मनोज भट्ट ##
देशमा खास खास बेलामा केही ‘पागल’ जन्मिनुपर्दछ । केही ‘पागल’ नजन्मी देश परिवर्तन हुन्न अर्थात् देश परिवर्तन गर्न समाजमा व्याप्त रूढीवाद, अन्धविश्वास पुरानो समाज व्यवस्थालाई फाल्न ‘पागल’ जन्मिनु नै पर्दछ ।
लेखमा मैले ‘पागल’ भन्दा साँच्चिकै मानसिक सन्तुलन गुमाएका व्यक्तिको हकमा यो कुरा भनेको होइन, समाजको दृष्टिकोणमा ‘पागल’ ठहर्याइएका हकमा भनेको हुँ ।
सर्वप्रथम त हाम्रो समाजको दृष्टिकोण कस्तो छ ? त्यसमाथि विचार गर्नुपर्ने हुन्छ । हाम्रो समाज अत्यन्तै पिछडिएको छ । जातीय, लैङ्गिक विभेद समाजमा व्याप्त छ । भ्रष्टाचारको संस्कृति गौरवको विषय बन्दै गएको छ, जसले अरूलाई शोषण, दमन, अत्याचार गरेर आफ्नो आर्थिक उन्नति गरेको मान्छे समाजमा सम्मानित ठहरिएका हुन्छन् । सत्तालिप्सा हाम्रो समाजमा आदर्शीकरण भइरहेको छ अर्थात् सत्ताप्रति चाकरी र चाप्लुसीको आधारमा आफ्नो भविष्य बनाउने प्रवृत्ति बढ्दो छ । राजनीति सेवाका लागि नभएर सत्ता र “शुभलाभ” को लागि हो भन्नने प्रवृत्ति जब्बर बन्दै गएको छ । सत्तामा पुग्न नसक्नेको राजनीतिक जीवन असफल भएको ठान्ने प्रवृत्ति व्याप्त छ ।
यी सबै सामाजिक खराबी, विकृति, विसङ्गतिका विरुद्ध वचन र कर्मले उभिने मान्छे समाजको दृष्टिकोणमा पागल ठहरिन्छ । तत्कालीन प्रतिक्रियावादी व्यवस्थाका विरुद्ध उभिने क्रान्तिकारीहरू ‘पागल’ करार हुन्छन् । ऊ समाजबाट तिरष्कृत र बहिष्कृत हुन्छ । राज्यले त्यस्तालाई सामाजिक मर्यादा, शिष्टाचा अनुशासन उल्लङ्घन गरेको निहुँमा जेल कोच्छ तर अन्तिममा तिनै पागलकै सङ्घर्षको परिणाम मुलुकको समाज व्यवस्था परिवर्तन हुन्छ । समाज व्यवस्था अर्थात् आर्थिक संरचना परिवर्तन हुन्छ । आर्थिक आधारमाथि टिकेको उपरी संरचना अर्थात् मान्छेका सोचाइ, विचार, दर्शन, संस्कृति, राजनीति, कला, साहित्य, मनोविज्ञान पनि त्यहीअनुरूप परिवर्तन हुन्छ । यद्यपि यी दुइटा तत्त्वले एकअर्कामाथि प्रभाव पार्दछन् । यिनीहरूका बिचमा एकता र सङ्घर्ष अर्थात् द्वन्द्वात्मक एकता हुन्छ ।
यस्तै एउटा ‘पागल’ थिए, लक्ष्मीप्रसाद देवकोटा । देवकोटा स्वयम्ले आफूलाई ‘पागल’ बताएका थिए तर उनी मानसिक स्वास्थ्यका दृष्टिकोणले होइन, समाजको दृष्टिकोणमा ‘पागल’ थिए । उनलाई औषधोपचारको क्रममा राँची लगिएका बेला शारीरिक परीक्षणपश्चात् चिकित्सकले भनेका थिए– “जियोग्राफिकल मिस्टेक” अर्थात् भौगोलिक गल्ती अर्थात् लक्ष्मीप्रसाद देवकोटा युरोपमा वा पश्चिममा जन्मेका भए उनी विश्वप्रसिद्ध कवि र साहित्यकारको मान्यता पाउँथे तर उनी पूर्वमा जन्मेको हुनाले पागलखानामा पुर्याइए ।
