• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

मनोगत संवाद–१४

"सन्दर्भ ‘कामरेड जलजला’ उपन्यास–३४ "

  •   आइतबार, कार्तिक २३, २०८२ मा प्रकाशित
  • मोहनविक्रम सिंह ##

    Advertisement

    सुनन्दा र डा. जगदीश प्लेनद्वारा मास्कोबाट एथेन्सतिर जाँदै थिए ।

    भेलिन्टिना साइबेरियाबाट मास्को आएर उनीसित सँगै युनान आउने कुरा थियो तर साइबेरियाको मौसम खराब भएको हुनाले मस्को आउने प्लेन क्यान्सिल भएको थियो । उनी आउन सकेकी थिइनन् । त्यो कुराबाट उनी धेरै दुखी थिइन् तर भेलिन्टिना आउन नसकेकोमा डा. जगदीश मनमनै धेरै खुसी भएका थिए । उनले सोचेका थिए, अब यथेन्समा उनीसित एक्लै घुम्न पाइनेछ र त्यसरी उनलाई विवाहका लागि तयार पार्नका लागि बढी अवसर प्राप्त हुनेछ तर प्रकट रूपमा उनले सुनन्दालाई भेलिन्टिना नआएकोमा उनलाई पनि धेरै दु:ख लागेको बताएका थिए । उनको आँखा र मुखको भावबाट उनलाई यो बुझ्न गाह्रो परेको थिएन कि उनको त्यो भनाइ बनावटी थियो । उनको त्यस प्रकारको कृत्रिम व्यवहारबाट उनको मनमा उनीप्रति धेरै नै घृणा पैदा भएको थियो र उनीसित कुनै पनि कुरा गर्न उनलाई मन लागेको थिएन । उनी चुपचाप लागेर बसेकी थिइन् र झ्यालबाट बाहिरका दृश्य हेर्दै थिइन् ।

    उनलाई अकस्मात् पेरिसमा बिदा हुने बेलामा जुलियटले अवेलार्ड र हेलोसीका बिचमा भएका पत्रव्यवहारको अङ्ग्रेजी अनुवादको किताब दिएको कुरा सम्झिन् । रुसका विभिन्न कार्यक्रममा धेरै व्यस्त हुनुपरेकोले उनले त्यो पुस्तक पढ्न पाएकी थिइनन् । उनले ब्यागबाट त्यो पुस्तक निकालेर पढ्न थालिन् ।

    उपन्यासमा लेखिएको छ– “त्यो पुस्तकको प्रारम्भमा ती दुवै जनाको जीवनी र प्रेमकथाबारे सङ्क्षिप्तमा प्रकाश हालिएको थियो । अवेलार्ड आफ्नो समयका महान्् दार्शनिक, तर्कशास्त्री र द्वन्द्ववादी थिए । हेलोसी पनि अत्यन्त प्रतिभाशाली र विदुषी युवती थिइन् । ती दुवैका बिचमा भेट वा प्रेम प्रारम्भ हुनुभन्दा पहिले दुवै आफ्नो विद्वताको लागि प्रसिद्ध भइसकेका थिए ।”

    उनीहरू दुबै जनाको सन् १११५ मा भेट भयो र प्रेम भयो । हेलोसीको अङ्कललाई उनीहरूको बिचमा भएको प्रेम मन परेन तैपनि उनीहरूको बिचमा विवाह भयो । त्यो विवाहलाई गोप्य राख्ने भनिएको थियो तर त्यो गोप्य रहन सकेन । उनीहरूको एउटा छोरो पनि जन्मियो । पादरी चर्चको नियमअनुसार पादरीलाई विवाह गर्ने अनुमति थिएन । त्यसकारण अवेलार्डलाई आफ्नो पदबाट हटाइयो । उनी अन्यत्र गएर बस्न थाले । हेलोसी एउटा मठमा भिक्षुणी भएर बस्न थालिन् । छोरालाई अवेलार्डकी दिदीले पाल्न थालिन् ।

    सन् ११४१ मा पेरिसमा चर्चले उनका विरुद्ध धर्मको विरोध गरेको ठहर गर्‍यो । त्यो फैसलाका विरुद्ध पोपकहाँ अपिल गर्न उनी रोमका लागि हिँडे । पोपकहाँ उनका विरोधीले पहिले नै लेखापढी गरेर उनको विरुद्धको फैसलालाई अनुमोदन गराइसकेका थिए । त्यसकारण उनले रोम जानुपर्ने आवश्यकता ठानेनन् । उनी बाटैमा बिरामी भए । एक जना मित्रले उनलाई आश्रय दिए । सन् ११४२ मा उनको त्यहाँ मृत्यु भयो । त्यसरी एउटा महान् दार्शनिक र प्रेमीको अत्यन्त दु:खद अवस्थामा अन्त भयो । उनको मृत्युको २१ वर्षपछि एउटा भिक्षुणीको रूपमा हेलोसीको पनि मृत्यु भयो । त्यसपछि, जस्तो कि माथि पनि उल्लेख गरिएको छ, हेलोसीको शवलाई एकै ठाउँमा राखियो तर धार्मिक कट्टरपन्थीको विरोधले उनीहरूका शवलाई बेग्लाबेग्लै राखिए तर पछि प्रगतिशील पक्षको विरोधका कारणले उनीहरूका शवलाई एकै ठाउँमा राखिएको थियो ।

    सुनन्दाले जुलियटले पेरिसमा बिदा हुने बेलामा दिएको अबेलार्ड र हेलोसीका पत्रको पुस्तक पढ्न थालिन् । त्यस सन्दर्भमा उपन्यासमा लेखिएको छ– “सुनन्दाले पत्र पढ्न थालिन् । पहिलो अवेलार्डले आफ्ना एक जना मित्रलाई पठाएको पत्र थियो । त्यस पत्रमा अवेलार्डले हेलोसीसितको आफ्नो प्रेम, विवाह, वियोग र जीवनसमेत बारे प्रकाश हालेका थिए । त्यो बेला उनी (हेलोसी) अवेलार्डको आज्ञाअनुसार नै एउटा मठमा भिक्षुणी बनेर बसेकी थिइन् । अवेलार्डले पनि अत्यन्त कठिन जीवन बिताइरहेका थिए । पादरीद्वारा उनीमाथि लगातार आक्रमण भइरहेको थियो । उनले निर्वासित रूपमा एक ठाउँबाट अर्को ठाउँमा घुम्दै जीवन बिताइरहेका थिए ।

