सन्दर्भ र पृष्ठभूमि
२०८२ भदौ महिनाको तेस्रो सातातिर नेपाली मिडियामा दुईओटा समाचार प्रकाशित भए : एउटा– भदौ २३ गते जेनजीले शान्तिपूर्ण प्रदर्शन गर्दैछ । द्वितीय– “नोप बेबी” अभियानले पनि काठमाडौँमा विरोध प्रदर्शन गर्दैछ ।
भदौ १९ गतदेखि नेपाल सरकारले पाँचओटा बाहेक अरू सामाजिक सञ्चाललाई निष्क्रिय बनाएको थियो ।पाँचपटकसम्म दर्ता हुन आह्वान गर्दा पनि ती कम्पनीले नेपालमा दर्ता हुन नमानेपछि सरकारले तत् तत् सामाजिक सञ्जाललाई अस्थायी रूपमा निष्क्रिय बनाएको थियो ।जेनजीले यो विषयलाई एउटा मुद्दा बनाए ।त्यस्तै, भ्रष्टाचार जेनजीको अर्को मुद्दा बताइएको थियो ।उता, इन्डोनेसियाबाट सुरु भएको भनिएको “नोप बेबी” अभियानले उच्चपदस्थ नेताका छोराछोरीको विलासी जीवनशैलीलाई विरोधको एउटा एजेन्डा बनायो । त्यस क्रममा नेपाली काङ्ग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी गङ्गा दाहालको जीवनशैलीलाई उनीहरूले मुद्दा बनाएका थिए ।
भदौ १७ गतेदेखि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली चीन पुगेका थिए ।साङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिन चीन पुगेका प्रधानमन्त्री ओली त्यहाँको विजय परेडमा सहभागी भए ।जापान विरुद्धको युद्धमा विजय भएको अवसरमा आयोजना गरिएको सो परेडमा प्रधानमन्त्री ओलीको सहभागिताबारे जापानले आपत्ति प्रकट गरिसकेको थियो । ठिक त्यही बेला ग्लोबल सेक्यिुरिटी इनिसियटिभ (जिएसआई) घोषणामा नेपालले सहमति गरेको हल्ला पनि चले तर अन्ततः चीनले नै नेपालले जिएसआईमा सहमति नजनाएको स्पष्टीकरण दिएसँगै त्यो विवाद मत्थर हुन पुगेको थियो । त्यो परेडमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी भएका थिएनन् ।
भदौ २३ गते जतिखेर जेनजीको प्रदर्शन आयोजना गरिएको थियो, त्यतिबेलाको राष्ट्रिय सन्दर्भ यही प्रकारको थियो ।भ्रष्टाचार नेपालको पुरानो रोग रहिआएको छ ।यसरी जेनजी प्रदर्शनको समयमा तीनओटा सन्दर्भ अगाडि थिए : भ्रष्टाचार, सामाजिक सञ्जाललाई निष्क्रिय पारिएको अवस्था र प्रधानमन्त्री ओलीको चीन भ्रमण । यता जेनजीको आन्दोलन सुरु भएकै समयमा सरकारले सामािजक सञ्जालमाथिको अस्थायी रोक हटाइसकेको थियो ।
प्रदर्शन, तोडफोड र आगजनी
भदौ २३ गतेको आन्दोलनमा बदनाम मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सहभागिता जनाउने बताएका थिए तर कतिपय जेनजी युवाको अनुरोधमा उनी प्रत्यक्ष रूपमा सहभागी भएनन् । उक्त आन्दोलनलाई करिब करिब सबै पक्षको समर्थन रहेको थियो ।सामाजिक सञ्जालमा धेरैको साझा अभिव्यक्ति हुने गर्दथ्यो : ॅउमेरहदका कारणले हामी उक्त आन्दोलनमा सहभागी हुन नसके पनि हाम्रो समर्थन तपाईंहरूलाई रहनेछ ।’ यसरी देशमा जेनजी आन्दोलनको विरोध कसैले नगरेको अवस्था थियो ।
