लालबहादुर नेपाली, राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेश समितिका सदस्य ##
स्रोता तथा दर्शकवृन्द । युगदर्शन मिडियाको तर्फबाट गोविन्दकुमार शर्मा म प्रकाश थापामगरको नमस्कार । गत भदौ २४ गते जेएनजी आन्दोलनको नाममा राष्ट्रिय जनमोर्चाका सुर्खेत, अर्घाखाँची, प्युठान बुटवलका कार्यालयमा तोडफोड तथा आगजनी भएको छ । २०८२ असोज ३ गतेका दिन उक्त घटनाका प्रत्यक्षदर्शीसित कुराकानी गरेर हामीले एउटा सामग्री तयार पारेका छौँ । प्रस्तुत छ सो सामग्री ।
० राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेशका सदस्य तथा राष्ट्रिय जनमोर्चा सुर्खेतका सल्लाहकार लालबहादुर नेपालीलाई युगदर्शन मिडियामा स्वागत गर्न चाहन्छौँ ।
:: धन्यवाद यहाँलाई ।
० आज हामीले तपाईंहरूको कार्यालयमा आगजनी भयो, जेन्जी आन्दोलनको नाममा, त्यससम्बन्धीमा सङ्क्षिप्तमा कुराकानी गर्न गइरहेका छौँ ।
:: हजुर सर ।
० सर्वप्रथम त हामीलाई यो बताइदिनुस्, त्यहाँको कार्यालय कहिले, कसरी तोडफोड भयो ?
:: भदौ २३ गतेदेखि सुरु भएको जनेजी आन्दोलन सो दिन सुर्खेतमा खासै अराजक प्रकारले आएन । २३ गते काठमाडौँमा १९ जनाको ज्यान जाने गरी घटना घटाइसकेपछि देशभरि जसरी आन्दोलनको एउटा राँको बल्यो, आन्दोलन भड्कियो, त्यसको चपेटामा सुर्खेत जिल्ला पनि पर्यो । सर्वप्रथम यहाँ सुर्खेतमा नेकपा (एमाले) को पार्टी कार्यालयमा आगो लगाउने काम भयो, तोडफोड गर्ने काम भयो । त्यसपछि प्रहरीले जब त्यहाँको भिडलाई तितरबितर गर्न सुरु गर्यो, आन्दोलनकारी भाग्दै जाँदा हाम्रो पार्टी कार्यालयनजिक पुगे । उनीहरूले त्यहाँबाट प्रहरीमाथि ढुङ्गामुढा गर्दै थिए, माथि प्रहरीले रोकिराखेको थियो, एमालेको पार्टी कार्यालयतर्फ जान दिइराखेको थिएन । म पनि त्यहाँ १५ मिनेटपछि त्यहाँ पुगेको थिएँ । हाम्रा साथीहरू पनि त्यहाँ नजिकै हुनुहुन्थ्यो ।
पुलिसले एमाले र माओवादीको पार्टी कार्यालयतर्फ जान नदिएर बलप्रयोग गरेर रोकेपछि यिनीहरूको आँखा हाम्रो पार्टी कार्यालयतर्फ लाग्यो र यहाँ पनि पार्टी कार्यालय रहेछ भनेर उनीहरूले कुनै सोचविचारै नगरीकन हाम्रो पार्टीलाई दोषी बनाएर ढुङ्गामुढा, आगजी गरेका थिए ।
० त्यहाँभित्र के के क्षति भयो ?
:: त्यहाँभित्र बन्दोबस्तीका सामान भन्नाले रक्तिम सांस्कृतिक अभियानका ड्रेस, माइक सेट, एम्प्लिफायर थिए । हामीले धेरै मिहिनेत, दु:ख गरेर जोडेका सम्पत्ति थिए । हाम्रा कलाकार भाइबहिनी र बाहिर जिल्लाबाट आउने साथीहरूले आवासको रूपमा पनि प्रयोग गर्न सकिन्छ भनेर ओढ्ने, ओछ्याउने, बिस्तरा व्यवस्था गरेर राखेका थियौँ । त्यो सबै अफिसियल सामान थिए । सबै जल्यो । चित्रबहादुर केसी अध्ययन प्रतिष्ठानको सामान सबै जलेर नष्ट भयो । राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेशको पनि सबै चिज जलेर नष्ट भयो । जिल्ला कार्यालय सुर्खेतको पनि सबै जलेर नष्ट भयो । हामीसँग विलासी सामान थिएनन् तर पार्टी सञ्चालनका लागि र सामान्य बन्दोबस्तीका सामान थिए, ती सबै जलेर नष्ट भए ।
० तपाईंहरूले ती सामान जलिरहँदा उद्धार गर्ने अथवा सामान बचाउन सक्ने अवस्था थियो कि थिएन ?