    त्यो पत्र कतैबाट हेलोसीले पाइन् । त्यसपछि उनले एउटा पत्र अवेलार्डलाई पठाइन् र उनीहरूका बिचमा पत्रको आदानप्रदानको एउटा क्रम चल्यो । त्यो पत्रव्यवहार सन् ११३७ को आसपासमा भएको थियो । त्यस सिलसिलामा हेलोसीले अवेलार्डलाई तीनओटा पत्र पठाइन्, अवेलार्डले हेलोसीलाई दुईओटा । पहिलो पत्र हेलोसीले अवेलार्डलाई पठाएकी थिइन्, अन्तिम अवेलार्डले हेलोसीलाई पठाएको भनिन्छ ।”

    सुनन्दाले ती पत्र पढ्न थालिन् । ती पत्र पढ्दै जानुका साथै उनका मनमा कैयौँ प्रकारका प्रतिक्रिया उत्पन्न हुँदै गइरहेका थिए । ती पत्र पढ्दा एउटा कुराप्रति उनको विशेष ध्यान गएको थियो : अवेलार्ड र हेलोसी दुवै जनाले आपसमा अगाध प्रेम गर्दथे तर त्यो प्रेममा गम्भीर प्रकारको अन्तरद्वन्द्व थियो । त्यो द्वन्द्व प्रेम र धर्मका बिचमा थियो । त्यो अन्तरद्वन्द्व, हृदय र मस्तिष्कको बिचमा थियो ।

    उनीहरूका अगाडि एकातिर इसाई धर्म र जीवनको आदर्श थियो । त्यसले उनीहरूलाई पूरै सांसारिक जीवन, प्रेम र विवाहको मार्गलाई परित्याग गर्न र आफ्नो सम्पूर्ण जीवन तथा प्रेमलाई पनि भगवानमा समर्पण गर्न निर्देशन दिन्थ्यो । त्यसअनुसार उनीहरूलाई व्यक्तिगत रूपमा कुनै पनि प्रकारको प्रेम गर्ने अधिकार थिएन । त्यो पाप थियो । उनीहरूले गत कालमा जुन प्रेम वा विवाह गरेका थिए, त्यो अपराध थियो ।

    धर्मले उनीहरूका लागि एउटै विकल्प प्रस्तुत गरेको थियो, आफूलाई सम्पूर्ण रूपले भगवान्मा अर्पण गर्ने । त्यो नै असीम शान्ति, सुख र मुक्तिको मार्ग थियो । प्रेम, धर्म र मुक्तिको मार्गमा बाधा थियो । उच्च प्रकारको पादरीको प्रतिष्ठा र सम्मानका विरुद्धको कुरा थियो । त्यही प्रकारको भावनाका कारणले उनले विवाहपछि छिट्टै नै हेलोसीलाई मठमा भिक्षुरानी बनेर बस्न पठाइदिए । हेलोसीले आफ्नो प्रेमी र पतिलाई अत्यन्त माया गर्दथिन् । त्यसकारण अवेलार्डको आज्ञालाई शिरोपर गरेर भिक्षुणी बन्न गइन् र सम्पूर्ण जीवन त्यही रूपमा बिताइन् । त्यसपछि उनले आफ्नो जीवनमा एकपल्ट पनि आफ्नो पतिलाई वा छोरालाई भेट्न पाइनन् ।

    सुनन्दाले मनमनै सोचिन्, कति कठोर थियो त्यो जीवन ? सुनन्दाका मनमा हेलोसीप्रति गम्भीर प्रकारको संवेदना र आत्मीयताको भाव पैदा भयो ।

    आफ्नो व्यक्तिगत प्रेम त्यागेर पूरै धार्मिक जीवन बिताउनका लागि मुख्य जोड अवेलार्डको नै थियो । आफ्नो पतिको त्यो निर्णयप्रति हेलोसीका मनमा तीव्र असन्तोष, रोष वा दु:ख थियो तर उनले अवेलार्डलाई असाध्यै माया गर्दथिन् र उनका सबै इच्छा वा भावनालाई पूरा गर्न चाहन्थिन् । त्यसकारण उनले त्यस प्रकारको त्याग र तपस्याको जीवन बिताएकी थिइन् ।

    उनीहरूको बिचमा एकातिर, धर्म र, अर्कातिर, प्रेमको बिचमा गहिरो द्वन्द्व थियो । त्यो प्रेममा पहलकदमी अवेलार्डले नै गरेका थिए । उनीहरूका बिचमा प्रेम भए पनि हेलोसीले विवाह नगर्नका लागि जोड दिएकी थिइन् तर अवेलार्डको जोडले नै विवाह भएको थियो । पछि अवेलार्डले नै उनलाई आफूबाट पूरै अलग गराएर एउटा मठमा झिक्षुणी बनाएर पठाएका थिए । अवेलार्डको त्यो व्यवहार हेलोसीलाई चित्त बुझेको थिएन तैपनि आफ्ना गुरु र पतिको आज्ञा मानेर उनी अवेलार्डबाट अलग भएर भिक्षुणी बन्न पुगेकी थिइन् । सुनन्दाका मनमा यो प्रश्न उठ्यो, के अवेलार्डको त्यस प्रकारको व्यवहार सही र न्यायसङ्गत थियो ?

