भक्तपुर । नेपालकै अधिक सदस्य रहेको संस्थाको रुपमा रहेको सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाले पहिलो पटक संस्थाबाहेकका अन्य व्यक्तिलाई अतिथि नबनाइकन साधारणसभा गरेको छ ।
१७ हजार ८ सय सदस्य रहेको भक्तपुरको सिद्धि गणेशले अजिमा पार्टी महल, स्टार बैंक्वेट र महेश्वरी बैंक्वेटमा गरी ३ ठाउँमा एकै दिन एकै समयमा शनिवार क्षेत्रगत रुपमा साधारणसभा गरेको छ ।
संस्थाको ३१औँ साधारणसभाले कोषाध्यक्ष जयराम गोर्खालीद्वारा प्रस्तुत आ.व. २०८१/०८२ को श्रोत तथा उपयोग तर्फ तीन अर्ब छबिस करोड एकतीस लाख त्रिचालीस हजार एक सय नौ रुपैंयाँ र आय तथा व्यय तर्फ पच्चिस करोड चालिस लाख सन्तानब्बे हजार आठ सय पच्पन्न रुपैयाँको यथार्थ आर्थिक प्रगति प्रतिवेदन पारित गरेको छ ।
आ.व.२०८२/०८३ को स्रोत तथा उपयोग तर्फ तीन अर्ब छतीस करोड रुपैया र आय तथा व्यय तर्फ एक्काईस करोड अठहत्तर लाख बाह्र हजार रुपैयाँको अनुमानित बजेट तथा कार्यक्रमहरू पारित गरेको थियो ।
सभाले संचालक समितिको तर्फबाट सचिव विष्णु प्रसाद दुमरुद्वारा प्रस्तुत आ.व. २०८१/०८२ को प्रगति प्रतिवेदन तथा आ.व. २०८२/०८३ को प्रस्तावित कार्यक्रमहरू पनि सर्वसम्मतले पारित गरेको छ ।
सभाले लेखा सुपरिवेक्षण समितिको तर्फबाट संयोजक राम प्रसाद लाखाजुद्वारा प्रस्तुत आ.व. २०८१/०८२ को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन पारित गर्ने निर्णय गरेको थियो ।
संस्थाको सञ्चालक समितिको निर्णय अनुसार आ.ब २०८१/८२ को शेयर पूँजीमा ६% करकट्टि सहितको दरले लाभांश वितरण गर्ने प्रस्ताब पारित गर्ने निर्णय पनि गरेको छ ।
संस्थाका सञ्चालक समितिको निर्णय अनुसार आ.ब २०८१/८२ को संरक्षित पुँजी फिर्ता कोषमा रहेको रकम मध्ये रु ५० लाख रकम नियमानुसार वितरण गर्ने प्रस्ताब पारित गर्ने निर्णय पनि साधारणसभाले गरेको छ ।
सहकारीका कोषाध्यक्ष जयराम गोर्खालीले बदलिंदो परिस्थिति र लगानीमा भएको कमीले गर्दा ७ करोड ८७ लाख नाफा कमाउने लक्ष्य राखिएकोमा आर्थिक वर्ष २०८१/८२ मा ४ करोड ६४ लाख ३२ हजार रुपैयाँ मात्र नाफा आर्जन भएको जानकारी दिए । यसवर्ष खुद नाफा लक्ष्यभन्दा धेरै कम हुनुमा ऋण नोक्सानी व्यवस्था राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन बमोजिम ऋण नोक्सानी व्यवस्थामा १ करोड ६९ लाख ७ हजार व्यवस्था गर्नुपरेका कारणले पनि भएको स्पष्ट पारे ।
संस्थाका सञ्चालक रत्नश्वरी चवालले सचिवको प्रतिवेदन पेश गर्दै संस्थाको शेयर पुँँजी २६ करोड २५ लाख ४५ हजार रुपैयाँ बचत तथा निक्षेप २ अर्ब ६४ करोड २० लाख ५६ हजार, जगेडा कोष २७ करोड ५८ लाख ४५ हजार, संरक्षित पुँजी फिर्ता कोष ८२ लाख ४९ हजार ६ सय १३, सहकारी प्रवद्र्धन कोष १ लाख ६४ हजार, अन्य कोषहरू २ करोड ४५ लाख, सदस्य ऋण लगानी १ अर्ब ८२ करोड ६८ लाख २३ हजार गरी कुल ३ अर्ब २६ करोड ३१ लाख ४३ हजारको सम्पत्ति रहेको विवरण पेश गरे ।