धनवीर पुनमगर##
Advertisement
मैले हेर्दाहेर्दै
मेरो आस्था
धुवाधुवाँ हुँदै गयो,
उज्यालोको खोजीमा हिँडेका पाइलाहरू
अँध्यारो भित्तामा ठोक्किँदै गइरहे।
विश्वासको मन्दिरमा चढाएको फूल
कसैले लुटेर लग्यो,
राखेको दियो कसैले निभाइदियो,
अनि बाँकी रह्यो—
अर्को बिहान नआउने भयावह शंका ।
मैले हेर्दाहेर्दै
आकाशको रङ बदलिन थाल्यो,
सपना च्यातिएको कागज जस्तै
वर्षातको पानीमा भिजेर हराउँदै गयो।
विश्वासको रुखमै
पात झरे, हाँगा टुटे,
मेरो मन चीत्कार गर्यो—
तर सुनिदिने कान
सबै आफ्नै शोरमा हराइरहे ।
मैले हेर्दाहेर्दै
मेरो आस्था धुवाधुवाँ हुँदा
भित्र कतै नसम्झिएको आगो बल्यो,
र त्यही आगोले मलाई झिसेली दियो
आभास भयो—
आस्था अरूमा होइन,
आफ्नो मुटुमा खोज्नु पर्दो रहेछ।