    त्यस सन्दर्भमा उपन्यासमा लेखिएको छ– “अवेलार्डको त्यस प्रकारको व्यवहारको कारण इसाई धर्म थियो । धर्मले नै उनको प्रेममा बाधा पुर्‍याएको थियो । जीवित कालमा धर्मले उनीहरूलाई आपसमा मिल्न दिएको थिएन । मृत्युपछि उनीहरूको भेट भएको थियो । उनीहरू दुवै जनाका लास एकै ठाउँमा राखिएका थिए तर उनीहरूको मृत्युको ३०० वर्षपछि पुन: उनीहरूका शवलाई बेग्लाबेग्लै राखेर उनीहरूलाई एकअर्काबाट अलग गराइएको थियो । उनीहरूको मृत शरीरलाई पनि वा उनीहरूका अवशेषलाई पनि सुख र शान्तिसित बस्न दिइएको थिएन । कति निर्मम र अमानवीय थियो इसाई धर्मको त्यो नैतिकता तर सुनन्दाका मनमा त्यो विचार धेरै बेरसम्म रहेन ।

    उनले अब कुनै धर्म वा इसाई धर्ममाथि पनि विश्वास गर्दिनथिन् तैपनि उनलाई लाग्यो, अवेलार्ड वा उनको व्यवहारलाई उनको माक्र्सवादी–लेनिनवादी चिन्तन वा आधुनिक संसारको चिन्तन र नैतिकताको मापदण्डद्वारा मूल्याङ्कन गर्नु सायद सही हुँदैनथ्यो ।

    अवेलार्ड इसाई धर्मावलम्बी थिए । उनले इसाई नैतिकताअनुसार आफ्नो जीवन वा आचरणको आधार मान्दथे वा त्यही नैतिकताद्वारा उनी दीक्षित थिए । जसलाई उनले जीवनको सर्वश्रेष्ठ आदर्श मान्दथे, त्यसका लागि नै उनले आफ्नो प्रेम वा दाम्पत्य जीवनलाई त्याग्ने प्रयत्न गरेका थिए । आधुनिक युगमा पनि त्यस प्रकारका कैयौँ उदाहरण पाइन्थे । आफ्ना सिद्धान्त, आदर्श वा कर्तव्यका लागि कैयौँ व्यक्तिले आफ्नो प्रेम, दाम्पत्य जीवन वा व्यक्तिगत सुखलाई त्यागेका हुन्छन् । कम्युनिस्ट आन्दोलनमा पनि त्यस प्रकारका त्याग र बलिदानका कैयौँ उदाहरण पाइन्थे । त्यही प्रकारले आफ्नो युगको मान्यता, आफ्नो सिद्धान्त, आदर्श वा कर्तव्य, तिनीहरूका लागि नै उनले आफ्नो प्रेम र दाम्पत्य जीवनलाई परित्याग गर्ने निर्णय गरेका थिए ।

    उनले हेलोसीलाई अत्यधिक माया गर्दथे । उनीबाट अलग हुँदा उनलाई धेरै दु:ख र पीडा पुगेको थियो । उनको सम्झनामा रुने गर्दथे । कुनै ठाउँमा स्थिर बस्न सक्दैनथे तैपनि जुन मान्यताका लागि उनले आफूलाई सम्पूर्ण रूपले समर्पण गर्न चाहन्थे, त्यो मार्गमा हेलोसीसितको प्रेम वा दाम्पत्य जीवनलाई उनले बाधा ठान्दथे । त्यसैले उनी हेलोसीबाट टाढा र अलग बस्न चाहन्थे ।

    ती सबै कुरा सोचेपछि सुनन्दाका मनमा अवेलार्डप्रति असीम आदरको भावना पैदा भयो । आफ्नो सिद्धान्त वा जीवनको सबैभन्दा उच्च लक्ष्य पूरा गर्नका लागि उनले आफ्नो सबैभन्दा प्रिय कुरालाई पनि त्याग्ने निर्णय गरेका थिए । उनले स्वयम् हेलोसीलाई पनि त्यही मार्गमा अगाडि बढाउन प्रेरित गरेका थिए, जसलाई उनले जीवनको सर्वश्रेष्ठ कार्य र मुक्तिको एक मात्र मार्ग मान्दथे । त्यसरी उनले हेलोसीप्रतिको प्रेमलाई सामान्य व्यक्तिगत सीमाबाट बाहिर निकाले र त्यसलाई उच्च र आदर्श रूप दिन चाहन्थे तर त्यो कार्य सजिलो थिएन । एकातिर, उनले जीवनको उच्च लक्ष्य पूरा गर्न चाहन्थे, अर्कातिर, सामान्य सांसारिक र मानवीय भावनासित उनले लगातार सङ्घर्ष गरिरहनु पर्दथ्यो ।”

    उपन्यासमा अगाडि लेखिएको छ– हेलोसीले यो कुरामा जोड दिएकी थिइन्, पत्नीको स्थान समाजमा सम्मानको थियो तर प्रेमिकाको सम्बन्धले बढी महत्त्वपूर्ण स्थान राख्दथ्यो किनभने त्यसको आधार स्वतन्त्रता थियो । दाम्पत्य जीवन, समाजमा जति सम्मानित भए पनि त्यो सम्बन्ध एउटा अनिवार्य बन्धनमाथि आधारित थियो । त्यो सम्बन्धले कुनै पत्नीका लागि पतिलाई पनि प्रेम गर्न बाध्य पार्दथ्यो, जसले उसलाई (पत्नीलाई) प्रेम गर्दैनथ्यो । हेलोसीले त्यस्तो विवाहको सम्बन्धलाई घृणा गर्दथिन् र त्यसको ठाउँमा एउटी प्रेमिकाका रूपमा नै अवेलार्डलाई प्रेम गर्ने कुरालाई सही ठानेकी थिइन् किनभने त्यस प्रकारको प्रेम कुनै बन्धनमा बाँधिएको हुँदैनथ्यो र पारस्परिक स्वतन्त्र र स्वच्छतामाथि आधारित हुन्थ्यो । त्यसकारण त्यो उच्च आदर्श हुन्थ्यो । उनले कुनै वादशाहकी पत्नी हुनुभन्दा अवेलार्डकी प्रेमिका भएर बस्नु उनका लागि बढी प्रसन्नताको कुरा हुन्थ्यो ।”

    उपन्यासमा लेखिएको छ– “हेलोसीले प्रकट गरेको त्यस सोचाइबाट सुनन्दा चकित भइन् । उनको जोड यस कुरामा थियो कि प्रेम स्वतन्त्रता र स्वच्छतामाथि आधारित हुनुपर्दछ । प्रेमबिनाको दाम्पत्य जीवनलाई उनले गलत मान्दथिन् । वास्तवमा त्यो सोचाइले करिब ७०० वर्षपछि एङ्गेल्सले आफ्नो पुस्तक ‘व्यक्तिगत सम्पत्ति, राज्य र परिवारको उत्पत्ति’ मा प्रकट गरेको विचारसित मेल खान्थ्यो । त्यो सोचाइले सिमोन डे बोउवारले लेखेको “सेकेन्ड सेक्स” को सोचाइसित पनि मेल खान्थ्यो । सात्रसितको उनको प्रेम पनि प्रेमसम्बन्धी त्यही धारणामाथि आधारित थियो । त्यसैले उनीहरूले विवाद नगरीकन जीवनभरि एकअर्कालाई प्रेम गरेका थिए ।

