काठमाडौँ । उच्चस्तरीय जाँचबुझ आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेलाई सोधपुछका लागि सिंहदरबार ल्याइएको छ ।
उनलाई सिंहदरबारस्थित आयोगको कार्यालयमा ल्याएर सोधपुछ गरिनेछ ।
जेनजी आन्दोलनको क्रममा रवि लामिछाने नख्खु कारागारबाट बाहिर निस्किएको घटनाबारे सोधपुछ गर्न गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई बुधबार बोलाएको हो ।
जाँचबुझ आयोगले सोधपुछका लागि झिकाउन भनेपछि उनलाई अहिले कारागारबाट हिँडाइएको नख्खु कारागार स्रोतले बताएको छ ।
सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछाने पुर्पक्षका लागि कारागार रहेका बेला २४ भदौमा असुरक्षाको कारण देखाउँदै अन्य कैदीबन्दीसँगै बाहिर निस्किएका थिए ।
रवि बाहिर निस्किँदा कारागार प्रशासनले दिएको भनिएको पत्रको आधिकारिकतामा समेत प्रश्न उठेको थियो । त्यसपछि रवि पुन: कारागारमै फर्किएका थिए ।