मोहनविक्रम सिंह ##
कामरेड जलजलाबारे सोच्दासोच्दै उनको ध्यान संसारका प्राणी वा उनीहरूको उत्पत्तितिर गयो । उनको ध्यान एलियन्सतिर गयो । उनले मनमनै सोचिन्, एलियन्ससम्बन्धी ती कुराले उनको मनमा प्रसन्नता दिन्थ्यो तर एलियन्ससम्बन्धी त्यो सोचाइ कुनै आधिकारिक थिएन र वैज्ञानिक दृष्टिकोणले त्यसलाई प्रमाणित पनि गरेको थिएन तैपनि सुनन्दालाई लागेको थियो, एलियन्सको अस्तित्वको समाचार सत्य नै भएको भए यो कति धेरै प्रसन्नताको कुरा हुन्थ्यो ?
उनलाई यस्तो लाग्न थाल्यो, एलियन्ससम्बन्धी कुरा झुटो वा साँचो जे भए पनि आकाशमा धेरैतिर सयकडौँ, हजारौँ वा सायद लाखौँ ग्रहमा कतै न कतै जीवन हुन सक्दथे । कस्ता थिए ती जीव ? उनीहरूको आकारप्रकार, जीवनप्रणाली वा सामाजिक प्रणाली पृथ्वीका प्राणीको जस्तो पनि हुन सक्थ्यो, केही बेग्लै पनि हुन सक्थ्यो वा गुणात्मक प्रकारले भिन्न पनि हुन सक्थ्यो ।
पृथ्वीका प्राणीभन्दा उनीहरू कुनै अर्थ वा रूपमा भिन्न थिए होलान् ? त्यो जान्न उनको मनमा तीव्र उत्सुकता पैदा भयो तर त्यो जान्ने कुनै उपाय थिएन । टाढाटाढासम्म पनि उनले त्यसको कुनै सम्भावना देख्दैनथिन् । त्यो जान्नका लागि सायद हजारौँ वा लाखौँ वर्ष लाग्नेछ । त्यति लामो अवधिसम्म मानवजातिको नै अस्तित्व रहने हो वा होइन ? त्यो कुरा निश्चित रूपले भन्न सकिँदैनथ्यो ।
उनको ध्यान मिश्रको पिरामिडतिर गयो । त्यहाँ जुन ठुल्ठुला पत्थर राखिएका थिए । ती कसरी त्यहाँ राखिएका होलान् ? त्यो बेला अहिलेका जस्ता वैज्ञानिक साधन थिएनन् अनि मानिसले बोकेर ती ढुङ्गा त्यति माथि पुर्याउनु सम्भव थिएन । त्यसैले मानिसहरू यो बताउने गर्दछन् कि त्यो काम एलियन्सले नै गरेका थिए । यदि त्यसो भए एलियन्स कहाँबाट पृथ्वीमा आएका थिए वा पृथ्वीबाट कहाँ गएर उनीहरू अदृश्य भए ? सुनन्दाको मनमा त्यस प्रकारका कैयौँ कुरा खेलिरहे ।
उनको ध्यान पुन: कामरेड जलजला गिरफ्तार भएको समाचारप्रति गयो । अर्को दिन बिहान बद्रे आलमले आएर कामरेड जलजला पुलिसको घेरामा परेको तर उम्केको समाचार दिए । त्यसपछि उनी कहाँ गएकी छिन् ? यो कुरा उनलाई थाहा नभएको बताएका थिए । जे भए पनि कामरेड जलजला उम्केको थाहा पाएर सुनन्दा र विद्या दुवै खुसी भए । त्यसपछि उनीहरू बद्रे आलमको साथ लुम्बिनीतिर लागे ।