    प्रेम, विवाह वा पारिवारिक जीवन कर्तव्यका मार्गमा बाधा बनेर उभिन्छ र त्यसलाई त्याग्नुपर्दछ । त्यो सोचाइसित सुनन्दा सहमत हुन सक्दैनथिन् । त्यो कट्टर धार्मिक सोचाइ थियो । त्यो सोचाइ इसाई नैतिकताको उपज थियो र त्यो गलत सोचाइ थियो । त्यस प्रकारको सोचाइ हिन्दु वा अन्य धर्ममा पनि पाइन्थ्यो । त्यस प्रकारको सोचाइको सारतत्त्व यो थियो कि यो लौकिक संसार झुटा हो । आफ्नो मुक्तिका लागि कुनै व्यक्तिले सांसारिक सुखलाई पूरै त्याग्नुपर्दछ र आफूलाई पूरै ईश्वरमा समर्पित गर्नुपर्दछ ।

    त्यस प्रकारको धार्मिक सोचाइले स्त्रीलाई पापको स्रोत वा मूल कारण ठान्छन् । त्यसकारण नारीबाट पूरै अलग हुनुपर्ने आवश्यकतामा जोड दिन्छन् । त्यस प्रकारको सोचाइले नै प्रेम, विवाह वा पारिवारिक जीवनलाई पूरै परित्याग गर्न लगाउँछ तर जब प्रेम वा दाम्पत्य जीवन समान विचार र लक्ष्यमाथि आधारित हुन्छ, यो कर्तव्यको मार्गमा बाधक बन्दैन तर सहायक बन्दछ । हेलोसीको जोड पनि प्रेमलाई पूरै परित्याग गर्ने कुरामा थिएन तर त्यसलाई स्वतन्त्रता र स्वेच्छामाथि स्थापित गर्ने कुरामा थियो ।”

    जुन बेला अवेलार्डले हेलोसीलाई आफूबाट अलग गरेर भिक्षुणी बनाएर पठाए, त्यो बेला उनको उमेर खालि २२ वर्षको थियो । त्यति कलिलो उमेरकी युवतीलाई त्यस प्रकारको कठोर जीवन बिताउनका लागि बाध्य गर्नु त्यो अवश्य पनि मानवीय कार्य थिएन । अवेलार्डले आफ्नो पत्रमा लेखेका थिए, त्यो उमेरमा उनलाई आफ्नो पतिबाट अलग भएर भिक्षुणी बनाएर एक्लो र एकान्त जीवन बिताउन पठाउनु एक प्रकारले क्रुर व्यवहार थियो । सुनन्दालाई लाग्यो, त्यो मानवीय व्यवहार थिएन, क्रुर व्यवहार नै थियो तर धर्मको संसारभरिको इतिहास त्यस प्रकारको क्रुरताले भरिएको छ । हेलोसीप्रतिको त्यस प्रकारको व्यवहारका लागि उनी लज्जित पनि भएको कुरा अवेलार्डले पनि स्वीकार गरेका छन् । उनले यो पनि स्वीकार गरेका छन्, उनले वास्तवमा ईश्वरभक्तिको कारणले भन्दा लोकलज्जाको कारणले नै हेलोसीबाट आफूलाई अलग गराएका थिए ।

    जुन बेला हेलोसीले भिक्षु वस्त्रधारण गरेकी थिइन् । त्यो बेला उनले भावविभोर भएर उनलाई हेरिरहेका थिए । यो कुराको लागि उनलाई सन्तोष लागेको थियो कि उनले (हेलोसीले) प्रसन्नतापूर्वक उनको निर्णयलाई स्वीकार गरेकी थिइन् तर बाहिरबाट देखिने उनको प्रसन्नताभित्र कतिको पीडा र व्यथा लुकेको थियो ? हेलोसीका पत्रबाट त्यो कुरा राम्ररी थाहा हुन्थ्यो ।

    हेलोसीलाई भिक्षुणी बनाएर पठाएपछि र त्यसरी उनीबाट अलग भएपछि अवेलार्डलाई ठुलो मानसिक चोट पुग्यो । उनी कतै अज्ञात स्थानमा गएर बन्दीजस्तो भएर बसे तर अर्कातिर उनलाई यो पनि लाग्यो कि उनलाई त्यस प्रकारको अर्थात् हेलोसीबाट अलग हुने निर्णय गर्न लगाएर भगवानले उनलाई ठुलो विनाशबाट बचाएका थिए । उनी पारिवारिक झन्झटमा फसेको भए उनको दर्शनप्रतिको कर्तव्य पूरा गर्ने कार्यमा धेरै नै बाधा पुग्दथ्यो ।

    उपन्यासमा लेखिएको छ– “अवेलार्डलाई आफ्नो मित्रलाई लेखेको पत्रमा लेखेका थिए, आफ्नो निर्वासनको बिचमा कुनै बेला लामो सास फेर्दछु, कुनै बेला रुन्छु, कुनै बेला हेलोसीको प्यारो नाम लिन्छु । रातमा आफ्नो कानमा त्यो नामको उच्चारण सुनेर आश्चर्य हुन्छु ।