:: सामान बचाउन सक्ने अवस्था थिएन । झ्यालका ग्रिल तोडेर भित्र छिरेको, झ्यालको चौकस, ढोकाका च्यानल तोडेर भित्र छिरेको र भित्रका सामान निकालेर बाहिर सडकमा बालेको अवस्था थियो । मेस सञ्चालन गर्ने भाडाकुँडा पनि धेरै थिए । उनीहरूले ती थाल, डेक्ची बजाउँदै हिँडेको अवस्था देखिन्थ्यो । कुर्चीटेबल सबै लिएर बाहिर सडकमा जलाएका र भित्रबाट निकाल्न नसके भित्रै दुई/तीन ठाउँमा आगो बलेको अवस्था थियो ।
२०६६ सालको चैतमा ढलान गरेको घर थियो । धेरै मिहिनेत गरेर प्रत्येक वर्ष भैलो खेलेर जोडेका सम्पत्ति थिए । भाइबहिनी, कलाकार साथीहरूलाई एक छाक मासु खान पनि नदिएर बढी खर्च हुन्छ र हाम्रो काम सम्पन्न हुन्न, घर सम्पन्न हुन्न, भवन सम्पन्न हुन्न भनेर जोडेको सम्पत्ति सबै नष्ट गरिदिए । त्यस्तो हुँदा मनले मानेन । मन साह्रै भतभत्ती पोल्यो । आन्दोलनकारी त्यहीँ घुमिरहेका थिए, साथीहरूले मलाई भित्र नजान अनुरोध गरिरहनुभएको थियो, तैपनि मनले मानेन । म साथीहरूको सहयोगमा भित्र छिरेर पानी हालेर भवनभित्रको सम्पत्ति बचाउन कोसिस गरेँ तर सकिएन । फेरि पनि भवनमा थप क्षति हुनबाट जोगाउन सफल भयौँ, केही साथी लागेर । त्यहाँ चार/पाँच जना साथीहरू मात्रै थियौँ र त्यो भवनलाई थप क्षति हुनबाट जोगाउन हामीले सक्यौँ । एउटा मात्रै स्टिल दराज सकुशल बाहिर निकाल्न सफल भएका थियौँ, जसमा रक्तिमको कार्यालयका सामग्री थिए ।
० आगजनी हुनुभन्दा पहिला तपाईंहरूलाई कार्यालय आगजनी हुँदैछ भन्ने खालको त्यस्तो पूर्व सूचना केही पाउनुभएको थियो कि थिएन ?
:: केही पनि थाहा पाइएको थिएन । आन्दोलन अचानक भड्कियो । काठमाडौँमा सुरु भएको आन्दोलन देशव्यापी रूपमा चर्कियो । सुर्खेतमा पनि अचानक सुरु भयो । सुरुमा एमाले पार्टी कार्यालयमा जलेको भन्ने बुझिन्छ । त्यसपछि प्रहरीले अश्रुग्याँस हानेर तितरबितर गर्दा हाम्रो पार्टी कार्यालयतर्फ आसपास सरेको बुझिन्छ । हामीलाई त्यस्तो सूचना पनि केही पनि भएन । योभन्दा पहिला २०७२ मा प्रदेश संरचना विभाजन गर्दाखेरि कर्णालीलाई सुदूरपश्चिममा गाभेको अवस्थामा कर्णाली अथवा सुर्खेतमा जुन खालको एउटा विद्रोह भड्किएको थियो, आन्दोलन भड्किएको थियो, त्यतिखेर हाम्रो पार्टी कार्यालयतिर आए पनि उनीहरू फेरि फर्केर गएका थिए । यो पार्टीको त्यसमा कुनै दोष छैन भनेर फर्केका थिए उनीहरू । त्यस बेला अलिकति सुझबुझवाला मान्छे थिए । यतिखेर साना कलिला केटाकेटी थिए । कुनै पनि कुरा नापतोल नगरीकन पार्टी कार्यालय रहेछ भनेर उनीहरूले आगलागी गरेकोजस्तो बुझिन्छ । यहाँ अराष्ट्रिय तŒवले राष्ट्रिय जनमोर्चालाई पनि दोषी बताउँदै हान्न लगाएको हो कि भन्ने हामीले शङ्का गरेका छौँ ।
० तपाईंहरूको ठ्याक्कै अनुमानमा यो समूहले अथवा यो यो स्वार्थका लागि आगो लगाएको भन्ने तपाईंहरूको त्यस्तो कुनै अनुमान छ ?
