लक्ष्मण बेलबासे ##
अहिले नेपालको राजनीति अप्ठेरो घुम्तीतिर पुगेको छ । अनुभवी र पुराना ड्राइभरलाई पाखा लगाइएको छ । नयाँ र पुरानाको यो द्वन्द्वले अझै सकारात्मक परिणाम दिन सकेको छैन ।
पवित्र भावनाले उत्प्रेरित भएर देश भ्रष्टाचारमुक्त बनाउन र सुशासनको माग गर्दै सडकमा उत्रिएको युवा समूहमा विभिन्न स्वार्थी समूहको घुसपैठ भयो । सुरक्षाबल दमनमा उत्रियो । कलिला युवाको ज्यान गयो । स्वार्थ समूहका लागि ती युवाको ज्यान जानैपथ्र्यो अनि मात्र २४ गतेको लागि माहोल तयार हुन्थ्यो । आखिर भयो पनि त्यस्तै । पुरानो सत्ता सत्ताच्युत हुनुपर्यो ।
नयाँ पुस्ता र त्यो स्क्रिनको सामाजिक सञ्जालको दुनिया । नयाँ पुस्ता यसैमा अभ्यस्त भइसकेको छँदै थियो, सामाजिक सञ्जालबाटै आन्दोलन आह्वान गर्ने र नेतृत्व गर्ने भइसकेको थियो । यही सञ्जाल नियमन गर्ने कर्मले सरकार अलोकप्रिय भइरहेको थियो । भित्रभित्रै विभिन्न एजेन्सी सक्रिय भइसकेका थिए । बारुदको थुप्रो जम्मा भइसकेको थियो । सलाई कोर्ने माध्यम जेनजी आन्दोलन बन्यो । यही आन्दोलनको उपलब्धि भनौँ, देश दुई भागमा विभाजन हुन पुग्यो, नयाँ पुस्ता र पुराना पुस्ताका ।
पुराना पुरानै रहेछन् पनि । स्मार्ट रहेनछन् यद्यपि अनुसन्धानका सुई जताततै फर्काउनुपर्ने भएको छ । भित्रभित्रै भुसको आगोजस्तै फैलिएको स्वार्थ समूहको चलखेलको बारेमा अनभिज्ञ देखिनु । अनभिज्ञ जासुसी संस्था र सुरक्षा निकाय । अनभिज्ञताको पराकाष्ठा नै थियो । आन्दोलनले सिर्जेको नयाँ माहोलमा त्यसको जिम्मा कसले लिने ? सामाजिक सञ्जालमा आन्दोलनको आह्वान गर्नेहरू नै अलमल्ल छन् । आन्दोलनको जिम्मा लिँदै गर्दा त्यसले निम्त्याएका खराब परिणामको बारेमा कसरी जबाफदेही हुने ? नलिऊँ प्राप्त उपलब्धिको रक्षा कसरी गर्ने ? बच्चा अरू कसैले जन्मायो, आमा अरू कोही भइदिएको छ । आफ्नो बच्चा कसरी आफ्नो भन्नु ?
राजनीति सधैँ सरल बाटोमा हिँड्दैन । यो निर्मम र कठोर पनि हुन्छ । यसको अन्तिम लक्ष्य सत्ता हो । दलीय व्यवस्थामा चाहे त्यो पार्टी सत्ता होस् या राज्यसत्ता, यो सधैँ प्रतिष्पर्धात्मक हुने गर्दछ । यसले निर्माण गर्ने नेतृत्व नेतृत्व मात्र हैन, सय थरी आवाजको व्यवस्थापन र निकासको माध्यम र दिशानिर्देश गर्ने निकाय पनि हो । त्यसैले यो त्यति सरल विषय पनि होइन ।
नेतृत्वमा पुग्ने सबैको उत्कट चाहना हुन्छ । चाहनाले मात्रै पुगिने त्यति सजिलो ठाउँ पनि नेतृत्व हैन । त्याग, बलिदान, समर्पणले मात्रै पनि पुगिने ठाउँ हैन रहेछ । साथसाथै कुशल सङ्गठक पनि हुनुपर्ने अर्को ठुलो गुण चाहिँदो रहेछ । सँगसँगै नेपाली मात्र भएर पुग्दैन, देशभक्त नेपाली पनि हुनुपर्दछ । त्यसैले प्रजातान्त्रिक तरिकाबाट पनि नेतृत्व चयनका विभिन्न विधि निर्माण भएका छन् ।
हाम्रोजस्तो प्रजातान्त्रिक मुलुकमा पनि नेतृत्व सर्वसम्मत वा चुनावको माध्यमबाट चयन गरेको पाइन्छ । यसले नै नेतृत्वलाई वैधानिकता प्रदान गर्दछ ।
कहिलेकाहीँ अवस्था प्रतिकूल बनिदिन्छ । नेतृत्वप्रति असन्तुष्टि पैदा हुन्छ या पैदा गराइन्छ र अलोकतान्त्रिक बाटोबाट या विधिभन्दा बाहिरबाटै नेतृत्व परिवर्तनको प्रयास हुन्छ र सफल हुन्छ पनि । अन्तत: बदलिएको नेतृत्व कहिलेकाहीँ निरङ्कुश र अनन्तकालसम्म आफूलाई नै नेता बन्ने विधि स्वयम् निर्माण गर्दछ । त्यहाँ विधिको कुनै मूल्य हुँदैन, व्यक्ति नै सर्वशक्तिमान बनिदिन्छ र कानुनको स्रोत नै आफैलाई बनाउँदै जान्छ । अन्तत: नेतृत्व निरङ्कुश बनिदिन्छ । यसको विपरीत कहिलेकाहीँ अलोकतान्त्रिक पद्धतिबाट निर्माण भएको नेतृत्वले पनि लोकतान्त्रिक विधि निर्माण गर्दै आफूलाई लोकतान्त्रिक बनाएर विधिको शासन अवलम्बन गर्दछ, जुन सबैका लागि उपलब्धिमूलक बनिदिन्छ ।
