• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

मनोगत संवाद–७

"सन्दर्भ 'कामरेड जलजला’ उपन्यास–२७ "

  •   आइतबार, भदौ २९, २०८२ मा प्रकाशित
  • मोहनविक्रम सिंह ##

    Advertisement

    अजित र कामरेड जलजला ‘कामरेड जलजला’ उपन्यासका मुख्य पात्र हुन् । उनीहरू दुबै जनाको मनोगत संवादबारे पहिले नै चर्चा भइसकेको छ । अब हामी सुनन्दाको मनोगत संवादको चर्चा गर्नेपट्टि लाग्दछौँ ।

    अजित र कामरेड जलजला उपन्यासका मुख्य पात्रहरू भए पनि मनोगत संवादका दृष्टिकोणले वा चरित्र चित्रणका दृष्टिकोणले सुनन्दा उपन्यासकी सबैभन्दा महत्त्वपूर्ण पात्र हुन् । अजित र कामरेड जलजलाको चरित्रगत चित्रण सिधा र सरल रहेको छ । उनीहरू दुबै जना प्रारम्भमा देखिने कम्युनिस्ट हुन्छन् र उपन्यासभरि उनीहरू त्यही रूपमा कायम रहन्छन् तर उनीहरूको चरित्र चित्रणको एउटा समस्या यो हो कि एउटा विवाहित व्यक्ति अजित तथा अविवाहित युवती कामरेड जलजलाका बिचमा प्रेम हुन्छ र उनीहरू दुबैमाथि पार्टीले कारबाही गर्दछ । त्योबाहेक उनीहरूको चरित्रगत चित्रणमा कुनै खास जटिलता वा समस्या देखिँदैन ।

    अर्कातिर सुनन्दाको जीवन त्यति सिधा र सरल रहेको हुँदैन । उनी जीवनका कैयौँ चरणबाट हुँदै अगाडि बढ्दै आइरहेकी हुन्छिन् । सुरुमा उनी सामान्य ग्रामीण बालिका हुन्छिन् । त्यसपछि उनी पर्वतारोही, गान्धीवादी, जवाहरलाल नेहरू युनिभर्सिटीकी शोधछात्रा हुँदै मार्क्सवादी–लेनिनवादी बन्न पुग्छिन् । त्यो क्रममा उनको जीवन वा मनोगत चिन्तनमा कैयौँपल्ट गम्भीर प्रकारका परिवर्तन हुँदै जान्छन् । त्यसरी स्पष्ट छ कि अजित र कामरेड जलजला दुबैको भन्दा मात्र होइन, उन्यासका सबै पात्रको भन्दा पनि उनको चरित्रगत विशेषता कैयौँ गुणा बढी, जटिल र गम्भीर रहेको हुन्छ । अब यो लेखमा हामी उनको त्यही प्रकारको मनोगत संवादको चित्रण गर्नेपट्टि लाग्नेछौँ ।

    उनी ४ वर्षकी बालिका छँदै उनका हजुरबुबाले गाउँको एउटा हरिसिंह भन्ने केटासित उनको थैचोविवाह गरिदिएका थिए । त्यस सन्दर्भमा उपन्यासमा लेखिएको छ– “कुमाउँको दारमापट्टिमा ३/४ वर्षको उमेरमा केटाकेटीको विवाहको एउटा विधि अपनाइन्छ । त्यसलाई थैचो भनिन्छ । पछि पुनः १०/११ वर्षका उमेरमा विवाहको अर्को विधिद्वारा थैचोलाई औपचारिक विवाहको रूप दिइन्छ ।

    हरिसिंह उनीभन्दा तीन वर्षले जेठो थियो । सानैदेखि नै गाउँका केटाकेटीमाथि त्यसले धाकरवाफ जमाउने प्रयत्न गर्दथ्यो, खास गरेर सुनन्दामाथि अरू माथिभन्दा बढी । उसलाई थाहा थियो कि सुनन्दा उसकी थैचो भएकी पत्नी थिइन् । त्यसकारण उनीमाथि उसको पूरा हक थियो । त्यसको त्यही बानी सुनन्दालाई मन पर्दैनथ्यो । उनीहरू दुई जनाका बिच प्रायः झगडा परिरहन्थ्यो ।

    उनको उमेर केही बढ्दै जानुका साथै हरिसिंहसितको उनको विवाहको कुराप्रति उनका मनमा असन्तोष र क्षोभ तथा केही विद्रोहको भावना पनि देखा पर्न थालेको थियो ।

    धार्चुलाभन्दा केही माथि पाँगु भन्ने एउटा गाउँ छ । त्यो गाउँमा १२/१२ वर्षमा एउटा केदाली मेला लाग्दछ । त्यही गाउँमा सुनन्दाको पनि माओल पर्दथ्यो । त्यो मेलाको अवसरमा महिलाले हातमा कपडा बुन्ने एउटा रिल समातेर १२/१२ वर्षमा फुल्ने एउटा फिर्जो फूलको झाडीमा हमला गर्न जान्छन् । त्यो मेलासित यो कथा जोडिएको छ कि धेरै पहिले पुरुषहरू भोटमा व्यापार गर्न गएको बेलामा दुस्मनले त्यो गाउँमा हमला गर्न आएका थिए । महिलाले रिलद्वारा ती दुस्मनलाई लगारेका थिए । ती दुस्मन फिर्जो फूलका झाडीमुनि लुकेका थिए । महिलाहरूले त्यो फूलको झाडीमुनि लुकेका दुस्मनमाथि हमला गरेका थिए । त्यही घटनाको सम्झनामा १२/१२ वर्षमा पाँगुगाउँमा त्यो मेला लाग्ने गर्दथ्यो । त्यो फूल १२ वर्षमा एक पल्ट फुल्ने गर्दथ्यो । त्यसैले त्यो मेला १२/१२ वर्षमा लाग्ने गर्दथ्यो ।

