मोहनविक्रम सिंह ##
अब सुनन्दा सोभियत रुसको राजधानी मस्को पुगेकी थिइन् । त्यो बेला उनका मनमा कैयौँ विचार उठिरहेका थिए । रुस संसारको पहिलो समाजवादी देश थियो तर अब त्यो समाजवादी रहेको थिएन । त्यहाँ समाजवादी व्यवस्थाको अन्त्य भएर पुँजीवाद पुनस्र्थापना भएको थियो तैपनि यो सोचेर उनलाई खुसी लागिरहेको थियो कि उनी विश्वमा पहिलो पल्ट समाजवादी क्रान्ति भएको देशमा पुगेकी थिइन् ।
उपन्यासमा लेखिएको छ– “उनले आफ्ना मनमा डा. जगदीशप्रति प्रेमजस्तो कुनै कुरा पैदा भएको लक्षण पाउँदैनथिन् तर उनको मनमा त्यस्तो भावना नभए पनि उनलाई लाग्थ्यो, एउटै विचारको आधारमा सँगसँगै काम गर्ने दौरानमा पक्कै पनि उनका मनमा डा. जगदीशप्रति प्रेम पैदा हुनेछ । सोभियत संशोधनवादको प्रश्नमा उनीहरूका बिचमा केही भिन्नता थियो तर उनले आशा गरेकी थिइन्, सँगै बस्दा र छलफल गर्दा त्यो समस्याको समाधान हुनेछ । उनका मनमा पुरानै विचार पुन: अगाडि आयो, शान्तिपूर्ण सहअस्तित्व ।”
उपन्यासमा अगाडि लेखिएको छ– “तर एउटा कुरामा उनी स्पष्ट थिइनन् । उनले कामरेड जलजलालाई पार्टीको सदस्यताका लागि दर्खास्त दिएकी थिइन् तर अब उनको मृत्यु भइसकेको थियो । सायद उनको मृत्युका साथै उनले दिएको त्यो दर्खास्त पनि कतै बेपत्ता भइसकेको थियो । अब के गर्ने ? अहिले उनले कुनै निर्णय गर्न सकेकी थिइनन् । उनी एक प्रकारको द्विविधामा नै थिइन् ।
डा. जगदीश कम्युनिस्ट थिए तर उनी भारतीय कम्युनिस्ट पार्टीका सदस्य थिए । त्यो दक्षिणपन्थी संशोधनवादी पार्टी थियो । त्यसको सदस्यताका लागि दर्खास्त दिनु उनले उचित ठान्दिनथिन् । भारतमा सच्चा माक्र्सवादी–लेनिनवादी पार्टी कुन थियो ? उनलाई त्यो कुरा पनि थाहा थिएन । त्यसैले अब कम्युनिस्ट भएर कसरी पार्टीमा काम गर्ने ? उनी कुनै निर्णयमा पुग्न सकेकी थिइनन् । उनले आफ्नो सम्पूर्ण जीवन पार्टी र क्रान्ति तथा सर्वहारा वर्गको सेवामा समर्पित गर्न चाहन्थिन् तर त्यसका लागि उनले कुनै पार्टी देख्न सकेकी थिइनन् ।”
सुनन्दा र डा. जगदीश क्रेमलिन हेर्न गए । त्यहाँ उनीहरू सर्वप्रथम लेनिनको शव राखेको ठाँउ हेर्न गए । त्यहाँ लेनिनको शवबारे बताउँदै डा. जगदीशले यो पनि बताए कि पहिले लेनिनको शवका साथै स्टालिनको शव पनि राखिएको थियो तर पछि त्यहाँबाट स्टालिनको शव हटाइएको थियो । उनले यो पनि बताएका थिए कि लेनिनको छेउमा स्टालिनको पनि शव राख्नु लेनिनको अपमान हुन्थ्यो । खु्रस्चेभ सत्तामा आएपछि उनले त्यहाँबाट उनको (स्टालिनको) शव हटाउन लगाएका थिए । त्यो उनको सही निर्णय थियो । उनले यो पनि भनेका थिए, खु्रस्चेभले स्टालिनका धेरै गलत नीतिलाई सच्याउँदै लगेका थिए । वास्तवमा ख्रुस्चेभको योग्य नेतृत्वमा नै त्यो काम हुन सक्दथ्यो र भएको थियो ।
उपन्यासमा लेखिएको छ– “सुनन्दाले चुपचाप लागेर डा. जगदीशका कुरा सुनिरहिन् । उनको त्यो भनाइबाट उनको मनमा एउटा हलचलजस्तो मच्चिएको थियो । डा. जगदीशले सोभियत सङ्घको समर्थन गर्छन् भन्ने कुरा ता उनलाई थाहा थियो तैपनि उनले सोचिन्, उनी र उनका विचारमा केही अन्तर भए पनि अन्तत: उनी कम्युनिस्ट थिए । त्यसकारण दुवै जनाले माक्र्सवादी–लेनिनवादी दर्शन मान्ने भएकाले उनीसित भएको वैचारिक अन्तर मेटिँदै जानेछ भन्ने उनले आशा गरेकी थिइन् तर अहिले स्टालिन र खु्रस्चेभबारे उनले प्रकट गरेका विचारबाट उनी एक प्रकारले स्तब्धजस्तै भइन् ।”
त्यसपछि उनीहरू क्रेमलिन वाल हेर्न गए । त्यो सन् १९१७ को क्रान्तिमा मृत भएका प्रमुख बोल्सेभिकको स्मारक राखिएको ठाउँ थियो ।
उनीहरू अर्नाेल्डको सालिकका अगाडि गएर रोकिए । त्यस सिलसिलामा उपन्यासमा लेखिएको छ– “डा. जगदीशले अरूलाई भन्दा त्यसलाई ध्यान दिएर हेरेको कुरा ख्याल गरेका थिए । डा. जगदीशले यो कुराको पनि ख्याल गरेका थिए, त्यो सालिक हेर्दा उनको मुख केही भावुक पनि भएको थियो ।”
