• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

आलेखः धरान कृषि बजारः किसानको आशाको ढोका


  •   मङ्गलबार, असोज १४, २०८२ मा प्रकाशित
  • संगीता राई/रासस

    Advertisement

    सङ्खुवासभाका किसान मनोज राईलाई अझै सम्झना छ, त्यो बेलाको पीडा । गाउँमा मिहिनेत गरेर उत्पादन गरेका फलफूल पाकेर सड्थे, तरकारी खेर जान्थे । बजार नै थिएन ।

    “हिजो हामी उत्पादन गरेर गोडेर फ्याल्नुपर्ने अवस्था थियो,” उहाँ सुनाउनुहुन्छ । पाकेका फलफूल सडेर जान्थे, तरकारी हुन्थ्यो, बेच्न बजारसम्मको पहुँच थिएन । तर आज, मनोजका लागि त्यो अवस्था दिन छैन । २०५३ सालमा धरान उपमहानगरपालिका–१३ मा स्थापना भएको धरान कृषि उपज बजारले उहाँ जस्तै हजारौँ पहाडी किसानको जीवनमा नयाँ आशा जगाएको छ । “अहिले धरानको कृषि बजारले हाम्रो पसिनालाई मूल्य दिएको छ”, मनोज भन्नुहुन्छ, “मेहनतको कदर भएको महसुस भएको छ ।”

    पहिले गाउँमा उत्पादन भएर खेर गएका बालीहरू अब यही बजारमार्फत नेपालका विभिन्न सहरदेखि भारतका बजारसम्म पुग्न थालेका छन् । बजार पाउने बित्तिकै किसानमा आत्मविश्वास बढेको छ, लगानी बढेको र स्थानीय अर्थतन्त्रमा पनि कृषि व्यापारले गति लिएको व्यवसायीहरू बताउँछन् । सडक सञ्जाल विस्तारसँगै गाउँमा उत्पादन भएको फलफूल र तरकारी अहिले सिधै गाडीमा लोड गरेर धरान ल्याइन्छ । “पहिले सडक सञ्जाल नहुँदा यातायात सुविधा थिएन,” मनोज भन्नुहुन्छ, “अहिले गाउँगाउँमा सडक सुविधा पुगेको छ । अब बजारमा सिधै व्यापारीसँग सम्पर्क हुन्छ, मूल्य राम्रै पाइन्छ, पैसा ढिलो आउला भन्ने चिन्ता पनि हुँदैन ।”

    पाँचथरका किसान विनोद मगरको पनि उस्तै अनुभव छ । “पहिला उत्पादन बेच्न पहाडबाट तराईसम्म ओर्लनै हम्मे थियो”, उहाँ सुनाउनुहुन्छ, “लामो दूरी, सस्तो मूल्य र बिचौलियाको भरमा उत्पादन सस्तोमा बेचेको धेरै पटकको पीडा छ ।” तर, अब धरान कृषि बजारले सजिलो बनाइदिएको छ । बिचौलियाको झन्झट छैन, मूल्य पहिल्यै थाहा हुन्छ । अहिले गाउँका युवाहरू विदेश तिर होइन, खेतीतर्फ फर्किन थालेको उहाँको भनाइ छ ।

    किसानको भरपर्दो केन्द्र

    धरान कृषि उपज बजार अहिले किसानका लागि भरपर्दो बजारको रूपमा स्थापित भएको छ । बजार व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण भट्टराईका अनुसार यहाँ विशेषगरी भोजपुर, सङ्खुवासभा, पाँचथर, तेह्रथुम, इलाम, धनकुटा, खोटाङ् उदयपुरलगायत तराई जिल्लाबाट दैनिक सयौँ क्विन्टल कृषि उत्पादन, तरकारी र फलफूल ल्याइन्छ । यसले किसानलाई सिधा पहुँच, उचित मूल्य र समयमै भुक्तानी सुनिश्चित गरेको अध्यक्ष भट्टराई बताउनुहुन्छ । बिचौलियाको झन्झट हटाएर किसान र व्यापारीबीच सिधा सम्पर्क हुने वातावरण तयार गरिएको छ । बजारमा स्थापित चिस्यान भण्डारण केन्द्र र विषादी परीक्षण प्रयोगशालाले गुणस्तरीय उत्पादन प्रवाहमा सहयोग पु¥याएको छ ।