    त्यो दिन पनि महिलाहरू हातमा रिल समातेर गीत गाउँदै नाच्दै फूलका झाडीतिर गइरहेका थिए । तिनीहरूमा सुनन्दा पनि थिइन् । उनी करिब १० वर्षकी बालिका मात्र थिइन् । त्यस सन्दर्भमा उपन्यासमा लेखिएको छ– “उनलाई लडूँ लडूँजस्तो अनुभव भइरहेको थियो । उनलाई लागिरहेको थियो, उनी सयकडौँ, हजारौँ दुस्मनसित एक्लै लड्न सक्छिन् । उनका अगाडिपछाडि हातमा रिल लिएर जोसले ओतप्रोत भएर अगाडि बढिरहेका महिलालाई देखेर उनलाई आफूमा असीम शक्ति, साहस र आत्मविश्वासको भावनाको सञ्चार भएको अनुभूति भइरहेको थियो । उनलाई लागिरहेको थियो, उनी अजय थिइन् । अपराजय थिइन् ।”

    उनले सुनपति शौका र उनकी छोरी राजुलाको कथा पनि सानैदेखि सुन्दै आएकी थिइन् । सुनपति शौकालाई जौहारका र दारमाका शौकाले आआफ्ना ठाउँका बताउँथे । त्यसबारे उपन्यासमा लेखिएको छ– “जौहरका मानिसले सुनपति शौकालाई जौहारका नै र दारमाका शौकाले दारमाका नै ठहराउने बल गर्दथे तर उनलाई त्यस प्रकारको तरिका राम्रो लाग्दैनथ्यो । उनको के विचार थियो भने त्यो कुरा बिनाकुनै पक्षपात तथ्यको छानबिन गरेर नै टुङ्गाउनु सही हुन्थ्यो । उनको त्यो कुरा सुनेर ठुला ठुला मानिस पनि दङ्ग पर्दथे ।”

    उपन्यासमा लेखिएको छ– “उनका बाजेले हरिसिंहसित उनको थैचो गरिदिएका थिए । उनका बाजेले उनको राम्रो सोचेर नै त्यस्तो गरेका थिए । उनका बाजेको सोचाइ थियो, त्यति धनीसित विवाह गर्न पाउनु उनकी नातिनीको भाग्य थियो । उनको भाग्य उदाएको थियो । उनकी नातिनीलाई जन्मभरि सुख हुनेछ । कुनै कुराको दुःख हुने छैन तर सुनन्दालाई त्यो कुरा पटक्कै मन परेको थिएन ।

    हरिसिंहसित विवाह गर्नुभन्दा उनी कतै भागेर जान चाहन्थिन् तर भागेर कहाँ जाने ? राजुलाले त बालु शाहीलाई खोज्न भागेर गएकी थिइन् तर उनी कसलाई खोज्न जाने ? भागेर जानका लागि पनि उनको कुनै ठाउँ थिएन । त्यो बेला उनलाई थाहा थिएन कि कुनै दिन उनी पनि राजुलाले झैँ कसैलाई खोज्दै लामो यात्रामा जानुपर्नेछ ।”

    गर्मी महिनामा माथि पहाडमा चराउन लगेका भेडा गाउँमा आएपछि महिलाहरू आफ्ना भेडालाई अँगालो हालेर माया गरेर रुँदै थिए तर सुनन्दाले त्यसो गरिरहेकी थिइनन् । भेडाप्रति उनका मनमा कुनै माया देखा परेको थिएन । त्यस सिलसिलामा उपन्यासमा लेखिएको छ– “सुनन्दा आफ्ना बाउलाई अँगालो हालेर रोइरहेकी थिइन् । उनका बाउले चराउन लगेका भेडाबाख्रा उनका आफ्ना थिएनन् । ती हरिसिंहका थिए । त्यसकारण तिनीहरूप्रति उनका मनमा कुनै माया थिएन । उनको सम्पूर्ण माया आफ्ना बाउप्रति पोखिइरहेको थियो… ।

    दाँतुका मानिस जाडो मौसममा जौलजीवीमा झर्ने गर्दछन् । एकपल्ट गाउँलेहरू जौलजीवीमा झरेको बेलामा उनका जेठा बा अनुपसिंह पनि त्यहाँ आएका थिए । त्यो बेला उनले आफ्ना जेठा बालाई रुँदै भनेकी थिइन्– हजुरबुवाले मेरो विवाह हरिसिंहसित नगर्दिछाड्नु हुन्न । जेठा बा, मलाई जसरी भए पनि बचाउनुस् ।”

    त्यसपछि अनुपसिंहले आफ्नो बाबालाई पनि थाहा नदिईकन आफ्नी भतिजीलाई भगाएर लगेका थिए । उनले आफ्नी भतिजीलाई दार्जिलिङको तेन्जिङ शेर्पाको पर्वतारोहण तालिम केन्द्रमा भर्ना गरिदिएका थिए ।

