काठमाडौँ । बिनू केसीको निधनप्रति अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) ले श्रद्धाञ्जली व्यक्त गरेको छ ।
महासचिव भीष्म जोशीको हस्ताक्षरमा २०८२ कात्तिक २१ गते शुक्रबार शोकवक्तव्य जारी गर्दै अन्पाले श्रद्धाञ्जली तथा सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको हो ।
अन्पाका अध्यक्ष समीर सिंहकी जीवनसँगिनीसमेत रहनुभएकी बिनूको कात्तिक २० गते दिउसो ३ बजे निधन भएसँगै पशुपति आर्यघाटमा साँझ नै दाहसंस्कार गरिएको थियो ।
सन्तप्त परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरिएको शोकवक्तव्यको पूर्ण पाठ यस्तो रहेको छ :
“कामरेड बिनू केसीको हिजो २०८२ कात्तिक २० गते दिउँसो ३ बजे काठमाडौँ बालाजुको सिल्भरल्यान्ड अस्पतालमा दुखद निधन भएको छ । उहाँ २०३१ चैत ८ गते जन्मिनुभएको थियो । ५१ वर्षीय बिनूको यो असामयिक निधनले हामी र हाम्रो सिङ्गो सङ्गठन अत्यन्त दुखित र मर्माहित भएका छौँ ।
उहाँ हाम्रो सङ्गठनका केन्द्रीय अध्यक्ष समीर सिंहकी श्रीमती मात्रै नभई हाम्रो सङ्गठनको कुशल अभिभावक, हाम्रो ऊर्जा, शक्ति, उत्साह, आशा र प्रेरणाकी खानी हुनुहुन्थ्यो । उहाँ लामो समयदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँको १४/१५ पटक अप्रेसन भएको थियो । सो क्रममा उहाँको शरीरका कैयौँ अङ्ग काटिएका थिए तैपनि आफ्नो जिन्दगीको अन्त्यसम्म उहाँले हिम्मत हार्नुभएको थिएन र सधैँ हंशमुख र जीवनप्रति आशावादी हुनुहुन्थ्यो । उहाँको भारत र नेपालका विभिन्न अस्पतालमा उपचार भएको थियो । नेपाल क्यान्सर सर्भाइबर्स सोसाइटीको कोषाध्यक्षसमेत रहनुभएकी बिनू क्यान्सरपीडित बिरामीलाई पनि लगातार उत्साह र प्रेरणा दिइरहनुहुन्थ्यो । साहित्यक्षेत्रमा समेत उहाँको सक्रियता रहेको थियो । उहाँको परिवारमा बुबा तिलक, आमा विश्वमाया, दिदी निरू, दाइ किरण केसी, श्रीमान समीर, छोरा अभिदर्शन, ससुरा मोहनविक्रम सिंह, सासू शान्ता र दुर्गा पौडेल, देवरहरू विश्वमोहन र दिव्यमोहन हुनुहुन्छ ।
अध्यक्षज्यूलाई परेको यो पत्नीशोकको दुखद क्षणमा गहिरो समवेदना प्रकट गर्दै उहाँलगायत उहाँको सम्पूर्ण परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दछौँ । अब का. बिनू भौतिक रूपमा हामीमाझ नरहे पनि हाम्रो सम्झनामा उहाँ सधैँ रहिरहनु हुनेछ । हामी बिनूप्रति उच्च श्रद्धाञ्जली प्रकट गर्दै उहाँका शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ ।”