काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (अप्फा) सहितका चार किसान सङ्गठनले सलह नियन्त्रण गर्नका लागि सम्भव सबै उपाय अपनाउन माग गरेको छ । सलह नेपाल आउनुपूर्वको सतर्कतासम्बन्धी सतर्कता नअपनाएकोमा सरकारको विरोध गर्दै उनीहरूले सलह प्रभावित किसानलाई यथेष्ठ क्षतिपूर्ति दिन पनि माग गरेका छन् ।
वक्तव्यको पूर्ण पाठ यस्तो छ
“अफ्रिका महाद्विपबाट इरान, पाकिस्तान, भारत हुँदै नेपाल प्रवेश गरेको सलह किराले किसानको बालीनाली नष्ट हुने सम्भाबना बढेकाले त्यसको नियन्त्रण गर्न र कृषिबाली तथा किसानलाई जोगाउने सबै किसिमका सम्भव उपायको अवलम्बन तत्काल गर्न हामी चार किसान सङ्गठन अखिल नेपाल किसान महासङ्घ (अप्फा), अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी), अखिल नेपाल किसान युनियन र अखिल नेपाल प्रगतिशील किसान सङ्घ जोडदार माग गर्दछौँ ।
अरू देशमा सहल किरा आएर कृषि बालीनालीमा ठुलो नोक्सानी पुराइरहेको स्थितिप्रति आवश्यक ध्यान दिएर हाम्रो देशमा यी सलह किरा प्रवेश गर्नुभन्दा पहिला यसलाई आउन नदिने, रोकथाम गर्ने र कृषि र किसानलाई जोगाउनेतर्फ सरकारको उदासिनता र तयारीको अभाव अहिले खट्एिको छ । सरकारले कीटविज्ञ र मौसमविज्ञहरूको आवश्यक सहयोग लिएर किसानको बालीनाली जोगाउनेतर्फ आफू सक्रिय र सचेत बन्ने र किसान र कृषिलाई जोगाउनुभन्दा पनि सलह नेपालभित्र नपस्नेजस्तो हचुवा प्रतिवेदन दिएर समस्याप्रति वेवास्ता र हेलचेक्र्याइँ गरेबाट कृषि बालीनालीमा पुगेको नोक्सानीप्रति सरकार जिम्मेवार हुनैपर्दछ र किसानको खाद्य अधिकार र सम्प्रुभताको रक्षा गर्न पनि हामी जोडदार आवाज उठाउँछौँ ।
साथै यो सलह किराले क्षति पुगेका किसान परिवारलाई यथेष्ठ क्षतिपूर्तिको तत्काल व्यवस्था गर्न पनि हामी सबै तहका सरकारलाई विशेष आग्रह समेत गर्दछौँ ।”
वक्तव्यमा अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरव रेग्मी, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल किसान युनियनका अध्यक्ष लोकनारायण सुवेदी र अखिल नेपाल प्रगतिशील किसान सङ्घका इन्चार्ज कृष्ण रानाको हस्ताक्षर रहेको छ ।