मूल कुरा प्रजातान्त्रिक अभ्यासमा नेतृत्व मागेर र या खोसेर लिने कुरामा विश्वास गरिँदैन र कसैले कसैलाई किस्तीमा सजाएर दिने विषय पनि यो होइन । तिमी एक जना बदलिएर संसार बदलिँदैन । तिमी सुरुवात हुन भने पक्कै हुन सक्छौ । कुनै पनि चिज बदलिन वस्तुगत अवस्था पनि बदलिएकै हुनुपर्दछ । यसको लागि नेतृत्व सामूहिक र समान सहभागिताले विकास हुन्छ । प्रजातान्त्रिक अभ्यास मा व्यक्ति प्रधान हुन सक्दैन, नेतृत्व सामूहिक हुन्छ ।
अहिले धेरै पार्टीमा नेतृत्व परिवर्तनको बहस सुरु भएको छ । अब सबै कुराको जिम्मा युवालाई दिनुपर्दछ भन्न थालिएको छ । झट्ट हेर्दा हुन पनि हो तर युवा हुनु नै सम्पूर्ण होइन । बच्चा, युवा, अधबैँसे वृद्धको समग्रता नै समाज हो । राष्ट्र हो, देश हो, संसार हो । अहिले उमेरसमूहको नाममा समाजलाई विभाजन गरिएको छ । कसैको अवमूल्यन गरेर कोही मूल्यवान् हुन सक्दैन । पृथक् गुण भएरै सुन मूल्यवान् हुन्छ र सुन कहिल्यै पुरानो हुँदैन । नेतृत्वमा परिवर्तनलाई स्वीकार्दै सङ्गठनलाई गतिशील बनाई राख्न सक्ने पृथक् गुण पनि चाहिन्छ । सुन विभिन्न आकारमा बदलिन सक्छ तर पुरानो हुँदैन तर मान्छेको हकमा यो सधैँ लागु नहुन पनि सक्छ ।
कुनै कालखण्डमा आन्दोलनको नेतृत्व गरेर सफलता हासिल गरेको नेतृत्व अर्को कालखण्डमा प्राप्त उपलब्धिबाट लाभ लिन र विस्तार गर्न असक्षम पनि हुन सक्दछ । समय र परिस्थिति परिवर्तनशील हुन्छ । जडताले यथास्थितिको माग गर्दछ । परिवर्तन स्वीकार्न सक्दैन । त्यसैले नेतृत्व सधैँ गतिशील हुनुपर्दछ ।
फेरि प्रजातान्त्रिक अभ्यासमा नेतृत्व क्षमताले लिने हो, खोसेर वा रोइकराइ गरेर हैन । जनता या कार्यकर्ताको रोजाइमा जसको चयन हुन्छ, त्यसको नेतृत्व स्वीकार्न सबै बाध्य हुन्छन् । यो लाठी, बन्दुक, डर र भयमा होइन, निर्भयका साथ मतदानबाट व्यक्त हुन्छ । वर्तमान नेतृत्व पनि बलजफ्ती निर्माण भएको हैन । स्वतन्त्र प्रतिस्पर्धाबाटै चुनिएको हो । कुनै बेला अहिलेका नेता ओली, देउवा पनि समकालीन नेतासँग हारेर पनि फेरि आफूलाई मजबुत बनाउँदै नेता बनेका हुन् । हारलाई स्वीकार्नु ठुलो कुरा हो ।
अब उमेरको कुरा गर्दा सैद्धान्तिक र व्यावहारिक दुवै कुराको भरिपूर्ण सङ्गम मदन भण्डारी अग्रज नेताहरूलाई पछि पारेर महाधिवेशनबाटै युवाअवस्थामै प्रजातान्त्रिक माध्यमबाटै महासचिव बनेका थिए । लोकप्रिय र विचारको स्पष्टताले नेतृत्वसम्म प्रजातान्त्रिक माध्यमबाट पनि त पुर्याउने रहेछ त । त्यसैले युवाले पनि आफ्नो क्षमताको विकास त्यही प्रकारले गर्दै लोकतान्त्रिक बाटो अवलम्बन गर्दै पुरानालाई विस्थापन गर्न सकिन्छ भन्ने विश्वासको जगमा आफूलाई उभ्याउनु अत्यावश्यक हुन्छ ।
रिङभित्रै नपसी मेडलको अपेक्षा राख्ने खेलाडीको के नै अर्थ हुन्छ र ?त्यसैले नेतृत्व छोड भनेर रोइकराई गर्नुभन्दा पार्टीपङ्क्तिको मन जितेर प्रतिष्पर्धाबाटै नयाँ पुस्ता नयाँ नेतृत्व जान खोज्नु उत्तम विकल्प हुन सक्छ । बुढो मरे भकारो खाली हुन्छ भन्ने मानसिकताले कहीँ कतै पुगिँदैन, फगत कुण्ठित भइन्छ । कुण्ठा विकासमा बाधक हुन्छ ।