    एक दिन पर्वतारोहणको तालिमको प्रशिक्षणको सिलसिलामा शिला बनर्जीले एक जना विश्वप्रसिद्ध महिला पर्वतारोही क्लाउडेबारे बताएकी थिइन् । त्यो कुराको चर्चा गर्दै उपन्यासमा लेखिएको छ– “क्लाउडे अत्यन्त साहसी र दृढ सङ्कल्प भएकी महिला थिइन् । उनी कहिल्यै पनि प्रतिकूल परिस्थिति बाधा वा विरोधका अगाडि झुक्दैनथिन् । उनका अगाडि जति ठुलो बाधा, विरोध वा कठिनाइ उत्पन्न हुन्थ्यो, त्यति नै बढी दृढताका साथ उनले त्यसको सामना गर्दथिन् । कुनै प्रतिकूल परिस्थिति वा विघ्नबाधाले उनमा झन् दृढतापूर्वक त्यसको सामना गर्ने सङ्कल्प पैदा गर्दथ्यो । शिला वनर्जीले क्लाउडेबारे बताएको कुरा सुनेपछि सुनन्दाले मनमनै भनिन्, त्यस्तै हुन पाए झ् केही रोकिएर उनले मनमनै सोचिन् । उनले एक प्रकारले दृढ निश्चय गरिन्, म त्यस्तै हुनेछु ।”

    उनको पछिको जीवनले बतायो, उनी वास्तवमा त्यस्तै बनिन् पनि।

    लखनऊमा सुनन्दाको परिचय विद्या रोकासित भयो । उनीसितको सङ्गतले उनले केही नेपाली पनि सिक्दै गइन् । विद्या रोल्पाको थबाङकी एक जना कम्युनिस्ट समर्थक थिइन् । उनले एक दिन सुनन्दालाई आफूलाई कामरेड जलजलाले राख्न दिएको अजित भन्ने कुनै व्यक्तिले लेखेको “कामरेड जलजला” भन्ने लेख पढ्न दिइन् । त्यो लेखबाट सुनन्दालाई अजित र कामरेड जलजला नामका नेपालका कम्युनिस्टबारे केही जानकारी प्राप्त भयो । उनी पक्का गान्धीवादी थिइन् तर त्यो लेख पढेपछि उनमा कम्युनिस्टप्रति पनि केही जिज्ञासा वा आकर्षणको भाव पैदा भयो ।

    कौसानी पुगेपछि सुनन्दाले दिएको “कामरेड जलजला” लेख पूरै पढिन् । त्यो लेख मार्क्सवादी–लेनिनवादी विचारद्वारा प्रेरित थियो । त्यसैले सुरुमा उनलाई त्यो लेख मन परेन तैपनि त्यो लेखबाट अजित कौसानी आएको र उनले पनि नन्दादेवी हिमालयलाई धेरै मन पराएको थाहा पाएर मनमनै केही हदसम्म अजितप्रति पनि आकर्षित भइन् ।

    सुनन्दाले पनि नन्दादेवी हिमालयलाई धेरै माया गर्दथिन् तर त्यो बेला उनलाई थाहा थिएन, अन्तमा घटनाक्रमले उनलाई गान्धीवादीबाट मार्क्सवादी बन्न, कामरेड जलजलामा रूपान्तरित हुन र स्वयम् अजितलाई प्रेम गर्नसम्म पुऱ्याउने छन् ।
    राति सुत्ने बेलामा विद्यासित जलजलाबारे धेरै कुरा सोधिन् र उनले पनि सबै कुरा बताउँदै गइन् ।

    त्यो बेला विद्याले उनी थबाङबाट सँगै कामरेड जलजला दिदीसित लखनऊ आएको तर त्यसपछि उनीसित भेट नभएको बताएर धेरै दुःख प्रकट गरिन् र धेरै रोइन् पनि । त्यसपछि सुनन्दाको मनमा पनि विद्याप्रति धेरै नै संवेदनाको भाव पैदा भयो । उनको कुराबाट सुनन्दालाई यो थाहा भएको थियो कि कामरेड जलजलासित भेट नभएकोमा उनी धेरै नै आत्तिएकी थिइन् र जसरी भए पनि उनलाई पत्ता लगाउन चाहन्थिन् । त्यसका लागि उनले आफ्नो पिएचडी थेसिसमा नेपालको विषय पनि सामेल गर्ने र त्यसबारे अध्ययन गर्ने सिलसिलामा नेपालमा गएर जलजलालाई पनि खोज्ने निर्णय गरिन् । बिहान उठेपछि सुनन्दाले विद्यालाई आफ्नो त्यो निर्णय बताइदिइन् । त्यो सुनेर उनी धेरै नै खुसी भइन् ।

    एमएको परीक्षापछि पिएचडी कुन विषयमा गर्ने, त्यसबारे उनको मनमा द्विविधा थियो तर विद्याको कुरा सुनेपछि सुनन्दाले कुमाऊ–गढवालका साथै पश्चिम नेपालको पनि इतिहासबारे पिएचडी गर्ने निश्चय गरिन् । त्यसका पछाडिको उनको उद्देश्य नेपालको इतिहासको अध्ययन गर्ने सिलसिलामा जलजलालाई पनि खोज्ने र त्यसरी विधाको दुःखलाई कम पारिदिने थियो ।

