• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

मनोगत संवाद–१०

"सन्दर्भ ‘कामरेड जलजला’ उपन्यास–३० "

  •   आइतबार, असोज २६, २०८२ मा प्रकाशित
  • मोहनविक्रम सिंह ##

    Advertisement

    सुनन्दा र विद्या जेएनयुको आफ्नो क्वाटरमा पुग्दा उनीहरूले ढोकामा एउटा कागज झुन्डिएको पाए । त्यो अजितले सुनन्दालाई लेखेको पत्र थियो । त्यसमा लेखिएको थियो : “सुनन्दाजी म तपाईंहरूलाई भेट्न आएको थिएँ तर तपाईं अझै दिल्ली नआइपुगेको थाहा पाएँ । तपाईंसँग भेट हुन नपाएकोमा मलाई धेरै दु:ख लागेको छ । म भोलिको गोमती एक्सप्रेसबाट लखनऊ फर्कदैछु । त्यहाँ तपाईंलाई भेटेर बनारस जानेछु – अजित ।”

    अजितको चिठी पाएर सुनन्दालाई धेरै खुसी र आश्चर्य दुवै लाग्यो । उनी कामरेड जलजलाको सबै व्यवस्था मिलाउन दिल्ली आउने कुरा थियो । त्यसअनुसार उनी केही दिन दिल्लीमा नै बस्ने कुरा थियो तर उनी किन तुरुन्तै फर्केर जान थालेका थिए ? उनले त्यो कुरा बुझ्न सकिनन् र केही आश्चर्य पनि लागेर आयो ।

    उनको चिठी हिजोको थियो । त्यो चिठीमा लेखिएअनुसार उनी आजको गोमती एक्सप्रेसबाट उनलाई भेट्न लखनऊ जाने कुरा थियो । गोमती एक्सप्रेस दिल्लीमा आइपुग्न अझै एक घन्टा बाँकी थियो । उनी र विद्या एउटा ट्याक्सी लिएर तुरुन्तै नयाँदिल्ली स्टेसनतिर दौडिए ।

    उनीहरूले धेरे बेरसम्म स्टेसनमा रेल कुरेर बसिरहेका मानिसलाई हेरे । रेल आइपुगेपछि रेलमा चढ्न थालेका मानिसलाई पनि हेरे । रेलमा चढेर सबै डिब्बामा बसेका मानिसलाई पनि हेरे तर उनीहरूले अजितलाई ठहर्‍याउन सकेनन् । सायद ती यात्रीहरूको बिचमा अजित पनि कतै हुन सक्दथे । उनीहरूले पहिले कहिल्यै उनलाई देखेका थिएनन् । त्यसकारण उनलाई चिन्नु गाह्रो थियो तैपनि उनीहरूले सकेसम्म कोसिस गरे तर केही पत्ता लाग्न सकेन । उनीहरू दुवै जना निराश भएर रेलबाट बाहिर निस्किए । रेल चल्यो । उनीहरू एउटा बेञ्चमा गएर बसे ।

    त्यस सिलसिलामा उपन्यासमा लेखिएको छ– “उनीहरू दुवै जना निराश भएर गोमती एक्सप्रेसबाट बाहिर निस्के र कैयौँ बेरसम्म त्यो रेललाई हेरिरहे । विद्यालाई त त्यो कुराको कुनै खास चिन्ता थिएन । उनी खालि सुनन्दाको कुरा टार्न नसकेर उनका साथमा आएकी थिइन् तर उनको (सुनन्दाको) मुखको भावबाट थाहा हुन्थ्यो, अजितलाई फेला पार्न नसकेकोमा उनी धेरै नै दुखित, चिन्तित र तनावग्रस्त थिइन् । उनलाई यो कुरामाथि विश्वास थियो, अजित त्यही रेलमा थिए । लखनऊ फर्कँदै थिए । लखनऊ पनि उनलाई भेट्नका लागि तर उनी दिल्ली आइसकेकी थिइन् । कामरेड जलजलालाई त उनी दिल्ली आउने कुरा थाहा थियो अनि अजित उनलाई भेट्न लखनऊ जानुको कारण के थियो ?”