लक्ष्मीप्रसाद देवकोटाको जन्म १९६६ कात्तिक २७ गते लक्ष्मीपूजाको दिनमा काठमाडौँको डिल्लीबजारमा भएको थियो । देवकोटा नेपाली साहित्यक्षेत्रका विराट प्रतिभा भएका प्रगतिशील कवि हुनुहुन्थ्यो । उहाँले १९९१–२०१६ सम्म अर्थात् २५ वर्षसम्म सक्रिय साहित्य साधना गर्नुभयो ।
देवकोटाले छओटा महाकाव्य, २५ ओटा खण्डकाव्य, तीनओटा निबन्ध/प्रबन्ध सङ्ग्रह, एउटा कथासङ्ग्रह, दशओटा गीतिसङ्ग्रह, छओटा कवितासङ्ग्ह गरी ५१ ओटा कृति नेपाली साहित्य जगत्लाई दिएका छन् । ६४५ भन्दा बढी कविता कोरेका छन् । २० जनाभन्दा बढीले देवकोटाको बारेमा पिएचडी गरेका छन् । माइकल टन नामक विदेशी नागरिकले देवकोटाको बारेमा पहिलो विद्यावारिधि गरेका हुन् ।
देवकोटा अन्तर्राष्ट्रिय स्तरका कवि थिए । फुटकर सिर्जनाबाहेक पुस्तकको रूपमा प्रकाशित र अप्रकाशित कृति, सम्भवत: हराएका कृति र अपुरो वा आंशिक मात्र रहेका कृति गरी जम्मा १०८ ओटा रहेको कुरा उनका छोरा पदम देवकोटाले आफ्नो संस्मरणमा लेखेका छन् । देवकोटाका बारेमा हालसम्म २० ओटाजति विद्यावारिधि स्तरका, सयजति स्नातक र स्नातकोत्तरका शोधकार्य सम्पन्न भएका छन् । त्यसले पनि देवकोटाको विराट व्यक्तित्वलाई जनाउँछ ।
देवकोटाको जीवन अत्यन्तै अभावमा बित्यो । उहाँ र उहाँको परिवार कैयौँ दिन भोकै बसेर र पानी पिएर मात्र बिताएको विभिन्न अनुसन्धानात्मक लेख पत्रपत्रिका तथा संस्मरण पाइन्छ । देवकोटाका छोरा कृष्णको मृत्यु पनि गरिबीका कारण भएको थियो । बनारसबाट काङ्ग्रेसको मुखपत्र “युगवाणी” प्रकाशनको क्रममा देवकोटाको सपरिवारले नै ठुलो अभाव, दु:खकष्ट व्यहोरेका थिए । यहाँसम्म कि देवकोटाकी श्रीमती मनदेवी देवकोटा बनारस बसाइको दौरान त्यहाँको दुर्गाघाट शवरीसमेत गर्नुपरेको बाध्यता उहाँको छोरा पदम देवकोटाको “सम्झनामा बुबा, महाकवि देवकोटा” भन्ने संस्मरणात्मक कृतिबाट थाहा हुन्छ । बनारस बस्दा उनले दैनिक रूपमा भोगेका अभाव, भोक, कष्ट, बिरामी परिवारको बिचल्लीका बारेमा अङ्ग्रेजीमा लेखिएको संस्मरण “दाल, भारत डुकूँ” (पल्स राइस एन्ड मास्टर स्टेम) शीर्षकको निबन्धमा खुलाएका छन् ।