    शीतगृह : किसानलाई ठूलो राहत

    कृषि बजारमा निर्माण गरिएको शीतगृह किसानका लागि ठूलो राहत बनेको छ । बिक्री नभएर आफ्ना उत्पादन खेर फाल्न बाध्य किसानले अब भण्डारणका लागि शीतगृह प्रयोग गर्न सक्ने भएका छन् । कोशी प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले २०७६÷७७ मा बाली विशेष भण्डार गृह निर्माण कार्यक्रमअन्तर्गत उपलब्ध गराएको रु ४९ लाख ८३ हजार ३०० र कृषि बजार व्यवस्थापन समितिको रु २६ लाख ९७ हजार आठ सय ४० गरी कुल रु. ७६ लाख ८१ हजार १४० लागतमा पहिलो शीतगृह निर्माण गरिएको थियो ।

    किसान र व्यापारीलाई सहज भएपछि २०७७÷७८ मा पुनः कोशी प्रदेश सरकारले रु ५० लाख उपलब्ध गराएको थियो । त्यसमा कृषि बजार समितिले रु १७ लाख थप गरेर कुल रु ६७ लाख लागतमा अर्को शीतगृहसमेत निर्माण गरिएको छ । हाल शीतगृहमा छ च्याम्बर छन् । एउटा च्याम्बरमा २५ टनदेखि ३० टनसम्म भण्डारण गर्न सकिन्छ । छ च्याम्बरमध्ये २५ टन क्षमताको एउटा च्याम्बर किसानका लागि आरक्षणका रूपमा छुट्याइएको अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।

    करोडौँको कारोबार, तर यस वर्ष सुस्त व्यापार

    धरान कृषि बजारले अहिले पूर्वी नेपालका पहाडी जिल्लाहरूका लागि भरपर्दो आर्थिक मूलधारमा जोडिने माध्यम बनेको छ । यसले उत्पादन, भण्डारण, वितरण र मूल्य निर्धारणको पारदर्शी प्रणालीमार्फत कृषकलाई न्यायोचित स्थान समेत दिएको छ । अध्यक्ष भट्टराईका अनुसार आर्थिक वर्ष २०८१÷८२ मा एक लाख ५० हजार मेट्रिक टन कृषि उपज बिक्री हुँदा रु ६ अर्ब ८१ लाख बराबरको कारोबार भएको छ । यसमा हरियो तरकारी ८२ हजार ५२२ मेट्रिक टन, फलफूल २९ हजार ८०७ मेट्रिक टन, मसला २१ हजार ६२७ मेट्रिक टन, दलहन चार हजार ५५१ मेट्रिक टन, खसीबोका ७१९ र अन्य कृषि उपज नौ हजार १३० मेट्रिक टन रहेको थियो ।

    यस्तो व्यापक कारोबारले बजारलाई मात्र होइन, किसानको जीवनशैली र आयआर्जनमा पनि सकारात्मक प्रभाव पारेको देखिन्छ । तर, यसवर्ष भने व्यापार अघिल्ला वर्षहरूको तुलनामा कम भएको २०५८ सालदेखि कृषि बजारमा व्यापार गर्दै आउनुभएका व्यापारी रमेशकुमार शाहले बताउनुभयो । “सागसब्जी र तरकारीहरूको खपत घटेको छ, मूल्य पनि घटेको छ,” उहाँ भन्नुहुन्छ, “गत वर्ष यही समय प्याज प्रतिकिलो रु ७० मा बिक्थ्यो, अहिले भने रु ३८–४० मा मात्र बिक्री भइरहेको छ ।”