    उनले यो पनि लेखेका थिए, मैले स्वर्गको कठोरतामाथि गुनासो गर्दछु तर फेरि उनलाई यो सोचेर पश्चात्ताप लाग्थ्यो कि त्यसरी उनले आफूलाई पूरै बर्बाद पारेका थिए । उनले पापले उनको मनमा रोपेका भावनालाई हटाउन सकेका थिएनन् । उनको ईश्वरप्रतिको भक्ति सच्चा भएको भए गत कालका गल्तीको सम्झनाले किन उनलाई आनन्द दिने गर्दथ्यो ? उनका मनभित्र त्यस प्रकारको अन्तरद्वन्द्व कमबेसी रूपमा उनी बाँचुन्जेल नै रहिरह्यो । आफ्नो मनको त्यस प्रकारको अन्तद्र्वन्द्वको बाबजुद उनले हेलोसीलाई लगातार यो कुराको शिक्षा दिने गर्दथे कि हेलोसीले गत कालमा अवेलार्डसितको प्रेम र सबै सांसारिक सम्बन्धलाई बिर्सनुपर्दछ र उनले (हेलोसीले) आफूलाई पूरै नै ईश्वर वा इसाई धर्ममा समर्पण गर्नुपर्दछ । त्यसमा उनलाई चीरशान्ति र सुख प्राप्त हुनेछ । उनलाई त्यस प्रकारको शान्तिप्रदान गर्नु नै उनलाई सच्चा प्रेम गर्नुहुनेछ तर हेलोसीलाई त्यस प्रकारको सल्लाह दिने बेलामा स्वयम् उनी हेलोसीप्रतिको प्रेमको सम्झनाबाट माथि उठ्न सकेका थिएनन् ।”

    उपन्यासमा लेखिएको छ– “दुवै जनाले आफ्नो दु:खकष्ट, पतन वा बर्बादीका लागि एकअर्कालाई होइन, आफूलाई नै दोषी ठहराएका थिए । त्यसले एक अर्काप्रतिको अगाध प्रेम र नि:स्वार्थ त्यागको भावनालाई नै बताउँथ्यो । त्यो प्रसङ्गले सुनन्दाका मनमा उनीहरू दुवैप्रति र उनीहरू दुवै जनाको एकअर्काप्रतिको प्रेमप्रति असीम आदरको भावना उत्पन्न भयो । सुनन्दालाई लाग्यो, उनीहरू साँच्चिकै महान् प्रेमी थिए । उनीहरू बिचको प्रेम अमर प्रेम थियो । अत्यन्त दु:ख र कष्टको अवस्थामा पनि उनीहरूको एकअर्काप्रतिको प्रेममा कुनै कमी आएको थिएन ।
    हेलोसीले आफूलाई आफ्नो प्रेमका लागि बलिदान गरेकी थिइन् । युगको सबैभन्दा प्रसिद्ध र विद्वान् व्यक्तिलाई सुखी बनाउनका लागि कर्तव्यको बाटो समातेकी थिइन् । उनको प्रयत्न ईश्वरको क्रोधलाई शान्त गर्नेभन्दा पनि अवेलार्डलाई प्रसन्न गराउनेतिर नै बढी थियो । कुनै कुनै बेला ता उनलाई अवेलार्डलाई दु:ख पुर्‍याएकोमा स्वर्गमाथि पनि आरोप लगाउन मन लाग्थ्यो ।

    हेलोसीले आफ्नो दोस्रो पत्रको अन्तमा लेखेकी थिइन्– स्वर्गले उनलाई उनी (अवेलार्ड) प्रतिको प्रेमलाई त्याग्न आज्ञा दिन्थ्यो तर उनको हृदय कहिल्यै त्यसका लागि तयार हुँदैनथ्यो ।”

    आफ्ना पत्रको अवेलार्डले कुनै जवाफ नपठाएपछि हेलोसीलाई धेरै दु:ख लागेर आयो । उनले अब आफूलाई उनको प्रेमबाट माथि उठेर पूरै नै ईश्वरमा समर्पित गर्ने निर्णय गरिन् तर सुनन्दालाई लाग्यो, त्यस प्रकारको अभिव्यक्तिमा वास्तविकताभन्दा बढी अवेलार्डको उपेक्षा भएका कारणले उनमा पैदा भएको असन्तोष र पीडा बढी व्यक्त भएको थियो । वास्तवमा उनी अवेलार्डप्रतिको प्रेमबाट माथि उठ्न सकेकी थिइनन् । हेलोसीका पत्रका अगाडिका अंश पढ्दा त्यही कुरा बुझिन्थ्यो । हेलोसीले स्वयम् प्रश्न उठाएकी थिइन्, के अब उनले आफ्नो प्रेममाथि विजय प्राप्त गरेकी थिइन् तर फेरि उनलाई लागेर आउँथ्यो, अझै पनि उनले त्यसरी प्रेममाथि पूरै विजय प्राप्त गर्न सकेकी थिइनन् । बाँचुन्जेल अवेलार्डलाई प्रेम नगरीकन रहनु उनका लागि सम्भव थिएन ।

    उपन्यासमा लेखिएको छ– “मानिसको जीवन प्रलोभनको लामो शृङ्खलाले भरिएको हुन्छ । मानिसका अगाडि लगातार एउटापछि अर्को प्रलोभन आइरहन्छ । प्रारम्भमा ती सामान्य हुन्छन् र तिनीहरूबाट आनन्द प्राप्त हुन्छ तर क्रमश: ती खतरनाक बन्दै जान्छन् र तिनीहरूले मानिसलाई पूरै आफ्नो आधिपत्यमा लिन्छन् । ईश्वरको कृपाबाट नै तिनीहरूमाथि नियन्त्रण गर्न सकिन्छ । त्यसो भएमा प्रलोभनले पूरै नै मानिसमाथि आफ्नो प्रभुत्व कायम गर्न सक्ने छैन । ईश्वरमाथि विश्वास गरेर नै हेलोसीले त्यस प्रकारको सफलता प्राप्त गर्न सक्नेछन् ।”
    उपन्यासमा अगाडि लेखिएको छ– “त्यो कुरा पढेपछि सुनन्दाको ध्यान कम्युनिस्ट आन्दोलनको सर्वहाराकरण वा विश्व सर्वहारा दृष्टिकोणको निर्माणतिर गयो । त्यो पनि अत्यन्त कठिन कार्य थियो । एउटा कम्युनिस्टका अगाडि लगातार बेग्ला बेग्लै प्रकारका प्रलोभन देखा परिरहन्छन् । त्यस प्रकारका प्रलोभनको लामो शृङ्खला हुन्छ । एउटा प्रलोभनमाथि विजय प्राप्त गरेपछि पुन: अर्को प्रलोभन देखा पर्दछ । कैयौँ प्रकारका भय, प्रलोभन वा सांसारिक सुखको आकर्षणका कारणले एउटा कम्युनिस्ट आफ्नो क्रान्तिकारी दायित्व वा कर्तव्यबाट विचलित हुने खतरा हुन्छ ।