जेनजीले आफ्नो प्रदर्शन शान्तिपूर्ण हुनेछ भनेर काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएको थियो । उनीहरूले माइतीघर मण्डलादेखि नयाँबानेश्वरसम्म शान्तिपूर्ण प्रकारले प्रदर्शन गर्ने बताएका थिए ।उनीहरूको यस्तो प्रदर्शन उपत्यकाबाहिर देशका विभिन्न हुँदै थिए ।भदौ २३ गते नयाँबानेश्वरमा ठुलो सङ्ख्यामा जेनजी प्रदर्शनकारी उपस्थित भए तर प्रदर्शनकारी जेनजी मात्रै थिएनन्, ठुलो सङ्ख्यामा गैरजेनजीको पनि उपस्थिति थियो । जब प्रदर्शनकारीले निषेधाज्ञा तोडे, त्यति नै बेला कतिपय जेनजी युवाले भनेका थिए– ॅयो प्रदर्शन हाम्रो नियन्त्रणभन्दा बाहिर गइसक्यो ।’ प्रदर्शनकारी अब नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमाथि आक्रमण गर्न पुगेका थिए ।कतिसम्म भने प्रदर्शनकारी घन र गैँती लिएर त्यहाँ पुगेका थिए । उनीहरूले संसद् भवनको भित्ता भत्काएर एकैपटक दुई जना प्रवेश गर्न मिल्ने भ्वाङ बनाए । कतिपय माथिबाट त कतिपय त्यही भ्वाङबाट गरी करिब सय जना प्रदर्शनकारी त संसद् भवनभित्रै प्रवेश गरे, जसलाई सुरक्षाकर्मीले त्यहाँबाट बाहिर निकाल्यो ।
यता तबसम्म सुरक्षा निकायले संयमता गुमाइसकेको थियो ।लाठीचार्ज, पानीको फोहरा, अश्रुग्याँस, रबरको गोली, घुँडामुनि गोली प्रहार गर्ने सामान्य प्रक्रिया सुरक्षा निकायले अपनाएको देखिएन,सिधै टाउकोमा गोली प्रहार गरियो । त्यतिखेर संसद्मा कतिपय संसदीय समितिको बैठक चलिरहेको थियो ।गृहमन्त्री रमेश लेखक संसद् भवनमै रहेको भनिएको थियो ।सोही दिन राष्ट्रियसभाको बैठक बोलाइएको थियो तर सुरक्षाका कारण बैठक स्थगित गरिएको थियो । यस प्रकार काठमाडौँको सुरक्षा निकायका सामु सुरक्षा चुनौती पनि गम्भीर प्रकारको रहेको प्रष्टै थियो ।
प्रहरीको गोलीले भदौ २३ गते नै १९ जनाको मृत्यु भयो । हजारको हाराहारीमा घाइते भइसकेका थिए ।काठमाडौँका अस्पताल घाइतेले भरिएका थिए ।यस प्रकारको प्रतिकूल परिस्थितिमाझ साँझ गृहमन्त्री रमेश लेखकले राजीनामा दिए तर यी सबै घटनाको भाग–१ मात्रै थियो ।भोलिपल्ट भदौ २४ गते त जेनजीको आवरणमा झन् भयावह रूप देख्नुपर्यो ।
भदौ २४ गते दिउसो तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राजीनामा दिए ।त्यससँगै देशमा सरकार रहेन तर प्रदर्शनकारीको ताण्डवनृत्य भने झन् झन् उग्र बन्दै गयो ।नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवन, देशको मुख्य प्रशासकीय स्थल सिंहदरबार, सर्वोच्च अदालत, महान्यायाधीवक्ताको कार्यालय, बालुवाटारस्थित प्रधानमन्त्री निवास, राष्ट्रपतिको कार्यालय शीतलनिवास, अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित काठमाडौँ उपत्यका र देशैभरिका राजनीतिक पार्टीका नेताका घर, व्यावसायिक तथा व्यापारिक स्थलमाथि तोडफोड र आगजनी भयो । यीमध्ये कतिपय स्थानमा त भदौ २७ गतेसम्म आगजनीको अवशेष कायमै थियो । यो लेख तयार पार्दासम्म पनि व्यापारिक–व्यावसायिक स्थलबाट डढेका शव सङ्कलन भइरहेको छ ।