    त्यस सिलसिलामा उपन्यासमा अगाडि लेखिएको छ– “उनको मनमा त्यो प्रश्न लगातार घुमिरह्यो । त्यो उनका लागि एउटा रहस्य बनेको थियो । एउटा पहेली बनेको थियो । कति विचार गर्दा पनि उनले त्यो रहस्यको उद्घाटन गर्न सकेकी थिइनन् । त्यो पहेलीलाई सुल्झाउन सकेकी थिइनन् ।”

    जलजला दिल्लीमा उनको कोठामा आएर बस्ने कुरा थियो । उनलाई (कामरेड जलजलालाई) होस्टेलको उनको कोठाको पूरा ठेगाना र ताल्चा पनि उनले दिएकी थिइन् तर उनी किन कोठामा आएकी थिइनन् । उनले त्यो प्रश्नको पनि कुनै जबाफ निकाल्न सकिनन् । उनको मनमा अकस्मात् एउटा प्रश्न उठ्यो : कुनै अनिष्ट भएको त थिएन ? कुनै नराम्रो घटना घटेको त थिएन ? उनी मनमनै कामिन् । त्यस्तो अनिष्ट के हुन सक्छ ? त्यस्तो नराम्रो घटना के हुन सक्छ ? फेरि उनले सोचिन्, सायद त्यस्तो नराम्रो कुनै घटना भएको छैन । सायद होइन, अवश्य पनि कुनै अनिष्ट भएको छैन । कुनै काम परे होला । त्यसैले अजित तुरुन्तै फर्केर गए होलान् । अजित आएको हुनाले उनलाई ल्याएर मेरो महिला होस्टेलमा आउनु राम्रो हुँदैनथ्यो । त्यसैले कामरेड जलजला पनि होस्टेलमा आएकी थिइनन् होला । मैले अनावश्यक रूपले कैयौँ तर्कवितर्क वा शङ्का र आशङ्का गरिरहेकी छु । त्यो विचारले उनलाई केही सन्तोष दियो तर उनको मन पूरै शान्त भएको थिएन । उनको मनमा बारम्बार यो प्रश्न उठिरहेको थियो : अजित तुरुन्तै फर्कनु र लखनऊमा उनलाई भेट्न जानुको पछाडिको वास्तविक कारण के हो ? त्यो कुरा थाहा नहुँदासम्म उनको मन शान्त हुन सक्दैनथ्यो र भएन पनि ।

    उनीहरू जेएनयुको आफ्नो कोठामा फर्केर आउँदा त्यहाँ कामरेड जलजलाले लेखेर छाडेको एउटा पत्र पाइन् । त्यसमा उनले त्यहाँ आएर एक रात बसेर गएको र अब उनी आएपछि नै पुन: त्यहाँ आउने कुरा लेखेकी थिइन् । त्यो पत्रमा जोरबागको यमलाल पोख्रेलको ठेगाना पनि दिइएको थियो ।

    अर्को दिन बिहान सुनन्दा जोरबागको यमलाल पोख्रेलको कोठामा गइन् । त्यहाँ गएपछि उनलाई एउटा बस एक्सिडेन्टमा कामरेड जलजलाको मृत्यु भएको कुरा थाहा भयो । त्यसपछि यमलाल पोख्रेलका साथै उनी विजयघाटमा गइन् । त्यहाँको विद्युत्गृहमा उनलाई जलाइएको थियो । त्यहाँबाट फर्केर यमलालका साथै उनी जेएनयुको आफ्नो कोठामा आइन् ।

    त्यस सन्दर्भमा उपन्यासमा लेखिएको छ– “सुनन्दालाई करिब दुईतीन दिनसम्म होस नै आएन भने पनि हुन्छ । उनलाई सारा संसार बदलिएकोजस्तो लागेको थियो । उनको संसार उजाड भएजस्तो लागेको थियो । उनलाई केही गर्न, बोल्न वा लेखपढ गर्न पनि मन लाग्दैनथ्यो । विद्याले कर गरेपछि खान जान्थिन् । केही गास खान्थिन् अनि फेरि बिस्तरामा आएर पल्टन्थिन् । उनी दिनभरि पनि सुतिरहन्थिन् । उनलाई निँद त लाग्दैनथ्यो तैपनि बिस्तरामा पल्टिरहन्थिन् । उनले अखबार पढ्न पनि बन्द गरेकी थिइन् । पिएचडीको थेसिसको कुरा पनि उनलाई अब अनावश्यक र बोझजस्तो लाग्न थालेको थियो ।”

