काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नक्सा जारी भएपछि सरकार परिवर्तनको खेल सुरु भएको बताउनुभएको छ । ६९ औं मदन जन्मजयन्तीका अवशरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिलेका सरकारलाई हटाउन विभिन्न खेल सुरु भएको बताउनुभयो । चीनसँगको ट्रान्सपोर्ट सम्झौता गरेपछि आफ्नो सरकारलाई हटाइएको स्मरण गर्दै ओलीले अहिले नयाँ नक्सा जारी गरी संविधान संशोधन भएपछि पुनः सरकार परिवर्तनको खेल सुरु भएको बताउनुभयो । नयाँ नक्सा जारी गरेवाफत प्रधानमन्त्रीलाई हटाउँछु भन्ने सपना नदेख्न पनि उहाँले आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘पहिले यहाँहरूलाई सम्झना होला, चीनतिरबाट ट्रान्सपोर्ट, ट्रन्जिट एग्रिमेन्ट गरेपछि सरकार ढल्या थियो किनकी हामीसँग बहुमत थिएन । अहिले त्यही सपना देखेर संविधान संशोधन भएर नक्सा जारी भयो । यस्तो अपराध गर्ने केपी ओलीलाई । बाहिरबाहिर भन्न नसक्ने, भित्रभित्र कुरा हो त्यो । यस्तो अपराध गर्नेलाई दिल्लीका सञ्चार माध्यम सुन्नुहोस् त्यसैले निर्देश गर्छ कहाँ के भइरहेको छ । यहाँका होटलमा भइरहेका गतिविधिहरुले बताएको छ । दूतावासको सक्रियता यसले पनि बताएको छ । तर नेपालको राष्ट्रियता यति कमजोर छैन, नक्सा छापेवापत, संविधानमा नक्सा सामेल गरेवापत यस देशको प्रधानमन्त्रीलाई हटाउँछु भनेर कसैले सपना देख्या छ भने आजको राष्ट्रियता त्यति कमजोर छैन । यो नसोचे पनि हुन्छ । त्यसकारण यो भ्रम हो । कोसिस गर्नेलाई गर्न दिउँ । तर हिजोको जस्तो होइन कसैले हतारो नगरेपनि हुन्छ र कसैले विभिन्न आग्रह नपाले पनि हुन्छ ।’
प्रधानमन्त्री ओलीले सरकार परिवर्तनको प्रयास जति भएपनि हिजोको जस्तै आजको भोलि परिवर्तन हुनै नसक्ने बताउनुभयो । उहाँले प्रधानमन्त्री बन्न हतार नगर्न पनि आग्रह गर्नुभयो । पार्टी भित्रै चर्को आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीको यस्तो धारणा आएको हो ।
प्रधानमन्त्रीको जिम्मेवारीमा बस्न मन नभएपछि अहिले नेपालको पक्षमा बोल्ने हिम्मत भएको व्यक्ति नभएकाले आफ्नो आवश्यकता रहेको आशय उहाँले व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीको जिम्मेवारीमा बस्न मन छैन । तर यति बेला म हट्ने हो भने नेपालको पक्षमा बोल्ने आँट कसैलाई आउने छैन । किनभने भोलिपल्ट वर्खास्त हुन्छ । त्यसैले आजका लागि होइन भोलीका लागि । आफ्ना लागि होइन देशका लागि । र हाम्रो पार्टी हाम्रो संसदीय दल यस्ता बहकाउनमा लाग्नेवाल पनि छैन् र नबुझ्ने अञ्जान खेलमा सामेल हुने पनि छैन् ।’
ओलीले आफ्नो पार्टी र संसदीय दल कसैको बहकाउमा नलाग्ने समेत बताउनुभयो । प्रधानमन्त्री ओलीले भुलचुकले नेपालको गुमेको भूमि समेतको नक्सा नछापिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘धेरैले प्वाइन्ट अफ नो रिटर्न । नक्सा छाप्ने कुरा । संविधान संशोधन गर्ने कुरा प्वाइन्ट अफ नो रिटर्न हो । मैले पनि प्वाइन्ट अफ नो रिटर्न नै गरेको हो । किनकी यो अभियानबाट हामी फिर्ता हुँदैनौँ । त्यहाँ प्वाइन्ट अफ नो रिटर्न राख्ने कुनै कुरा थिएन । यसकै लागि नक्सा सार्वजकि गरिएको हो भन्ने गरेका छन । भूमि चाहियो प्वाइन्ट अफ नो रिटर्न । प्वाइन्ट अफ नो रिटर्न नै छैन् ।’