मोहनविक्रम सिंह ##
उपन्यासमा लेखिएको छ– “अब सुनन्दाले आफूभित्र एउटा नयाँ प्रकारको पहिले कहिल्यै अनुभव नगरेको उत्साह, प्रसन्नता र शक्तिको अनुभव गरिरहेकी थिइन् । कुनै पनि प्रकारका कष्ट वा खतरा आउँदा उनले सधैँ नै त्यही प्रकारको अनुभूति गर्दथिन् ।”
भैरहवा जेलमा माथिल्लो तलामा राजनीतिक बन्दी बस्दथे र तल्लो तलामा महिला बन्दी । महिलालाई दिउसो बाहिर पुलिसको गार्डमा राखिन्थ्यो भने तल्लो तलामा ताल्चा लगाएर थुनिन्थ्यो । माथिल्लो तलामा राजबन्दी नभएको बेलामा उनीहरूलाई माथिल्लो तल्लामा बस्न दिइन्थ्यो ।
माथिल्लो तल्लामा एउटा माटाले बनाएको टेबुल र कुर्सी पनि थिए । एक दिन त्यहाँ सफाई गर्दा महिलाले माटाको टेबुलमा एउटा चर्केको इँटा देखे । त्यसलाई खोलेर हेर्दा उनीहरुले त्यहाँ प्लास्टिकभित्र लुकाएर राखिएका केही किताब फेला पारे । ती मार्क्सवादी–लेनिनवादी पुस्तक थिए ।
सायद त्यहाँ ती किताब पहिले त्यहाँ बस्ने कम्युनिस्टले भूमिगत रूपमा राखेका थिए होलान् तर उनीहरूलाई अकस्मात अर्को जेलमा सरुवा गरिएको हुनाले वा जेलबाट छाडिएको हुनाले उनीहरूले आफ्ना ती किताब लैजान पाएका थिएनन् होला । जेलमा पढ्ने अरू कुनै सामग्री थिएन । त्यसैले सुनन्दाले तिनीहरूलाई पढ्न थालिन् । उनीहरूलाई दिउसो बाहिर जानुपर्दथ्यो । त्यसकारण दिउँसो उनले ती पुस्तक आफ्नो सुटकेसमा लुकाएर राख्थिन् र राति आएर पढ्ने गर्थिन् । पहिले उनलाई मार्क्सवादी–लेनिनवादी दर्शनबारे जे जति जानकारी थियो, त्यो पाठ्यपुस्तक वा विरोधीले त्यो दर्शनबारे लेखेका पुस्तक वा लेखबाट नै भएको थियो । अहिले उनलाई प्रथमपल्ट स्वयम् मार्क्सवादी साहित्यबाट त्यसबारे जानकारी प्राप्त गर्ने अवसर प्राप्त भएको थियो ।
उपन्यासमा लेखिएको छ– मार्क्सले खालि यो मात्र बताएका थिएनन् कि समाज वा संसारलाई बदल्नुपर्ने आवश्यकता छ तर उनले संसारलाई बदल्नका लागि बाटो बताएका थिए र यो पनि स्पष्ट गरेका थिए कि त्यस प्रकारको परिवर्तन सम्भव र अवश्यम्भावी पनि छ ।
मार्क्सको जीवनको अध्ययनबाट पनि उनी धेरै नै प्रभावित भइन् । उनले सम्पूर्ण जीवन शोषितउत्पीडित जनताको मुक्तिका लागि समर्पण गरेका थिए । उनी सबै प्रकारका व्यक्तिगत वा पारिवारिक स्वार्थबाट धेरै माथि उठेका थिए । उनका मनमा मार्क्सप्रति असीम आदर र श्रद्धाको भाव पैदा भयो । आर्थिक अभावका कारणले मार्क्सले आफ्ना केटाकेटीको राम्रो उपचार गर्न नपाएको, कतिपयको उपचारको अभावमा मृत्यु भएको वर्णन पढेर कैयौँपल्ट उनका आँखाबाट आँसु झरेका थिए । बिचबिचमा उनको मनमा आश्चर्य लागेर आउँथ्यो, त्यति महान् ऋषिको संसारमा किन यति विरोध गरिन्थ्यो ? सायद त्यसको कारण यति मात्र थियो, उनले शोषण र उत्पीडनमाथि आधारित समाज व्यवस्थालाई ध्वस्त गरेर स्वतन्त्रता र समानतामाथि आधारित समाज व्यवस्थाको निर्माणका लागि नै आफ्नो उद्देश्य बनाएका थिए र त्यसका लागि जीवनभरि सङ्घर्ष गरेका थिए ।
