लक्ष्मण बेलबासे ##
भाइरलको युक्तिले नेपालको राजनीति र समाजमा पनि गहिरो प्रभाव पऱ्यो । हरेक भाइरललाई समाजले नायक देख्न थाल्यो । यसले गर्दा समाजमा यस्तो माइन्ड सेट भयो, राजनीतिक दलबाट केही हुँदैन । यी सबै दल र सबै नेता खराब छन् । अब दलको विकल्प व्यक्ति खोज्न थालियो । दल हैन, व्यक्तिप्रधान हुन थाल्यो ।
न सङ्गठन, न विचार, न सिद्धान्त, न सुरु, न गन्तव्य । यस्ता व्यक्ति देश परिवर्तनका वाहकको रूपमा सम्भावित नेताको रूपमा चित्रित हुन थाले । यस्तै व्यक्ति रातारात अब देशको लिडर हुने लाइनमा लागेका छन् ।
एउटा राजकुमारलाई पनि योग्य शासक बनाउन दरबारभित्र हर प्रकारका शिक्षादिक्षा दिने गरिन्थ्यो । युद्ध, तालिम, अर्थशास्त्रलगायत हरेक पक्षमा योग्य भएपछि मात्र राजा घोषणा गरिन्थ्यो ।
हामी लोकतन्त्रका धेरै अभ्यास गरेको अनुभव गरिसकेर पनि लिगलिगकोटको राजा छनौट प्रक्रियालाई पनि पछाडि पार्दै प्रधानमन्त्रीको आवेदन खुलाएका छौँ । जो सामाजिक सञ्जालमा भाइरल छन्, तिनै सम्भावित उम्मेदवार बनेका छन् ।
समाजमा बेथिती, विसङ्गति र असन्तुष्टि थुप्रै छन् । यसको कारण के हो ? यसका लागि हामी आफै कत्तिको जिम्मेवार छौँ, कहिले फर्केर हेर्दैनौँ । सरकार भ्रष्ट छ नै । यो छर्लङ्गै भएको कुरा भयो ।
आकाशेपुल मुनिबाट मोबाइलमा गफ गर्दै बाटो काट्ने हामीले दुर्घटना भएपछि चक्काजामको बाटो रोज्छौँ र सरकारलाई धारेहात लाउन थाल्छौँ । गल्ती गर्छौं । ट्राफिकले जरिवाना लिन खोज्छन् । हामी अर्कै बाटो खोज्छौँ । सरकारलाई ५०० रुपियाँ तिर्नुभन्दा ट्राफिकसँग २०० रुपियाँमा डिल गर्न सफल भयौँ भने आफूलाई चलाक र बहादुर ठान्छौँ । अलि पल्तिर पुगेर पोस्ट गर्छौं भ्रष्ट सरकार । हामी कति जिम्मेवार छौँ त । हामी जस्तो छौँ, हाम्रो बिम्ब सरकार अर्थात् नेतृत्वमा देखिन्छ नै ।
नेता पनि कतैबाट तप्किएको हैन । यही समाजको उत्पादन हो । यो समाजका गुण उसमा पनि हुन्छन नै । अर्काको सम्पत्ति मौका पर्दा गोजी भरेर हिँड्ने, केही नभए एउटा स्याउकै दाना भए पनि झोलामा हाल्ने हाम्रो असली चरित्र पनि विभिन्न आन्दोलनमा देखिएका छन् । हामी पनि असल नागरिक बन्ने थोरै भए पनि कोसिस त गरौँ । सधैँ अरूको गोटी बनेर आफ्नै सार्वजनिक सम्पत्ति खरानी पारेर कसलाई जित्यौँ ? अब पनि संसारभरि हाम्रो परिचय यस्तै दिने हो ?
अरूले गरिखाएको देख्न नसक्ने हामीकहाँ को बस्छ लगानी गरेर ? को आउँछ थैलो बोकेर लगानी गर्न ? अनि कहाँबाट सिर्जना हुन्छ रोजगारी ? बेथिति छ । असमानता छ । त्यसको निदानको पनि वैधानिक बाटो खोजौँ । हरेकपटक लुटिएर कुन उद्योग टिक्न सक्छ ? समय छँदै सचेत बनौँ ।
तपाईंहामी इमानदार भए मात्रै खबरदारी गर्न सक्छौँ । यो घुसपैठ र बदनामी गर्नेहरूको जेनजी पुस्ताले पक्कै पनि गतिलो हिसाबकिताब राख्ने नै छ । आशा गरौँ, जेनजीले देखाएको उच्च साहसले अवसरवादी शक्ति पराजय हुनेछ र उच्च नैतिकताको विकास हुनेछ । रूपान्तरणको अगुवा पनि जेनजी पुस्ता नै हुनेछ । खबरदारी पनि अवश्य तपाईंहाम्रै कर्तव्य हो ।
हाम्रो देश यसै पनि युगौँदेखि भूराजनीतिको चलखेल बाट प्रभावित हुँदै आएका थुप्रै उदाहरण छन् । यो बेला पनि कठिन छ । वास्तविक नक्साको अन्तर्राष्ट्रियकरण हुनु, सी जिनपिङ, पुटिनलगायत अमेरिका विरोधीसँगको प्रधानमन्त्रीको भेटघाट तथा सम्बन्ध विस्तार हुनु, विभिन्न शक्तिकेन्द्रको असन्तुष्टि पोखिएको पनि हुन सक्छ । घुसपैठमा कस्ता कस्ता शक्ति घोलिएर आए ? भोलि घटनाक्रमले पुष्टि गर्दै जाला । पशुपतिसमेत लुट्न, जलाउन तयार नेपाली जत्था देख्दा सुइ धेरैतर्फ फर्किन्छ ।