    सुनन्दाकी फुपू सरस्वती लक्ष्मी आश्रममा नै बस्दथिन् । उनी खालि आफ्नी फुपूसितसँगै बस्न कौसानी आएकी थिइन् । एक दिन राधा बहनले उनलाई कौसानीको लक्ष्मी आश्रममा शिक्षिका भएर पढाउनका लागि प्रस्ताव राखिन् र उनी एउटी पर्वतारोही थिइन् । त्यसैले शिक्षिका भएर बस्ने उनको मन तयार थिएन । त्यसपछि राधा बहनले उनलाई भनिने– “हामीले तिमीमाथि कर गर्दैनौँ । अन्तमा तिमीले त्यही निर्णय गर्नुपर्दछ, जो तिम्रो आत्माले भन्छ । तिमीले आफ्नो आत्माको आवाजका विरुद्ध कुनै काम गर्दछ्यौ भने त्यसबाट तिमीलाई प्रसन्नता मिल्ने छैन । त्यस अवस्थामा तिमीले कुनै काम राम्ररी पनि गर्न सक्ने छैनौँ । तिमी दृढतापूर्वक अगाडि बढ्न सक्ने छैनौँ । मैले तिमीलाई आफ्नो आवश्यकताबारे बताएँ तर एउटी दिदीको नाताले मेरो तिमीलाई यही सल्लाह छ, तिमीले आफ्नो आत्माको आवाज सुन । त्यहीअनुसार निर्णय गर ।”

    त्यति भनेर राधा बहन गइन् तर फेरि फर्केर आएर उनले भनिन्– “अहिले मैले भनेको विषयमा मात्र होइन, जीवनमा जे कुराको निर्णय गर्दा पनि आफ्नो आत्माको आवाज सुल्ने गर्नू । त्यसो गऱ्यौ भने जीवनमा तिमी सधैँ खुसी रहन सक्नेछौँ । जीवनमा धेरै उतारचढाउ आउँछन् । अप्ठयारा आउँछन् । मानसिक द्वन्द्व हुन्छ । आँधीबेहरी आउँछन् । तिनीहरूले हावामा उडाउँछन् । बाढी आउँछन् । तिनीहरूले बगाउँछन् तर तिमीले सधैँ आत्माको आवाज सुनेर काम गऱ्यौ भने सधैँ चट्टानझैँ दृढ भएर बाँच्न सक्नेछौ । कुनै पनि कुराले तिमीलाई हल्लाउन वा विचलित गर्न सक्ने छैनन् ।”

    त्यस सन्दर्भमा उपन्यासमा लेखिएको छ– “सुनन्दाले आफ्नो आत्माको आवाज सुनिन् र अन्तमा पर्वतारोहणको सट्टा लक्ष्मी आश्रममा बसेर सेवा गर्ने निर्णय गरिन् ।” त्यो उनको जीवनको एउटा महत्त्वपूर्ण मोड थियो तर पछि कथाप्रवाहबाट थाहा हुनेछ, उनको जीवनमा पछि अरू पनि मोड आउनेवाला थिए र त्यो क्रममा उनी गम्भीर प्रकारका मानसिक द्वन्द्वका बिचबाट जाने वाला थिइन् ।

    सुनन्दा कौसानी आश्रमको नजिकैको जङ्गलमा एउटा रुखमुनि बसेकी थिइन् । उनले ध्यानमग्न भएर नन्दादेवी पर्वततिर हेरिरहेकी थिइन् । त्यही बेला जङ्गलको बाटो हुँदै कामरेड गढवाली त्यहाँ आइपुगे । उनलाई सुनन्दाको ध्यानमग्न भएर बसेको अनुहार धेरै राम्रो लाग्यो र उनले त्यो दृश्यलाई आफ्नो फोटोमा खिचे । फोटो खिच्दा उनले क्यामेराको फ्ल्यास बाल्दा सुनन्दाले थाहा पाइन् । गढवालीको त्यो कार्यबाट सुनन्दा धेरै रिसाइन् तर पछि उनका अगाडि उभिएका व्यक्ति कामरेड गढवाली भएको थाहा पाएर उनका मनमा उनीप्रति आदरको भाव पैदा भयो । त्यस सन्दर्भमा उपन्यासमा लेखिएको छ– कामरेड गढवालीप्रति “उनका मनमा पनि उनीप्रति धेरै नै आदर र आत्मीयताको भाव पैदा भयो ।”

    उनी कम्युनिस्ट थिए । त्यसकारण उनका विचारलाई उनले सही मान्दैनथिन् तैपनि उनलाई लागेर आएको थियो, उनी सन्त र ऋषिजस्ता थिए ।
    सुनन्दा जवाहरलाल नेहरू पुस्तकालयमा बसेकी थिइन् । उनले पिएचडीको लागि ‘सिनोप्सिस’ तयार पार्दै थिइन् तर त्यो सिनोप्सिस तयार पार्दा पनि उनको ध्यान बारम्बार हिमालयतिर, हिमालयका अग्ला शिखरतिर नै गइरहन्थ्यो ।

    त्यस सन्दर्भमा उपन्यासमा लेखिएको थियो– “कुनै दिन उनले पर्वतारोहणलाई नै आफ्नो जीवनको उद्देश्य बनाएकी थिइन् । पर्वतारोहण अनि हिमालयका अग्ला शिखर तथा पर्वत शृङ्खलासित उनका कैयौँ आकाङ्क्षा र सपना जोडिएका थिए । अब ती सबै आकाङ्क्षा वा सपना अधुरा रहेका थिए । अब उनले आफ्नो त्यो बाटो वा दिशा बदलिसकेकी थिइन् तैपनि उनको अन्तस्करणमा ती अधुरा आकाङ्क्षा र सपना दबेर बसेका थिए । सायद त्यसको परिणाम थियो कि उनको ध्यान बारम्बार हिमालय पर्वत शृङ्खलातिर गइरहन्थ्यो ।

    सायद त्यही कारणले नै हुन सक्दथ्यो, सिनोप्सिस तयार पार्ने सिलसिलामा हिमालय वा पहाडसम्बन्धी पुस्तक पढ्दा उनका मनका दबेका भावना उर्लेर आएका थिए ।