उनले पढेका पुस्तकमा मार्क्स, एङ्गेल्सको ‘कम्युनिस्ट घोषणापत्र’, एङ्गेल्सको ‘परिवार, व्यक्तिगत सम्पत्ति र राज्यको उत्पत्ति’, स्टालिनको ‘द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवाद’, राहुल सांकृत्यानको ‘दर्शन–दिग्दर्शन’, स्टालिनको ‘सोभियत सङ्घको कम्युनिस्ट पार्टी (बो.) को सङ्क्षिप्त इतिहास’ आदि थिए । त्यो अध्ययनबाट मार्क्सवादी–लेनिनवादी दर्शनप्रतिको उनको दृष्टिकोणमा क्रमशः रूपान्तरण हुँदै जान थाल्यो ।
सुनन्दालाई भैरहवा जेलबाट चलान गरेर प्लेनद्वारा काठमाडौँको जेलमा पठाइदिँदै थियो । हवाईजहाजबाट उनले दक्षिणतिर हेरिन्, त्यही उनको देश भारत थियो । त्यसबारे उपन्यासमा लेखिएको छ– “उनको ध्यान दक्षिणतिर टाढासम्म फैलिएको समथर जमिनमा गयो । टाढाटाढासम्म खेतैखेत । उनले सोचिन्– केही पर नेपालको सीमा काटेपछि भारत सुरु हुन्छ, उनको देश भारत ।

उनले भारतमा अहिलेसम्म आफ्नो सम्पूर्ण जीवन बिताएकी थिइन् । आफ्नो देशको उनलाई सधैँ माया लाग्थ्यो । एउटा भारतीय नागरिकको हैसियतले त्यो स्वाभाविक पनि थियो । अहिले कैयौँ महिनापछि अकस्मात् भारतको भूमि देख्न पाउँदा उनलाई धेरै माया लागेर आएको थियो । उनले कैयौँ बेरसम्म एकटक लगाएर दक्षिणतिर हेरिरहिन् । उनले मनमनै आफ्नो देशलाई नमस्कार गरिन् । उनले मनमनै भनिन्– भारतमाता झ् म टाढा जाँदैछु । मलाई आफ्नो लक्ष्यतिर लगातार अगाडि बढ्ने शक्ति दिनुहोस् । उनले मनमनै भनिन्– बन्दे मातरम् । उनले त्यो गीत धेरैपल्ट गाएकी थिइन् तर आज उनलाई लागिरहेको थियो, त्यो गीतको अर्थ गहिरो थियो ।”
उनले मनमनै सोच्न थालिन्, अहिले यहाँको नजिकको भाग उत्तर प्रदेश होला । गोरखपुर नजिकै होला । केही अगाडि गएपछि लखनऊ आउँछ । उनले बाटामा पनि कैयौँ ठाउँबारे सोच्दै गइन् र कुमाउँमा गएर ध्यान रोकियो । कुमाउँको कौसानी, नन्दादेवी हिमालय । उनका अगाडि नन्दादेवी हिमालय उभिएको थियो, सुन्दर, विशाल र भव्य हिमालय झ् उनको ध्यान फेरि पिथौरागढ र दारमातिर गयो । उनले आफ्नो हजुर बालाई सम्झिन्, बालाई र अनि आमालाई । उनका आँखामा आँसु आए । उनले रुमाल झिकेर आँसु पुछिन् । उनले आफ्ना जेठाबालाई सम्झिन्, जेठा बा कहाँ हुनुहोला ? सायद कुनै हिमालयको पर्वतारोहणमा जाँदै हुनुहोला ।
हवाईजहाज पहाडका बिचबाट हुँदै काठमाडौँतिर गइरहेको थियो । त्यसबारे उपन्यासमा लेखिएको छ– “हवाईजहाज पहाडमाथि उड्दै थियो । पहाड धेरै तल देखिन्थे । पहाडका बिचमा टाढाटाढा कैयौँ घर, पहाडबाट निस्केर नागबेलीझैँ गरेर पहाडका बिचमा उकालोओरालो र जङ्गलको बिचमा घुम्दै बगेका नदी । उनले मुग्ध भएर ती पहाडी दृश्य हेरिरहिन् । ती दृश्य हेर्दा उनलाई कुमाउँ र दारमा नै पुगेजस्तो लाग्यो ।”