यस क्रममा फ्रान्सेली राज्यक्रान्तिको झल्को दिने खालका घटना पनि भए । पूर्व प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नीसमेत रहेकी निवर्तमान परराष्ट्रमन्त्री डा. आरजू राणा देउवामाथि साङ्घातिक आक्रमण गरियो । युग नै लजाउने गरी अपशब्द बोलियो ।पूर्व प्रधानमन्त्री झलनाथको खनालको घरमा आगो लगाइदिँदा निजकी पत्नीको झन्डै ज्युँदै डढ्नुपर्ने अवस्था आयो ।निवर्तमान अर्थमन्त्री विष्णु पौडेललाई बागमती नदीमा नाङ्गै बनाएर डौडाइएको तस्बिर सामाजिक सञ्जालमा देख्न सकिन्थ्यो । राजीनामा दिइसकेका प्रधानमन्त्री ओलीको घरमा आगलागी हुँदै गर्दा नेपाली सेनाले उनको उद्धार गर्यो । मन्त्रीनिवासमा आगजनी भयो ।प्रदर्शनको कोपभाजनमा शीतलनिवाससमेत पर्दा राष्ट्रपति रामचन्द्र पौडेललाई पनि सेनाले नै जीवनरक्षा गर्यो । यस क्रममा देशैभरि नेपाली काङ्ग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत विभिन्न पार्टीका केन्द्रीय कार्यालय, प्रदेश कार्यालय, जिल्ला कार्यालय र निजी निवासमा तोडफोड र आगजनी भए ।
उग्र प्रदर्शनको क्रममा जेलबाट करिब १७ हजार कैदीबन्दी भाग्न पुगे ।ती कैदीले जेलबाट निस्कँदाबित्तै पुन अपराधकर्ममा लागेका समाचार पनि आए ।त्यस क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका दुई जना केन्द्रीय नेताहरू नख्खु कारागारमै पुगेर सहकारी ठगीमा जेलमा रहेका आफ्ना सभापति रवि लामिछानेलाई छुटाए । नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल परेका एमालेका पूर्व सचिव टोपबहादुर रायमाझी पनि सुन्धारा जेलबाट भागे । यसै क्रममा सञ्जय टकलासहितका खुङ्खार अपराधी जेलबाट भागे तर आश्चर्यको कुरा, चर्चित डन मानिएका पूर्व सांसद दीपक मनाङे भने जेलबाट भाग्न मानेनन् ।
काठमाडौँ जिल्ला प्रशासनले भदौ २३ गते नै कफ्र्यु जारी गरिसकेको थियो । प्रधानमन्त्री ओलीले भदौ २४ गते राजीनामा दिएपछि देशमा सरकारविहीन अवस्था देखा पर्यो ।सोही दिन साँझ मुख्यसचिव, गृहसचिव, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसमेतको बैठक सम्पन्न भएपछि भदौ २४ गते राति १० बजेदेखि आन्तरिक सुरक्षाको जिम्मा नेपाली सेनाले लियो ।त्यसपछि बिहानबेलुकी केही घण्टा खुला, दिउसो निषेधाज्ञा, राति र बिहान कफ्र्युको अवस्था भदौ २७ गतेसम्म यथावत् रह्यो ।
अन्तरिम सरकार गठन