    उनको ध्यान खालि जड हिमालयतिर मात्र गइरहेको थिएन, उनलाई यस्तो लागिरहेको थियो कि त्यसभित्र लगातार गति र हलचल पनि थियो । त्यस सन्दर्भमा उनका मनमा कैयौँ कुरा पनि उठिरहेका थिए र उनीभित्र एक प्रकारको हलचल नै चलिरहेको थियो । त्यस सिलसिलामा उपन्यासमा लेखिएको छ– हिमालयको अचल र स्थिर रूप अनि त्यहाँ लगातार हुने हलचल । के ती दुबै पक्षका बिचमा विरोधाभास थियो वा तिनीहरूका बिचमा पनि एक वा अर्को प्रकारको सामञ्जस्यता अन्तर्निहित थियो ? तर सायद कुरा त्यति मात्र थिएन, हिमालयमा खालि त्यसको बाह्य पक्षमा मात्र त्यस प्रकारको हलचल हुने गर्दैनथ्यो, त्यसभित्र पनि लगातार परिवर्तनको प्रक्रिया चलिरहन्थ्यो । स्वयम् हिमालय त्यस प्रकारको परिवर्तन र विकासको परिणाम थियो तर त्यो परिवर्तन वा विकासको प्रक्रिया अतीतको विषय मात्र थियो । अब त्यो प्रक्रिया बन्द भएको थियो भन्न मिल्दैनथ्यो ।

    त्यस प्रकारको परिवर्तन र विकासको प्रक्रियाको परिणामस्वरूप नै पहिले टेथिस समुद्र भएको ठाउँमा विशाल हिमालय उभिन पुगेको थियो । त्यो परिवर्तनको प्रक्रियाले अब पुनः हिमालयलाई कुन रूपमा पुऱ्याउने हो ? आगामी दश, बिस, चालिस, पचास हजार, लाख वा करोडौँ वर्षको अवधिमा ? त्यो प्रश्न उठाउन त सकिन्थ्यो तर सायद त्यस प्रश्नको जबाफ निकाल्नु सम्भव थिएन, कमसेकम उनका लागि सम्भव थिएन ।
    हिमालयमा लगातार चल्ने त्यो परिवर्तनको प्रक्रिया एकातिर सामान्य रूपले चलिरहन्थ्यो भने कैयौँपल्ट विस्फोटको रूपमा पनि देखा पर्ने गर्दथ्यो । हिमालय र त्यसका आसपासमा चल्ने भूकम्प वा भूस्खलन सायद त्यसैका परिणाम थिए ।

    एकातिर हामी कसैलाई थाहासम्म नहुने र क्रमिक तथा नियमित रूपले चल्ने परिवर्तनका प्रक्रिया अनि त्यहाँ आकस्मिक रूपले हुने विस्फोट—के ती दुवै एकअर्कासित असम्बन्धित थिए वा ती दुवैका बिचमा पनि कुनै तालमेल थियो ?

    उपन्यासमा अगाडि लेखिएको छ– “सुनन्दा एक्लै हाँसिन् र मनमनै भनिन्, मैले पनि केके सोच्न थालिरहेकी छु । यस प्रकारका प्रश्नको सिलसिला त कहिल्यै नटुङ्गिने शृङ्खला थियो, असीम र अनन्त शृङ्खला !”

    उनको मनमा विचारको एउटा प्रवाह नै आइरहेको थियो । सोच्दासोच्दै उनको ध्यान सौन्दर्यतिर गयो । आखिर सौन्दर्य के हो ? त्यो वस्तुगत हो वा आत्मगत ? उनका मनमा त्यसबारे कैयौँ प्रश्न उठ्न थाले । त्यसबारे उपन्यासमा लेखिएको छ– “धर्तीमा जीवन वा मानिसको उत्पत्तिभन्दा पहिले पनि हिमालयमा सूर्य वा चन्द्रमाको प्रकाश प्रतिबिम्बित हुने गर्दथ्यो । हिमनदी बग्ने गर्दथे । फूलको घाँटीमा फूल फुल्ने गर्दथे । मृग उफ्रने गर्दथे । चरा उड्ने गर्दथे । त्यहाँ चराको आवाज गुन्जने गर्दथ्यो तर ती सबैबाट मानिसले सौन्दर्यानुभूति गर्दैनथ्यो किनभने त्योबेला मानिसको अस्तित्व नै थिएन । पछि मानिसको उत्पत्ति भइसकेपछि पनि उनीहरूमा सौन्दर्यबोध गर्ने चेतना उत्पन्न भएको नै थिएन अनि त्यस अवस्थामा त्यहाँ सौन्दर्य विद्यमान थियो वा थिएन ?”

    त्यस विषयमा उनले अगाडि सोच्दै गइन्– “सौन्दर्य स्वतः वस्तुगत रूपमा विद्यमान हुन्छ वा त्यस सौन्दर्यलाई अनुभूति गर्ने मानिस भएपछि मात्र त्यो अस्तित्वमा आउँछ ? त्यसो हो भने के सौन्दर्य खालि मानिसको रचना मात्र थियो ? त्योभन्दा पहिले त्यसको अस्तित्व नै थिएन ? यदि थियो भने त्यसको अनुभूति कसले गर्दथ्यो अथवा कसैले त्यसको अनुभूति नगरे पनि त्यो स्वतः र वस्तुगत रूपमा विद्यमान हुन्थ्यो ? तर फेरि वस्तुको अभावमा अनुभूति कसरी हुन्थ्यो ? हिमालय, त्यहाँका हिमनदी फूलको अस्तित्व नभए फेरि उनीहरूको सौन्दर्यको अनुभूति कसरी सम्भव थियो ?”