अब उनको हवाईजहाज काठमाडौँ उपत्यकामाथि उड्न थालेको थियो । उपन्यासमा लेखिएको छ– “सुनन्दाले मुग्ध भएर त्यो सहरको दृश्य हेर्न थालिन् । त्यो सहर कति राम्रो थियो ? चारैतिर अग्ला पहाड । बिचमा उपत्यका । त्यहाँ बाक्ला बस्ती ।”
सुनन्दालाई केही समयसम्म काठमाडौँको सेन्ट्रल जेलको महिला जेलपट्टी राखियो । केही समयपछि उनी छुटिन् र का. गढवाली र विद्यासित उनको भेट भयो । उनले विद्यालाई आफ्ना जेलका धेरै अनुभवबारे बताइन् । त्यस सन्दर्भमा उपन्यासमा लेखिएको छ– “कुरा गर्दागर्दै सुनन्दा रोकिइन् । त्यो कालमा उनले खास गरेर मार्क्सवादी–लेनिनवादी साहित्य नै बढी पढेकी थिइन् । उनले मार्क्स, एङ्गेल्स, प्लेखानोभ, लेनिन, स्टालिन र माओका थुप्रै रचना पढेकी थिइन् । ती रचना पढ्दापढ्दै उनी मार्क्सवादी बनेकी थिइन् तर त्यो कुरा विद्यालाई भन्ने वा नभन्ने द्विविधामा परिन् । तत्काल विद्यालाई ती कुरा नबताउने विचार गरिन् । उनको कहिल्यै पनि कुनै कुराको प्रदर्शन गर्ने स्वभाव थिएन । अहिले ती सबै कुरा बताउँदा त्यसो गर्नु एक प्रकारले प्रदर्शन गरेजस्तो हुन्थ्यो । त्यसैले उनले मार्क्सवादी पुस्तक पढेको र उनको मार्क्सवादी–लेनिनवादी दर्शनप्रति आस्था बढ्दै गएको कुरा केही बताइनन् ।”
सुनन्दा र विद्या लाजिम्पाटमा शिवध्वज बस्नेतलाई भेट्न गएका थिए । उनी घरमा नभएको हुनाले सुनन्दाले उनको पुस्तकालयमा बसेर पुराना पत्रपत्रिका पढ्दै थिइन् । ती समाचारमा पोखराको नमिता–सुनितालाई बलात्कार गरेर नदीमा फालिदिएको समाचार पनि थियो । त्यस सन्दर्भमा उपन्यासमा लेखिएको छ– “सुनन्दाको आँखाका अगाडि कैयौँ बेरसम्म नमिता–सुनितादेखि ती सबै घटनाका दृश्य घुमिरहे । पहिले उनले नेपाललाई विश्वको एक मात्र हिन्दु राज्य, बुद्धको भूमि र शान्तिक्षेत्र मान्दथिन् । उनलाई लाग्थ्यो, भारतमा भन्दा नेपालमा शान्तिसुव्यवस्था र न्याय छ । ती पत्रिका पढेर उनका ती सबै धारणा एकपछि अर्को गर्दै टुट्दै गए । उनले बलात्कार र हत्याका ती समाचार, स्वयम् पतिका अगाडि नै बलात्कार वा सामूहिक बलात्कारका घटना उनको दिमाग घुम्न थाल्यो ।
विरोधी पार्टीहरूले भन्ने गरेका थिए, नेपालमा निरङ्कुश राजतन्त्र छ । तानाशाही व्यवस्था छ । देशमा भइरहेका गुन्डागर्दी, बलात्कार र हत्याकाण्ड त्यसैका उपज थिए । तानाशाही व्यवस्थाका ती अभिन्न अङ्ग थिए ।
पहिले उनले के सोच्थिन् भने सायद ती उनीहरूका राजनीतिक ‘प्रोपोगान्डा’ मात्र थिए तर अब उनलाई लाग्न थाल्यो, ती आरोप राजनीतिक ‘प्रोपोगान्डा’ मात्र थिएनन् । तिनीहरूमा सत्य र तथ्य थियो ।”