सुनन्दाले सम्झिन्, सुनन्दा र विद्या दुवै जना नैनिताल जाँदै थिए । त्यो बेला विद्याले डा. जगदीशलाई सोभियत संशोधनवादी बताएको कुरा सम्झिन् । त्यो त उनले त्यो कुराप्रति कुनै ध्यान दिएकी थिइनन् तर यतिका वर्षपछि आज उनलाई लागेको थियो, विद्याले डा. जगदीशबारे गरेको आलोचना वा टिप्पणी सही थियो । दिल्लीमा कामरेड जलजलाको मृत्युपछि उनी त्यहाँबाट कतै टाढा जान चाहन्थिन् । त्यही बेला डा. जगदीशको विवाहको प्रस्ताव आएको थियो ।
उपन्यासमा अगाडि लेखिएको छ– “त्यो बेला उनको ध्यान खालि यो कुरामा गएको थियो कि उनी पनि माक्र्सवादी–लेनिनवादी बनिसकेकी थिइन् । त्यसकारण डा. जगदीशसित विवाह गर्नका लागि अब पहिलेजस्तो वैचारिक अन्तर बाँकी रहेको थिएन तर त्यो बेला उनको विद्याले भनेको उनी (डा. जगदीश) सोभियत संशोधनवादी भएको कुराप्रति अलिकति पनि ध्यान गएको थिएन । त्यसैले उनले सहजतापूर्वक नै उनीसित विवाह गर्ने र त्यसका लागि रुस जाने निर्णय गरेकी थिइन् । उनी वास्तवमा सोभियत संशोधनवादी नै थिए ।
उनी पहिले गान्धीवादी थिइन् । त्यसकारणले उनले डा. जगदीशसित विवाहको प्रस्तावलाई अस्वीकार गरेकी थिइन् तर अब धेरै ढिलो भइसकेको थियो । अब उनी (सुनन्दा) उनीसित विवाह गर्न नै रुसमा आएकी थिइन् । अब त्यो विवाहलाई अस्वीकार गर्नु पनि सम्भव थिएन । के भनेर अस्वीकार गर्ने ? त्यो विवाहलाई अस्वीकार गरेपछि कहाँ जाने ? कसरी भारत फर्कने ? भारतमा पुगेपछि कसरी आफ्नो मुख देखाउने ? उनी धर्म सङ्कटमा परेकी थिइन् । उनी मनमनै काँपिन् तर फेरि उनले सोचिन्, सायद कुरा त्यो हदसम्म बिग्रेको थिएन । स्टालिन वा खु्रस्चेभबारे उनका विचार केही भिन्न भए पनि सायद उनको विचारमा सुधार हुँदै जानेछ । उनीसितको विवाहपछि दुवै जनाको विचारमा समन्वय र समानता कायम हुँदै जानेछ तर त्यो समन्वय र समानता कसरी कायम हुनेछ ? उनले डा. जगदीशका विचारलाई अनुसरण गर्दै गएर ? धेरैजसो महिलाको विषयमा त्यस्तै हुन्छ । उनीहरूले आफ्ना पतिका विचारलाई अपनाउँदै जान्छन् । पतिका अगाडि आत्मसमर्पण गर्दै जान्छन् । के उनले पनि त्यसै गर्नेछन् ?
उनले केही सोच्न सकिनन् तर फेरि उनले सोचिन्, उनको सट्टा डा. जगदीशले नै आफ्ना विचारमा सुधार गर्दै जानेछन् र संशोधनवादी विचार छाडेर सच्चा माक्र्सवादी–लेनिनवादी बन्दै जानेछन् । उनको मनमा त्यो विचार शक्तिशाली हुँदै गयो र उनले सोचिन् त्यसरी उनीहरूको विवाह सफल हुनेछ । त्यो सोचाइले उनको मनलाई सन्तोष र प्रसन्नता दियो ।”
त्यहाँबाट उनीहरू गोर्की पार्कतिर घुम्न गए । सुनन्दाको ध्यान यो कुरातिर गएको थियो कि एउटा सामान्य सडकछाप केटो संसारको नै एउटा महान् क्रान्तिकारी लेखक बन्न गएका थिए । खास गरेर उनको ध्यान गोर्कीको उपन्यास ‘आमा’ की मुख्य पात्र आमातिर गयो ।
त्यस सिलसिलामा उपन्यासमा लेखिएको छ– “गोर्कीको उपन्यासकी आमा एउटा सामान्य आमा हुन् । आफ्नो छोरा पावेलको नाताले उनी राजनीतिक आन्दोलनमा आकर्षित हुन्छिन् । त्यसमा सक्रिय पनि हुन्छिन् तर क्रान्तिकारी आन्दोलनको दौरानमा उनी पावेलकी आमाबाट सम्पूर्ण मजदुर वर्गको आमाका रूपमा रूपान्तरित हुन्छिन् । उनको त्यो रूपमा रूपान्तरण उपन्यासको निष्कर्ष हो ।

आमा उपान्यासकी आमाको विश्वको मजदुर वर्गको रूपमा रूपान्तरण उपन्यासको प्रधान पक्ष थियो । त्यसरी गोर्कीले यो विचारलाई अगाडि ल्याउने प्रयत्न गरेका छन् कि एउटा क्रान्तिकारीको क्रान्तिकारी चरित्र र दृष्टिकोण जति विशाल हुँदै जान्छ, त्यसको व्यक्तित्वमा त्यही प्रकारको रूपान्तरण हुँदै जान्छ । त्यस अवस्थामा ऊ एउटा व्यक्ति मात्र रहँदैन, सम्पूर्ण समाज उसमा समाहित हुँदै जान्छ वा ऊ सम्पूर्ण समाजमा समाविष्ट हुन्छ । सम्पूर्ण समाज र व्यक्तिको अन्तरको निषेध हुँदै जान्छ । त्यस अवस्थामा कुनै व्यक्तिको व्यक्तित्वको यति धेरै विस्तार हुँदै जान्छ कि सम्पूर्ण समाज र विश्व त्यसभित्र अटाउँछन् । उसको व्यक्तिगत स्वार्थ सम्पूर्ण विश्व र समाजको हित बन्न जान्छ । त्यसका लागि काम गर्नु नै उसको जीवनको प्रधान पक्ष हुन्छ र त्यसमा नै उसले सबैभन्दा ठुलो आनन्दको अनुभूति गर्दछ । आमाको उपन्यासले सबै क्रान्तिकारीलाई त्यही सन्देश दिन्छ र त्यही दिशा निर्देश गर्छ ।”