    उनको ध्यान डा. जगदीशले हिजो भनेको यो कुराप्रति गयो– सत्य सापेक्ष हुन्छ । त्यो निरपेक्ष हुँदैन । प्रत्येक चिजलाई गतिशील र द्वन्द्वात्मक प्रकारले बुझ्ने प्रयत्न गर्नुपर्दछ । प्रत्येक चिज एकअर्कासित जोडिएका हुन्छन् । कुनै पनि चिजलाई सम्बन्धित सबै चिजबाट अलग गरेर हेरेर हामीले त्यसको ठिक ज्ञान प्राप्त गर्न सक्दैनौँ अनि हिमालय र त्यसप्रतिको मानिसको सौन्दर्यबोधको रूपमा । पारस्परिक रूपमा त्यसलाई ठिकसित बुझ्नका लागि पनि ती दुवैको सम्बन्धलाई नै आधार बनाएर बुझ्नुपर्ने आवश्यकता थियो । मार्क्सवादको द्वन्द्वात्मक भौतिकवादलाई उनले मान्दैनथिन् तैपनि अहिले उनलाई लागेर आएको थियो, कमसेकम उनलाई लागेर आयो कि सौन्दर्यलाई ठिकसित बुझ्न द्वन्द्वात्मक र सापेक्षताको सिद्धान्तले मदत गर्दथ्यो ।

    उनको ध्यान मानिसको उच्च हिमालयमा देवीदेवता बस्छन् भन्ने सोचाइतिर गयो । त्यही प्रकारको सोचाइका कारणले पहिले मानिसलाई हिमालयमा चढ्न निषेध थियो तर उनको मनले यो कुरा सोच्यो, के ती बेग्लाबेग्लै चुलीमा देवीदेवता, परी, राक्षस भएको कल्पना सत्य थिए वा ती भ्रान्त धारणा मात्र थिए ? उनको मनले तुरुन्त त्यस प्रश्नको जबाफ दिन सकेन । देवीदेवताका कल्पनालाई तुरुन्त असत्य मान्न उनको मन तयार भएन । मनमनै उनले सोचिन्, यदि मानिसहरू त्यस प्रकारका विश्वासको घेराभन्दा बाहिर ननिस्केको भए पर्वतारोहणको कार्य अगाडि बढ्न सक्दैनथ्यो । ती धारणा सत्य वा असत्य जे भए पनि त्यस प्रकारका धारणा लामो समयसम्म मानिसको प्रगतिमा बाधास्वरूप भएर उभिएका थिए । तिनीहरूबाट माथि उठेपछि नै मानिसले उच्च शिखरमाथि विजय प्राप्त गर्न सके । त्यो निश्चय नै खुसीको कुरा थियो ।
    सुनन्दाको ध्यान यो कुराप्रति गयो कि संसारका कैयौँ महान जाति वा महान सभ्यता विलुप्त हुँदै गएका थिए । त्यस सन्दर्भमा उपन्यासमा लेखिएको छ– “सुनन्दाले मनमनै सोचिन्, इतिहासको त्यस नियमबाट के अहिलेको मानव जाति पनि बच्ने छैन ? के कुनै दिन अहिलेको मानव जाति वा मानव सभ्यता पूरै विलुप्त भएर विस्मृतिको गर्भमा सामेल हुनेछ ? त्यो सोच्दा उनलाई दुःख लाग्यो तर सायद त्यसका लागि दुःख मान्नुपर्ने आवश्यकता थिएन । प्रकृतिको त्यस नियमबाट सम्पूर्ण ब्रह्माण्ड, आकाशका तारा र ग्रह तथा सूर्य र चन्द्रमा पनि बच्ने छैनन् । त्यसकारण प्रकृतिको त्यो नियमलाई हामीले स्वाभाविक रूपमा नै लिनुपर्दछ ।”

    सुनन्दा र विद्या नेपालतिर लागेपछि भैरहवामा सुनन्दा गिरफ्तार भएकी थिइन् । विद्या उम्कन सफल भएकी थिइन् । लखनऊमा नेपालमा तानाशाही व्यवस्था छ, त्यस्तो अवस्थामा कुनै पनि प्रकारको घटना हुन सक्छ भनेर नेपालमा नआउन सल्लाह दिएका थिए तर त्यो सल्लाहलाई अस्वीकार गरेर नेपालतिर आएकी थिइन् । त्यस सन्दर्भमा उपन्यासमा लेखिएको छ– “उनी गान्धीकी भक्त थिइन् । दक्षिण अफ्रिकामा जाँदा गान्धीजीसित अङ्ग्रेजले कति धेरै दुर्व्यवहार गरेका थिए ? त्यो उनलाई थाहा थियो तर के त्यही डरले उनी दक्षिण अफ्रिका छाडेर भारत आएका थिए ? होइन, उनले त्यहीँ बसेर आफ्नो आन्दोलन चलाउने प्रयत्न गरेका थिए । कुनै खतराको डरले अगाडि बढाएको कदम पछाडि हटाउनु गान्धीले देखाएको आदर्श विरुद्धको कुरा हुन्थ्यो । त्यसो गर्नु गान्धीले देखाएको बाटोमा जीवनभर अगाडि बढ्ने उनले जुन सङ्कल्प गरेकी थिइन्, त्यसबाट विचलित हुनुहुन्थ्यो ।