उपन्यासमा अगाडि लेखिएको छ– “पहिले भारतमा छँदा उनले सोच्थिन्, नेपालमा राजाको शासन छ । त्यहाँ प्रजातन्त्र नभए पनि भ्रष्टाचार छैन । संसदीय प्रजातन्त्रमा हजारौँ मानिसको शासन हुन्छ । शासनमा परिवर्तन भइरहन्छ । त्यसकारण उनीहरूमा भ्रष्टाचार गरेर छिटै धन कमाउन र धनी हुने होड चल्छ तर राजासित सम्पत्तिको कमी हुन्न र भ्रष्टाचार गर्नुपर्ने आवश्यकता हुन्न । राजाको डर र निष्पक्ष न्यायले गर्दा अरूले पनि भ्रष्टाचार गर्न पाउँदैनन् तर अब सुनन्दालाई लाग्न थाल्यो, राजाको शासनमा पनि सबैतिर भ्रष्टाचार व्याप्त थियो । उनले ता यहाँसम्म सुनेकी थिइन, राजघराना नै कैयौँ प्रकारले तस्करी वा भ्रष्टाचारमा संलग्न थियो । राजपरिवार कानुनभन्दा माथि थियो । उनीहरूका विरुद्ध कुनै मुद्दा चल्न सक्दैनथ्यो । त्यसैले उनीहरूले निर्भय भएर आफ्ना आपराधिक कारबाही गर्न सक्दथे ।
उनले ता यो पनि सुनेकी थिइन्, राजपरिवारका सदस्यको विदेशका बैङ्कमा अरबौँ रुपियाँ जम्मा थियो । अरू कैयौँ मानिसले पनि राजपरिवारको आडमा निर्धक्क भएर अपराध गर्न सक्दथे ।”
“सुनन्दाले माउन्टेन फ्लाइटद्वारा हवाईजहाजमा हिमालयमाथि यात्रा गरिरहेकी थिइन् । त्यो यात्राको सिलसिलामा उनको मनमा उठेका भावको चर्चा गर्दै उपन्यासमा लेखिएको छ– “कति सुन्दर, रमणीय र विशाल थियो त्यो दृश्य झ् टाढाटाढासम्म हरिया पहाड देखिन्थे । पहाडमाथि कुहिराका ढिका यताउता उडिरहेका देखिन्थे । माथिल्लो भागमा हिमालयका चुली । असङ्ख्य चुली । कतिपय चुलीका नजिक समथरजस्ता जग्गा देखिन्थे, जो पूरै हिउँले ढाकिएका थिए ।
सूर्यका प्रकाशले त्यो पूरै हिमालय चम्किरहेको थियो । प्लेन अगाडि बढ्दै गयो । नयाँ नयाँ हिमशिखरका दृश्य देखा पर्दै गए ।”
उपन्यासमा अगाडि लेखिएको छ– “हिमालयको त्यो सम्पूर्ण दृश्य देखेर उनको मन प्रफुल्लित भइरहेको थियो । पश्चिमदेखि पूर्वसम्म विशाल भूभागमा फैलिएको हिमालयको त्यो दृश्य साँच्चै नै प्रकृतिको अत्यन्त सुन्दर रचना थियो । उनले मन्त्रमुग्ध भएर त्यो दृश्य हेर्न थालिन् । प्रत्येक क्षण हिमालयको दृश्यमा परिवर्तन हुन्थ्यो । उनका अगाडि हिमालयका नयाँ नयाँ शिखर वा भूभाग आउँदैजाँदै गरिरहेका थिए । सबै सुन्दर, आकर्षक र रमणीय थिए ।”
उनलाई अब यो छुट्याउन गाह्रो परिरहेको थियो, हिमालयको त्यो सुन्दरता तिनीहरूको बेग्लाबेग्लै दृश्यमा अन्तर्निहित थियो वा तिनीहरूको समष्टिगत स्वरूपमा ? हिमालयको त्यो स्वरूपमा कुनै क्रम थिएन । कुनै एकरूपता थिएन । कहीँ अग्ला शिखर थिए, कही समथरजस्ता जमिन । कहीँ खोँच । कहीँ एकदम भिरालो परेका पहाड । उनलाई लाग्थ्यो, सायद हिमालयको सौन्दर्य त्यही विविधता र विरोधाभासमा ता अन्तर्निहित थिएन तर फेरि उनलाई लाग्थ्यो, त्यो विविधताले पुनः एक प्रकारको एकरूपताको निर्माण गरेको थियो । विविधतामा एकरूपता अन्तर्निहित थियो, एकरूपतामा विविधता । सायद ती दुवै एउटै चिजका दुईओटा पक्ष थिए वा तिनीहरू एकैसाथ दुवै चिज थिए र ती दुवै एकअर्कासित अभिन्न रूपले जोडिएका थिए । दुवै एकअर्काबाट अलग हुनै सक्दैनथे वा एउटाका अभावमा अर्काको अस्तित्व सम्भव नै थिएन ।