जब पनि सुनन्दाले आमा उपन्यास पढ्थिन्, उनी उद्वेगी हुन्थिन् । खास गरेर उपन्यासको अन्तिम अंशलाई उनले सयकडौँ पल्ट दोहोर्याएर पढेकी थिइन् । जहाँ आमाको पावेलकी आमाबाट सम्पूर्ण मजदुर वर्गको आमाका रूपमा रूपान्तरण भएको प्रसङ्ग थियो ।
अहिले गोर्की पार्कको भ्रमण गर्दा उनलाई सम्पूर्ण पार्क, त्यहाँका सबै संरचना गतिविधि र चहलपहलमा गोर्कीको व्यक्तित्व प्रतिबिम्बित वा प्रतिध्वनित भएजस्तो लागिरहेको थियो । सबैतिर गोर्कीले दिएको त्यो सन्देश गुन्जिरहेजस्तो लागिरहेको थियो । त्यो सोचाइले गर्दा उनलाई गोर्कीपार्क यति सुन्दर र भव्य भएजस्तो लागिरहेको थियो, जति वास्तवमा त्यो थियो, त्योभन्दा कैयौँ गुणा, सयकडौँ हजारौँ गुणा बढी सुन्दर र भव्य ।
सुनन्दा र डा. जगदीश मस्कोबाट स्टालिनग्रादतिर गए । त्यहाँ डा. जगदीशका एक जना मित्र डा. विपिन श्रीवास्तव बस्दथे । उनले त्यो सहरको परिचय दिँदै सुनन्दालाई बताएका थिए, पहिले त्यो सहरको नाम स्टालिनग्राद थियो तर पछि भोल्गाग्राद राखिएको थियो । त्यो सहरको नाममा किन परिवर्तन गरिएको थियो भन्ने सुनन्दाको प्रश्नको जबाफ दिँदै विपिनले भनेका थिए– “ख्रुस्चेभको स्टालिनको व्यक्तिपूजा विरुद्ध अभियानको सिलसिलामा नै त्यो नाम परिवर्तन गरिएको थियो ।
त्यस सिलसिलामा उपन्यासमा अगाडि लेखिएको छ– “हिटलरले ५ महिनासम्म भीषण सैनिक आक्रमण गरेर जुन कार्य गर्न सकेको थिएन, त्यो काम उनकै अनुयायी ख्रुस्चेभले गरे । उनलाई लाग्यो, त्यसरी उनले (ख्रुस्चेभले) हिटलरको अधुरो इच्छालाई पूरा गरिदिएका थिए ।”
उपन्यासमा अगाडि लेखिएको छ– “डा. जगदीशले भने, ख्रुस्चेभको स्टालिनको व्यक्तिपूजा विरुद्धको अभियान वास्तवमा ऐतिहासिक महŒवको कुरा थियो । ख्रुस्चेभले स्टालिनका विरुद्ध खेलेको त्यस प्रकारको भूमिकालाई विश्वभरको समर्थन प्राप्त भयो । त्यसबाट विश्वमा सोभियत सङ्घको प्रतिष्ठा बढ्यो ।
ख्रुस्चेभको नीति र भूमिकाका कारणले विश्वभरका देशसित सोभियत सङ्घको सम्बन्ध सुध्रियो । वास्तवमा द्वितीय विश्वयुद्धका बेलामा स्टालिनको भूमिकालाई अनावश्यक रूपले बढी प्रचार गरिएको थियो । स्टालिनग्रादको नै कुरा गरौँ । यहाँ स्टालिन आएर लडेका थिएनन् । यहाँ रेडआर्मीका लाखौँ सैनिक र जनताले देशका लागि लडेका थिए, बलिदान गरेका थिए । महान् वीरताको प्रदर्शन गरेका थिए अनि स्टालिन एक जनालाई त्यसको लागि श्रेय दिनु व्यक्तिपूजा नै हो । त्यसैले यो सहरको नामबाट स्टालिनको नाम हटाएर ख्रुस्चेभले सही कार्य गरेका थिए ।
डा. जगदीशको त्यो भनाइ सुनन्दालाई धेरै नराम्रो लाग्यो । उनले एकदम गम्भीर गएर डा. जगदीशको मुखमा हेरिरहिन् । उनले मनमनै सोचिन्, त्यस्तो मान्छेसित विवाह गर्न आएर उनले गल्ती त गरेकी थिइनन् ?
डा. विपिनले भने, हो, स्टालिन स्टालिनग्रादमा आएर लडेका थिएनन् तर उनको रणनीतिक कुशलता, दृढसङ्कल्प र योग्य नेतृत्वको अभावमा स्टालिनग्रादमा जित सम्भव थिएन । स्टालिनग्रादमा मात्र होइन, सम्पूर्ण रूपमा फासिवादलाई हराउनु सम्भव थिएन ।”
डा. विपिनका कुरा सुनेर सुनन्दाका मनमा उनीप्रति आदर भाव पैदा भयो ।
उपन्यासमा लेखिएको छ– “सुनन्दाका मनमा डा. जगदीशप्रतिको असन्तोष र क्रोध लगातार बढ्दै गइरहेको थियो । उनका मनमा बारम्बार यो प्रश्न उठिरहेको थियो : के त्यो मान्छेसँग विवाह गरेर उनी सुखी हुन सक्नेछन् ? व्यक्तिगत रूपमा उनी अवश्य पनि सुखी हुन सक्नेछन् किनभने उनी (डा. जगदीश) शिक्षित थिए† सम्पन्न थिए† राम्रो नोकरी थियो† गढवाल र दिल्लीमा पनि घर थिए । मस्कोमा पनि घर वा फ्ल्याट किन्ने कुरा गरेका थिए । एउटा महिलाको लागि आवश्यक चिज उनीसित विद्यमान थिए तर प्रश्न यो थियो, के उनीसित विवाह गरेर उनी (सुनन्दा) आफ्नो विचार र आस्थाप्रति इमानदार, दृढ र जीवनभरि सक्रिय रहन सक्नेछन् ?”