लुम्बिनीमा पुगेपछि उनको ध्यान यो कुराप्रति पनि गयो, प्राचीनकालमा चीनबाट नेपाल र नेपालबाट चीनतर्फ कैयौँ बौद्ध भिक्षुले यात्रा गरिरहन्थे । त्यो बेला यातायातका आधुनिक साधन थिएनन् । त्यो यात्रा कैयौँ दुर्गम बाटा भएर लामो समयसम्म हिँडेर पूरा गर्नुपर्दथ्यो । त्यस सिलसिलामा उपन्यासमा लेखिएको छ– “जे भए पनि आफू आफ्नो सिद्धान्तप्रतिको दृढ आस्था, उच्च प्रकारको आत्मबल, दृढ इच्छाशक्ति र प्रतिकूल परिस्थिति वा खतराका विरुद्ध जुध्ने अदम्य साहसका आधारमा नै त्यस प्रकारको यात्रा गर्नु सम्भव हुन्थ्यो । उनीहरूले जे जति गरेका थिए, त्यसका पछाडि कुनै प्रकारको व्यक्तिगत स्वार्थ, लोभ वा इच्छा थिएन । वास्तवमा उनीहरू अत्यन्त उच्च र आदर्श व्यक्ति थिए । सुनन्दाले मनमनै उनीहरूप्रति श्रद्धा प्रकट गरिन् ।
उनीहरू र उनको (सुनन्दाको) आस्थामा अन्तर थियो । उनीहरू आध्यात्मवादी थिए । पहिले सुनन्दा पनि अध्यात्मवादी थिइन् तर अब उनी भौतिकवादी बनेकी थिइन् तैपनि त्यसकारणले उनीप्रतिको उनको आदरमा कमी आउँदैनथ्यो किनभने उनीहरू आफ्ना उच्च आदर्शका लागि निस्वार्थ भावले समर्पित व्यक्ति थिए । उनले मनमनै उनीहरूबाट प्रेरणा लिएर जीवनभरि अगाडि बढ्ने सङ्कल्प गरिन् ।”
लुम्बिनीबाट सुनन्दा र विद्या तिलौराकोट गएका थिए । उनका गाइडले एउटा स्थानलाई देखाउँदै बुद्ध भिक्षु बनेर आएपछि त्यो ठाउँमा नै बाबुछोराको भेट भएको बताएका थिए । यस सिलसिलामा उपन्यासमा लेखिएको छ– “बाबुले आफ्नो छोरो सम्राट भएको देख्ने कल्पना गरेका थिए तर उनका छोरा भिक्षु बनेर उनका अगाडि आएका थिए । त्यो बेला उनको मनको स्थिति कस्तो भएको थियो होला ? त्यो बेला राजा शुद्धोदनका साथमा बुद्धकी पत्नी यशोधरा र पुत्र राहुल पनि आएका थिए होलान् । त्यो बेला यशोधरा र पुत्र राहुलको मनमा समेत कुन प्रकारका भावना उठेका थिए होलान् ? शुद्धोदन तथा उनकी बुहारी र नातिसमेतका मनमा उठेका त्यस प्रकारका सबै भावनाका दृश्य उनका (सुनन्दाका) मनमा कैयौँ बेरसम्म घुमिरहे ।
उनले केही बेर आकाशतिर हेरिरहिन् । उनले सुन्दर आकाशमा त्यस दृश्यलाई वा सायद त्यस बेलाको शुद्धोदन र उनको परिवारका मनोभावनालाई सम्पूर्ण रूपले आत्मसात गर्ने प्रयत्न गरिरहेकी थिइन् ।

लुम्बिनी र तिलौराकोटको भ्रमण गरिसकेपछि सुनन्दाको ध्यान कपिलवस्तु, रुपन्देही र नवलपरासीमा समेत फैलिएका सयभन्दा बढी प्राचीन सभ्यता वा बौद्धकालिन पुरातात्त्विक अवशेषप्रति गयो । ती सबैबारे जानकारी प्राप्त गरेपछि उनले मनमनै सोचिन्, कपिलवस्तु, रुपन्देही र नवलपरासीसमेतका ती सबै स्थानलाई मिलाएर एउटा बृहत् बौद्ध पुरातात्त्विक सहरको निर्माण गर्न पाए कति राम्रो हुन्थ्यो होला ?
