श्यामलाल पोखरेल, बुटवल ।
अमेरिकी सहयोग सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्व रुपन्देहीमा क्रियाशील विभिन्न दलले मंगलबार बिरोध प्रदर्शन गरेका छन् । एमसीसी सम्झौता राष्ट्रको हित विपरित भएको भन्दै विभिन्न ११ दलले बुटवलमा सभाको आयोजना गरी बिरोध गरेका हुन् ।
नेकपा (मसाल), राष्ट्रिय जनमोर्चा, नेकपा (माले), नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनतान्त्रिक मोर्चा, नेकपा माओवादी केन्द्र, नेकपा (संयुक्त), जागरण मञ्च, राष्ट्रिय जागरण परिषद्, नेपाल लगायतका बिभिन्न दलले एमसीसीको बिरोध गर्दै आएका छन् । संसदबाट एमसीसी पास गराएर सरकारले नेपाल र नेपाली जनताको हित बिपरित नेपालमा अमेरिकी सेना भित्राउन लागेको भन्दै सरकारको बिरोध गरेका छन् ।
कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष तथा रुपन्देही अध्यक्ष बद्रे आलमले सरकारले ल्याउन लागेको एमसीसी परियोजना संसद र सदनबाट फेल गराउनुको विकल्प नभएको बताउनु भयो । एमसीसी लागू भए नेपाल अमेरिकी सेनाको सैन्य अखडा बन्ने उहाँको तर्क छ ।
नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटब्यूरो सदस्य प्रेम सुवेदीले एमसीसीका कारण वैदेशीक हस्तक्षेप बढेको बताउनु भयो । उहाँले एमसीसी खारेज गर्नका लागि सरकारकालाई खवरदारी गर्नुपर्ने बताउनु भयो ।
यस्तै, नेकपा (मसाल) का प्रवक्ता नारायण जीसीले एमसीसी मुलुकको हित विपरित रहेको दावी गर्दै भारतीय पक्षले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता गर्न र कालापानीबाट भारतीय सेना हटाउन अन्तर्राष्ट्रिय मुद्वा बनाउनु पर्ने बताउनु भयो ।
नेपाल कम्युनिष्ट पार्टी (माले)का स्थायी समिति सदस्य गोपालमणि गौतमले संसदबाट एमसीसी पास गराएर सरकारले जनतालाई झुक्काउन लागेको दावी गर्नुभयो ।
नेकपा (संयुक्त)का कृष्णबहादुर गुरुङले एमसीसी पास भए विदेशीले नेपालको भूमिलाई प्रयोगशालाको रुपमा प्रयोग गर्ने बताउनु भयो । नेकपा (माले) का नेता गोपालमणि गौतमले एमसीसीका बिरुद्व जनतालाई सचेत गराएर सरकारलाई खवरदारी गर्नुपर्ने बताउनु भयो ।
जागरण मञ्चका नेता खगुपती न्यौपानेले एमसीसीको सम्झौताबाट अमेरिकन लगानी भित्राएर सरकारले नेपाली जनताको नाममा व्यापार गर्न लागेको दावी गर्नुभयो । राष्ट्रिय स्वाधिनताका लागि नागरिक मञ्चका अध्यक्ष पदमबहादुर कार्कीले विकासको नाममा एमसीसी ल्याएर सरकारले जनतामा भ्रम सिर्जना गरेको बताउनु भयो ।
देशभक्त गणतान्त्रिक मोर्चाका दलबहादुर छन्त्यालले एमसीसी समझौता राष्टघाती भएको दावी गर्नुभयो । राष्ट्रिय जागरण परिषद् नेपाल, रुपन्देही अध्यक्ष चित्रबहादुर थापाले एमसीसी संसदबाट पास गराउन खाजेर सरकारले जनहित विपरित काम गरेको बताउनु भयो ।
नेकपा क्रान्तिकारी माओवादीका विनोद मरासीनीको अध्यक्षता र राष्ट्रिय जनमोर्चाका रुपन्देही सचिव टानबहादुर केसीको सञ्चालनमा कार्यक्रम भएको थियो ।