    उनले पहिलोपल्ट नै नेपालको पञ्चायती तानाशाही व्यवस्थाको डरले आफ्नो अगाडि बढेको कदम पछाडि हटाउँथिन् भने भविष्यमा जीवनभरि गान्धीले देखाएको बाटामा अगाडि बढ्ने कुराको के आशा गर्न सकिन्थ्यो ? उनलाई लाग्यो, त्यसरी उनले गान्धीका सिद्धान्तमाथिको सम्पूर्ण आस्था र आफ्नो सम्पूर्ण जीवनका लागि उनले आफ्नाअगाडि राखेको लक्ष्यको नै परीक्षा भइरहेको थियो । उनले नेपालको निरङ्कुश राजतन्त्र र पञ्चायती तानाशाही व्यवस्थाको डरले नेपालको यात्रालाई स्थगित गरिन् भने पनि कसैले थाहा पाउने थिएन । त्यसरी उनको इज्जतमा कुनै आँच आउने थिएन तर उनको आत्माले उनलाई के भन्नेछ ? त्यसले उनलाई धिक्कार्नेछ । हुन्न, मैले आफ्नो यात्रालाई स्थगित गर्न सक्दिनँ । उनले मनमनै निश्चय गरेकी थिइन् ।

    निरङ्कुश राजतन्त्र, पञ्चायती तानाशाही व्यवस्था, पुलिस, मण्डले, ती कसैको पनि डरले उनी पछाडि फर्कन सक्दैनथिन् । प्रश्न नेपाल यात्राको कार्यक्रम स्थगित गर्ने वा नगर्ने मात्र थिएन, प्रश्न उनको आफ्नो सम्पूर्ण जीवनको आस्था र लक्ष्यलाई कायम राख्ने वा त्याग्ने थियो ।”
    एउटा अर्को कुराले पनि उनको साहस र आत्मविश्वासलाई झन् बढाएको थियो । आखिर कामरेड जलजला पनि ता नेपालमा नै थिइन् । उनले पनि ता नेपालको पञ्चायती तानाशाही व्यवस्थाका विरुद्ध सङ्घर्ष गरिरहेकी थिइन् । उनका अगाडि पनि ता कैयौँ प्रकारका खतरा थिए, जेल, मृत्यु वा बलात्कारका खतरा । उनी सायद नेपालका कुनै जेलमा बन्दी भएकी पनि हुन सक्दथिन् । उनी (सुनन्दा) ता खालि केही दिनका लागि नेपाल जाँदै थिइन् तर कामरेड जलजलाले ता आफ्नो सम्पूर्ण जीवन नै त्यस प्रकारका खतराका बिचमा होम्नुपरेको थियो । त्यस प्रकारका खतराको बिचमा नै बसेर काम गर्नुपरेको थियो । सङ्घर्ष गर्नुपरेको थियो । कामरेड जलजलाको त्यस उदाहरणले पनि उनलाई बाटामा आइपर्ने सबै प्रकारका कष्ट र खतराको सामना गर्ने थप हिम्मत प्रदान गर्दथ्यो ।

    ती कुरा सोच्दासोच्दै उनको ध्यान बलात्कारको खतराप्रति गयो । त्यस सन्दर्भमा उपन्यासमा लेखिएको छ– “उनीमाथि कसैले पनि जर्बजस्ती बलात्कार गर्न सक्छ भनेर उनलाई कहिल्यै पनि लाग्दैनथ्यो । सानैदेखि नै उनले अग्ला पहाड चढ्ने, घाँस र दाउराका भारी बोक्ने र अन्य परिश्रम गर्ने गर्दथिन् । पर्वतारोहणका दौरानमा पनि उनले आफ्नो शारीरिक बल र मानसिक दृढता, धैर्य र साहसको राम्रो परिचय दिएकी थिइन् । उनले नियमित रूपले कसरत गर्दथिन्, मुख्यतः योग र आसन । लखनऊमा आफ्नो अध्ययनकालमा उनले कराँतेको पनि तालिम लिने गरेकी थिइन् । उनले ब्ल्याक बेल्टसम्मको तालिम लिएकी थिइन् । उनले कतिपय राज्य वा राष्ट्रियस्तरका कराँते प्रतियोगितामा पनि भाग लिएकी थिइन् । उनले राज्यस्तरको प्रतियोगितामा दुइटा स्वर्णपदक र राष्ट्रियस्तरको प्रतियोगितामा एउटा रजतपदक पनि प्राप्त गरेकी थिइन् ।

    ती सबैको परिणामस्वरूप उनको जुन प्रकारको चरित्र र शारीरिक क्षमताको निर्माण भएको थियो, त्यसले गर्दा उनी कुनै खतरा आएमा त्यसबाट भयभित भएर कहिल्यै भाग्दैनथिन् बरु खतराका विरुद्धको सङ्घर्षमा नै उनलाई आनन्द प्राप्त हुन्थ्यो । कुनै खतराका विरुद्ध सङ्घर्ष गर्दा उनलाई आफूमा थप ऊर्जा वा शक्ति प्राप्त भएजस्तो अनुभूति हुन्थ्यो । उनको धारणा थियो, महिलाले शारीरिक रूपले पनि आफूलाई मजबुत पार्नुपर्दछ । उनी मजबुत पनि थिइन् । कैयौँपल्ट उनी गुन्डाको आक्रमणमा पनि परेकी थिइन् तर त्यस प्रकारको आक्रमणको सधैँ दृढतापूर्वक सामना गरेकी थिइन् । त्यसैले कसैले उनीमाथि बलात्कार गर्न सक्छन् भन्ने डर कहिल्यै पनि लाग्दैनथ्यो ।