    अघिल्ला वर्षमा चाडपर्वको समयमा बजारमा उपभोक्ताको अत्यधिक चाप देखिन्थ्यो, तर यस वर्ष मान्छेको भीड कम देखिएको उहाँले बताउनुभयो । दैनिक उपभोग्य वस्तुको स्थायी मागका कारण बजारबाट वार्षिक करिब रु एक करोडदेखि एक करोड ५० लाखसम्मको कारोबार हुने गरेको छ,” शाह भन्नुहुन्छ, “विगतमा राम्रो व्यापारका लागि चाडपर्व कुर्नु पर्दैनथ्यो, अहिले दसैँ लाग्दा पनि व्यापार सुस्त छ ।” व्यापार घट्नुको मुख्य कारण २०७७÷७८ को कोरोना महामारी भएपछि अधिकांश व्यापारी गाउँ फर्किएको र धेरैले व्यापार नै छाडेको उहाँ बताउनुहुन्छ ।

    क्षेत्रीय व्यापारको मेरुदण्ड

    सुनसरी उद्योग वाणिज्य सङ्घका महासचिव प्रभाव खतिवडाका अनुसार धरान कृषि उपज बजारले केवल किसानलाई मात्र नभएर सम्पूर्ण क्षेत्रीय व्यापारलाई नयाँ उचाइमा पु¥याएको बताउनुहुन्छ । “धरान कृषि बजारले कृषक र व्यापारीबीचको सिधा सम्बन्ध जोडेर व्यापारको पारदर्शिता बढाएको छ,” महासचिव खतिवडा भन्नुहुन्छ, “उत्पादनको गुणस्तर, मूल्य पारदर्शिता, समयमा नै भुक्तानी र पूर्वाधारको विकासले गर्दा यो बजार अहिले पूर्वी नेपालको कृषि व्यापारको केन्द्र बन्दै गएको छ ।”

    कृषि बजारबाट बार्षिक रूपमा ठूलो मात्रामा कृषि उपजको कारोबार हुनु र त्यसबाट किसान तथा व्यवसायी दुवै लाभान्वित हुनु क्षेत्रको आर्थिक सम्भावना व्यापक छ भन्ने प्रमाण रहेको खतिवडा बताउनुहुन्छ । “यो बजारले उत्पादन, मूल्य निर्धारण र आपूर्तिको सञ्जाललाई व्यवस्थित बनाउँदै व्यावसायिक क्षेत्रलाई समेत गतिशील बनाएको छ”, उहाँ भन्नुहुन्छ, “हामी कृषि बजारलाई व्यापार विस्तारको मेरुदण्डका रूपमा हेर्छौं ।”

    कृषि बजारबाट सिर्जना भएको आर्थिक चक्रले क्षेत्रीय उद्योग, यातायात, होलसेल, खुद्रा व्यवसाय तथा रोजगारीमा प्रत्यक्ष अप्रत्यक्ष प्रभाव पारेको छ । पूर्वी पहाडदेखि तराई क्षेत्रका व्यापारीहरू, ढुवानी सेवा प्रदायक र कृषि क्षेत्रसँग सम्बन्धित व्यवसायीहरू यस बजारको विस्तारबाट लाभान्वित भएको महासचिव खतिवडाको भनाइ छ ।

    जेनजी आन्दोलनको असर

    गत भदौ महिनाको जेनजी आन्दोलनले धरानलगायत विभिन्न सहरी क्षेत्रका व्यापारिक संरचनामा ठूलो असर पु¥यायो । सयौँ व्यापारिक केन्द्रहरूमा आगजनी भयो, सम्पत्ति नष्ट भयो, व्यवसाय ठप्प भयो । उद्योग वाणिज्य सङ्घले तत्काल व्यापारीसँग सम्पर्क गरी क्षति मूल्याङ्कन, राहत र व्यवसाय पुनःसञ्चालनका लागि पहल गरेको खतिवडा बताउनुहुन्छ । कालाबजारी नियन्त्रण, बजार स्थायित्व, मूल्य पारदर्शिता र व्यावसायिक सुरक्षालाई प्राथमिकतामा राखेर सङ्घले सहकार्य गरिरहेको छ ।

