गणेश आचार्य
मानव समाजमा चेतनाको विकाससँगै नैतिकता, इमान र सत्यको खोज सधैं अग्रस्थानमा रहँदै आएको छ । तर इतिहास साक्षी छ सत्यको बाटो सजिलो कहिल्यै हुँदैन । सत्य भन्नु भनेको केवल तथ्य बोल्नु मात्र होइन, भ्रम र असत्यको सामना गर्नु पनि हो । जब समाज अज्ञान, भ्रम र भावनाको नशामा डुब्छ, त्यतिबेला गलतलाई ठिक र ठिकलाई गलत ठान्ने संस्कार बस्छ । यही संस्कारले राष्ट्रलाई बारम्बार धोका खाने बनाउँछ ।
नेपालमा राजनीति भन्दा ठूलो भ्रम साहेद अर्को छैन । यहाँ हरेक दशकमा जनता नयाँ आशाको भीडमा पुराना नालायक नेताहरूलाई फेरी पनि अवसर दिन तयार हुन्छन् । जसरी जङ्ग लागेको फलाम तातो भट्टीमा हाल्दा पनि पुरानो जङ्ग हराउँदैन, त्यस्तै यहाँको राजनीतिक सोच पनि सतहमा नयाँ देखिए पनि भित्री भागमा पुरानै दलाल चरित्रले भरिएको हुन्छ । यही कारण राजनीति परिवर्तनको भाषामा बोल्छ तर चरित्र उस्तै रहन्छ ।
सत्य, इमान र नैतिकताको कुरा गर्नेहरूलाई जनताले ‘कट्टर’ वा ‘भावनात्मक’ भन्छन् । तर यही भावनाहीन विवेकको कमीले नै देशलाई बारम्बार धोका खुवाइरहेको छ । अरिस्टोटलले भनेका थिए “मनुष्य राजनीतिक प्राणी हो, तर बुद्धिबिना राजनीति उसको विनाशको कारण बन्छ ।” नेपाली समाजले यो कुरा एकपटक होइन, सयपटक प्रमाणित गरेको छ ।
हामीले २०४६ मा ‘लोकतन्त्र’ भन्दै उत्सव मनायौं, २०६२–६३ मा ‘गणतन्त्र’ भनेर अर्को उत्सब मनायो । २०७९ पछि फेरि ‘नयाँ सोच’ भनेर आत्मधोका खायौँ । तर न सोच नयाँ भयो, न नैतिकता । केवल नारा मात्र नयाँ भयो, जसले जनता फेरि पनि ठगिएर ताली बजाए । तर दोष केवल नेतामा मात्र होइन, जनताको चेतनामा पनि छ । हामी नेताबाट सत्य अपेक्षा गर्छौँ, तर आफैं भ्रममा रमाउँछौँ । सच्चा, इमानदार र सिद्धान्तमा अडिएका पात्रहरूलाई हामी कठोर र कमजोर ठान्छौँ, किनकि उनीहरूले चकचकीका सपना होइन, कठोर यथार्थ देखाउँछन् । तर यथार्थ स्वीकार्ने साहस हरेकमा हुँदैन । बुद्धले भनेका थिए— “सत्यको बाटो कठिन छ, तर केवल यही बाटोले मुक्तिको ढोका खोल्छ ।” नेपालमा भने जनताको बहुमत अझै सजिलो बाटो रोज्छ, झूटको मिठासमा रमाउने र सत्यको कडवाहटबाट डराउने ।
यही प्रवृत्तिले समाजलाई नै बन्धक बनाएको छ । नेताहरू जब ठूला मञ्चमा उभिएर भव्य भाषण गर्छन् “हामी नयाँ युग ल्याउँछौँ, हामी परिवर्तन गर्छौँ” जनता ताली बजाउँछन् । तर जब त्यही नेताहरू ठेकेदार र व्यापारीका दलाल बन्छन्, जनता मौन रहन्छन । के मौनता अपराध होइन ? एडमण्ड वर्कले भनेका थिए “दुष्टताको विजयका लागि इमानदार मानिसहरूको मौनता नै पर्याप्त हुन्छ।” नेपालका इमानदार नागरिकहरू यही मौन अपराधका साक्षी बनेका छन् ।