    कामरेड जलजलासित भेट हुँदा उनले अजित र उनका बिचमा भएका चिठीपत्रको एउटा बन्डल उनलाई राख्न दिएकी थिइन् र ती पत्र पढ्न उनलाई अनुमति पनि दिएकी थिइन् । अहिले उनलाई अकस्मात् ती पत्रको सम्झना भयो र उनले ती पत्र पढिन् । सबै पत्र पढेर सिद्धाइन् । त्यस सिलसिलामा उपन्यासमा लेखिएको छ– “पत्रका ती पङ्क्ति पढेर सुनन्दा केही बेर रोकिइन् । ती पत्रमा दर्शन थियो । जीवनमा उठिरहेका प्रतिकुल लहरका विरुद्ध सङ्घर्ष गर्दै अगाडि बढ्ने उच्च प्रकारको आँट र आत्मबल थियो । त्यसका लागि आह्वान थियो ।

    अजितका पत्रबाट यस कुरामा कुनै शङ्का रहेको थिएन कि उनी गम्भीर प्रकारको दु:ख, कष्ट र मानसिक तनावमा थिए । उनीमाथि धेरैतिरबाट आक्रमण भइरहेको थियो तैपनि उनी अगाडि बढिरहेका थिए ।”

    सुनन्दाले कामरेड जलजलाका सबै पत्र पढ्न थालिन् । त्यस सिलसिलामा उपन्यासमा लेखिएको छ– “जलजलाका पत्रबाट थाहा हुन्थ्यो, बनारसमा उनले पनि धेरै कठिन आर्थिक समस्याको सामना गर्नुपरेको थियो । एचक्यु (केन्द्रीय कार्यालय) बाट बिचबिचमा केही सहयोग अवश्य मिल्थ्यो तर त्यो नियमित हुँदैनथ्यो । त्यसैले आफ्नो दैनिक खर्च, खानपिन र औषधोपचारका लागि पनि उनलाई धेरै नै मुस्किल पर्दथ्यो । उनी टन्सिलकी रोगी थिइन् । त्यसले गर्दा उनलाई लगातार रुघा र ज्वरो आइरहन्थ्यो । औषधोपचारका लागि पनि उनलाई अप्ठ्यारो पर्दथ्यो । कैयौँपल्ट रिँगटा लागेर आउँथ्यो । कैयौँ छाक भोकै बस्नुपर्दथ्यो ।

    उनले काशी विश्वविद्यालयमा बिएको परीक्षा दिँदै थिइन् । अजितको जोड त्यो परीक्षा दिनैपर्छ भन्ने थियो । त्यसैले उनी त्यो परीक्षा छाडेर कतै जान पनि सक्दिनथिन् ।”

    उपन्यासमा अगाडि लेखिएको छ– “ती पत्र पढेर सुनन्दा केही बेर रोकिइन् । उनी धेरै भावुक भइन् । उनीहरू दुवै जना धेरै नै आर्थिक कठिनाइ र सङ्कटमा थिए तैपनि दुवै जनाले एकअर्कालाई सकेसम्म मदत गरिरहेका थिए । अर्कातिर त्यसरी मदत गरेकोमा उनीहरूले एकअर्काप्रति असन्तोष पनि प्रकट गर्दथे तर सुनन्दालाई यो बुझ्न गाह्रो परेको थिएन कि त्यस प्रकारको असन्तोषमा पनि एकअर्काप्रतिको माया र चिन्ताले नै काम गरेको हुन्थ्यो । यस कुरामा कुनै शङ्का थिएन । त्यो उनीहरूको सच्चा प्रेम थियो ।”

    त्यो बेला जलजला र अजितबारे देशभरिमा कैयौँ हल्ला चलिरहेका थिए । जलजलाले आफ्नो एउटा पत्रमा त्यस प्रकारका हल्लाबारे चर्चा गरेकी थिइन् । त्यसको जबाफमा लेखिएको एउटा पत्रमा अजितले लेखेका थिए– “हल्ला र चर्चाको बढ्ता चिन्ता नगर्नू । एउटा लहर आउँछ, हराउँछ । लहर मुख्य होइन, मुख्य कुरा हो– नदीको प्रवाह र दिशा । त्यो सही हुनुपर्दछ । अटुट हुनुपर्दछ । वेगवान् हुनुपर्दछ । त्यसमा ध्यान दिनू । अन्तमा त्यसैले सबै कुराको फैसला गर्नेछ ।”