त्यस सन्दर्भमा उपन्यासमा लेखिएको छ– “कपिलवस्तुदेखि नवलपरासीसम्मको विस्तृत भूभागको एउटा मेगाप्रोजेक्ट नै बनाउनुपर्दछ । यसरी ती तीनै जिल्लाको विस्तृत अध्ययन गरेमा ती तीनैओटा जिल्लासँग सम्बन्धित प्राचीन सभ्यताको एउटा भव्य चित्र हामो अगाडि आउने थियो । ती तीनै जिल्लालाई मिलाएर एउटा बौद्धकालीन बृहत् सहर निर्माण गरिएमा यो अन्तर्राष्ट्रिय महत्त्वको एउटा पुरातात्त्विक सहर नै हुन सक्दथ्यो । त्यसले खालि ती तीनओटा जिल्लाको मात्र होइन, नेपालको सम्पूर्ण इतिहासमा नयाँ आयाम थप्ने थियो ।”
सुनन्दा र विद्या कुस्मामा शिव पौडेलको घरमा पुगे । उनीबाट थाहा भएको थियो, जलजला त्यहाँ आएकी थिइन् तर त्यहाँबाट भारततिर गइसकेकी थिइन् ।
दुर्गाले उनी कामरेड जलजलासित सँगै वनमा घुम्न गएको बताएकी थिइन् । उनले कामरेड जलजलाले वनमा नै ‘प्रिय कामरेड अजित’ भनेर एउटा चिठी लेखेको र त्यो चिठी लेख्दालेख्दै उनका आँखाबाट आँसु झरेर कैयौँ अक्षर मेटिएको पनि बताएकी थिइन् । त्यस सिलसिला उपन्यासमा लेखिएको छ– “सुनन्दाले केही बेर पहिले दुर्गाले कामरेड जलजलाले एउटा पत्र लेख्न थालेको कुरा भनेको सम्झिइन् । त्यो पत्रको सुरुमा ‘प्रिय का. अजित’ लेखेको कुरा पनि भनेको सम्झिन् । चिठी लेख्दालेख्दै जलजलाको आँखाबाट आँसु झरेको सुनेर सुनन्दाको मन दुखित भयो । आखिर के दु:ख थियो उनको मनमा ? अब उनलाई यस कुरामा कुनै शङ्का रहेन, उनीहरू दुवै जनाले एकअर्कालाई प्रेम गर्दथे तर त्यो मायामा के भएको थियो ? अजितलाई पत्र लेख्ने बेलामा उनी किन रोएकी थिइन् ? के उनीहरू एकअर्काबाट टाढा भएर रोएकी थिइन् अथवा के अजित कतै जेलमा थिए वा उनी पार्टीको कुनै जिम्मेवारीका कारणले धेरै टाढा थिए र लामो समयदेखि आपसमा भेट गर्न सकेका थिएनन् ? उनका मनमा ती कैयौँ कुरा खेलिरहे । लामो समयदेखि अजितको समाचार नपाएर उनलाई पिर लागेको हुन सक्दथ्यो । सायद त्यसैले उनी रोएकी थिइन् । उनका मनमा यी कैयौँ प्रश्न उठे तर उनले (सुनन्दाले) कुनै जबाफ खोज्न सकिनन् ।
ती कुरा जे भए पनि उनलाई यो कुरा बुझ्न गाह्रो भएन, उनको मनभित्र एउटा व्यथा थियो । आफ्नो मुटुभरि व्यथा बोकेर उनले एक्लै आँसु चुहाउँदै, रुमालले आँसु पुछ्दै अलिकति पनि हिम्मत नहारीकन पार्टी र क्रान्तिको जिम्मेवारी पूरा गर्ने प्रयत्न गरिरेहेकी थिइन् ।”
कुस्माको बदौलीमा सम्पन्न थारूको सांस्कृतिक कार्यक्रममा भाग लिएर फर्केपछि सुनन्दाका मनमा उनीहरूको प्राचीन इतिहासबारे, खास गरेर उनीहरूको उद्गम कहाँबाट भएको थियो भन्नेबारे उनका मनमा कैयौँ कुरा खेल्न थाले । त्यस सन्दर्भमा उपन्यासमा लेखिएको छ– “वास्तवमा त्यो एउटा प्राग्ऐतिहासिक र महान् जाति थियो । त्यसको लामो गौरवपूर्ण इतिहास थियो ।