प्रत्येक चुनावपछि जनताले भन्छ “यो पटक गल्ती भयो, अर्को पटक राम्रा मानिस छानौँला ।” तर अर्को पटक पनि उही गल्ती दोहोरिन्छ । किन ? किनकि परिवर्तन चाहने जनताले आफूलाई बदल्न कहिल्यै चाहेन । सत्ताको परिवर्तन सजिलो छ, तर चेतनाको परिवर्तन कठिन छ । दल बदलिन्छ, नारा बदलिन्छ, अनुहार बदलिन्छ, तर मानसिकता उस्तै रहन्छ । जात, धर्म, क्षेत्र र भावनाको साँघुरो घेराभित्र कैद हुन्छ । यही जनताको मानसिक दासता हो । नेपालमा नागरिकभन्दा बढी अनुयायी छन् । यहाँ दलभन्दा माथि राष्ट्र राख्ने संस्कार विकास हुन सकेको छैन । सत्य र इमानको राजनीति किन हरायो भने हामीले सत्यका पात्रलाई प्रेम गर्न सिकेनौँ । सत्य बोल्ने नेता हामीलाई असजिलो लाग्छ । हामी चाहन्छौँ मिठा कुरा गर्ने, गफ दिने, अरूलाई दोष दिने र आफैंलाई कहिल्यै दोष नमान्ने पात्र । ती नै अहिलेका चर्चित ‘नेता’ बनेका छन् । उनीहरूले जनताको भावना बेचेर सिंहदरबारमा दलालको महल बनाएका छन् । तर यसको जिम्मा कसको ? जनताको नै हो । कार्ल मार्क्सले भनेका थिए “जनता आफ्नो इतिहास बनाउँछ, तर आफ्नै सर्तमा होइन ।” हामीले पनि इतिहास बनायौं, तर आफ्नै भ्रममा डुबेर । त्यसैले हाम्रो इतिहासमा परिवर्तनका नारा धेरै छन्, तर परिवर्तनका परिणाम कम ।
आजको समाजमा इमानदार नेता भन्दा आकर्षक जनसम्पर्क गर्ने धूर्तको माग बढी छ । त्यो धूर्त हामीलाई ठग्छ, हामी फेरि पनि भोलि उसकै पक्षमा तर्क गर्छौं । यही चक्र केवल राजनीतिक विफलता र नैतिक पतनको नाङ्गो प्रदर्शन हो । जब समाजमा नैतिकता हास्यको विषय बन्छ, भ्रस्टाचार पनि संस्कार बन्छ । जब सत्य बोल्ने व्यक्ति एक्लिन्छ, झूट बोल्नेहरू समूह बनाउँछन् र समूह नै अन्ततः सत्ता बन्छ ।
हामी सोच्दछौँ “सबै नेताहरू खराब छन्, जो भए पनि के फरक पर्छ ?” यही सोचले देशलाई अघि बढ्न नदिएको हो । जब नागरिकले सही र गलतबीचको भिन्नता बुझ्न छाड्छ, राष्ट्र नै दिशाहीन हुन्छ । हर्बर्ट स्पेन्सरले भनेका थिए “सामाजिक पतन तब सुरु हुन्छ, जब नागरिकले नैतिक निर्णय गर्न छोड्छ ।” नेपाल अहिले यही अवस्थामा छ । तर सबथोक नकारात्मक छैन । अहिले पनि सानो तर बौद्धिक चेतना विकसित हुँदैछ । जसले राजनीतिक धूर्तताको सट्टा सिद्धान्तको खोजी गरिरहेको छ । नयाँ पुस्ताका केही युवाहरू छन्, जो “कसले जित्छ ?” भन्दा “कसले इमान राख्छ ?” भन्ने प्रश्न सोध्न थालेका छन् । यही चेतना नै आशाको दियो हो । जब सोच बदलिन्छ, तब संरचना बदलिन ढिलो लाग्दैन ।