    कामरेड जलजला र अजितका ती पत्र पढेर सुनन्दाले सोचिन्, अहिले ता उनलाई चारैतिरबाट लहर र छालले नै सताइरहेका थिए । उनले तिनीहरूमाथि विजय प्राप्त गर्नका लागि नै पौडी खेल्नुपरेको थियो । भविष्यको नदीको प्रवाहले उनको विषयमा कुन प्रकारको फैसला दिनेछ । त्यो कुराको फैसला हुनुभन्दा पहिले नै उनको दुखद निधन भयो । त्यसैले भविष्यमा नदीको प्रवाहले उनका बारेमा के फैसला गर्दथ्यो, त्यो कुरा पनि भविष्यको गर्भमा नै रोकियो ।

    जलजलाका पत्र पढेपछि सुनन्दालाई लाग्यो, कामरेड जलजलाको व्यक्तित्व त्यति सिधा र सरल थिएन, जति उनी बाहिरबाट देखिन्थिन् । उनको व्यक्तित्वका कैयौँ पक्ष र आयाम थिए । जो अझै प्रकट हुन पाएका थिएनन् तर उनको मृत्युले ती सबैको भ्रुण हत्या गरिदियो र ती कहिल्यै प्रकट हुन पाएनन् ।

    कामरेड जलजलाले आफ्नो एउटा पत्रमा बुबाले उनको विवाह गर्दिन खोजेको तर उहाँले त्यसका लागि जोड गरेमा उनले बुबासितको सम्बन्ध पनि तोड्ने कुराको उल्लेख गरेकी थिइन् । त्यस सिलसिलामा उपन्यासमा लेखिएको छ– “कामरेड जलजलाले आफ्नो पत्रमा लेखेको त्यो भनाइबाट सुनन्दा धेरै नै भावुक मात्र होइन, एक प्रकारले स्तब्धजस्तै भएकी थिइन् । उनको बुबा धेरै नै बिरामी थिए । उनी आफ्नो बुबाको उपचारका लागि धेरै नै चिन्तित थिइन् । उनका बुबा एक प्रकारले जीवन र मृत्युको दोसाँधमा पुगेका थिए । उनले (कामरेड जलजलाले) आफ्नो बुबालाई “असाध्यै माया” गर्दथिन् तर त्यस अवस्थामा पनि उनी आफ्नो सिद्धान्त र प्रेमलाई नछाड्ने कुरामा दृढ थिइन् । यहाँसम्म कि त्यसका लागि उनी आफ्ना बुबासित “सम्बन्ध तोड्न” पनि तयार थिइन् ।”

    ती पङ्क्ति पढेर उनलाई लाग्यो, कामरेड जलजला सामान्य होइन, असाधारण महिला थिइन् । सिद्धान्त र प्रेमलाई उनले अरू सबै कुरा, यहाँसम्म कि आफ्नो बुबाप्रतिको प्रेमभन्दा पनि धेरै माथि राखेकी थिइन् । सुनन्दाले सोचिन्, त्यस प्रकारको विचार प्रकट गर्ने बेलामा उनको मनमा कति धेरै पीडा भएको थियो होला ? कति धेरै द्वन्द्व चलेको थियो होला ? तैपनि जुनसुकै अवस्थामा पनि उनी आफ्नो सिद्धान्त, पार्टी र क्रान्ति तथा प्रेमप्रति दृढ र सच्चा रहने कुरामा प्रतिबद्ध थिइन् ।

    कामरेड जलजलाले सुनन्दालाई बताएकी थिइन्, उनी र अजित बुटवलभन्दा केही अगाडि पश्चिमतिरबाट भारतीय सीमा पार गरेर नेपालतिर आएका थिए । त्यहाँबाट जगदीशपुर, भगवानपुर, शिवपुर र प्युठान दोबाटोको बाटो हुँदै उनीहरू प्युठान जान असुरकोटको बाटोतिर लागेका थिए । त्यही बाटोमा एउटा रहमा पौडी खेल्न जाँदा अजित त्यहाँको भुमरीमा परेका थिए । एउटा कुमालदाइले आएर अजितलाई भुमरीबाट निकालिदिएका थिए । कुमालदाइले बेहोस भएका मान्छेसित उनको के नाम पर्दछ ? भनेर सोद्धा उनले आफ्नो ‘श्रीमान्’ भएको कुरा बताएकी थिइन् ।