देवकोटा बनारसबाट नेपाल फर्केपछि पनि उनको आर्थिक अवस्थामा कुनै सुधार भएन । कतिसम्म विरक्तलाग्दो अवस्थामा भने आर्थिक अभावका कारण तीन दिनसम्म भोकै बस्नुपरेपछि एक जना सहयोगीले दिएको कम्बलसमेत बेचेर खानाको जोहो गर्नुपरेपछि सोही दिन देवकोटाले “दालभात डुकूँ” कविता लेखेका रहेछन् । कविता बेचेर भन्टाको झोलमा झाक टार्नुपर्ने दयनीय तथा मार्मिक अवस्था देवकोटाले भोगेका थिए ।
लक्ष्मीप्रसाद देवकोटाजस्तो महान् बौद्धिक स्तर भएको व्यक्ति बौद्धिक वेश्या हुन तयार भएको भए खरिद गर्नेको कमी हुने थिएन तर उनले आजीवन अधिनायकवादी तथा निरङ्कुशताका विरुद्धमा आफूलाई उभ्याए । “मुनामदन” खण्डकाव्यबाट देवकोटाको साहित्यले सामाजिक जनजीवनका समस्या उठान गर्न थालेको पाइन्छ । “पहाडी पुकार” बाट देवकोटाको साहित्यले राजनीतिक रूप लियो । “कृषिवाला” गीतिसङ्ग्रह, “प्रमिथस” महाकाव्यबाट देवकोटाको साहित्य किसान वर्गसङ्घर्ष, विद्रोह, क्रान्ति र समाजवादी प्रकारका विचारतर्फ उन्मुख भएको पाइन्छ । देवकोटाको चिन्तनले क्रमश: निम्नस्तरबाट माथिल्लो स्तरमा विकास गर्दै गएको पाइन्छ । यद्यपि देवकोटाको साहित्यमा प्रकृति, ईश्वरवादको प्रभाव विभिन्न समयमा प्रकट हुन्थ्यो । त्यसो हुनु कुनै पार्टीमा आबद्ध नहुनुको परिणाम हो । तत्कालीन घटनाले तरङ्गित बनाउथ्यो देवकोटाको कृतिलाई ।
देवकोटाको विद्रोहात्मक चेत धेरै माथिल्लोस्तरको थियो । देवकोटाको ‘पागल’ कविता निकै लामो छ तर निम्न हरफ उल्लेख गरेर लेखलाई टुङ्ग्याउन चाहन्छु :
मैले नबाबको मदिरालाई खुन भनेको छु
छिमेकी रन्डीलाई लास भनेको छु
राजालाई गरिब
सिकन्दरलाई मैले गाली दिएको छु
महात्मा भनाउँदाको निन्दा गरेको छु
नगण्य व्यक्तिलाई तर
सातौँ आसमानसम्म
तारिफको पुलमा चढाएको छु
तिम्रा महापण्डित, मेरा महामूर्ख
तिम्रो सुन, मेरो फलाम
साथी ¤ तिम्रो धर्म, मेरो पाप
जहाँ तिमी आफूलाई चलाक सम्झन्छौँ
उहाँ म देख्छु, तिमीलाई बिल्कुल लाटा
तिम्रो उन्नति, मेरो अवनति
यस्तै छ मोलमोलाइको उलटपलट साथी
तिम्रो विश्व, मेरो बाल
जरुर साथी ! म बिल्कुल चन्द्राहत छु
चन्द्राहत
यस्तै छ मेरो हाल
म अन्धालाई दुनियाको अगुवा देख्दछु
गुफा–तपस्वीलाई अगुवा देख्दछु
मिथ्याका मञ्च चढेकालाई
काला नटुवा देख्दछु
विफललाई सफल देख्दछु
प्रगतिलाई अग्रगति देख्दछु
जब बाघले मृग खान आँछेको देख्छु साथी
या ठुला माछाले सानो
तब मेरा मक्काएका हड्डीमा दधीचिको आत्माको
भयङ्कर बल पसेर बोल्न खोज्दछ साथी
तब कड्कडाउँछन् मेरा बत्तिसदन्ते बङ्गारा
………..
वन खाने आगोझैँ बहुला हुन्छु
बहुला साथी
काँचै निलूँझैँ विश्वविशाल ।