नेपालमा पूर्वमा झापादेखि मोरङ, सुनसरी, सप्तरी, बारा, पर्सा, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, देउखुरी, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरसम्म थारूको बसोबास छ । उत्तरी भारतका कतिपय स्थान खास गरेर गढवाल, कुमाउँका तराई प्रदेशमा पनि उनीहरूको बाक्लो बस्ती छ ।”
थारूबारे उपन्यासमा लेखिएको थियो, कर्णाली प्रदेशका तराईका चारओटा जिल्ला बाँके, बर्दिया, कैलाली र कञ्चनपुर तथा भित्री मधेसको जिल्ला दाङ–देउखुरीमा उनीहरूको जनसङ्ख्याको बाहुल्यता छ । त्योबाहेक सुर्खेतमा उनीहरूको सङ्ख्यामा बसेको पाइन्छ तर उनीहरूको उत्पत्ति कहाँ भएको थियो ? त्यसबारे उनका मनमा कैयौँ तर्कवितर्क उठे ।
त्यस सन्दर्भमा उपन्यासमा लेखिएको छ– “उनीहरूको उत्पत्ति कहाँ भएको थियो ? नेपालमा वा कर्णाली प्रदेशको तराईका भित्री मधेसमा उनीहरूको आवागमन कहाँबाट भएको थियो वा उनीहरू त्यहीँ प्रदेशका नै आदिवासी हुन् ? त्यसबारे कुनै निष्कर्षमा पुग्नु सजिलो थिएन ।”
थारू जातिहरूको उत्पत्ति र आगमनबारे विभिन्न मत भए पनि सुनन्दालाई लाग्यो, एउटा कुरा प्रस्ट थियो, उनीहरू नेपालको अत्यन्त प्राचीन जाति थिए । सायद कुसुन्डापछि सबैभन्दा पुरानो प्राग्ऐतिहासिक जाति थारू नै थिए । उनीहरू पहिले घुमन्ते जाति नै थिए र नेपालमा घुमन्ते जीवन छाडेर कृषिमा लागेका उनीहरू सम्भवत: नेपालका पहिलो जाति थिए ।
उपन्यासमा अगाडि लेखिएको छ– “थारू अत्यन्त मिहिनेती जाति हो । अन्य मानिस औलोको डरले तराईमा आउन डराउँथे तर उनीहरूले नै औलोको सामना गरेर जङ्गल फाँडेर तराईमा जग्गा आबाद गरेका थिए र बस्ती बसाएका थिए तर उनीहरूले आबाद गरेको त्यही जमिन तथा उनीहरूको कडा परिश्रम गर्ने गुण नै उनीहरूमाथिको पराधीनता वा उनीहरूमाथिको शताब्दीयौँसम्मको शोषण र उत्पीडनको कारण बन्न गएको थियो तर उनीहरूलाई आशा र विश्वास थियो, त्यस अवस्थाबाट अवश्य पनि उनीहरू मुक्त हुनेछन् । उनीहरूमा आइरहेको जागरण त्यो कुराको सङ्केत थियो । उनले मनमनै त्यो जातिप्रति आफ्नो उच्च सम्मान प्रकट गरिन् ।”
थारू जातिपछि सुनन्दाको ध्यान मगर जातितिर गयो । त्यस सिलसिलामा उपन्यासमा लेखिएको छ– “मगर जातिको मोटामोटी इतिहास पढेपछि सुनन्दालाई यो कुरामा कुनै द्विविधा रहेन, त्यो वास्तवमा नेपालको एउटा महान् प्राग्ऐतिहासिक जनजाति नै थियो । त्यो जाति वास्तवमा कहाँबाट नेपालमा आएको थियो ? त्यो कुरा अनुत्तरित नै थियो । त्यही पनि अहिलेसम्म उनी त्यसबारे