नेपालको मुक्ति कुनै नयाँ पार्टीको उदयबाट होइन, नयाँ विचारको पुनर्जागरणबाट हुनेछ । त्यो विचार सत्य, इमान र नैतिकताको त्रिवेणीमा उभिएको हुनुपर्छ । यदि राजनीति विचारविहीन रह्यो भने, त्यो केवल अर्को ठगी हो । जसमा जनता फेरि भरोसा बेच्नेछन् । त्यसैले अब समय आएको छ, नेतालाई होइन, विचारलाई समर्थन गर्ने; भावनाको लहर होइन, तथ्यको आधारमा निर्णय गर्ने र सबैभन्दा जरुरी, मौनता तोड्ने । मौन नागरिक कहिल्यै स्वतन्त्र हुँदैन, किनकि मौनता अन्तत अन्यायको सहमति हो ।
सत्यको पक्षमा बोल्नु अहिले पनि जोखिमपूर्ण छ तर यही जोखिम इतिहास निर्माणको पहिलो ढोका हो । विचारप्रति प्रतिबद्ध नागरिक मात्र लोकतन्त्रको वास्तविक आधार हुन् । भोल्टेयरले भनेका थिए “तिमी मेरो विचारसँग असहमत हुन सक्छौ, तर म तिम्रो बोल्ने अधिकारको रक्षा गर्न जीवन दिन सक्छु ।” हामी पनि त्यही चेतनामा पुग्नुपर्छ जहाँ विचार सत्ताभन्दा ठूलो हुन्छ, विवेक दलभन्दा माथि ।
सत्य, इमान र नैतिकता केवल आदर्शका शब्द होइनन, ती नै राष्ट्रको आत्मा हुन् । जब राष्ट्र आफ्नो आत्मासँग धोका गर्छ, तब कुनै संविधान, कुनै लोकतन्त्र र कुनै चुनावले पनि उसलाई बचाउन सक्दैन । नेपाल अहिले त्यही मोडमा उभिएको छ, जहाँ इमानदारको आवाज बेवास्ता गरिन्छ, झूट बोल्नेहरूलाई “व्यावहारिक” भनेर सम्मान दिइन्छ र जनता फेरि नयाँ नारा सुनेर उत्साहित हुन्छ ।
इतिहास निष्पक्ष हुन्छ । उसले झूटको भीड होइन, चेतनाको प्रकाश सम्झन्छ । जो जनताले विवेक गुमाउँछन्, उनीहरू सधैं धोका खान्छन् । अन्ततः जब इतिहास पुनः प्रश्न गर्छ “तिमीले गलत पार्टी रोज्यौ ?” उत्तर त्यही हुनेछ— “हामीले पार्टी होइन, विवेक हरायौँ ।”
अर्को बिर्सनै नहुने कुरा के हो भने कुनै पनि बिचार, दर्शन र राजनीति देशको सापेक्षतामा चल्ने हो । देशको भुराजनीतिक अबस्थाका आधारमा कुनै पनि विषयमा नीति बन्छ । तर अहिले केहि युबाहरूलाई भुराजनीति, सार्बभौमसत्ता र देशभक्ति भाबनासित कुनै सरोकार छैन । लोकप्रियतालाई सत्ता प्राप्तिको माध्यम बनाउने भन्दा अरु कुनै सोच छैन । सत्ता स्वार्थ सिद्धीको साधन बनाएर राजनीतिलाई जिबिकोपार्जनको माध्यम बनाउने चिन्तन बढदो क्रममा छ । यहि चिन्तनलाई अनुमोदन गर्ने जनमत हुदासम्म त्यो देशको सार्बभौमसत्ता पनि सुरक्षित हुदैन र देशभक्त भावना पनि रहन्छ । त्यो अबस्थामा न्याय, मुक्ति, समानता र समृद्धि भन्ने कुरा ॅआकासको फल आखातरी मर’ बराबर हो ।