    अवेलार्डले प्रलोभन र तिनीहरूमाथि विजय प्राप्त गर्न जोड दिएर लेखेका पत्र पढेपछि सुनन्दाको ध्यान कम्युनिस्टका अगाडिको सर्वहारा दृष्टिकोणको निर्माणको मार्गमा भएका समस्या र कठिनाइतिर गयो ।”

    अवेलार्डले जसरी ईश्वर र धर्म, अर्कातिर, प्रेमका बीचको मानसिक अन्तद्र्वन्द्वको स्थितिको सामना गर्नुपरेको थियो, उनलाई लाग्यो, आफ्नो कर्तव्यपूर्तिको सिलसिलामा कम्युनिस्टले पनि त्यही प्रकारका मानसिक द्वन्द्वको स्थितिको सामना गर्नुपर्दथ्यो ।

    उनको ध्यान यो कुरातिर गयो, के जलजलासितको प्रेमका कारणले केरलतिर निर्वासित भएर जाँदा अजितले त्यही प्रकारको मानसिक अन्तद्र्वन्द्वको सामना गर्नुपरेको थियो होला ?

    जलजलाले उनलाई दिएका कागजपत्रमा अजितको एउटा लामो कविता पनि थियो । त्यो कविताले त्यस बेलाको अजितको मनको अन्तद्र्वन्द्वलाई बताउँथ्यो । त्यो कवितामा दु:ख थियो । द्वन्द्व थियो तर त्यसमा निराशा थिएन । त्यसमा पार्टी र क्रान्तिप्रति उच्च र दृढतापूर्वक काम गर्ने प्रतिवद्धता व्यक्त भएको थियो ।

    अवेलार्ड र अजितका बिचको दृष्टिकोण सायद एकातिर अध्यात्मवाद र अर्कातिर क्रान्तिको दर्शनका बिचको अन्तर थियो । अध्यात्मवादले अवेलार्डलाई निराश र पलायनको यात्रामा अगाडि बढाएको थियो तर क्रान्तिको दर्शनले अजितलाई कठिनभन्दा कठिन स्थितिसित जुधेर अगाडि बढ्न प्रेरणा दिएको थियो ।

    सुनन्दाको ध्यान यो कुराप्रति पनि गयो, दुईओटा बेग्लाबेग्लै अवस्थामा जोडिएका दृष्टिकोणको परिणाम यो पनि भएको थियो, अवेलार्डले हेलोसीलाई प्रेमबाट माथि उठ्न निर्देशन दिएका थिए तर अजितले कहिल्यै त्यसो गरेनन् । उनले सधैँ जलजलालाई प्रेम गरिरहे र प्रेम तथा पार्टीका कामका बिचमा सामाञ्जस्यता कायम गर्न प्रयत्न गरिरहेका थिए ।

    प्लेन एथेन्सको एयरपोर्टमा उत्रियो । एयरपोर्टबाट बाहिर निस्कदा सुनन्दालाई यो देखेर धेरै खुसी लाग्यो कि उनीहरूलाई स्वागत गर्न भेलिन्टिना त्यहाँ उभिएकी थिइन् । डा. जगदीशले अगाडि गएर भेलेन्टिनालाई सम्बोधन गर्दै भने– “अकस्मात् तिमी यहाँ कसरी आइपुग्यौ ? तिमीलाई यहाँ देखेर हामीलाई धेरै खुसी लाग्यो ।”

    उनले “धेरै खुसी लाग्यो” ता भने तर उनको आवाज चिसो थियो । सुनन्दालाई यो बुझ्न बेर लागेन कि डा. जगदीशको आवाजमा कृत्रिमता थियो । भेलेन्टिनालाई देखेर उनी वास्तवमा खुसी भएका थिएनन् तर उनलाई धेरै नराम्रो लागेको थियो । सुनन्दाले आँखा उठाएर डा. जगदीशको मुखमा हेरिन् । उनको चेहरा पूरै मुर्झाएको थियो र अँध्यारो भएको थियो । डा. जगदीशको चेहरा देखेर मनमनै हाँसिन् । त्यो हाँसोमा डा. जगदीशप्रति केही व्यङ्ग्यको भाव थियो ।

    भेलेन्टिनाले मस्को आएर एथेन्स जाने प्लेनको टिकट पाएकी थिइनन् तर लेनिनग्रादबाट एथेन्स जाने प्लेनको टिकट उपलब्ध भएको थियो । उनले आफ्नी आमाबाट सुनन्दा र डा. जगदीश एथेन्स जाने प्लेनको नाम र समय पत्ता लगाइसकेकी थिइन् । त्यसपछि उनी लेनिनग्रादबाट एथेन्सको प्लेनको टिकट लिएर त्यसतर्फ (एथेन्सतर्फ) लागेकी थिइन् । उनको प्लेन करिब तीन घन्टापहिले नै एथेन्स पुगेको थियो । उनले त्यहाँ आएर एउटा होटेलमा दुईओटा कोठा पनि बुक गरिसकेकी थिइन् । एयरपोर्टमा निस्किएर उनीहरू होटलतिर लागे ।

    होटलमा पुगेपछि भेलेन्टिनालाले एउटा चाबी डा. जगदीशलाई दिदै उनको कोठा देखाइदिइन र अर्काे कोठामा सुनन्दा र भेलिन्टिना पसे ।
    डा. जगदीश आफ्नो कोठामा पसे तर उनी आज धेरै नै दिक्दार भएका थिए । अहिलेसम्म उनी बेग्लाबेग्लै विस्तरामा भए पनि, स्टालिनग्रादमा केही दिन छाडेर सुनन्दासित सधैँ एउटै कोठामा सुत्ने गर्दथे तर आज उनी त्यो अवसरबाट पनि वञ्चित भएका थिए । उनी सुनन्दाबाट बेग्लै कोठामा सुत्नुपरेको थियो ।