    त्यस सिलसिलामा उपन्यासमा लेखिएको छ– “सुनन्दाले ध्यानमग्न भएर कामरेड जलजलाका कुरा सुनिरहेकी थिइन् । कुमालले अजितलाई रहबाट बाहिर निकालेको, उनी बेहोस भएको, कुमालदाइले सोध्दा उनले अजितलाई आफ्नो श्रीमान् बताएको, उनी होसमा आएर ‘जलजला’ भनेर सम्बोधन गरेको, त्यसबाट उनी (जलजला) धेरै नै प्रसन्न भएको, उनले ‘मेरो अजित’, ‘मेरो पति’ भन्दै उनलाई (अजितलाई) अँगालो हाल्न र म्वाइँ खान मन लागेको तर कुमालदाइ त्यहाँ भएको हुनाले त्यसो गर्न नसकेको र आफ्नो काखमा उनको टाउको राखेर मुसारेको कुरा सुनेर उनी (सुनन्दा) धेरै नै भावुक भइन् । त्यो बेला उनले ‘सुलोचना’ महाकाव्यमा लक्ष्मीप्रसाद देवकोटाले सुलोचना र अनङ्गको प्रेम प्रसङ्गबारे लेखेका कविताका पङ्क्ति सम्झिइन् ।

    त्यो महाकाव्यमा सुलोचना र अनङ्गका बिचको प्रेमको चर्चा गरिएको थियो । अनङ्ग अविवाहित व्यक्ति थिए भने सुलोचना विवाहित नारी । त्यो अवस्थामा पनि उनीहरूका बिचमा भएको प्रेमविवाहको चर्चा गर्दे देवकोटाले आफ्नो महाकाव्यमा लेखेका थिए :

    “चन्द्रमा हाँस्तथे माथि पियुषकर मोहन
    ‘लागे लागे’ भनी ‘मिल्न’ अनङ्ग र सुलोचना”

    त्यो बेलाको जलजलाले गरेको बयानबाट सुनन्दालाई देवकोटाले आफ्नो महाकाव्यमा उल्लेख गरेको अनङ्ग र सुलोचनाको “प्रेमविवाह” को सम्झना भयो र त्यो सम्झेर उनी धेरै नै भावविह्वल भएकी थिइन् ।

    कामरेड जलजलाले अजितलाई पठाएको एउटा पत्रमा उनका बुबाले उनलाई रणचण्डी बताएको र अजितले पनि उनलाई रणचण्डी नै बनाउने सपना देखेको कुराको उल्लेख गरेकी थिइन् । त्यस सिलसिलामा उपन्यासमा लेखिएको छ– “अब कामरेड जलजला जीवित थिइनन् तैपनि उनी कुन अर्थमा रणचण्डी थिइन् ? उनको बुबा, अजित वा स्वयम् उनले पनि आफूलाई रणचण्डी बताउनुको अर्थ वा अभिप्राय के थियो ? उनका कुन विशेषताका कारणले उनलाई रणचण्डी बताइएको थियो ? त्यो नामकरणले उनको स्वभाव, व्यक्तित्व, चरित्र वा दृष्टिकोणसित कति मेल खान्थ्यो ? यस्ता कैयौँ प्रश्न सुनन्दाका अगाडि थिए र ती सबै प्रश्नमाथि उनले गम्भीरतापूर्वक विचार गर्न चाहन्थिन् र यो निष्कर्षमा पुग्न चाहन्थिन्, के उनी साँच्चिकै रणचण्डी थिइन् ? के उनी बाँचेको भए एउटा रणचण्डीको रूपमा उनको भूमिका कस्तो हुन्थ्यो, हुनसक्थ्यो वा हुनुपर्दथ्यो ?”

