काठमाडौं । नेकपा स्थायी समिति बैठकमा पधानमन्त्री केपी ओलीको राजीनामा माग भइरहेका बेला देशका विभिन्न ठाउँमा ओलीको समर्थनमा प्रदर्शन भएका छन् ।
शुक्रबार बिहान प्रधानमन्त्री ओलीको समर्थनमा युवाहरुले भक्तपुरको सूर्यविनायकमा प्रदर्शन गरेका छन् । युवाहरुले देश र जनतासँग मत माग्दा स्थायी सरकार बनाउने वाचाविपरीत सरकार गिराउने खेल भएको भन्दै प्रदर्शन गरेका हुन् ।
युवाहरुले ओलीको तस्बिर र लिम्पियाधुरा समेटिएको नेपालको नक्सा र ब्यानरसहित जुलुस निकालेका हुन् । उनीहरुले ओलीले भारतले मिचेको लिम्पियाधुरासहितको नक्सा जारी गरेर राष्ट्रवादी छवि बनाएका ओलीको सरकार ढाल्न नपाइने भन्दै प्रदर्शनमा उत्रिएको जनाएका छन् । सहभागीहरुले ‘सरकार ढाल्न पाइँदैन’, ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’ जस्ता नारा लगाएका छन् ।
यता, दर्के झरीका बीच पोखरामा पनि ओलीको पक्षमा युवाहरुले प्रदर्शन गरेका छन् । पोखराको चिप्लेढुंगाबाट निस्केको जुलुसमा सहभागिले केपी ओली जिन्दावाद, नागरिकता विधेयक पारित गर्, विदेशी हस्तक्षेप बन्द गर्, जनमतको कदर गर्, आजलाई हैन भोलिलाई, पाँच वर्ष ओलीलाई भन्नेजस्ता नारा लगाइएका थिए।
ओली समर्थकले नेकपाका अर्का अध्यक्ष प्रचण्डलाई व्यङ्ग्य गर्दै ‘राजीनामा मात्रै मागेको भारत भन्ने मै हुँ’ भनेका थिए ।यसअघि बिहीबार काठमाडौंको माइतीघर मण्डलामा पनि ओलीको समर्थनमा केही युवाले प्रदर्शन गरेका थिए ।
असार १० गतेदेखि जारी नेकपा स्थायी कमिटी बैठकमा बहुमत नेताहरुले प्रधानमन्त्री ओली स्वेच्छाचारी ढंगले अगाडि बढेको भन्दै दुवै पदबाट राजीनामा दिन माग गरेका छन् । प्रधानमन्त्री ओली भने दुवै पदबाट राजीनामा नदिने अडानमा छन् ।