उनले मनमनै सोचिन्, उनका सबै ढोका बन्द भएका थिए । सायद अब उनका अगाडि डा. जगदीशसित विवाह गर्नुबाहेक कुनै विकल्प बाँकी रहेको थिएन । धेरै भारतीय नारीहरू आफ्नो विचारका विरुद्ध विवाहको बन्धनमा बाँधिने गर्दछन् । त्यही अवस्थामा उनीहरूले सारा जीवन बिताउने गर्छन् । सायद अब उनले पनि त्यसै गर्नुपर्नेछ तर फेरि उनले आशा गरिन्, स्टालिन, ख्रुस्चेभको बारेमा केही भिन्न विचार भए पनि अन्तमा उनी कम्युनिस्ट नै थिए । त्यस आधारमा सायद उनीसित सन्तुलन कायम हुन सक्नेछ । उनीहरू साथसाथै जीवनमा अगाडि बढ्न सक्नेछन् ।
त्यो विचारले उनलाई केही सन्तोष दियो । उनको मनको दु:ख केही हल्का भयो । उनले आँखा उठाएर डा. जगदीशतिर हेरिन् । उनले मनमनै सोचिन्, अब सायद जीवनभरि नै उनका पछाडि लागिरहनुबाहेक उनका अगाडि कुनै उपाय बाँकी रहेको थिएन : राम्रो भए पनि वा नराम्रो भए पनि, विचार मिले पनि वा नमिले पनि, प्रेम भए पनि वा नभए पनि…. ।
उनले गान्धीले भनेको सम्झिइन्, सधैँ आत्माको आवाज सुन्नू । सुनन्दालाई भित्रबाट एउटा आवाज आएजस्तो लाग्यो तर त्यो आवाज अत्यन्त मसिनो र सानो थियो । उनले त्यसलाई सुन्ने प्रयत्न गरिन् तर त्यो आवाज पुन: भित्र कतै दबेर गयो तैपनि उनलाई लागेको थियो, अँध्यारोमा कतै एउटा किरण चम्केको थियो । त्यो आशाको किरण थियो, निराशाको बिचमा आशाको किरण । उनलाई पूरा विश्वास त लागेन तर उनलाई लाग्यो, त्यो किरणले उनलाई अवश्य पनि अगाडि बढ्नका लागि मार्गप्रदर्शन गर्नेछ तर त्यसले उनलाई कहाँसम्म अगाडि लैजाने छ ? उनलाई थाहा थिएन ।
त्यो किरण कतै बिचैमा हरायो भने ? निभ्यो भने ? त्यस्तो पनि हुनसक्थ्यो तर सायद त्यस्तो नहुन पनि सक्थ्यो तर उनी पूरै निराश पनि थिइनन् । उनको कहिल्यै पनि निराश र हतोत्साहित हुने स्वभाव थिएन । उनलाई कता कता आशा लागिरहेको थियो, मध्यरातको अँध्यारो र घोर निराशाका बिचमा उनले आशाको किरण खोज्ने प्रयत्न गर्थिन् ।”
कुरा गर्दैगर्दै उनीहरू म्युजियमतिर लागे । त्यस सिलसिलामा उपन्यासमा लेखिएको छ– “पहिले सुनन्दा डा. जगदीशका छेउमा हिँड्ने गरेकी थिइन् तर अब उनको चालमा थाहै नपाईकन एउटा परिवर्तन आएको थियो । उनी डा. जगदीशबाट टाढा र विपिनका नजिक हिँड्न थालेकी थिइन् ।
उनको चालमा भएको त्यो परिवर्तन सायद डा. जगदीशप्रति उनको मनोभावनामा भएको असन्तोषको सङ्केत थियो । सायद सुनन्दाले पनि केही नसोचीकन स्वत:स्फूर्त रूपले त्यसो गरेकी थिइन् । हुन सक्छ, उनको अचेतन मनले उनलाई त्यसो गर्न लगाएको थियो ।”
डा. विपिनकी छोरी भ्यालेन्टिना साइबेरियामा सेनाको एउटा अफिसर थिइन् । उनी त्यहाँबाट स्टालिनग्राद आएकी थिइन् । उनी आएपछि सुनन्दा र उनी दुबै जना स्टालिनग्रादको अवलोकनमा निस्के । उनीहरू दुबै जना भ्यालेन्टिनाको अग्लो मूर्तिका अगाडि पुगे र त्यसलाई अवलोकन गर्न थाले । त्यो मूर्ति धेरै नै सुन्दर ता थियो नै, त्यसका साथै त्यसले कैयौँ उच्च भावको सञ्चार गरिरहेको थियो । उनको ध्यान आफ्नो अगाडि उभिएकी भेलेन्टिनातिर गयो । उनलाई लाग्यो, उनी (भेलेन्टिना) पनि त्यो मूर्तिजस्तै सुन्दर थिइन् । सुन्दर मात्र थिइनन्, उनी त्यो मूर्तिले दिन खोजेका सबै उच्च भावको मूर्त रूप थिइन् ।
उनले आफूलाई रोक्न सकिनन् । उनले गएर भेलेन्टिनालाई कसेर अँगालो हालिन् र उनलाई कैयौँपल्ट गहिरो म्वाइँ खाइन् । त्यसरी उनले खालि भेलेन्टिनाप्रति आफ्नो स्नेह मात्र प्रकट गरिरहेकी थिइनन् तर कामरेड जलजलाको मृत्युबाट उनलाई पुगेको गहिरो शोकलाई पनि भुल्ने प्रयत्न गरिरहेकी थिइन् । कामरेड जलजलाको मृत्युपछि भेलेन्टिना नै प्रथम व्यक्ति थिइन्, जसलाई उनले आफ्नै सम्झेर त्यसरी माया गर्न सकिरहेकी थिइन् । त्यसरी भेलेन्टिनालाई माया गर्दा उनको मन धेरै हल्का भएको थियो । उनलाई यस्तो अनुभव भइरहेको थियो, कामरेड जलजलाको मृत्युबाट उनलाई पुगेको दु:ख धेरै कम भएको थियो ।
उनको मनमा कामरेड जलजलाको सम्झना भयो । उनका आँखाबाट आँसु झर्न थाले । सुनन्दा रोएको देखेर भेलेन्टिनालाई केही आश्चर्य लाग्यो । उनले सोधिन्, “दिदी, तपाईं त रुन थाल्नुभयो । के भयो तपाईंलाई ?”