    त्यस सिलसिलामा उपन्यासमा अगाडि लेखिएको छ– “सुनन्दाले आँखा माथितिर उठाइन् र आकाशतिर हेर्न थालिन् । उनले कैयौँ बेरसम्म आकाशतिर हेरिरहिन् । त्यहाँ उनले रणचण्डीको रूपमा जलजलाको त्यो भूमिकालाई आत्मसात् गर्न चाहन्थिन्, जुन मृत्युका कारणले बिचैमा रोकिएको थियो ।

    “सुनन्दालाई छिट्टै यस्तो अनुभूति हुन थाल्यो कि जलजला आकाशमा रणचण्डीको रूपमा व्याप्त हुँदै गइरहेकी थिइन् । पहिले उनी सानो विन्दुको रूपमा देखा परिन्, त्यसपछि त्यो आकार बढ्दै गयो । झन् झन् बढ्दै गयो र त्यो सम्पूर्ण आकाशमा, सम्पूर्ण अन्तरिक्षमा र सम्पूर्ण विश्वमा फैलिँदै गएको थियो ।

    “सुनन्दाले आफ्नो असामयिक मृत्युका कारणले धर्तीमा प्रकट हुन नपाएको जलजलाको रणचण्डीको भूमिकालाई आकाशमा पढ्ने प्रयत्न गर्दै थिइन् । उनी त्यसैमा मग्न वा ध्यानमग्न थिइन् ।

    सुनन्दाले कामरेड जलजलाका कागजमा भेटिएको एउटा लामो कविता पढ्न थालिन् । त्यो कविताको शीर्षक पनि थिएन र त्यसमा लेखकको नाम पनि थिएन । त्यसले त्यो कविता कसले लेखेको थियो ? त्यो पनि थाहा हुन सकेको थिएन तैपनि त्यो कविता पढ्दा उनलाई लाग्यो, त्यसले अजित पार्टीको सदस्यताबाट निस्कासित भएर मद्रास र केरलतिर गएको प्रसङ्गसित मेल खान्थ्यो । त्यसैले उनले त्यो कविताको शीर्षक ‘निष्कासित’ राखिदिइन् ।

    त्यस सन्दर्भमा उपन्यासमा लेखिएको छ– “त्यसमा दर्शन थियो । सर्वहारा अन्तर्राष्ट्रवाद थियो । पार्टी र क्रान्तिप्रति समर्पण र बलिदानको प्रतिबद्धता थियो ।”

    त्यो कविताका निम्नलिखित पङ्क्ति पढेर उनी केही बेर रोकिइन्, उनले लगातार झ्यालबाट बाहिर हेरिरहेका थिए । त्यसपछि यो लेखिएको थियो, उनले धरतीभन्दा माथि दूर आकाशमा केही खोज्ने प्रयत्न गरिरहेको बताएका थिए । त्यो चिज के थियो ? त्यसमाथि प्रकाश हाल्दै त्यो कवितामा लेखिएको थियो– सायद धरतीमा हराएको कुनै चिजलाई सुदूर आकाशमा खोज्न थाल्छु । अतीतमा छुटेको कुनै कडीलाई भविष्यसित जोड्ने कल्पना गर्न थाल्छु । जीवनका सबै सूत्रलाई क्रान्तिको कडीसित उन्ने प्रयत्न गर्न थाल्छु ।

    त्यस सिलसिलामा अगाडि लेखिएको थियो : “त्यो कवितामाथि सुनन्दाले कैयौँ बेरसम्म घोरिएर त्यसको अर्थ खोज्ने प्रयत्न गरिन् तर उनले त्यसको कुनै अर्थ निकाल्न सकिनन् । उनले आँखा बन्द गरेर गीत सुन्न थालिन् तर उनको ध्यान गीततिर कम थियो, उनका मनमा उठिरहेका प्रश्नप्रति बढी थियो ।