भदौ २६ गतेदेखि राष्ट्रपति, नेपाली सेना र जेनजीका प्रतिनिधिहरू प्रत्यक्ष रूपमै अगाडि आएर अन्तरिम सरकार गठनको बारेमा छलफल सुरु गरे ।अन्तरिम सरकारको प्रधानमन्त्री जेनजीको मागअनुसार पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई बनाउन प्रमुख राजनीतिक दलहरू सहमत भए । यता, प्रतिनिधिसभा विघटन गर्ने कि नगर्ने भन्ने विषयमा विवाद उत्पन्न भयो ।प्रतिनिधिसभा विघटनका लागि संविधानको धारा ७६ को उपधारा ७ मा टेकेर प्रधानमन्त्रीले सिफारिस गर्नुपर्दथ्यो तर त्यो अवस्थामा जाने संवैधानिक धैर्यता कसैले देखाएनन् । धारा ७६ को उपधारा ५ मा टेकेर जेनजीले रोजेका कुनै प्रतिनिधिसभाको सांसदलाई प्रधानमन्त्री बनाएर तथा धारा ७८ अनुसार छ महिनापछि सांसद निर्वाचन हुने गरी तत्कालका लागि संसद्बाहिर रहेका व्यक्तिसमेतलाई सामेल गरेर मन्त्रिपरिषद् गठन गर्न सकिन्थ्यो तर जेनजीको अडानले गर्दा भदौ २७ गते राति संविधानको धारा ६१ को उपधारा ४ बमोजिम पहिला सुशीला कार्कीलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरे ।त्यसपछि त्यही मन्त्रिपरिषद्को सिफारिसको आधारमा भदौ २७ गते मध्यराति नै प्रतिनिधिसभा विघटन गरियो ।
नेपालको संसदीय राजनीतिक इतिहासमा, खासगरी २०४६ सालपछि प्रधानमन्त्रीले आफूखुसी संसद् विघटन गर्ने गरेकाले २०७२ सालको संविधानमा धारा ७६ मा एउटा उपधारा (५) थप गरिएको थियो । यससंविधानको सर्वोच्चता र संसद्को सार्वभौम अस्तित्वलाई यथावत् राख्ने, फलस्वरूप संसद् विघटन अन्तिम विकल्प हुने संवैधानिक प्रावधानलाई यसपटक फेरि लत्याइयो ।अब संसद्को अधिकारलाई कुण्ठित गरेर गैरदलीय सरकार गठन गरिएको छ ।
गम्भीर प्रश्न
यतिखेर गम्भीर प्रश्न उठेको छ : संविधान कार्यान्वयनको ठिक एक दशकमा संविधान र संसद् विरुद्ध यस्तो अराजक प्रकृतिको जनआक्रोश किन देखा पर्यो ? राजनीतिक दलको भूमिकाप्रति यति बढी वितृष्णा किन देखा पर्यो ?२०५२ सालदेखि प्रत्येक दश वर्षमा नेपालमा किन राजनीतिक उथलपुथल भइरहन्छन् ?पक्कै पनि सबै राजनीतिक दलहरूले यसको समीक्षा गर्नेछन् ।
लेखको प्रारम्भमा नै तात्कालिक राजनीतिक सन्दर्भबारे सङ्केत गरिसकिएको छ, मुख्यतः महँगी, भ्रष्टाचार, कुशासन, बेथिती, राष्ट्रघात र बेरोजगारीजस्ता समस्याले देश जर्जर बनेको थियो ।२०६२–६३ सालायता बनेका दलीय सरकारले पनि पञ्चायतकालीन सरकारले जस्तै भ्रष्ट प्रकारले काम गरिरहेका थिए ।त्यसकारण जनअसन्तोष कुनै न कुनै प्रकारले कुनै पनि बेला विस्फोट हुन सक्दथ्यो । त्यसैको एउटा स्वरूप भदौ २३–२४ गते देखा पर्यो । गत वर्ष २०८१ चैत १५ गते दुर्गा प्रसाईंको उग्र प्रदर्शनको रूपमा त्यसको रिहर्सल देखा परिसकेको थियो । यी दुवै प्रदर्शनमा राष्ट्रिय सम्पत्तिप्रतिको गैरजिम्मेवार र ध्वंसात्मक मनोवृत्ति पनि सतहमा देखा पर्यो ।
वैश्विक परिवर्तनको नेपाल फ्याक्टर
