बर्दिया । राष्ट्रिय जनमोर्चा बर्दियाका नेता धनबहादुर जिसीको निधन भएको छ । राजमो बारबर्दिया नगर समितिका अध्यक्ष जिसीको शुक्रबार निधन भएको हो ।
उहाँको शनिबार बिहान स्थानीय भादा नदीमा अन्त्येष्टि गरिएको छ । नेता जिसीको पार्थिव शरीरमा राष्ट्रिय जनमोर्चाका पूर्व महासचिव हरि आचार्यले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभयो ।
त्यस क्रममा बोल्दै नेता आचार्यले जिसीको निधनले पार्टी र समाजलाई अपुरणीय क्षति पुगेको बताउनुभयो । उहाँले जिसीको निधन पहाड जस्तै गह्रुँगो भएको भन्दै जिसीले देखाएको बाटोमा दृढतापूर्वक अघि बढ्नुपर्ने बताउनुभयो ।
समाजसेवी नेता जिसी स्थानीयस्तरमा लोकप्रिय हुनुहुन्थ्यो । उहाँ उद्योगपतिसमेत हुनुहुन्थ्यो ।
स्थानीय घाटमा गरिएको अन्त्येष्टिका क्रममा ठुलो संख्यामा उपस्थित जनसागरबाट उहाँको लोकप्रियता झल्किरहेको थियो । विभिन्न राजनीतिक दलका नेताहरु, उद्योगी, व्यापारी, नगरपालिकाका मेयर, उपमेयरलगायत सर्वसाधारणले नेता जिसीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरे ।
विस. २०५० सालदेखि प्युठानबाट नेपाल कम्युनिष्ट पार्टी (मसाल) मा आवद्ध रहेका जिसी बारबर्दिया नगरपालिका वडा नं १० बैदीस्थित स्थानीय पार्टी कमिटिको सेक्रेटरीसमेत रहनुभएको थियो ।