उपन्यासमा लेखिएको छ– “अब उनलाई यस्तो लाग्न थालिरहेको थियो, हिमालयमा अन्तर्निहित सौन्दर्यको अत्यन्त सानो र नगण्य भागको नै उनले दृश्यावलोकन गर्न सकिरहेकी थिइन् ।हिमालयको सम्पूर्ण सौन्दर्य, त्यसमा अन्तर्निहित विशालता, स्थिरता, सन्तुलन, गति, द्वन्द्व, हलचल, विविधता आदि सहित सम्पूर्ण सौन्दर्यलाई आत्मसात् गर्नका लागि सायद उनमा ज्ञान र अनुभूतिको क्षमता पर्याप्त रूपमा विकसित भएको थिएन । त्यो सम्पूर्ण सौन्दर्यलाई आत्मसात गर्न पाए त्यो कति ठुलो आनन्दको कुरा हुन्थ्यो ? त्यो सौन्दर्य हिमालयसित जोडिएको विश्वव्यापी भूगर्भीय रचना, पूरै पृथ्वी, असङ्ख्य आकाशगङ्गा र तारामण्डल, सम्पूर्ण अन्तरिक्षसमेत सम्पूर्ण प्रकृतिमा अन्तर्निहित थियो तर त्यो सौन्दर्य खालि मानिसको ज्ञानको सीमाभित्र मात्र थियो वा त्यसबाहिर पनि व्यापक रूपमा विद्यमान थियो ?”
हवाईजहाज सगरमाथा शिखरको नजिकैबाट उड्न थाल्यो । उनले ध्यानमग्न भएर त्यो शिखरलाई हेरिरहिन् । त्यो बेला उनको मनमा एक प्रकारको हलचलजस्तो मच्चिरहेको थियो । त्यस सिलसिलामा उपन्यासमा लेखिएको छ– “सुनन्दाले भावविभोर भएर त्यसलाई हेरिरहिन् । हिमालयको लामो विशाल र सुन्दर शृङ्खलाका बिचमा सबैको श्रीपेचजस्तो भएर त्यो गिरिराज बसेको थियो ।
उनले लगातार त्यस शिखरलाई हेरिरहिन् । उनका कति धेरै कल्पना र सपना जोडिएका थिए, त्यो हिमालयसित झ् त्यो शिखरमा पुग्ने उनको कति ठुलो महत्त्वकाङ्क्षा थियो ? अहिले उनी त्यही हिमालयका नजिकै आकाशमा उडिरहेकी थिइन् ।
उनी ती पर्वत शिखरमा मिलेकी थिइन् र त्यो हिमालय उनीभित्र समावेश भएको थियो । त्यसरी दुवै एकअर्कामा समावेश भएका थिए र उनीहरूका बिचमा कुनै अन्तर वा भिन्नता बाँकी रहेको थिएन । त्यो असीम, अगाध र प्रगाढ आनन्दको क्षण थियो । त्यस बेला उनले आफूलाई बिर्सेकी थिइन् । अनि हिमालय, माउन्ट एभरेस्ट वा सम्पूर्ण संसारलाई बिर्सेकी थिइन् । उनी सबै प्रकारका कल्पना, भावना वा संवेदनाबाट माथि उठेकी थिइन् । त्यस बेला उनले कुनै अनुभूति गरिरहेकी थिइनन् । स्वयम्को पनि उनलाई कुनै बोध थिएन । त्यो शून्यको अवस्था थियो । सायद त्यही सर्वोच्च सुख र आनन्दको अवस्था थियो, जुनबेला कुनै पनि प्रकारको अनुभूतिको अनुभव भइरहेको हुँदैन ।
उनले पढेकी थिइन् । जब आत्मा परमात्मामा लीन हुन्छ, त्यही प्रकारको सुखको अनुभव हुन्छ । त्यस प्रकारका धार्मिक मान्यतामाथि अब उनको विश्वास थिएन तर सायद प्रकारान्तरले उनले अहिले त्यही प्रकारको आनन्दको अनुभूति गरिरहेकी थिइन् ।
