नयाँ दिल्ली । मोहन वैद्यले नेतृत्व गर्दै आएको क्रान्तिकारी कम्यूनिष्ट पार्टी नेपाल निकट रहेको अखिल भारत नेपाली एकता समाज फुटको संघारमा पुगेको छ ।
आइतबार २१ सितम्बर २०२५ का दिन सो संगठनको दुई छुट्टाछुट्टै केन्द्रीय समितिको हैसियतमा बैठक बसेको बुझिएको छ । आनन्द थापाको नेतृत्वमा अनलाइन बैठक बसेको बताइएको छ भने, देवबहादुर लामिछानेको नेतृत्वमा दिल्लीमा बैठक सम्पन्न गरेको समाचार प्राप्त भएको छ ।
२०८१ असार २३ गते (७ जुलाई २०२४) देवबहादुर लामिछानेले नेतृत्व गरेको अखिल भारत नेपाली एकता समाज र आनन्द थापाले नेतृत्व गरेको अखिल भारत प्रवासी नेपाली एकता समाज बीच एकता भएको थियो । एकता भेलाले आनन्द थापालाई अध्यक्ष र महेन्द्र बस्याललाई महासचिव चयन गरेको थियो । तर लामिछानेलाई सदस्य पदमा नै खुम्चाइएको थियो ।
देवबहादुर लामिछानेलाई केन्द्रीय सचिव नारायण शर्मा, केन्द्रीय सदस्य इन्द्र भेटाल, जनक शर्मा, प्रेम सुवेदी लगायत सो संगठनका दिल्ली क्षेत्रका विभिन्न कार्यकर्ताहरूको समर्थन रहेको पाइएको छ । प्राप्त समाचार अनुसार लामिछानेले दुई सातासम्म दक्षिण भारतका विभिन्न स्थानमा पुगेर सो संगठनका कार्यकर्ताहरूसँग भेटघाट गर्दै आएका थिए ।
राष्ट्र यतिवेला विषम परिस्थितिमा फसिरहेको परिवेशमा वामपन्थीहरू एकजुट हुनु अपरिहार्य बन्दै गइरहेको छ । यो परिवेशमा सानातिना विषयलाई राजनीतिक असन्तुष्टिका विषय बनाएर छुट्टाछुट्टै झुण्डमा परिणत हुनु शुखद विषय भने अवश्य पनि होइन । यसप्रकारको क्रियाकलापले अग्रगामी शक्तिहरूलाई भन्दा पश्छगामी तत्वहरूलाई नै फाइदा पुग्नेछ ।