काठमाडौँ । युगदर्शनलाई प्राप्त जानकारी अनुसार बुटवल, प्यूठान, अर्घाखाँची र सुर्खेतस्थित कार्यालय आगजनी भएको छ । एकाएक आएको जेनजी भनिने समूहले २०८२ भदौ २४ गते मङ्गलबार दिउसो तीनै जिल्लाका कार्यालयमा आगजनी गरेको हो ।
बुटवल,
बुटवल उपमहा नगरपालिका वडा नं. ६ चाँदमारीस्थित लुम्बिनी प्रदेश कार्यालयका तीनओटा तलाका सम्पूर्ण फर्निचर, कागजात, कम्प्युटर, दराज, पुस्तक लगायतका सामग्री बाहिर निकालेर आगो लगाइएको कम्युनिस्ट सङ्ग्रहालयका अध्यक्ष चेतनाथ आचार्यले जानकारी दिनुभयो ।
‘भवनको तलाका सबै सिसा फुटाइएको छ । पानीका पाइप फुटाइएको छ । फर्निचर, कागजात, कम्प्युटर, पुस्तकलगायत सबै सामग्री बाहिर निकालेर जलाइएको छ’ आचार्यले युगदर्शनलाई जानकारी दिनुभयो ।

प्यूठान,
मल्लरानी गाउँपालिका खलंगास्थित जिल्ला कार्यालयका सम्पूर्ण कोठामा रहेका फर्निचर, कागजात, कम्प्युटर, दराज, पुस्तक लगायतका सामग्री माथि छतमा लगेर आन्दोलनकारीहरूले आगजनी गरेका छन् ।
‘छतमा रहेको पानी टंकी, कुर्चि लगायत कार्यालयका कम्यूटरसमेतमा आन्दोलनकारीहरूले आगो लगाई जलाई दिए’ राजमो नेता बोम बहादुर खत्रीले युगदर्शनलाई जानारी दिनुभयो ।
अर्घाखाँची,
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ मसाल बजारस्थित राजमोको जिल्ला कार्यालय पनि तोडफोड र आगजनी गरिएको छ ।
‘प्रदर्शनकारीले बिहानआएर सिसा फोरे’ प्रगतिशील पत्रकार सङ्घका केन्द्रीय सचिव गोपालप्रसाद भट्टराईले भन्नुभयो– ‘पछि आएर सम्पूर्ण फर्निचर, सोफा, दराज, कागजात, कुर्सीलगायतका सामान बाहिर फाले । त्यस पछि तिनै सामान खोलानेर पुर्याएर आगजनी गरे ।’

सुर्खेत,
सुर्खेतमा पनि वीरेन्द्रनगर नगरपालिका–६ गोदाम लाइनस्थित राजमोको जिल्ला कार्यालयमा आगजनी गरिएको छ ।
राजमो केन्द्रीय सदस्य रत्नविक्रम प्यासीका अनुसार प्रदर्शनकारीले कार्यालयका सबै सामानमा आगजनी गरेका छन् ।
‘हाम्रो कार्यालयका कुनै सामान बाँकी छैनन्, सबै आगजनीमा डढेर ध्वस्त भएका छन्’ उहाँले भन्नुभयो ।