    आखिरमा धरतीमा छुटेको त्यस्तो कुन चिज थियो, जसलाई कविले सुदूर क्षितिजमा खोज्ने प्रयत्न गरिरहेका थिए ? अतीतमा छुटेको कडी के थियो ? जसलाई उनले भविष्यमा खोज्ने प्रयत्न गरिरहेका थिए । सुनन्दाले कैयौँ बेरसम्म त्यो प्रश्नको जबाफ खोज्न प्रयत्न गरिरहिन् । उनलाई अकस्मात् यस्तो महसुस भयो, उनले त्यो प्रश्नको सही जबाफ फेला पारेकी थिइन् । उनलाई अब यस्तो लाग्न थाल्यो, त्यो कविता जसले लेखेको भए पनि त्यसले पार्टीको कारबाहीमा परेर दक्षिण भारततिर जान थालेका अजितको जीवनको प्रसङ्गसित नै मेल खान्थ्यो । धर्तीमा हराएको र उनले आकाशमा खोजिरहेको त्यो कडी आखिरमा के थियो ? अब यो कुरामा उनलाई कुनै शङ्का लागेन कि त्यो कडी कामरेड जलजला नै थिइन्, जसलाई छाडेर अहिले उनी धेरै टाढा जानु परिरहेको थियो । त्यही उनको जीवनको टुटेको कडी थियो । त्यही कडीलाई उनले सुदूर क्षितिजमा वा भविष्यमा खोज्ने प्रयत्न गरिरहेका थिए तर त्यो प्रेम कुनै बेग्लै चिज थिएन । त्यसको सम्बन्ध क्रान्तिसित नै थियो । त्यसैले त्यो कवितामा लेखिएको थियो– जीवनका सबै सूत्रलाई क्रान्तिको कडीसित उन्ने प्रयत्न गर्न थाल्छु । त्यसरी उनलाई यो विश्वास थियो कि तत्काल उनी जलजलाबाट अलग भएर धेरै टाढा जानुपरिरहेको भए पनि उनले “जीवनका सबै सूत्रलाई क्रान्तिको कडीसित उन्ने प्रयत्न गर्दथे ।”

    उपन्यासमा लेखिएको छ– “ती कविता पढेपछि सुनन्दा केही बेर रोकिइन् । उनी पार्टीको सदस्यताबाट समेत निस्कासित भएर टाढा जाँदै थिए, सम्भव भएसम्म टाढा । उनी अज्ञात र अनिश्चित भविष्यको यात्रामा जाँदै थिए । त्यो यात्रा र भविष्यको रूप कस्तो हुनेछ ? त्यो पनि उनलाई थाहा थिएन तैपनि जुन कुराले उनलाई अत्यन्त सताइरहेको थियो, त्यो यो थियो : उनी आफ्नो पार्टी र साथीबाट टाढा जाँदै थिए वा नजिक । त्यो कुरा भन्न सक्ने स्थितिमा उनी थिएनन् ।”

    कैयौँ बेरसम्म सुनन्दाले अजितको त्यो अज्ञात र अनिश्चित यात्रा र भविष्यबारे सोचिरहिन् । उनले कामरेड जलजला र अजितका पत्र पढेकी थिइन् । कामरेड जलजलाको डायरी पनि पढेकी थिइन् । त्यसैले मद्रास र केरलमा उनको जीवन कस्तो भएको थियो ? उनलाई त्यो कुरा थाहा थियो तर त्यत्तिका आधारमा उनले यो अनुमान गर्न सक्दिनथिन्, त्यो यात्राको अन्तिम परिणाम के हुनेछ ? उनले एउटा लामो सास फेरिन् र पुन: त्यो कविता पढ्न थालिन् ।

    कविताको यो अंश पढेर पनि उनी धेरै प्रभावित भएकी थिइन् । सारा विश्व, प्रकृति वा मानव समाज भविष्यको दिशामा बढिरहेका थिए तर स्वयम् भविष्य अतीतको दिशामा बढ्दै गइरहेको थियो । भविष्यको त्यो विपरीत गतिको व्याख्या उनका लागि एकदम नयाँ कुरा थियो । पहिले कसैले भविष्यको त्यस प्रकारको विपरीत गतिको व्याख्या गरेको थियो वा थिएन ? उनले अहिलेसम्म त्यस प्रकारको कुनै व्याख्याको अध्ययन गरेकी थिइनन् । त्यसकारण भविष्यको त्यस प्रकारको विपरीत गतिको व्याख्या उनका लागि नयाँ कुरा थियो । त्यो कवितामा लेखिएको थियो–

    सारा विश्व
    सम्पूर्ण प्रकृति र मानव समाज
    भविष्यको दिशामा बढ्दैछ
    तर भविष्य स्वयं अतीतको दिशामा ….

