काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोगका पूर्व अध्यक्ष डा. सूर्य किरण गुरुङले समयमै द्वन्द्वकालिन घटनाहरुको व्यवस्थापन गर्न नसके देश ठूलो संकटमा पर्ने चेतावनी दिनुभएको छ ।
संयुक्त राष्ट्र संघले द्वन्द्वकालिन समयमा विभिन्न क्षेत्रका नेतृत्वकर्ताको गोप्य सूची तयार गरेको उल्लेख गर्दै तत्काल समस्या समाधान नगरे मुलुममाथि नै संकट आइपर्ने डा. गुरुङले बताउनुभयो । संसदको महिला तथा सामाजिक समितिमा बुधबार भएको छलफलमा गुरुङले सशस्त्र द्वन्द्वमा संलग्न नौ हजार जनाको गोप्य सूची संयुक्त राष्ट्रसंघमा रहेको जानकारी दिनुभयो ।
सुरक्षा निकायका प्रमुख, निजामति सेवाका उच्च पदस्थ अधिकारी तथा द्वन्दकालिन समयका राजनीतिक नेताहरु लगायत ९ हजारको सूची संयुक्त राष्ट्रसंघले गोप्य रुपमा तयार पारेको उल्लेख गर्दै उहाँले समयमै संक्रमणकालिन न्यायलाई टुंगो लगाउन नसकिए देशमा संकट आउने बताउनुभएको हो ।
आयोगका पूर्व अध्यक्ष गुरुङले नेताहरुको हविगत मानव अधिकार उल्लंघनको अभियोगमा बेलायतमा मुद्दा चलेका कर्णेल कुमार लामाकै जस्तो हुन सक्ने भन्दै समस्याको समाधान छिटो गर्न आग्रह गर्नुभयो ।
सही द्वन्द्वपीडित पहिचान गरी राज्यले आवश्यक सेवा सुविधा प्रदान गरी समस्या समाधानका लागि अगाडि बढ्नुपर्ने उहाँको भनाई थियो । जघन्य अपराध बाहेक अन्य घटनाहरु मेलमिलाप र क्षमादानका आधारमा अगाडि बढाउन सकिने डा. गुरुङले सुझाव दिनुभयो ।
शान्ति प्रक्रियाको लामो समय वितिसक्दा समेत द्वन्द्वकालिन घटनाहरु अझै व्यवस्थापन हुन सकेका छैनन् । सशस्त्र द्वन्द्वका क्रममा गम्भीर अपराधमा संलग्नहरुमाथि कारबाही गर्न पीडितहरुले माग गर्दै आएपनि राज्यले वेवास्ता गरिरहेको छ ।