सुनन्दाले केही भनिनन् । उनले भन्न पनि सक्दिनथिन् । कति धेरै कुरा थिए ती आँसुभित्र । भेलेन्टिनाले आफ्नो पाकेट रुमालले उनको आँसु पुछिदिइन् । उनले भनिन्, “तपाईंको मनभित्र कुनै गहिरो पीडा छ । के दु:ख छ दिदी ?”
“केही होइन ?” सुनन्दाले भनिन् ।
भेलेन्टिनाले बढी सोधिनन् । उनले बढी सोध्नु उचित पनि ठानिनन् ।
सुनन्दाले भेलेन्टिनातिर फर्केर यति मात्र भनिन्– “साँच्चि नै यो मूर्ति धेरै राम्रो छ ।”
“हो, धेरै राम्रो छ ।”
“हजुरआमाले तिम्रो नाम भेलेन्टिना राखेर एकदम सही कार्य गर्नुभएको छ ।”
“किन ?”
“किनभने तिमी पनि धेरै राम्री छौ ।”
सुनन्दाले भ्यालेन्टिनातिर फर्केर भनिन्, “तिमी खालि बाह्य दृष्टिले मात्र होइन, सही अर्थमा भेलेन्टिना हौँ तर तिम्रा भावना, विचार, जीवनप्रतिको सम्पूर्ण दृष्टिकोणको उचाइका दृष्टिकोणले पनि साँच्चिकै भेलेन्टिना हौ । कलाकारले भेलेन्टिना मोडेल बनाएर मातृभूमिको आह्वानमा जुन उच्च भावना, विशेषता र गुण स्थापित गर्न चाहन्थे, ती सबैको तिमी मूर्तरूप हौ ।
भेलेन्टिनाले केही जबाफ दिइनन् । उनी केही बेरसम्म चुप लागिन् । चुप लागेर उनले माथि आकाशमा हेरिरहिन् । सुनन्दालाई यस्तो लागिरहेको थियो, मूर्तिमा भएका सबै गुण उनले ग्रहण गर्दै थिइन् वा उनमा भएका ती गुण प्रकट भएर त्यो मूर्तिमा प्रवाहित भइरहेका थिए । यी दुवैका बिचमा विचित्रको सामञ्जस्यता कायम भएको थियो । त्यो बेला उनको मुख अत्यन्त उज्ज्वल, प्रकाशमयी र भव्य देखिएको थियो । उनको चेहराभित्र सम्पूर्ण सोभियत सङ्घको आत्मा अन्तर्निहित भएजस्तो देखिन्थ्यो ।”
उपन्यासमा लेखिएको छ– “भेलेन्टिनाले भनिन्, ‘तपाईं गजबकी महिला हुनुहुन्छ । चिजको गहिराइमा पुगेर हेर्ने तपाईंमा अद्भुत क्षमता छ । तपाईंजस्ती पत्नी पाएर डा. जगदीश अङ्कल साँच्चिकै भाग्यमानी हुनुहुनेछ ।’
सुनन्दाले त्यो कुराको कुनै जबाफ दिइनन् । डा. जगदीशसित विवाह भएर के उनी साँच्चिकै भाग्यमानी हुनेछिन् ? तर प्रकट रूपमा उनले केही भनिनन् ।
भेलेन्टिनाले भनिन्, ‘दिदी, मैले एउटा कुरा सोधौँ ?’
के ?
तपाईं बाहिरबाट जति सामान्य र प्रसन्न देखिनुहुन्छ, वास्तवमा त्यस्ती हुनुहुन्न । तपाईंका मनमा कुनै गहिरो दु:ख छ । गहिरो पीडा छ । कुनै गम्भीर प्रकारको द्वन्द्व तपाईंको मनमा खेलिरहेको छ । नढाँटीकन भन्नुहोस्, मैले भनेको कुरा सत्य हो कि होइन ?
‘हो, सत्य हो’ सुनन्दाले भनिन् ।
‘सायद…..’ उनले अगाडि केही भन्न सकिनन् । कामरेड जलजलाको मृत्युले उनलाई धेरै दु:ख पुगेको थियो । त्यो भुल्न नै उनी रुस आएकी थिइन् । डा. जगदीशसित विवाह गर्ने निर्णय गरेकी थिइन् तर त्यो विवाहको कुराबाट उनको दु:ख कम हुनुको सट्टा उनको मनमा झन् द्वन्द्व मच्चिरहेको थियो ।
‘दिदी भन्नुहोस्, तपाईंले आफ्नो मनमा के लुकाएर बस्नुभएको छ ?’