    सुनन्दाका मनमा सुकरात र प्लेटो दुवैप्रति अगाध श्रद्धाको भाव पैदा भयो तर यो सोचेर उनलाई केही दु:ख पनि लागेर आयो कि उनले संसारको वास्तविक सत्तालाई खालि प्रतीति मात्र बताएका थिए । उनीहरूको विचारमा कुनै पनि चिजको वास्तविक वा मूल आकृति बेग्लै दिव्यलोकमा बस्थ्यो । उनको त्यो सोचाइलाई निश्चित रूपले सही भन्न सकिँदैनथ्यो ।

    एथेन्सका प्राचीन दार्शनिक क्षेत्रको भ्रमणपछि उनीहरू एथेन्सको उत्तर पश्चिममा पर्ने प्रभेजतिर लागे । त्यसको नजिकै सौली भन्ने गाउँ पर्दथ्यो । त्यो गाउँको नजिकै जोलोङ्गो भन्ने पहाड पर्दथ्यो ।

    सुनन्दाले पहिले भारतमा छँदा नै जलोङ्गोको नाचबारे पढेकी थिइन् र उनको त्यो बेलादेखि नै त्यो पहाडमा जाने ठुलो इच्छा थियो ।
    सौली गाउँमा ओटोमन साम्राज्यले धेरैपल्ट आक्रमण गरेको थियो तर त्यहाँका जनताले वीरतापूर्वक ओटोमन साम्राज्यका सेनालाई पराजित गर्दै आएका थिए । एकपल्ट त त्यहाँ ओटोमन साम्राज्यका ढाई हजार सेना मारिएका थिए । सन् १८०३ मा ओटोमन साम्राज्यका तर्फबाट एउटा ठुलो सेनाले त्यहाँ आक्रमण गर्‍यो । त्यहाँका जनता त्यो आक्रमणका अगाडि आत्मसमर्पण गर्न बाध्य हुनुपर्‍यो । त्यहाँका जनता त्यो गाउँ छाडेर तीनतिर लागे । तिनीहरूमध्ये एउटा टोली जोलोङ्गो पहाडतिर लागेको थियो ।

    गाइडबाट ती कुरा सुनेपछि सुनन्दा धेरै नै मर्माहित भइन् । त्यो गाउँका बासिन्दाले करिब डेढ सय वर्षदेखि बस्दै आएको आफ्नो गाउँ छाडेर अनिश्चित यात्रामा जानुपरेको थियो । कहाँ जाने ? के गर्ने ? कसरी जीवन निर्वाह गर्ने ? सबै कुरा अनिश्चित थिए । त्यो बेला महिला र केटाकेटीको मनोभाव कस्तो थियो होला ? त्यो सोच्न पनि उनलाई गाह्रो परिरहेको थियो ।

    जोलोङ्गोतिर लागेका गाउँलेलाई पछाडिबाट ओटोमन साम्राज्यका सेनाले आक्रमण गरे र धेरैजसो मारिए । केही महिला आफ्ना केटाकेटी लिएर जोलोङ्गोको पहाडतिर जान सफल भएका थिए ।

    सुनन्दाहरू दिउसो नै त्यो गाउँ पुगे । चियाखाजा खाएर उनीहरू जोलोङ्गो पहाडतिर लागे ।

    गाउँबाट भागेर आएका महिलाहरू जोलोङ्गो पहाडको चुलीमा पुगेका थिए । पछिबाट ओटोमन साम्राज्यका सेनाले उनीहरूलाई भेट्याए आक्रमण गर्ने निश्चित थियो । त्यसैले उनीहरूले एक/एक गर्दै त्यही पहाडबाट हाम फालेर आत्महत्या गरेका थिए । पहिले उनीहरूले त्यहाँ गीत गाउँदै नृत्य गरेका थिए । पहिले उनीहरूले आफ्ना केटाकेटीलाई फालिदिएका थिए र पछि उनीहरूले पनि त्यही पहाडबाट हाम फालेर आत्महत्या गरेका थिए ।

    अहिले ती सहिद महिलाको सम्झनामा स्मारक बनेका छन् तर सुनन्दाहरू त्यहाँ जाने बेलामा त्यहाँ ती स्मारक बनेका थिएनन् । त्यो पहाडका चारैतिर धेरै राम्रा दृश्यहरू थिए । त्यस सन्दर्भमा उपन्यासमा लेखिएको छ– “तर उनको ध्यान त्यो प्राकृतिक सुन्दरताप्रति गएको थिएन । उनको सम्पूर्ण ध्यान पुगनपुग डेढ सय वर्ष पहिलेको त्यो दु:खद ऐतिहासिक घटनातिर गएको थियो । जुन बेला करिब साठी महिलाले त्यो धुरीबाट हाम फालेर आफ्नो ज्यान दिएका थिए । त्यो घटनालाई सम्झिँदा उनका मनमा कैयौँ प्रकारका भावना उठिरहेका थिए । उनका मनमा बारम्बार यो प्रश्न उठ्ने गर्दथ्यो : मानव जातिको इतिहासमा यस्ता घटना किन घटने गर्दछन् ? मानव जाति अहिले धेरै नै सभ्य भएको थियो । ज्ञानविज्ञान, कला र संस्कृतिको धेरै विकास भएको थियो तैपनि ?”

    साँझ उनीहरू सौली गाउँमा फर्के र उनीहरूको गाइड डिमित्राको घरमा नै बसे । त्यहाँ उनको ध्यान भित्तामा टाँसिएको उएटा चित्रप्रति गयो । त्यो चित्रमा जोलोङ्गो पहाडबाट हाम फालेर प्राणको आहुति दिने महिलाको दृश्य अङ्कित गरिएको थियो । उनले यो पनि बताएकी थिइन्, त्यो चित्र पेरिसको लुब्र सङ्ग्रहालयमा राखिएको थियो ।

    साँझ खाना खाएर उनीहरू गाउँको क्लबमा गए । त्यहाँ स्थानीय कलाकारले जोलोङ्गो नाच प्रदर्शन गर्न थालेका थिए । त्यहाँ महिला कलाकारले एउटा गीत गाउँदै नृत्य गरिरहेका थिइन् । त्यो गीत युनानी भाषामा थियो । डिमित्राले त्यो गीतको अनुवाद गरेर उनीहरूलाई सुनाएकी थिइन् ।