दुईओटा निष्कर्षमा भने अवश्य पुगेकी थिइन् : प्रथम– त्यो जाति दक्षिण भारतबाट नेपालमा आएको कुरा निश्चित रूपले सत्य थिएन । मगर जातिको आफूलाई चित्तौडका राजपुतको सन्तान बताउने सोचाइ पूरै कपोलकल्पित नै थियो । द्वितीय– त्यो जाति उत्तरबाट आएको र मङ्गोल जातिसित सम्बन्धित भएको कुरा नै बढी सत्य थियो । निश्चय नै उत्तरमा उनीहरू कहाँबाट आएका थिए ? त्यो कुरा भने गहन अनुसन्धानको विषय थियो ।”
थारू र मगरको जातिको इतिहास पढेपछि सुनन्दाको ध्यान खस जातिको इतिहासतिर गयो । संयोगले बालकृष्ण पोखरेल तौलिहवामा आएका रहेछन् । उनले गएर उनलाई भेटिन् । साँझ कुस्मामा फर्केपछि उनले बालकृष्णले दिएका नोट वा उनीसित कुरा गर्दा उनले बनाएका नोट पढ्न थालिन् । त्यस सन्दर्भमा उपन्यासमा लेखिएको छ– “बालकृष्णले भनेका थिए, खस जाति सृष्टिको नै एउटा महान् जाति थियो । उनको यस कुरालाई त्यही रूपमा स्वीकार गर्न सकिन्थ्यो कि सकिँदैनथ्यो ? त्यसबारे निश्चित रूपले केही भन्न सकिँदैनथ्यो तैपनि उनले खस जातिको इतिहासबारे जे जति वर्णन गरेका थिए, त्यसबाट त्यो जातिको एउटा लामो र गौरवपूर्ण इतिहास भएको कुरामा कुनै शङ्का थिएन ।”
खस जातिबारे उपन्यासमा अगाडि लेखिएको छ– “मेसोपोटामियामा खसले लामो समय शासन गरेका थिए । उनीहरूले बेबिलोनमा पनि लामो समयसम्म शासन गरेका थिए । बालकृष्णले यो पनि बताएका थिए, खस जातिले अतिप्राचीन कालमा नै युरोपमा प्रवेश गरेको थियो र त्यो पूर्व र पश्चिमी युरोप दुवैतिर फैलिएको थियो । त्यो अतिप्राचीन कालदेखि नै त्यहाँको आदिवासी थियो । पछि त्यहाँ आएका अन्य जातिले त्यसलाई विस्थापित गरेका थिए । मेसोपोटामिया र बेबिलोनबाट खसले हिन्दुकुश, कस्मिर, गढवाल, कुमाउ हुँदै पश्चिम नेपालको बाटो नेपालमा प्रदेश गरेका थिए ।”
खस पहिले हिन्दु थिएनन् र त्यसैले हिन्दुले उनीहरूलाई शूद्र बताउँथे । पछि उनीहरूको हिन्दुकरण हुँदै गयो । त्यस सन्दर्भमा उपन्यासमा लेखिएको थियो– “खसले हिन्दु धर्मलाई सजिलैसित स्वीकार गरेका थिएनन् । शताब्दीयौँसम्म उनीहरू हिन्दुका विरुद्ध लडेका थिए तर अन्तमा उनीहरू पराजित हुँदै गए । उनीहरूले हिन्दु धर्म र वर्णाश्रम व्यवस्था अपनाउँदै गए र उनीहरूको हिन्दुकरण हुँदै गयो ।
सुनन्दाले सोचिन्, खसको खालि भौतिक रूपमा मात्र होइन, मानसिक रूपमा पनि हार भएको थियो । हिन्दुसँग उच्चस्तरको दर्शन, व्यवस्थित धार्मिक व्यवस्था थिए तर त्यस दृष्टिकोणले खस धेरै पछाडि थिए । उनीहरू लडाकु थिए, उनीहरूको गौरवपूर्ण इतिहास थियो तर उनीहरूको दर्शन तथा विचार र चिन्तनको क्षेत्रमा उनीहरू हिन्दुभन्दा धेरै पछाडि र कमजोर भएको पनि देखिन्छ । त्यसैले हिन्दुको उच्च प्रकारको दर्शन र चिन्तन प्रणालीका अगाडि टिक्नु उनीहरूका लागि सम्भव भएको थिएन ।”
