै बिनूले त्यस प्रकारको सकारात्मक ऊर्जा दिइरहेकी थिइन् । उनको त्यस प्रकारको सकारात्मक मनोपरामर्शका कारण नै आज छोरा अविदर्शनले सही र असल बाटो पहिचान गरिसकेको छ ।
विगत १८ वर्षदेखि क्यान्सर रोगसँग सङ्घर्ष गरिरहँदा बिनूलाई हरेक पल एकदमै पीडा भइरहन्थ्यो तर उनी आफ्नो पीडालाई लुकाएर अरूको अनुहारमा हाँसो ल्याउन प्रयास गरिरहन्थिन् । घण्टौँसम्म क्यान्सर सर्भाइभरलाई सकारात्मक मनोपरामर्श गरिरहन्थिन् । थुप्रै क्यान्सर सर्भाइभर्सको लागि उनी असल सहयात्री बनेकी थिइन् । सकारात्मक उत्साह र प्रेरणाका लागि उनी आधारस्तम्भ बनेकी थिइन् । आज उनको भौतिक शरीर नरहे पनि उनको असल व्यक्तित्व सधैँभरि अमर रहनेछ ।

प्रिय बिनूले अन्तिम साँस लिइरहँदा म, छोराहरू अविदर्शन र अभ्यूदय, किरण दाइ उनको नजिक बसिरह्यौँ । आइसियू कक्षमा निकै छट्पटाउँदै उनी भौतिक संसारबाट बिदा हुँदै थिइन् । उनी हामी सबैबाट सदाका धेरै धेरै टाढा जाँदै थिइन् । उनी हामीलाई अलबिदा भन्दै थिइन् तर हामी उनको त्यो शब्द सुन्न सकिरहेका थिएनौँ । उनी हामीलाई थुप्रै कुरा भनेर बिदा हुन चाहन्थिन् । हामी उनमा मनका कथा पढिरहेका थियौँ । हामी सबैलाई एकदमै पीडा भइरहेको थियो तर पनि उनलाई अलबिदा भन्नु हाम्रो बाध्यता थियो ।
क्यान्सर रोगले उनलाई भयानक रूपमा आक्रमण गर्दै गइरहेको थियो । पटक पटक उनले त्यो दुष्ट रोगलाई पराजित गर्दै आएकी थिइन तर अन्तत: उनी हामी सबैलाई अलबिदा भन्दै सदाका लागि भौतिक शरीरको अन्त गरिन् ।
बिनू एउटा असल आमा, पत्नी, छोरा, बहिनी, बुहारी र साथी थिइन् । उनी सबैका प्रिय थिइन् । त्यसकारण पनि कात्तिक २० गते पशुपतिमा उनको दाहसंस्कार गरिँदा थुप्रै व्यक्तिको उपस्थिति थियो तर सबैको अनुहारमा पीडा थियो । कसैले आँसु थाम्न सकिरहेको अवस्था थिएन । बुबाले कम्युनिस्ट पार्टीको झन्डा ओढाइदिनभयो । सबै हामीले अबिर र फूल चढाउँदै उनको दाहसंस्कारको प्रक्रिया पूरा गर्यौँ । उनको मृत शरीरलाई छोरा अविले दागबत्ती दियो अनि विस्तारै उनको भौतिक शरीर पनि हामीबाट विलीन भयो । आगो लपेटा बलिरहेको थियो । अब उनको भौतिक शरीर पनि हामीमाझ रहेन ।
बिनूसँग लामो समयसम्म सहयात्री भएर समय बिताइयो । मैले उनलाई जति माया गर्थें, त्योभन्दा कैयौँ गुणा माया उनले मलाई गर्थिन् । मलाई सानो पीडा हुँदा पनि उनी छट्पटाउन थाल्थिन् ।
एकपटक हरिसिद्धि क्यान्सर अस्पतालमा बिनूलाई जाँच गराउँदा इमर्जेन्सी पुगेर स्लाइन चलाउन भनेँ । तल जाँदै गर्दा मेरो एक्सिडेन्ट भएर रगत आइरहेको थाहा पाइहालिन् । त्यसपछि त उनको पीडा कता हरायो हरायो । उनी त अझै बलियो भइन र मेरो उपचार गर्न क्रियाशील भइन । फार्मेसी गएर लाइन लागेर औषधी ल्याउन गइन् । अरूको सेवा गर्दा उनलाई बेग्लै प्रकारको ऊर्जा आउने गर्दथ्यो । मेरा लागि मात्र होइन, परिवारका हरेक सदस्यका लागि उनले आफूलाई सम्पूर्ण रूपमा समर्पण गर्दथिन् ।
बिनूको लागि निरू दिदी सबैभन्दा प्रिय व्यक्ति हुनुहुन्थ्यो । दुई बहिनीको यस प्रकारको सम्बन्ध सायद कसैको हुन्न होला : एउटालाई पीडा हुँदा अर्काेलाई झनै पीडा हुने । बिनूको लामो सङ्घर्षमय यात्राका लागि दुई बहिनीको यस प्रकारको सम्बन्धको पनि महत्त्वपूर्ण भूमिका थियो । निरू दिदीका साथै किरण दाइ, बुबा, आमा, मेरो आमा पूर्वा, गीतालाई पनि असाध्यै माया गर्थिन् बिनूले र उहाँहरूले पनि बिनूलाई त्यति नै माया गर्नुहुन्थ्यो ।
बिनूका लागि परिवारका सदस्यका साथै शारदा, अन्जना, रन्जु अत्यन्तै प्रिय साथी थिए । उनीहरूसँग घण्टौँ कुरा गर्दा पनि थाक्दैनथिन् । मनका सबै कुरा उनीहरूलाई सेयर गर्थिन् । त्यस्तै ‘निकास’ की अध्यक्ष प्रमिता दिज्यू, उपाध्यक्ष पूजाहरूसँग सर्भाइभरसम्बन्धी तथा अरू मनका कुरा गरिरन्थिन । यति मात्र होइन, उनका थुप्रै प्रिय साथीहरू थिए ।
आज ती सबै प्रिय व्यक्तिलाई छाडेर बिनू धेरै टाढा गइसकेकी छिन् । अब उनको भौतिक शरीर नभए पनि उनीसँगको गहिरो सम्बन्ध, मिठा पल, जीवनको लामो समयम्मका तितामिठा सम्बन्ध केयौँ वर्षसम्म रहिरहनेछ ।
फेरि पनि अलबिदा प्रिय बिनू ।
तिम्रो प्रिय जीवनसाथी
अशोकविक्रम जिसी (समीर सिंह)