    दु:खी संसारलाई अलबिदा
    मिठो जीवनलाई अलबिदा

    डिमित्राले त्यो गीतको पूरै सारांश सुनन्दा र भेलेन्टिनालाई सुनाएकी थिइन् । त्यो गीतमा उनीहरूले आफ्नो बर्बाद भएको देशलाई सधैँको लागि अलबिदा भनेका थिए । उनीहरूले आफ्ना वसन्त ऋतु, उपत्यका, पहाड पर्वत र सौलीका महिलालाई पनि सधैँका लागि अलबिदा भनिरहेका थिए । त्यो गीतमा यो पनि भनिएको थियो– माछा जमिनमा बाँच्न सक्दैनन् । फूल बालुवामा उम्रन सक्दैनन् । त्यसैगरी सौलीका महिला स्वतन्त्रताविना बाँच्न सक्दैनन् ।

    त्यो गीतको अन्तमा भनिएको थियो –

    सौलीका महिला खालि बाँच्न मात्र जानेका छैनन्
    दासत्वबाट बाँच्नका लागि
    कसरी मर्ने
    त्यो पनि उनीहरूले जानेका छन् ।

    उनका मनमा बारम्बार एउटा प्रश्न उठिरहन्थ्यो, त्यसरी पहाडको धुरीबाट हाम फालेर आत्महत्या गर्नुभन्दा उनीहरूले पहाडको त्यो शिखरमा मोर्चा कसेर दुस्मनका विरुद्ध लड्दै सहिद भएको भए कस्तो हुन्थ्यो होला ? त्यही प्रश्न उनका मनमा चित्तौडगढका अग्निमा हाम फालेर आत्मदाह गरेका महिलाप्रति पनि उठ्ने गर्दथ्यो । उनीहरूले त्यसरी आत्मदाह गर्नुभन्दा ढाल, तरबार लिएर दुस्मनसित लड्दै सहिद भएको भए बढी राम्रो हुँदैनथ्यो ?

    सौली गाउँबाट उनीहरू एथेन्स फर्के र एउटा होटलमा दुईओटा कोठा लिएर बसे । साँझ परेपछि सुनन्दा र भेलेन्टिना बाहिर घुम्न निस्के र एउटा क्याफेमा बसेर कफी मगाएर खान थाले ।

    भेलेन्टिनालाई कामरेड जलजलाबारे जान्नका लागि धेरै उत्सुकता थियो । सुनन्दाले कामरेड जलजलाबारे सबै कुरा विस्तृत रूपले बताइन् । उनले लखनऊ स्टेसनबाट जलजलालाई दिल्ली जानका लागि बिदा गरेकोसम्म बताइन् ।

    उपन्यासमा अगाडि लेखिएको छ– “लखनऊबाट उहाँ एक्लै दिल्लीतर्फ हिँड्नुभयो । विद्या र म उहाँलाई रेलमा चढाएर फक्र्यौँ । हामी दुई, तीन दिनपछि दिल्ली जाने सल्लाह भएको थियो तर… तर… त्यसपछि… त्यसपछि…। सुनन्दाको आवाज बन्द भयो । उनले अगाडि केही भन्न सकिनन् । उनका आँखाबाट आँसु झर्न थाले । केही बेरपछि उनले आफ्नो आँसु पुछ्दै भनिन्, दिल्ली गएको एकदुई दिनपछि नै एउटा बस दुर्घटनामा उहाँको निधन भयो ।”

    उपन्यासमा अगाडि लेखिएको थियो– “केही बेरपछि उनी आफ्नो सिटमा गएर बसिन् । उनले सुनन्दालाई सम्बोधन गर्दै भनिन्, दिदी, तपाईंले कामरेड जलजला दिदीबारे धेरै कुरा बताउनुभयो तर मलाई तपाईंसित एउटा अर्को कुरा सोध्नुछ ।
    के कुरा ?

    अजितबारे ।

    अजितबारे तिमीलाई के सोध्नुछ ? स्वयम् मलाई उहाँबारे केही थाहा छैन । उहाँको नाम के हो ? उहाँको ठेगाना के हो ? मलाई केही पनि थाहा छैन अनि मैले उहाँबारे तिमीलाई के बताउन सक्दछु र ?

    भेलेन्टिनाले भनिन्, तर उहाँबारे मलाई एउटा कुरा राम्ररी थाहा छ ।

    सुनन्दाले एकदम आश्चर्य मान्दै भनिन्, तिमीलाई के थाहा छ, उहाँका बारेमा ? मलाई नै उहाँको बारेमा केही थाहा छैन अनि तिमीलाई उहाँका बारेमा कसरी थाहा हुन सक्दछ ?

    भेलेन्टिनाले सुनन्दाको काँधमा आफ्नो दाया हात राख्दै भनिन्, ‘मलाई थाहा छ तपाईंलाई थाहा नभएको भए पनि मैले थाहा पाएकी छु ।
    के थाहा पाएकी छौ तिमीले ?

    भेलेन्टिनाले गम्भीर मुखमुद्रा बनाउँदै भनिन्, ‘तपाईंको मनमा अजितप्रति प्रेमको भावना पैदा भएको छ ।

    उनले एकटक लगाएर भेलेन्टिनाको मुखमा हेरिरहिन् । उनको मुखबाट सानो आवाज निस्क्यो : सायद ।

    भेलेन्टिनाले अगाडि भनिन्, दिदी, मेरो तपाईंलाई शुभकामना छ । तपाईंलाई उहाँको नाम, ठेगाना केही थाहा नभए पनि तपाईंको उहाँसित भेट हुनेछ । उहाँसितको प्रेमले नै तपाईंलाई सुख र सन्तोष प्राप्त हुनेछ । कामरेड जलजला दिदीको मृत्युबाट अजितको जीवनमा जुन घाटा भएको छ, त्यसलाई पनि तपाईंको प्रेमले पूरा गर्नेछ अनि तपाईं दुवै जना तपाईंहरूको सिद्धान्त र उद्देश्यको दिशामा सँगसँगै अगाडि बढ्नुहुनेछ भन्ने कुरामाथि मलाई पूरा विश्वास छ ।”

    आइतबार, कार्तिक २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.