::सुर्खेतमा जति पनि पार्टी कार्यालय भवन बनेका छन्, यो सरकारी जग्गामा बनेका छन् । नगर विकास समितिको जग्गामा बनेका छन् । यसरी पार्टी कार्यालय बनाएको कुरा धेरैलाई मन परेको थिएन । यद्यपि नियमसङ्गत तरिकाले लिएका थिए पार्टीहरूले । संरचना बनाएका छन् । पार्टीहरूले जग्गा लिएपछि पनि कतिपय बेला पार्टीको लागि जग्गा माग्न आउनेलाई गुरुयोजनाभन्दा बाहिर जग्गा दिन मिल्दैन भनेर धेरै अवस्थामा रोकेको थियो । केही त्यस्ता तत्त्व पनि अहिले प्रयोग भएको बुझिन्छ । पछिल्लो चरणमा हाम्रो भर्खरै भ्रष्टाचार विरुद्ध आन्दोलन भइरहेको थियो । अराजकता विरुद्ध आन्दोलन भइरहेको थियो । यसमा केही तत्त्वलाई चोट पुग्ने गएको बुझिन्छ । उनीहरू सार्वजनिक रूपमा अभिव्यक्ति पनि दिन्थे, निर्दोष मान्छेलाई दोषी भनेर तपाईंहरू राजनीति गर्नुहुन्छ, कसरी सफल हुनुहुन्छ ? हामीलाई लाग्छ, सुर्खेतमा यी पार्टी कार्यालयलाई हान्नमा बढी प्रयोग गराउने कुरामा राप्रपा र रास्वपाका मान्छे प्रयोग भएको बुझिन्छ ।
० यो तोडफोड आगजनी हुँदाखेरि त्यहाँको प्रहरी प्रशासनको व्यवहार कस्तो रहेको पाउनुभयो?
:: हाम्रो जिल्ला कमिटी सुर्खेतका सचिव विष्णुप्रसाद शर्माले यहाँको सिडियोलाई फोन गर्नुभयो । सुर्खेतको सिडियोले फोन नलाग्ने, रिङटोन नजाने नै बनाएर बस्नुभएको भन्ने रिपोर्ट गर्नुभयो । सिडियो, एसपीले हामी आउँदैछौँ, आउँछौँ भनेर जबाफ दिने तर प्रहरी नपठाउने, त्यो सुरक्षाबल नपठाउने कारणले गर्दा आगलागीबाट क्षति भयो, नत्र प्रहरी एक्टिभ भएको भए, सशस्त्र एक्टिभ भएको भए सुर्खेतमा जति क्षति भयो, त्यो क्षति हुँदै हुन्थेन । पुलिस, सुरक्षाकर्मी त पूरै मूकदर्शक बनेर हेरिराखे नि ।
० त्यहाँ जुन आगजनी भयो, दोषीका लागि कानुनी उपचार अथवा त्यो कार्यालयलाई फेरि पुनर्निर्माण गर्न योजनाहरू के कस्तो बनाउनुभएको छ ?
:: राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेश समितिका अध्यक्ष अभियान लिएर कालीकोटतिर जानुभएको थियो, भर्खरै आउनुभएको छ । आन्दोलनको बिचबाटै आउनुभएको छ । अहिले वर्षातको मौसम पनि छ । साथीहरू छुट्टीमा हुनुहुन्छ । छिटै कर्णाली प्रदेशको बैठक बस्ला, जिल्ला कमिटीको बैठक पनि बसस्ला । हामीले भित्र क्षति भएको, जलेर नष्ट भएका चिजको त भदौ ३१ गते मात्रै केही साथीहरू जुटेर सरसफाइ गरेका छौँ । केही साथीहरूलाई हामीले अनुरोध गरेका छौँ, पार्टी कार्यालय क्षति भएको छ, पार्टी कार्यालय सञ्चालन गर्न पुन: सञ्चालनमा ल्याउनको लागि सामग्रीहरू आवश्यक पर्छ, सक्ने साथीहरूले सहयोग गर्नुस् है भनेर । सुर्खेत जिल्ला कार्यालय सञ्चालन गर्नका लागि केही सामग्री उपलब्ध गराउँछु भनेर केही साथीहरूले आश्वासन पनि दिनुभएको छ । त्यस्तै गरेर सञ्चालन गर्ने हो ।
० तोडफोड गर्ने विरुद्ध तपाईंहरू प्रहरी प्रशासनमा उजुरी, किटानीजाहेरी प्रक्रियामा जानुहुन्छ कि जानुहुन्न ?
:: यो पनि सलाह हुँदैछ । पार्टीले के निर्णय गर्छ ? मैले व्यक्तिगत रूपमा यो गर्नुपर्छ भन्ने कुरा भएन । पार्टीले जे निर्णय गर्छ, त्यहाँका भिडियो फुटेजका आधारमा भेट्याएसम्म र हाम्रो मात्रै जलेको छैन, अन्य दलका भवन पनि जलेका छन्, यसको छानबिन गर्छौं । हामीले धेरै समयदेखि भैलो खेलेर, सम्मेलनबाट बचाएर बनाएका चिज थिए, त्यो हाम्रा लागि त धेरै ठुलो सम्पत्ति थियो । कम्तीमा १२–१४ वर्ष लागेर जोडेको सम्पत्ति थिए । किटानीजाहेरी दिएर दोषी तत्त्वलाई कारबाही गर्नुपर्छ भन्ने भयो भने हामी त्यो पनि गर्छौँ ।
० महत्त्वपूर्ण जानकारी दिनुभयो, युगदर्शनको तर्फबाट धेरै धेरै धन्यवाद ।
:: यहाँलाई पनि धेरै धेरै धन्यवाद । सुर्खेतको पार्टी कार्यालय जलेर नष्ट भएको छ । यस्तो विषम परिस्थितिमा पनि यहाँ जानकारी माग्नुभयो । यसको लागि यहाँलाई पनि धन्यवाद ।