    उपन्यासमा अगाडि लेखिएको छ– “सामान्य र उपरी प्रकारले हेर्दा अजितको यात्रा वा भविष्य अनिश्चित थियो तर स्वयम् कविलाई त्यस्तो लागिरहेको थिएन । उनले आफ्नो भविष्यलाई आफ्ना अगाडि उभिएको देखिरहेका थिए । उनका सङ्कल्प र दृढ निश्चयका मजबुत किल्लाभित्र उनको भविष्य सुरक्षित थियो । उनका सङ्कल्प र निश्चय टुटेमा नै उनको भविष्य पनि भत्किन सक्थ्यो तर त्यस्तो उनलाई अलिकति पनि शङ्का थिएन । उनको भविष्यलाई उनले पुस्तकका खुला पृष्ठझैँ पढ्न सकिरहेका थिए ।”

    उनले आफ्ना कवितामा दृढ शब्दमा यो पनि स्पष्ट गरेका थिए । उनले आफ्नो देश, पार्टी र साथीका बिचमा तथा संसारभरि फहराइरहेको रातो झन्डाका बिचमा कुनै दुरी देखिरहेका थिएनन् । त्यसमा न समयको, न स्थानको, न देशको, न कालको नै कुनै दुरी थियो । त्यो शास्वत सम्बन्ध थियो । त्यो सम्बन्ध देश, काल र परिस्थितिभन्दा माथि उठेको निरपेक्ष सम्बन्ध थियो । सुनन्दालाई लाग्यो, व्यक्तिगतजस्तो देखिने त्यो भनाइमा गम्भीर प्रकारको दार्शनिक अर्थ र भाव लुकेको थियो ।

    उनले त्यो कविता अगाडि पढ्दै गइन् । त्यसमा यो पनि लेखिएको थियो : “त्यो जीवन र मृत्यु, संविधान र कानुन, जेल र गोली, अनुशासन र नियम आदि सबैभन्दा माथिको चीर सम्बन्ध थियो । त्यसकारण त्यो कहिल्यै पनि टुट्न सक्दैनथ्यो । घटना, प्रवाह र प्रलयका वेगले पनि उनलाई पार्टी र क्रान्तिबाट टाढा लैजान सक्दैनथे ।”

    त्यो कविता पढेर सुनन्दालाई लाग्यो, ती कवितामा उच्च प्रकारको सर्वहारा अन्तर्राष्ट्रवादको भाव तथा संसारभरिका मिहिनेतकश जनता र संसारका सबै देशमा चल्ने सबै क्रान्तिकारी आन्दोलनप्रति गहिरो भाइचारा र ऐक्यबद्धताको भाव पनि प्रकट हुन्थ्यो ।
    त्यो कवितामा यो पनि लेखिएको थियो–

    “तर स्वयम् पार्टीको कुनै सीमा हुन्न
    यो कुनै देशको सीमामा बाँधिएको हुन्न
    त्यो विश्वव्यापी हुन्छ,
    क्रान्तिको कुनै साँध हुन्न
    त्यो अतीतदेखि
    भविष्यसम्म फैलिएको हुन्छ
    संसारभरिका क्रान्तिकारी सङ्घर्ष
    एउटै विश्व क्रान्तिका कडी हुन्
    एउटै वर्गसङ्घर्षका सिलसिला

    त्यो कविताको अन्तमा लेखिएको थियो–

    एसियाको सुन्दरतम् समुद्रतट
    कोभलमको तिरमा उभिएर
    हिन्द महासागरको अथाह जलराशीलाई
    त्यसमा उर्लिरहेका लहरलाई
    सम्बोधन गर्दै भनँुभनुँजस्तो लाग्छ
    तिमीहरू बादल बनेर
    उत्तरतिर उड्दै उड्दै जाऊ
    त्यही….
    हिमालयको फेदीमा
    मेरो देश छ, नेपाल
    त्यहाँ तिमीहरू
    मुसलधारे पानी भएर वर्षनू
    त्यो वर्षाको पानीमा मिसाएर
    मेरो यो सन्देश
    सबैतिर फैलाइदेऊ
    गाउँघर, पहाड, मधेस
    देशभरि छरिएका साथीहरूलाई
    भूमिगत, गिरफ्तार र फरार
    अनि विदेशमा निर्वासित
    सङ्घर्ष गर्दै अगाडि बढिरहेका साथीहरूलाई
    सबै देशभक्त, जनतान्त्रिक र वामपन्थी क्रान्तिकारीलाई
    मेरो समाचार सुनाइदिनू

    आइतबार, असोज २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.