‘सायद केही होइन । सायद धेरै कुरा छन्… सायद सायद ।’
उनले अगाडि केही भन्न सकिनन् । भेलेन्टिनाले पनि कर गरिनन् ।
सुनन्दा र डा. जगदीश ट्रेनबाट स्टालिनग्रादबाट मस्कोतिर जाँदै थिए । सुनन्दा एउटा झ्यालको छेउमा बसेकी थिइन् र बाहिरका दृश्य हेर्दै थिइन् भने डा. जगदीश उनका छेउमा बसेका थिए । डा. जगदीशले अकस्मात भने, ‘अब हामीले विवाहको मिति टुङ्गाउनुपर्दछ’ उनले अगाडि भने– ‘आज मैले, मेरो मनको कुरा तिमीलाई खोलेर बताउँछु… । मेरो कुरा तिम्रा लागि सरप्राइज हुनेछ । तिमी धेरै खुसी हुनेछौँ ।”
उनले अगाडि भन्दै गए, उनी गान्धीवादी थिइन् र उनी कम्युनिस्ट भएको हुनाले उनलाई उनीसित विवाह गर्न अप्ठ्यारो लागेको थियो । सुन्दरलाल बहुगुणा काङ्ग्रेसको नेता भएको हुनाले विमलाले उनीसित विवाह गर्न मानेकी थिइनन् । पछि उनी काङ्ग्रेस वा राजनीतिबाट अलग भएपछि उनीसित विवाह गर्न स्वीकार गरेकी थिइन् । त्यही प्रकारले उनी पनि सुनन्दासित विवाह गर्नका लागि माक्र्सवाद–लेनिनवाद वा कम्युनिस्ट पार्टी सबैलाई त्याग्न तयार थिए । त्यसरी सुन्दरलाल बहुगुना हुन तयार थिए ।
त्यही नै सुनन्दाका लागि उनको सरप्राइज थियो । उनले विवाहपछिको पहिलो रातमा सुनन्दालाई उनको त्यो कुरा बताउने विचार गरेका थिए तर उनको मनले मानेन र आजै उनले सुनन्दालाई त्यो कुरा खुलासा गरिदिएका थिए । सुनन्दाले केही बेरसम्म आश्चर्यचकित भएर डा. जगदीशको मुखमा हेरिरहिन् । उनी सोभियत संशोधनवादी थिए भन्ने उनलाई थाहा थियो तैपनि उनी एउटा कम्युनिस्ट भएको हुनाले ढिलोछिटो उनीसित उनको सामञ्जस्यता हुनेछ भन्ने उनको सोचाइ थियो… ।
डा. जगदीशले यो पनि भनेका थिए, “म कम्युनिस्ट भएको हुनाले मसित विवाह गर्न तिमीलाई अप्ठ्यारो लागेको कुरा मैले बुझेको छु । म कम्युनिस्ट, तिमी गान्धीवादी । मैले माक्र्सवाद–लेनिनवाद, कम्युनिस्ट पार्टी सबै छाड्ने निर्णय गरेको छु । माक्र्सवाद–लेनिनवादको कुनै अर्थ छैन । कम्युनिस्ट पार्टीको कुनै अर्थ छैन । त्यसको कुनै आवश्यकता छैन । मैले पनि यो बुझेको छु, रुसमा अब समाजवादी व्यवस्था रहेको छैन । यहाँ पुँजीवादको पुन:स्थापना भएको छ । लेनिन र स्टालिनले समाजवाद ल्याएको देशमा नै समाजवादको अन्त्य भयो भने अब अरू देशमा त्यसको के अर्थ छ ? यो नहुने बाटो हो । माक्र्सवाद–लेनिनवाद आउट अफ डेट भइसक्यो । समाजवाद अतीतको विषय भइसक्यो । रुसमा समाजवाद ल्याउनका लागि जुन कम्युनिस्टले त्याग र बलिदान गरे, उनीहरूले बेकारमा ज्यान दिए । बेकारमा दु:ख र कष्ट पाए । अब रुसमा पहिलेका कम्युनिस्टले व्यक्तिगत सम्पत्ति जम्मा गरिराखेका छन् । ठुल्ठुला घर बनाइरहेका छन् । पहिले सामूहिक स्वामित्वमा भएका कृषि फार्ममाथि व्यक्तिगत स्वामित्व कायम गरिरहेका छन् । त्यसरी उनीहरू व्यावहारिक बन्दै गइरहेका छन् । जीवनको लागि त्यही सही बाटो हो । मैले पनि त्यही निर्णय गरेको छु । त्यसपछि मैले तिमीलाई पूरै सुख दिन सक्नेछु । तिमी सम्पन्न र प्रतिष्ठित महिला बन्नेछौँ । कम्युनिस्ट भएर के पाइन्छ ? दु:खैदु:ख मात्र हो ।
डा. जगदीशको भनाइको जवाफमा सुनन्दाले भनेकी थिइन्, तपाईंको कुरा सुनेर मलाई धेरै खुसी लाग्यो । म ठुलो द्विविधामा थिए । तपाईंले मेरो मनको द्विविधा हटाइदिनुभयो । अब निर्णयमा पुग्न मलाई केही पनि अप्ठ्यारो पर्नेछैन ।”
उपन्यासमा अगाडि लेखिएको छ– “सुनन्दाले भनिन्, मैले विवाह गर्दिनँ… । म भारत फर्केर जान्छु ।
डा. जगदीशले अगाडि भनेका थिए : म गान्धीवादी हुन पनि तयार छु । म सुन्दरलाल बहुगुणाजस्तो हुन्छु भन्नुको अर्थ त्यही हो ।”
उपन्यासमा अगाडि लेखिएको थियो– “सुनन्दाले केही बेरसम्म डा. जगदीशको मुखमा हेरिरहिन् । विवाह गर्नका लागि आफ्ना सिद्धान्त वा आस्थासम्मलाई परिवर्तन गर्न पनि तयार हुने मान्छे ! त्यो अवसरवादको पराकाष्ठा थियो । अब उनले उनी (डा. जगदीश) सित विवाह नगर्ने जुन निर्णय गरेकी थिइन्, त्यो झन् बढी सही भएजस्तो लाग्यो । त्यस्तो सिद्धान्तहीन र अवसरवादी मान्छेसित उनले कुनै पनि अवस्थामा विवाह गर्न सक्दिनथिन् ।
उनीहरू दुबै जना मास्को पुगे । त्यहाँ पुगेपछि उनले डा. जगदीशसितलाई उनीसित उनले विवाह नगर्नुको कारण खोलेर बताएकी थिइन् । अब उनको विचारमा परिवर्तन भएको थियो र उनी गान्धीवादीबाट माक्र्सवादी–लेनिनवादी भएकी थिइन् । त्यसैले… ।
डा. जगदीशले आश्चर्यचकित हुँदै भनेका थिए, अब तिमी माक्र्सवादी भएको भए मसित विवाह गर्न किन अस्वीकार गर्ने निर्णय गर्यौँ ? म पनि माक्र्सवादी, तिमी पनि माक्र्सवादी… ।”
त्यस सन्दर्भमा उपन्यासमा लेखिएको थियो– “डा. जगदीशको कुरा सुनेर सुनन्दालाई हाँसो लाग्यो तर उनले हाँसोलाई आफ्नो ओठमा आउन दिइनन् । आफ्नो हाँसोलाई जबर्जस्ती भित्रै दबाइन् । विवाहका लागि उनी हिजो गान्धीवादी बन्न तयार भएका थिए । आज सोभियत संशोधनवादी लाइनको विरोध गर्न तयार भएका थिए ।
कति अवसरवादी मान्छे !