नेपाली राष्ट्रियता र सार्वभौमिकता अझै पनि स्वतन्त्र, स्वाधीन र आत्मनिर्भर बन्न सकिरहेको छैन ।फलस्वरूप देशभित्रका राजनीतिक उथपुथल राष्ट्रिय सीमाभित्र रहन सकेका छैनन् ।त्यसैले हाम्रो देशको राजनीतिलाई बेग्लाबेग्लै देशीविदेशी शक्तिले उपयोग गर्ने प्रयत्न गरिरहन्छन्, खासगरी विदेशीले । इतिहास हेर्ने हो भने हालसम्मको प्रत्येक राजनीतिक परिवर्तनमा विदेशी शक्तिकेन्द्रको हात रहेको मानिन्छ । अहिले राजावादी शक्तिले राजतन्त्र र हिन्दु राष्ट्रपुनर्स्थापनाका लागि भारतको हिन्दुवादी सरकारको सहयोग लिइरहेकै थिए । यता विश्वको सामरिक–रणनीतिक अवस्थामा केही परिवर्तन आउन थालेको छ ।खासगरी चीन विश्व महाशक्तिको रूपमा उदाउनु र अमेरिकाले चीनका विरुद्ध एसिया प्रसान्त क्षेत्रमा चीनको विरुद्धमा मोर्चाबन्दी गर्नुले नेपालमा साम्राज्यवादी चलखेल ह्वात्तै बढ्न गएको छ ।
पछिल्लो समयमा नेपालमा अमेरिकी र युरोपियन साम्राज्यवादीको चलखेल निकै बढिरहेको छ ।यसका पछाडि तीनओटा विषय उल्लेखनीय छन् : १. चीन विरुद्धको घेराबन्दीमा नेपालको महŒव बढ्दै जानु, २. इसाईकरण र ३. नेपालको जातीय/क्षेत्रीय अन्तरविरोधलाई उपयोग गर्ने विदेशी प्रयत्न । हामी देखिरहेका छौँ, एमसिसी (मिलेनियम च्यालेन्ज कम्प्याक्ट) लाई संसद्बाट पास गरिनु र एसपिपी (स्टेट पार्टनरसिप प्रोग्राम) पारित गर्न प्रस्ताव ल्याइनुले पहिलो विषयको पक्षमानेपालमा योजनाबद्ध प्रकारले काम भइरहेको देखिन्छ ।इसाईकरणको पक्षमा देशमा योजनाबद्ध प्रकारले काम भइरहेको छ ।नेपालको जातीय/क्षेत्रीय अन्तरविरोधलाई उपयोग गर्ने प्रयासबारे पहिलो संविधानसभा कालको अनुभव नै काफी छ ।
मुख्यतः अमेरिकाले नेपालमा आफ्नो प्रभाव फैलाउन सूक्ष्म प्रकारले काम गरिरहेको छ ।२०७९ सालको आमनिर्वाचनअघि त उसले “युथ काउन्सिल” नै खडा गरेर तालिम दिएको समाचार बाहिरिएको थियो । त्यो प्रक्रिया भूमिगत प्रकारले अहिले पनि सुचारु छ ।सञ्चारमाध्यममा आएका सूचनामाथि विश्वास गर्ने हो भने अमेरिकी दूताबासको पहलमा खासगरी काठमाडौँ उपत्यकाका निजी कलेजमा “युथ काउन्सिल” को सदस्य सङ्ख्या एक लाख पुग्न थालेको छ ।त्यसका लागि “नेपालमा केही हुँदैन”, “अमेरिका नै स्वर्ग हो” भन्ने भाष्य निर्माण गरिँदैछ ।महाराजगञ्जस्थित अमेरिकी दूताबासले त्यसको पक्षमा घनीभूत र योजनाबद्ध प्रकारले काम गरिरहेको मानिएको छ ।
एनजिओ कनेक्सन
नेपालमा एनजिओ र आइएनजिओले राजनीतिक पार्टीका विरुद्ध काम गरिरहेका छन् ।एनजिओको भूमिकाबारे त्यति चिन्ता लिनुनपर्ला तर आइएनजिओले देशमा प्रशस्त मात्रामा घुसपैठ गरिरहेका छन् ।आजभोलिको मिडिया खबरलाई आधार बनाउने हो भने त जेनजी आन्दोलनका लागि अमेरिकाबाट २१ करोड रुपियाँ फन्डिङ गरिएको बताइन्छ । यो सूचनाको स्वतन्त्र पुष्टि होला/नहोला, आइएनजिओले नेपालका एनजिओसमेतलाई आफ्नै देशको विरुद्धमा उचालेको निष्कर्षमा पुग्न त्यति कठिनाइ नहोला ।त्यस्तै जेनजीका प्रमुख भनिएका “हामी नेपाल” एनजिओको कनेक्सन फ्री तिब्बत अभियानसँग रहेको, त्यसको प्रमाणस्वरूप सुशीला कार्कीलाई दलाई लामाले बधाई दिएको समाचार पनि छन् ।