अहिले उनलाई यस्तो अनुभव भइरहेको थियो, सम्भवतः अहिले सम्पूर्ण संसार स्थिर भएको थियो । सायद सम्पूर्ण संसारका गति रोकिएका थिए । सायद हावा चल्न छाडेको थियो । सायद मानिस र सम्पूर्ण संसारको श्वासप्रश्वास रोकिएको थियो । सायद सूर्यको प्रकाश चम्कन छाडेको थियो । सायद सूर्यको सम्पूर्ण गति नै रोकिएको थियो ।
सायद… सायद… सायद…
धेरै धेरै सायद… अनगिन्ती सायद…
सायद त्यसको कुनै सीमा थिएन
ती असीम थिए… अनन्त थिए… ।”
सुनन्दा विद्यासँगै पशुपतिनाथको वृद्धाश्रममा पसेर फर्कदै थिइन् । त्यहाँ एक जना वृद्धाले योगमायाले लेखेका कविता “योगवाणी” दिएकी थिइन् । त्यस सन्दर्भमा उपन्यासमा लेखिएको छ– “उनले लेखेका कविता पढेपछि उनका मनमा उनीप्रति झन् ठुलो आदर र श्रद्धाको भाव पैदा भयो । पहिले उनलाई योगमायाबारे यति मात्र जानकारी प्राप्त भएको थियो कि उनी एउटी समाजद्वारा पीडित महिला थिइन् । जीवनको कठिन परिस्थिति र बाध्यताले नै उनलाई जोगिनी बनाएको थियो र अन्तमा उनी जलसमाधिको बाटो लिन बाध्य भएकी थिइन् ।
उनका कविता पढेपछि उनको उच्च र विद्रोही व्यक्तित्व उनका अगाडि आयो । उनी शिक्षित महिला थिइनन् । उनलाई कुनै सिद्धान्त वा दर्शनको ज्ञान थिएन । त्योभन्दा महत्त्वपूर्ण कुरा यो थियो कि उनी एउटा पिछडिएकी युग वा समाजकी महिला थिइन्, उनी कम्युनिस्ट हुनु त धेरै टाढाको कुरा भयो तैपनि उनका कवितामा समाज र विद्यमान अन्धविश्वास, अन्याय, अत्याचार, शोषण, उत्पीडन र त्यस बेलाको राणाशासनप्रति विद्रोहका भावना व्यक्त भएका थिए ।
उनले वर्गसङ्घर्षको झन्डा बोकेकी थिइन् । उनले महिला, दलित र समाजका शोषितउत्पीडित जनताको आन्दोलनको नेतृत्व गरेकी थिइन् । पछि देशमा किसान, महिला र दलितको जुन आन्दोलन प्रारम्भ भयो, त्यसको सुरुआत उनले गरेकी थिइन् भने पनि सायद अतिशयोक्ति हुने छैन ।”
नवलपुरको डन्डामा पुगेपछि बस रोकियो । डन्डामा ढुङ्गेयुगीन हतियारका अवशेष फेला पारेको कुरा उनले पढेकी थिइन् । बसबाट झरेर उनले केही बेरसम्म चारैतिर हेरिन् । त्यसपछि बसमा चढेर पुनः बुटवलतिर लागिन् । त्यसपछि उनको ध्यान गान्धीतिर गयो । त्यस सन्दर्भमा उपन्यासमा लेखिएको छ– “उनको ध्यान गान्धीतिर पनि गयो । गान्धीले पनि आफ्नो सिद्धान्तलाई साकार रूप दिन जीवनभरि नै सङ्घर्ष गरेका थिए । त्यो कारणले उनका मनमा गान्धीप्रति पनि धेरै आदर थियो तर अब उनले मार्क्सवादी दर्शनमाथि विश्वास गर्न थालेकी थिइन् तैपनि गान्धीप्रतिको उनको आदरभावमा कुनै कमी आएको थिएन । अब यो कुराप्रति उनको मनमा कुनै भ्रम रहेको थिएन, गान्धीको दर्शनद्वारा संसारलाई बदल्नु तथा पुरानो संसारलाई ध्वस्त गरेर नयाँ संसारको निर्माण गर्नु सम्भव थिएन । त्यो कार्य मार्क्सको दर्शनले नै पूरा गर्न सक्दथ्यो । सुनन्दालाई यस कुराका लागि धेरै खुसी लागेको थियो कि नेपालले उनलाई मार्क्सवादी–लेनिनवादी बनाएको थियो । खास गरेर त्यहाँको जेलजीवनले उनलाई मार्क्सवादी दर्शनको नजिक पुऱ्याएको थियो । त्यो उनको नेपालयात्राको सबैभन्दा ठुलो उपलब्धि थियो ।”