नेपालमा खस जातिको हिन्दुकरण भयो तर सुदूरपश्चिममा खस जातिको एउटा समूहले हिन्दु धर्म अपनाउन अस्वीकार गर्यो र मतवाली क्षेत्रीको रूपमा त्यो बेग्लै रह्यो । त्यस सन्दर्भमा उपन्यासमा लेखिएको छ– “मतवाली क्षेत्रको महत्त्व यो कुरामा छ, कुमाउँगढवाल वा नेपालका अन्य खसले आफ्नो मौलिक संस्कृति गुमाइसकेका छन् तर सबै प्रकारको प्रतिकूल परिस्थितिमा पनि मतवाली क्षेत्रीले तिनीहरूलाई बचाएर राखेका थिए । त्यस प्रकारको अध्ययनका लागि मतवाली क्षेत्रीको समाज वा संस्कृतिको धेरै भित्री तहसम्म जानुपर्ने आवश्यकता थियो तर यो सोचेर सुनन्दालाई दु:ख लागेर आयो कि उनले त्यो विषयमा त्यति गहिरोसित अध्ययन गर्न सक्दिनथिन् ।”
पश्चिम नेपालमा खास गरेर कर्णाली क्षेत्रमा खसको कुल देवता मस्टो नै थिए । पहिले उनीहरूले मस्टोलाई एउटा ढुङ्गाको रूपमा पूजा गर्दथे । त्यसरी मस्टो एउटा प्रकृतिपूजा थियो तर पछि त्यसको पनि हिन्दुकरण वा मानवीयकरण हुँदै गयो ।
पश्चिम नेपालको एउटा प्रसिद्ध जाति राउटे वा कुसुन्डा थियो । त्यो सायद नेपालको नै एउटा सबैभन्दा पुरानो जाति थियो । पहिले सबै जाति घुमन्ते नै थिए तर पछि उनीहरूले पशुपालन वा कृषिपेसा अपनाउँदै गए तर कुसुन्डा अहिलेसम्म पनि घुमन्ते अवस्थामा नै छ यद्यपि त्यसका कतिपय सदस्य कृषिपेसा वा घरगृहस्थीको जीवनमा पनि सामेल हुँदै गइरहेका छन् । निश्चय नै त्यो जातिले आफूभित्र ठुलो प्राचीन इतिहास लुकाएर राखेको थियो । सुनन्दाले सोचिन्– त्यसको मानवशास्त्रीय वा समाजशास्त्रीय अध्ययन हुन सकेमा त्यो इतिहासको क्षेत्र नै कति ठुलो देन हुन सक्थ्यो होला ? कतै त्यस प्रकारको अध्ययन पनि भएको थियो कि तर त्यसबारे उनलाई केही थाहा थिएन ।
कुसुन्डाबारे उपन्यासमा लेखिएको छ– “उनको ध्यान पुन: कुसुन्डातिर गयो । उनलाई लाग्यो, कहीँ अहिले लोप हुँदै गएको त्यो जाति नै ढुङ्गेयुगीन मानवको निरन्तरता त थिएन ? त्यो कुरा सम्भव नहुन पनि सक्थ्यो तर सायद सम्भव हुन पनि सक्थ्यो ।
फेरि उनलाई लाग्यो, अहिलेका कुसुन्डा ढुङ्गेयुगीन मानवका सन्तान भए पनि तर त्यो कुरा निश्चित रूपले भन्नका लागि कुनै ऐतिहासिक आधार थिएन, उनीहरूले त्यो सम्पूर्ण इतिहास आफूभित्र नै सीमित राखेका थिए । उनीहरूको इतिहास जान्नका लागि कुनै उपाय थिएन तर भाषाको माध्यमद्वारा उनीहरूको इतिहास थाहा हुन नसके पनि उनीहरूको शरीरको अध्ययन गरेर त्यो इतिहास पत्ता लाग्न सक्दथ्यो कि ?”