दुःखको विषय त यो छ, यतिखेर सत्ताच्यूत भएका एमाले, काङ्ग्रेस र माओवादी केन्द्रजस्ता राजनीतिक पार्टीले पनि प्रशस्त मात्रामा एनजिओ, आइएनजिओ परिचालन गरिरहेका छन् । उनीहरूमा एनजिओसितको सम्बन्ध यति गहिरो छ, सायद एनजिओबिना उनीहरूको अस्तित्व नै असम्भव छ, खासगरी एमाले ।
“उमेरवाद”
केही वर्षयता नेपाली मिडियाले उमेरहदलाई बढी महŒव दिन थालेका छन् ।नेपालका प्रचलित अनलाइन मिडियाहरू अनलाइन खबर डट कम, रातो पाटी डट कमलगायतले उमेरमाथि आधारित विभिन्न सर्वेक्षण र सामग्री प्रस्तुत गरिरहेका पाइन्छन् ।यसलाई ब्रान्डिङ गरिरहेका हुन्छन् । देशी मिडियाको यस्तो गलत अवधारणालाई विदेशीले उपयोग गर्ने नै भए । अमेरिकी दूताबास र आइएनजिओले यस्ता अभियानमा प्रशस्त मात्रामा भूमिका खेलेका छन् ।त्यसको परिणाम यो भएको छ– ॅउमेरकै कारणले एउटाव्यक्ति सम्पूर्ण रूपमा खराब हुन्छ भने उमेरकै कारणले अर्को व्यक्ति सम्पूर्ण रूपमा ठिक हुन्छ’ भन्ने धारणा गैरराजनीतिक चेत भएका युवा पिँढीमाझ संस्थागत भइरहेको छ ।
२०७९ सालको आमनिर्वाचनका बेला शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दाहालको टाउका प्रदर्शन नै गरेर “नो, नट अगेन” अभियान सञ्चालन गरिएको थियो । त्यो अभियान निरन्तर चल्दै रह्यो । अहिले पश्चिमा समाजशास्त्र र जनसङ्ख्या अध्ययनमा गरिने उमेर विभाजनलाई आधार बनाएर जेनजी (सन् १९९७ देखि २०१०/१२ सम्म जन्मेका पुस्ता) चर्चामा आयो ।नेपालमा भ्रष्टाचार विरुद्ध अभियान सञ्चालन गर्न कुनै विदेशी अभियान चाहिँदैनथ्यो तर जेनजीसँगै “नोप बेबी” अभियान पनि नेपाल छिर्यो ।यसरी नेपालमा “उमेरवाद” लाई विदेशी भूमिकाले पनि प्रभाव पार्दै आएका छन् ।
राजनीतिक वृत्तमा चर्चा हुने गर्दछ, अहिलेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, जति बेला युवा थिए, उनले उमेरहदका कुरा निकै उठाउँथे । त्यो रोग माओवादी आन्दोलनमा व्यापक मात्रामा फैलिन पुग्यो, जसलाई डा. ऋषिराज बरालले “उमेरवाद” को सङ्ज्ञा दिएका थिए । यस्तो लाग्दछ, आजभोलि त्यो “उमेरवाद” को बिडो नेपाल कम्युनिस्ट पार्टीको नामबाट विप्लवले धानिरहेका छन् । प्रकारान्तरले यस्तो उमेरवादी अवधारणाले जेनजीलाई फाइदा पुर्याएन भन्न सकिन्न ।
“उमेरवाद” ले एमालेलाई पनि त्यत्तिकै गाँजेको छ । त्यसैले उनीहरूले पहिले नै ७० वर्षे उमेरहद लागु गरिसकेका थिए । भर्खरै सम्पन्न विधान महाधिवेशनले त्यसलाई हटाएको छ । माओवादी केन्द्रमा पनि “उमेरवाद” को चर्चा चर्कै छ ।यस्तो विवाद काङ्ग्रेसमा पनि छ । यता, “उमेरवाद” ले विद्यार्थी सङ्गठनमा प्रशस्त प्रभाव पार्दा ‘उमेरहद’ कायम भएको छ । यद्यपि यो विषय केही फरक हुन सक्छ । कुन वास्तविक विद्यार्थी हो वा होइन छुट्याउन उमेरले पनि काम गर्ला तर पछिल्लो समयमा प्रौढ व्यक्तिहरू नियमित स्कुल जान थालेका छन् ।
समाधान के हो ?