    कुनै बेला उनको ध्यान यो कुराप्रति जान्थ्यो, फेरि उनलाई यो पनि लाग्थ्यो, राजनीतिक दृष्टिले नेपाल बेग्लै देश थियो । त्यसकारण त्यहाँको राजनीतिसित उनको कुनै सम्बन्ध थिएन । सम्बन्ध राख्न पनि हुँदैनथ्यो तर मानवताको कुनै सीमा हुँदैन । त्यो सम्बन्ध कुनै देशको राजनीतिक सीमा, भाषा, संस्कृति, इतिहास, धर्मभन्दा माथि उठेको हुन्छ । मानवताको कुनै सीमा थिएन । त्यो संसारभर फैलिएको थियो ।
    स्वयम् सरला वहनको उदाहरण पनि उनको अगाडि थियो । उनी विदेशी महिला हुन् तर भारतको सेवाका लागि उनले आफ्नो जीवन होमेकी थिइन् ।

    एनी विसेन्ट पनि विदेशी महिला थिइन् तर उनले अङ्ग्रेजका विरुद्ध भारतको स्वतन्त्रता सङ्ग्रामका लागि काम गरेकी थिइन् र भारतीय काङ्ग्रेसको अध्यक्षसम्ममा चुनिएकी थिइन् ।

    डा. कोटनिसबारे पनि उनले पढेकी थिइन् । उनले उनको एउटा सिनेमा पनि हेरेकी थिइन् । त्यो सिनेमाले उनलाई धेरै नै प्रभाव पारेको थियो । उनी एउटा भारतीय डाक्टर थिए तर चीनको क्रान्तिको सेवामा उनले आफ्नो जीवन बलिदान गरेका थिए अनि उनी नेपाली नभएकाले उनले नेपालसित कुनै सम्बन्ध नै राख्न हुँदैनथ्यो भन्ने कुरा कहाँबाट आउँथ्यो ?”

    उपन्यासमा अगाडि लेखिएको छ– नेपालमा प्रजातन्त्र थिएन । त्यहाँ तानाशाही व्यवस्था थियो । त्यहाँका जनताले त्यस व्यवस्थाका विरुद्ध सङ्घर्ष गरिरहेका थिए । कामरेड जलजलाले पनि सङ्घर्ष गरिरहेकी थिइन् । अजितले पनि सङ्घर्ष गरिरहेका थिए अनि उनले पनि त्यहाँको सङ्घर्षसित सम्बन्ध राख्नु, त्यस सङ्घर्षमा योगदान दिनु कुनै नराम्रो कुरा हुँदैनथ्यो । उपन्यासमा लेखिएको छ– “उनले मनमनै सोचिन्, त्यहाँको प्रजातन्त्रको सङ्घर्षमा भाग लिन पाए, त्यस सङ्घर्षमा अलिकति भए पनि योगदान दिन पाए त्यो उनका लागि कति धेरै खुसीको कुरा हुन्थ्यो ?
    उनी जेलमा परेकी थिइन् तर उनले सोचिन्, त्यो जेल थियो त के भयो ? त्यो पनि समाजको एउटा अङ्ग थियो । त्यहाँ पनि मानिस बसेका थिए । मानिस जहाँका भए पनि उनीहरूभित्र उही विश्वव्यापी मानवता अन्तर्निहित भएको हुन्छ । जीवन जहाँ पनि हुन्छ । जहाँ पनि जीवनको प्रवाह, गति संवेदना वा सौन्दर्य तथा स्पन्दन विद्यमान हुन्छ । त्यसले मानिसलाई सुख, आनन्द र रस प्रदान गर्छ ।”

    त्यस सिलसिलामा उपन्यासमा अगाडि लेखिएको छ– “त्योबाहेक उनलाई लाग्दथ्यो, प्रत्येक व्यक्तिमा एउटा अद्भुत र असीम प्रकारको विश्व अन्तर्निहित भएको हुन्छ । त्यसकारण कुनै एउटा व्यक्तिको विषयमा सम्पूर्ण जीवनभरि लगातार अध्ययन गरे पनि त्यो पूर्ण हुँदैन । त्यहाँ ज्ञानको अगाध खजाना हुन्छ । केही दिनभित्रमा नै उनले जेलका बन्दीबारे प्रशस्त ज्ञान प्राप्त गरिन् । त्यस प्रकारको ज्ञान प्राप्त गर्न थालिन् । छिट्टै नै उनलाई यस्तो अनुभव हुन थाल्यो कि त्यहाँका प्रत्येक महिला बन्दीका जीवन कैयौँ उपन्यास वा महाकाव्यभन्दा बढी विस्तृत, गहन र महत्त्वपूर्ण थिए । त्यहाँ दर्शन, नीतिशास्त्र, साहित्य, काव्य, कथा, सौन्दर्य, राजनीति, समाजशास्त्र, अपराधशास्त्र आदि कैयौँ विषयको अध्ययनका लागि अगाध सामग्री थिए । त्यहाँ उनले जुन अध्ययन गर्न थालेकी थिइन् वा जुन अध्ययनका लागि सामग्री उपलब्ध भइरहेका थिए, त्यस अध्ययनमा आफ्नो सम्पूर्ण जीवन लगाए पनि उनलाई न आत्तुरी लाग्दथ्यो, न दुःख र पीडाको नै अनुभूति हुन्थ्यो ।”

    त्यसरी जेलको जीवनबारे उनले नयाँ र सकारात्मक प्रकारले सोच्न थालेकी थिइन् र त्यसरी जेलको जीवन उनका लागि दुःखकष्टको होइन, अध्ययन, अनुसन्धान, सुख र आनन्दको जीवन बन्न गएको थियो । क्रमशः

    आइतबार, भदौ २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.