आफ्नो विचारलाई स्पष्ट रूपमा राख्दै सुनन्दाले भनेकी थिइन्, होइन, तपाईंसित विवाह नगर्ने आफ्नो निर्णयमा म अहिले पनि दृढ छु । तपाईंको कुराबाट मैले के बुझेँ भने तपाईं कुनै पनि विचारमा इमानदार र दृढ हुनुहुन्न । मसित विवाह गर्नका लागि हिजो गान्धीवादी हुन तयार हुनुभयो । आज व्यक्तिगत फाइदाका लागि आफ्नो विचारलाई बदल्न तयार हुनुभएको छ । कसैले आफ्नो विचारलाई क्षणक्षणमा परिवर्तन गर्ने कुरालाई मैले सही मान्दिनँ । आफ्नो कुनै विचारलाई परिवर्तन गर्ने कुरालाई मैले गलत मान्दिनँ तर त्यो आस्थाको आधारमा हुनुपर्दछ, कुनै डर, लाभ वा व्यक्तिगत फाइदाका लागि होइन । त्यसैले तपाईंसित विवाह नगर्ने कुरामा म दृढ छु ।”
उनले अब भारतमा नै फर्केर जाने निश्चय गरेकी थिइन् । उनको विचार युनान भएर भारत फर्कने थियो । त्यो दर्शनको प्राचीन भूमि थियो । त्यसैले उनको त्यहाँ जाने ठुलो इच्छा थियो । उनले एक्लै युनान हुँदै भारतमा फर्केर जाने विचार गरेकी थिइन् तर डा. जगदीशले उनलाई भारतसम्म पुर्याइदिने कुरामा धेरै जोड दिए । पहिले त उनले त्यो कुरा मानेनन् र उनले धेरै जोड दिएपछि उनले डा. जगदीशको प्रस्तावलाई स्वीकार गरिन् । डा. जगदीशको एकपल्ट लेनिनग्राड पनि घुम्न जाने कुरामा जोड थियो । पहिले उनीहरूका बिचमा विवाहपछि त्यहाँ जाने सल्लाह भएको थियो तर अब उनीहरूको विवाह नहुने भएपछि सुनन्दाको त्यहाँ जाने मन थिएन । डा. जगदीशले धेरै जोड गरेपछि उनले एकपल्ट त्यहाँ पनि घुम्न जाने कुरा स्वीकार गरिन् ।
उनी सिद्धान्तहीन र अवसरवादी व्यक्ति थिए तैपनि उनले उनीसितको विवाहलाई अस्वीकार गर्दा वा उनले स्पष्ट शब्दमा उनको आलोचना गर्दा पनि उनी रिसाएका थिएनन् र उनीप्रतिको उनको मैत्रीभाव कायम नै रहेको थियो । त्यसैले उनलाई लाग्यो, डा. जगदीश एउटा भद्र र सज्जन व्यक्ति थिए । त्यसैले विवाहको प्रश्नमा उनीहरूका बिचमा सहमति बन्न नसके पनि उनीहरूसँगै लेनिनग्राद जाने र त्यहाँबाट मास्को फर्केर युनान हुँदै भारत फर्कने कुरामा उनी अन्तमा सहमत भएकी थिइन् ।
त्यो बेला डा. जगदीशले पनि सुनन्दासितको विवाहबारे नै सोचिरहेका थिए । उनीसितको उनको विवाह टुटेको थियो तर उनी निराश भएका थिएनन् ।
सुनन्दासित लेनिनग्राद घुम्न जाने र सँगै भारत फर्कने कुरामा जोड दिनुका पछाडि डा. जगदीशको आफ्नो एउटा उद्देश्य थियो, उनीसित त्यति लामो यात्रा गर्दा उनको मन पग्लेर उनी पुन: विवाहको लागि तयार पनि हुन सक्दथिन् । लेनिनग्राद संसारको नै एउटा धेरै सुन्दर सहर थियो । त्यसकारण त्यो सहरको यात्राले उनको सोचाइमा केही परिवर्तन हुने सम्भावनातिर पनि उनले केही आशा गरेका थिए । अब उनी पक्का माक्र्सवादी–लेनिनवादी भएको कुरा उनलाई थाहा भइसकेको थियो । अब प्रत्येक कुराकानीमा आफूलाई त्यही रूपमा प्रस्तुत गरेर उनको मन जित्ने उनले विचार गरेका थिए ।
सुनन्दा र डा. जगदीश मास्कोबाट रेलद्वारा लेनिनग्राद जाँदै थिए । दुबै जना चुपचाप थिए तर दुबै जनाका मनमा कैयौँ कुरा खेलिरहेका थिए । सुनन्दालाई यो सोचेर आफैमाथि नै रिस उठिरहेको थियो कि उनी डा. जगदीशजस्तो सिद्धान्तहीन र अवसरवादी व्यक्तिसित विवाह गर्न रुससम्म आएकी थिइन् । यदि त्यो विवाह भएको भए कति ठुलो गल्ती हुन्थ्यो र उनको सम्पूर्ण जीवन कति धेरै बर्बाद हुन्थ्यो तैपनि यो सोचेर उनलाई सन्तोष लागिरहेको थियो, उनले समयमा नै सही निर्णय गरेकी थिइन् र त्यो खतराबाट उनी उम्केकी थिइन् ।
उनीहरू लेनिनग्रादको रेलवे स्टेसन उत्रिँदा भेलेन्टिनाकी आमा नतासा उनलाई स्वागत गर्न स्टेसनमा उभिएकी थिइन् । उनले पहिले मास्कोमा काम गर्थिन र अब उनले लेनिनग्रादमा काम गर्न थालेकी थिइन् ।
त्यो दिनको कार्यक्रम बनाउने कुरा चल्दा सुनन्दाले भनेकी थिइन्, “लेनिनग्रादमा हेर्नका लागि धेरै चिज छन् । ठुला ठुला दरबार । ठुला ठुला सङ्ग्रहालय । तिनीहरूसित जोडिएको इतिहास । सङ्ग्रहालयमा राखिएका ऐतिहासिक र बहुमूल्य सामग्री । ती सबै इतिहास हुन् । अतीत हुन् तर बाहिर सडकमा वर्तमान छ । वर्तमानमा जीवन छ । अतीतभन्दा वर्तमान कैयौँ गुणा बढी महत्त्वपूर्ण हुन्छ । अतीत समाप्त भयो तर वर्तमान गतिशील छ । जीवन्त छ । त्यसको दिशा भविष्यतिर छ । त्यसले जीवनमा उल्लास दिन्छ । प्रसन्नता दिन्छ । भविष्यको जीवनको निर्माणका लागि शक्ति दिन्छ । पहिले वर्तमानलाई बुझ्ने प्रयत्न गरौँ । त्यसपछि अतीततिर लागौँला । आजको सम्पूर्ण दिन वर्तमानका नाममा… ।”
