गाजापट्टी । शान्ति सम्झौताबाट इजरायली सेना फिर्ता भएपछि पनि गाजा अशान्त बनेको छ । गाजामा आन्तरिक झडपमा परेर २७ जनाको ज्यान गएको छ । बिबिसीका अनुसार गाजामा हमासका सुरक्षा बल र दुग्मुश परिवारका सशस्त्र सदस्यबिच झडप भएको हो ।
झडपमा परेर २७ जनाको मृत्यु भएको छ भने कयौँ घाइते भएका छन् । इजरायली सेनाको आक्रमण अन्त्य भएपछिका आन्तरिक द्वन्द्वमा यो सबैभन्दा हिंसात्मक घटना मानिएको छ ।
नकाबधारी हमास लडाकुले सहरको जोर्डानियन अस्पतालनजिकै दुग्मुश परिवारका लडाकुसँग झडप गरेका थिए । सुरक्षा एकाइले सशस्त्र समूहलाई घेरेर नियन्त्रणमा लिन खोज्दा तीव्र गोलीबारी भएको थियो ।
हमासद्वारा सञ्चालित आन्तरिक मामिला मन्त्रालयका अनुसार मृत्यु हुनेमा १९ जना दुग्मुश परिवारका सशस्त्र सदस्य हुन् भने आठ जना हमासका लडाकु रहेको बताइएको छ ।
हिंसा शनिबारदेखि सुरु भएको हो । हमास लडाकुले सुरुमा दुग्मुश परिवारका सशस्त्र सदस्य रहेको आवासीय क्षेत्रमा आक्रमण गरेका थिए ।
गाजाका सबैभन्दा प्रभावशाली परिवारमध्ये पर्ने दुग्मुश र हमासबिच लामो समयदेखि तनावपूर्ण सम्बन्ध रहँदै आएको छ । यसअघि पनि उनीहरूबीच धेरैपटक झडप भएका थिए ।