त्यस सिलसिलामा उपन्यासमा अगाडि लेखिएको छ– “त्यसो भएमा अहिले उनका अगाडिका कुसुन्डाको इतिहास ढुङ्गेयुगीन मानवसित जोडिन सकेमा त्यो कति खुसीको कुरा हुन्थ्यो ? त्यसरी उनीहरूको इतिहासको सम्पूर्ण विकासक्रमलाई किताबका पन्नाजस्तै पढ्न पाएमा त्यो कति धेरै खुसीको कुरा हुन्थ्यो ।”
अब उनको ध्यान पूरै कर्णाली प्रदेशतिर गएको थियो । उनलाई यो देखेर धेरै खुसी लागेको थियो, त्यो प्रदेशको इतिहास र संस्कृति धेरै नै सम्पन्न थियो । त्यस सिलसिलामा उपन्यासमा लेखिएको छ– “सम्वत् १८४६ मा जुम्ला नेपाल अधिराज्यमा सामेल हुनुभन्दा पहिले कर्णाली प्रदेशको बिस्तार पश्चिममा भारतको कुमाउँगढवाल र उत्तरमा तिब्बतको ताक्लाकोटसम्म रहेको थियो । त्यो सम्बन्धद्वारा कर्णाली प्रदेशको संस्कृति पनि प्रभावित भएको थियो । त्यसैले यहाँको संस्कृति धेरै नै धनी थियो । त्यसमा ठुलो विविधता पनि थियो । कर्णाली प्रदेशको संस्कृतिका कैयौँ आयाम थिए† जस्तै : लोकगीत, लोककाव्य, वाद्यवादन, कथा, उखानटुक्का आदि । ती सबैका पनि कैयौँ पक्ष थिए ।
सुनन्दाको जुन कुराप्रति सबभन्दा बढी ध्यान थियो, त्यो त्यहाँको देउडानाच नै थियो । सम्भवत: कर्णाली–प्रदेशको संस्कृतिको त्यो प्रधान पक्ष नै थियो । त्यो नाचको प्रचलन पूर्वमा राप्तीदेखि पश्चिममा महाकालीसम्मका पहाडी जिल्लामा थियो । त्यो नाच सामूहिक रूपले नाच्ने गरिन्थ्यो र त्यही नै त्यो नाचको मुख्य विशेषता थियो । त्यो नाचमा केटा र केटी सम्मिलित रूपले नृत्य गर्ने गर्दथे । त्यो नाचमा बाजा बजाइँदैन र केटाकेटीले हातेमालो गरी गीतको लयमा खुट्टा अगाडि पछाडि गर्दै घुमेर नृत्य गर्ने गर्दछन् । त्यसरी त्यो दृश्य अत्यन्त मनमोहक हुन्छ ।
सुन्दालाई यो देउडानाच यसकारणले पनि धेरै राम्रो लागेको थियो, त्यो नाच कुमाउँको झोडानाचसित धेरै नै मेल खान्थ्यो । कुमाउँमा पनि झोडानाचको बेलामा कर्णाली प्रदेशमा जस्तै कुनै बेला महिला मात्र र कुनै बेला महिला र पुरुष दुवैले आपसमा हात समातेर गीतको लयमा र खुट्टाको तालमा नाच्ने गर्दथे । उनलाई कुमाउँको त्यो झोडानाच धेरै राम्रो लाग्दथ्यो र उनले त्यो नाचमा भाग पनि लिने गर्दथिन् ।”