वर्तमान विषम परिस्थितिको समाधान के हो ? के अहिले जेनजीको नाममा विश्वंस मच्याइयो, त्यो समस्याको समाधान हो त ? जेनजीसित नेपालमा विद्यमान गम्भीर समस्याको समाधान छन् त ? पक्कै पनि छैनन् ।आजसम्म उनीहरूले यस्तो साङ्गोपाङ्गो विकल्प प्रस्तुत गर्न सकिरहेका छैनन् । आशा गरौँ, जेनजीले न्यूनतम स्वरूपमा भए पनि राम्रा काम गर्नेछन् । कमसेकम भ्रष्टाचार न्युनीकरणको सवालमा थोरै भए पनि काम गर्नेछन् ।कुशासनको विरुद्धमा थोरै भए पनि काम गर्नेछन् । पक्कै पनि भ्रष्टाचार र कुशासन विरुद्ध सङ्घर्षको नाममा राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, राष्ट्रिय स्वाधीनता, मौलिक अधिकार, समावेशिता, विकेन्द्रीयता, राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रजस्ता मुद्दाबाट जेनजीले आफ्नो ध्यान हटाउने छैन ।जेनजीले यस विषयमा ध्यान दिएन भने नेपाल नामको देश विश्व मानचित्रमा नरहन सक्छ । यतिखेर देश दुई शक्तिशाली साम्राज्यवादी देश चीन र अमेरिकाको माझमा नेपाल पिसिने खतरा बढिरहेका बेला यतातर्फ उनीहरूको ध्यान जानुपर्दछ ।
जेनजीले मुख्यतः भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको रोकलाई मुख्य मुद्दा बनाएको थियो ।के नेपालको मुख्य समस्या यत्ति हो ? राष्ट्रियता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा अहिलेको मुद्दा होइन र? लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता र मौलिक अधिकारको रक्षा मुख्य मुद्दा होइन ? समावेशिता र विकेन्द्रीयतासित जेनजीको कुनै साइनो छैन त ? हिजो आन्दोलनकारी शक्ति हुँदासम्म जेनजीले केही विषयसम्म आफूलाई सीमित गरे पुग्दथ्यो । अब सरकार सञ्चालक भएको नाताले जेनजीमा सम्पूर्ण राष्ट्रिय मुद्दा र परराष्ट्र नीतिप्रतिको सही दृष्टिकोण र कार्यक्रम नेपाली जनताले माग्नेछन् किनकि देशमा जेनजी मात्रै छैनन्, बेबी बुमर (सन् १९४६–१९६४), जेन एक्स (सन् १९६५–१९८०, मिलेनियल (सन् १९८१–१९९५/९६), जेन अल्फा (सन् २०१०–२०२४) र जेन बिटा (सन् २०२४ पछि) पनि छन् ।शासकवर्गको रूपमा जेनजीले यी सबैका समस्याको समुचित समाधान दिनुपर्ने हुन्छ ।
२०८२ भदौ २९ गते
बुढानीलकण्ठ १०, काठमाडौँ