उनीहरू सहरमा घुम्दै थिए । त्यो बेला डा. जगदीशले मनमनै सोचिरहेका थिए, एकपल्ट विवाह ता होस्, यसको घमण्ड मैले राम्ररी तोड्नेछु । कम्युनिस्ट हुने रे ! हिजोसम्मकी गान्धीवादी आज क्रान्तिकारी कम्युनिस्ट हुने रे ! यस्ता धेरै कम्युनिस्ट कहाँ पुगिसके ? विवाहभन्दा पहिले ठुला ठुला क्रान्तिकारी कुरा गर्ने केटीहरू विवाहपछि घरगृहस्थी, केटाकेटीमा नै भुल्ने गर्छन् । त्यही गति यसको पनि हुनेछ । मेरो विदेशमा राम्रो नोकरी छ । घरमा पनि सम्पत्तिको कमी छैन । यसले आराम र सुखको जीवन बिताउन सक्नेछ । त्यो सबै पाएपछि माक्र्सवाद र लेनिनवादलाई यसले पूरै भुल्नेछ । भर्खरको नयाँ जोस हो । पहिले यसलाई विवाह ता गरिहालूँ, त्यसपछि यसको सेखी झार्न मैले जानेको छु ।
साँझ नतासाकाे कोठामा फर्केपछि साइबेरियाबाट भेलेन्टिनाको फोन आयो र सुनन्दा र उनको फोनमा लामो कुराकानी भयो । त्यो बेला उनले कामरेड जलजलाको पूरै कथा वा उनको मृत्युको द:खान्त कथा भेलेन्टिनालाई बताइन् । उनले यो पनि बताएकी थिइन्, त्यही कामरेड जलजलाको मृत्युबाट उनलाई पुगेको ठुलो दु:ख भुल्नका लागि उनी दिल्लीबाट धेरै टाढा जान चाहन्थिन् । त्यही प्रकारको मानसिक अवस्थामा नै उनी डा. जगदीशको विवाहको प्रस्तावलाई स्वीकार गरेर रुस आएकी थिइन् । डा. जगदीश पनि कम्युनिस्ट भएको हुनाले उनीहरू दुबै जनाको वैवाहिक जीवन सफल हुनेछ भन्ने उनको विचार थियो तर रुस आएपछि उनको अवसरवादी र संशोधनवादी चरित्रबारे उनी धेरै स्पष्ट भएकी थिइन् । खास गरेर स्टालिनग्रादको यात्राबाट उनीबारे उनलाई धेरै राम्ररी ज्ञान भएको थियो । त्यसैले उनले उनीसित विवाह नगर्ने निर्णय गरेकी थिइन् ।
उनले यो पनि बताएकी थिइन्, विवाहपछि सम्बन्धविच्छेद गर्नु एउटा भारतीय नारीका लागि धेरै नै कठिन हुन्थ्यो तर यो राम्रै भएको थियो, विवाहपूर्व नै उनीहरूको सम्बन्धविच्छेद भएको थियो । उनले हाँस्दै भनेकी थिइन्, विवाहपहिले नै हाम्रो सम्बन्धविच्छेद भयो । त्यसलाई अर्ध सम्बन्धविच्छेद, पूर्व सम्बन्धविच्छेद वा अग्रिम सम्बन्धविच्छेद पनि भन्न सकिन्छ । त्यसपछि दुबै जना जोडले हाँसेका थिए ।
त्यो बेला भेलेन्टिनाले उनी सेनाबाट छुट्टी लिएर मस्को आइन् र उनीसित सँगै युनान जाने सल्लाह पनि भएको थियो । उनीहरू तीनै जनाले लेनिनग्राद सहरको परिक्रमा गर्दै थिए । त्यस सिलसिलामा उपन्यासमा लेखिएको थियो– “एक ठाउँमा ओजपूर्ण भावमा एउटी महिला उभिएको मूर्ति थियो । सडकमा त्यही प्रकारका अरू पनि कैयौँ स्मारक थिए । ती स्मारक देखेर सुनन्दाका मनमा फासिस्ट जर्मन सेनालाई हराउन वीरतापूर्वक लडेका सोभियत जनता र सेनाप्रति उच्च आदरको भाव पैदा भयो । उनले मनमनै सोचिन्, उनीहरूले त्यस प्रकारको वीरता नदेखाएको भए त्याग र बलिदान नगरेको भए वा आत्मसमर्पणको बाटो समातेको भए के हुन्थ्यो ? सोभियत जर्मनीको कब्जामा मात्र जाने थिएन, विश्वमा पनि जर्मन आधिपत्यको सम्भावना थियो ।
सुनन्दाका मनमा पुन: यो विचार आयो, स्टालिनको नेतृत्वमा सोभियत जनता र सेनाले वीरतापूर्ण युद्ध गरेर जुन सोभियत सङ्घको रक्षा गरेका थिए, त्यहाँ अब पुन: पुँजीवादको पुनस्र्थापना भएको थियो । कति धेरै दु:खको कुरा थियो त्यो ? बाह्य दुस्मनका विरुद्ध युद्ध गरेर उनीहरूले विजय प्राप्त गरेका थिए तर आफ्नो देशभित्रका दक्षिणपन्थी संशोधनवादीले दुस्मनले गर्न नसकेका काम गरेर सोभियत सत्ता र समाजवादी व्यवस्थालाई समेत ध्वस्त बनाएका थिए ।
सुनन्दा जस्तोसुकै अवस्थामा पनि निराश हुँदैनथिन् । उनका मनमा सधैँ यो लागिरहन्थ्यो, सोभियत सङ्घमा पुँजीवादको विजयको बाबजुद समाजवाद फेरि विश्वव्यापी रूपमा कायम हुनेछ र समाज साम्यवादी समाजतिर जानेछ, एउटा शोषणविहीन समाजतर्फ ।”