अर्को कुरा, यो देशको शासन चलाउनेका गुप्तचर निकायको क्षमता देखेर मलाई मात्र हैन, सबैलाई अचम्म पक्कै लाग्छ होला । देशैभरि असन्तुष्टिको यति धेरै बारुदको ढेर जम्मा भइसक्दा पनि सुइँको समेत नपाउने सरकारी निकाय, आत्मरतिमा रमाउने सरकार र सत्ताबाहिर हुनुको पीडा भुलाउन जे पनि गर्न तयार प्रतिपक्ष । आफ्नो दुनो सोझ्याउन हरदम तयार नागरिक समाज । समाजको बहाव नै थाहा नपाउने तथाकथित बुद्धिजीवी र सल्लाहकार । सुरक्षा व्यवस्था कायम गर्न साइत हेरेर मात्र मैदानमा उत्रने सुरक्षा निकाय—गज्जब को संयोग परेको छ ।
अहिलेको जेनजी आन्दोलनको पनि बिउ अन्तैको भए पनि उत्पादन यही समाजको हो । हाम्राजस्तै विभिन्न देशमा प्रयोगमा आइसकेको मुभमेन्टको प्रभाव हो । यहीँको बेथिती र भ्रष्टाचारले आक्रान्त असन्तुष्टिको मलजलले हुर्काएको हो । जेनजीका माग सबैका मनमनका माग थिए । जेनजीमार्फत् व्यक्त भएका थिए । देशकै मुद्दा जेनजीले बोकेका थिए । निश्चल मन, निस्वार्थ भावना बोकेर आन्दोलनमा होमिएका जेन्जीको भावनामा खेलेर स्वार्थका रोटी सेक्ने यिनै भाइरलको धेरै भूमिका घटनाक्रमले पुष्टि हुँदै गएको छ ।
जेनजीको उद्देश्य पुलिससँग भिड्ने छँदै थिएन । उनीहरू सरकारसँग आफ्ना माग राख्न गएका थिए । जेनजीलाई मोहरा बनाएर आफ्ना दुष्कर्मका प्रमाण मेटाउन अदालत जलाउनेको दुष्कर्मबाट नै यो कुरा प्रमाणित हुन्छ ।
रातारात यो देश सिङ्गापुर बनाउने जादुको छडी कसैको हातमा हुने छैन । सुन्दर सपना देख्ने अधिकार हामी सबैसँग छ र ती सपना पूरा गर्न पनि हामी सबैको उत्तिकै इमानदार प्रयास र मिहिनेत चाहिन्छ भन्ने कुरा सबैले बुझ्नु उत्तिकै जरुरी छ ।
सरसर्ती हेर्दा जित जेनजी भाइबहिनीकै भएको छ र बलिदान पनि उनैले दिएका छन् । नचाहँदा–नचाहँदै पनि देशले हारेको पनि छ तर पनि सत्ताले जेनजीको अगाडि घुँडा टेकेको छ । जेनजीका माग सबै सर्व स्वीकार्य छन् । तुरुन्तै कार्यान्वयनको बाटोमा लैजानुको विकल्प खोज्नु पनि हुँदैन तर नेपालको राजनीतिको वर्तमान अवस्थामा लोकतन्त्रको विकल्प लोकतन्त्र र दलको विकल्प दल नै हो । अन्य बाटो खोज्न थाल्यौँ भने यो उचित समय हो भन्ने मलाई लाग्दैन । ती आत्मघाती पनि हुन सक्छन् । देश दुर्घटनाको बाटोमा जान पनि सक्छ । देश धेरैपटक स्वार्थसमूहको खेलौना बनिसकेको छ ।
सचेत हुनु जरुरी छ, अबको बाटो पनि लोकतान्त्रिक नै हुनुपर्छ । लोकतन्त्रमा कसैलाई निषेध गरेर जान्छु भन्नु नै लोकतन्त्र विरुद्धको कुरा हुनेछ । त्यसैले यो संविधानलाई जीवन्त राख्दै यसको संशोधनको बाटो नै उत्तम बाटो हो । यही संविधान भित्रबाटै जेनजीका माग पूरा गर्ने वैधानिक बाटो खोजिनुपर्दछ ।
दशकौँदेखि यो राज्य दोहनमा संलग्न हरेक नेता–कर्मचारी तथा अन्य सबैको को सम्पत्ति छानबिन गरेर राज्यकोषमा जम्मा गर्दै जाँदा राष्ट्रिय सम्पत्तिको क्षतिको भरपाइ हुँदै जानेछ र पुनःनिर्माण सहज हुनेछ । फेरि पनि जेनजीको जितलाई खोसेर सिन्दुर लाउने अरू कोही हुन पाउने छैन । प्रयास पक्कै पनि भइरहेको छ । त्यसैले सबै जेनजी भाइबहिनी पक्कै पनि तपाईंहरू परिपक्व नै हुनुहुन्छ । विवेकसम्मत निर्णय गरेर जति सक्यो, त्यति चाँडै यो देशलाई निकास दिनु नै हुनेछ । यो देशको राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता र अखण्ड नेपाल सर्वोपरि हो । यी कुरामा कहीँ कतैबाट आँच मात्रै पुऱ्याउने चेष्टा हुन्छन् भने राष्ट्रिय मुक्ति आन्दोलनको लागि सबै नेपाली तयार हुनुपर्दछ ।
फेरि पनि वीर सपुतको बलिदान खेर जाने छैन । वीर सहिदप्रति हार्दिक श्रद्धाञ्जली । घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना तथा शोकसन्तप्तप्रति हार्दिक समवेदना ।