    “व्यापारीलाई राज्यले प्राथमिकतामा राख्नुपर्छ”, उहाँ भन्नुहुन्छ, “हामी नीतिनिर्माणदेखि सहुलियत ऋण, बीमा र संरचनागत विकासमा समेत काम गरिरहेका छौँ ।” पछिल्लो समय बजारमा देखिएका समस्या जस्तै मूल्य अस्थिरता, आपूर्ति अवरोध, करको दबाब, सुरक्षा चुनौती आदि विषयमा सङ्घले सरोकारवाला निकायहरूसँग नियमित रूपमा संवाद, छलफल र दबाबमार्फत व्यवसायीको पक्षलाई मजबुत बनाउँदै आएको उहाँको भनाइ छ । “आगामी वर्षहरूलाई सुधार, विस्तार र प्रविधिमैत्री व्यापार प्रणाली निर्माणको अवसरका रूपमा हेरेका छौँ”, महासचिव खतिवडा भन्नुहुन्छ, “कृषिमा आधारित उद्योग, डिजिटल कारोबार, निर्यातयोग्य वस्तुहरूको उत्पादन, लगानीमैत्री वातावरण, युवा उद्यमशीलता, महिला सहभागिता जस्ता क्षेत्रमा ठूलो सम्भावना छ ।”

    उत्पादन घट्दो, आयात बढ्दो

    धरान कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष काजी गिरिका अनुसार देशको समग्र परिस्थितिको असर बजारमा पनि परेको छ । अहिले मागअनुसार उत्पादन नहुनाले हामीलाई भारतलगायत छिमेकी मुलुकबाट सामान आयात गर्नुपर्ने अवस्था आएको उहाँ बताउनुहुन्छ । बजार चलायमान राख्न आयात विकल्प बनिरहेको छ, तर दिगो समाधान भनेको स्वदेशी उत्पादन वृद्धि गर्नुपर्ने उहाँको तर्क छ ।

    कृषि बजारमा पहाडी क्षेत्रका साथै भारत, चीन, बङ्लादेश, भूटान र तराईका विभिन्न ठाउँबाट उपभोग्य वस्तु आउने गरेको छ । पहाडी भेगबाट अहिलेको ‘सिजन’मा हरियो सागसब्जी आउने गरेको छ । भारतबाट आलु, प्याज र फलफूल, बङ्लादेश तथा भूटानबाट आलु, चीनबाट च्याउ र लसुन धेरैजसो आउने गरेको छ । तर पनि धरान कृषि उपज बजारले विगत तीन दशकभन्दा बढी समयदेखि पहाडी किसानहरूलाई भरपर्दो बजार उपलब्ध गराउँदै आएको छ । यसले स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारसम्म पु¥याउने सञ्जालको निर्माण गरेको छ ।

    पछिल्ला वर्षहरूमा देखिएको उत्पादन घट्ने प्रवृत्ति, सामाजिक अस्थिरता, तथा नीति र संरचनागत चुनौतीका कारण बजारमा केही अवरोध देखिएको छ । यस्ता चुनौतीहरू समाधान गर्न अब किसान, व्यापारी र नीतिनिर्माताबीच प्रभावकारी समन्वय आवश्यक देखिन्छ । यदि उत्पादन वृद्धि, गुणस्तर सुधार र आपूर्ति प्रणालीलाई सुदृढ गर्न सकियो भने धरान कृषि उपज बजार पूर्वी नेपालकै नमूना कृषि व्यापार केन्द्रका रूपमा लिन सकिन्छ ।

    मङ्गलबार, असोज १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.