बस बुटवलतिर दौडिरहेको थियो तर सुनन्दाका मनमा कैयौँ कुरा खेलिरहेका थिए । उनले आकाशतिर हेरेर कैयौँ कुरा सोचिरहेकी थिइन् ।
रेडियोमा जुन शब्द वा दृश्य आउँछन्, ती आकाशमा नै खेलिरहेका हुन्छन् । हामीले रेडियो बन्द गरेको बेलामा पनि ती सबै आकाशमा विद्यमान हुन्छन् । उनका मनमा यस्तो लागेर आयो कि प्राचीनकालदेखि मानिसले बोलेका कुरा वा विभिन्न घटनाक्रमका दृश्य पनि आकाशमा विद्यमान होलान् । पछि कुनै वैज्ञानिक विधि पत्ता लगाएर ती सबैको अध्ययन गर्न सकेमा कति राम्रो हुन्थ्यो ? त्यस सिलसिलामा उपन्यासमा लेखिएको छ– “कुनै उन्नत प्रकारको वैज्ञानिकयन्त्र बनेमा सायद हाम्राअगाडि आकाशमा गुन्जिरहेका सबै स्वर वा दृश्यलाई सुन्न वा देख्न सम्भव हुन सक्थ्यो होला । त्यसो भएमा प्राचीनकालमा ढुङ्गेयुगीन वा अन्य प्राग्ऐतिहासिक मानवको इतिहासबारे पनि हामीलाई विस्तृत जानकारी हुन सक्थ्यो होला । उनको ध्यान आइस्टाइनको समय यात्राको सिद्धान्ततिर गयो । उनले अतीतको पनि यात्रा गर्न सकिन्छ भन्ने सिद्धान्तको प्रतिपादन गरेका थिए । सुनन्दाले सोचिन्, त्यो सिद्धान्त लागु हुन सकेमा सम्पूर्ण अतीतको यात्रा गर्न र भूतकालको पूरै ज्ञान हुन सक्दथ्यो ।”
उपन्यासमा अगाडि लेखिएको छ– “उनले त्यस प्रकारका कैयौँ कल्पना गर्दै गइरहेकी थिइन् तर फेरि उनी मनमनै हाँसिन् र उनले मनमनै भनिन्, मैले पनि के के कुरा सोचिरहेकी छु, हुनै नसक्ने कुरा तर फेरि उनले मनमनै भनिन्, तर त्यसो हुन सकेमा कति राम्रो हुन्थ्यो… ।”
सुनन्दा र विद्या चितवनबाट बुटवल आइपुगेका थिए र एउटा होटलमा बसेका थिए । त्यहाँ दिउसो पञ्चायत विरोधी एउटा जुलुस निस्कने कुरा उनीहरूले सुनेका थिए । बद्रे आलमले होटेलमा आएर त्यही दिन साँझ उनीहरूको जलजलासित भेट हुने व्यवस्था गरेको कुरा बताएका थिए तर पछि अकस्मात् जलजला गिरफ्तार भएको समाचार आयो । त्यो समाचार सुनेर विद्या घ्वाँ घ्वाँ रुन थालिन् भने सुनन्दा आफ्नो विस्तरामा चुपचापसित पल्टिन् । त्यस सन्दर्भमा उपन्यासमा लेखिएको छ– “उनी (जलजला) सितको भेटको, उनको योजना, उनको गिरफ्तारीमा टुङ्गिएको थियो तर उनको मनमा यस्तो लागिरहेको थियो, त्यो समाचार साँचो नभएर हल्ला पनि हुन सक्थ्यो ।
उनको स्वभाव नै त्यस्तै थियो । उनले सबै नराम्रा कुराको बिचमा पनि राम्रा कुरा खोज्ने प्रयत्न गर्थिन्, अन्धकारको बिचमा प्रकाशको किरण खोज्ने गर्थिन्, निराशाका बिचमा आशाको ज्योति बालेर अगाडि बढ्ने प्रयत्न गर्थिन् ।”