सुनन्दा लखनऊ फर्केकी थिइन्। त्यहीँ उनको जलजलासित पनि भेट भएको थियो । त्यहीँ रमेशचन्द्र श्रीवास्तव पनि सुन्दालाई भेट्न आएका थिए । भेट हुनेबित्तिकै उनले भनेका थिए– मैले ता नेपाल जान हुन्न भनेर धेरै सम्झाउने प्रयत्न गरेको थिएँ । तपाईंले मान्नु भएन । धेरै दु:ख पाउनुपर्यो । जेल पनि पर्नुभयो… ।
त्यस सिलसिलामा उपन्यासमा लेखिएको छ– “सुनन्दाले त्यो कुरा सुनिन् मात्र, कुनै जबाफ दिइनन् । अलिकति हाँसिन् । त्यो हाँसोमा धेरै कुरा लुकेका थिए । नेपाल गएर उनलाई धेरै दु:ख भएको थियो वा ठुलो उपलब्धि भएको थियो ? त्यो उनलाई नै थाहा थियो…।
नेपालयात्राको परिणामस्वरूप उनलाई माक्र्सवादी दर्शनको ज्ञान भएको थियो । त्यसको ज्ञान ता पहिले पनि थियो तर अब उनी माक्र्सवादी बनेकी थिइन् । नेपालयात्राको त्योभन्दा ठुलो उपलब्धि यो भएको थियो, उनले कामरेड जलजलालाई भेट्याएकी थिइन् । त्यो उद्देश्य लिएर नेपाल गएकी थिइन्, त्यो उद्देश्य सफल भएको थियो ।
सुनन्दाले कामरेड जलजलातिर फर्केर हेरिन् । त्यो हेराइमा जलजलाप्रतिको उनको आत्मीयता, आदर, स्नेह र उनीसित भेट हुँदा उनका मनमा उत्पन्न असीम आनन्द र प्रसन्नता व्यक्त भएको थियो । कुरा त्यति मात्र थिएन । उनीसितको उनको सम्बन्ध व्यक्तिगत मात्र थिएन, त्यो सम्बन्ध कम्युनिस्ट आन्दोलन र मार्सवादी–लेनिनवादी दर्शनको जगमा उभिएको थियो । त्यसैले उनलाई विश्वास थियो, माक्र्सवादी दर्शनले उनका बिचको सम्बन्धलाई अझ प्रगाढ बनाउनेछ र त्यसलाई स्थायित्व प्रदान गर्नेछ ।”
कामरेड जलजलाप्रतिको हेराइमा एकैसाथ ती सबै र तीभन्दा कैयौँ बढी कुरा थिए तर उनले केही भनिनन् । कामरेड जलजला र सुनन्दाका आँखा जुधे । कामरेड जलजलालाई यो बुझ्न बेर लागेन, सुनन्दाको हेराइ सामान्य थिएन । त्यो हेराइमा धेरै कुरा थिए । त्यो हेराइमा गहिरो भाव थियो । त्यो हेराइमा कामरेड जलजलाले धेरै कुरा देखेकी थिइन् तर ती कुरा के थिए र त्यो वर्णन गर्न उनलाई मुस्किल पर्दथ्यो । सुनन्दाले पनि जलजलाको सो हेराइलाई देखिन् । उनलाई पनि लाग्यो, उनको त्यो हेराइ सामान्य थिएन । त्यसरी त्यो देखादेखमा नै उनीहरूका बिचमा गहिरो सम्बन्ध कायम भयो, जुन सम्बन्ध वर्षौँको सम्बन्धबाट पनि कायम हुन सक्दैनथ्यो ।