काठमाडौँ । सन् १८१६ मा आविष्कार भएको परम्परागत स्टेथोस्कोप दुई सय वर्षभन्दा बढी समयदेखि चिकित्सकको प्रमुख उपकरण बनेको छ तर अब इम्पेरियल कलेज लन्डन र इम्पेरियल कलेज हेल्थकेयर एनएचएस ट्रस्टका अनुसन्धानकर्ताले कृत्रिम बुद्धिमत्तासहितको नयाँ पुस्ताको स्टेथोस्कोप विकास गरेका छन्, जसले १५ सेकेन्डमै मुटुसम्बन्धी तीन गम्भीर रोग पत्ता लगाउन सक्ने दाबी गरिएको छ ।
उक्त एआई स्टेथोस्कोपले हर्ट फेल्योर, मुटुको भल्भ बिग्रिने रोग र अनियमित मुटु धड्कन (अट्रियल फिब्रिलेसन) तुरुन्तै पहिचान गर्न सक्नेछ । उपकरणले मुटुको धड्कन र रगतको प्रवाहमा मानवीय कानले सुन्न नसक्ने सूक्ष्म भिन्नता विश्लेषण गर्नुका साथै इलेक्ट्रोकार्डियोग्राम (इसिजी) पनि लिन्छ ।
यस प्राविधिक उपलब्धि स्पेनको म्याड्रिडमा सम्पन्न युरोपियन सोसाइटी अफ कार्डियोलोजीको वार्षिक सम्मेलनमा प्रस्तुत गरिएको हो ।
परीक्षणमा सफल
करिब १२ हजार बिरामीलाई सहभागी गराएर बेलायतभरका २०० भन्दा बढी जी.पी. (सामान्य चिकित्सक) क्लिनिकमा परीक्षण गरिएको थियो ।
नयाँ प्रविधि प्रयोग गरेर जाँच गरिएका बिरामीमा हर्ट फेल्योर पत्ता लाग्ने सम्भावना दुई गुणा बढी देखिएको अनुसन्धानकर्ताले बताएका छन् ।
अट्रियल फिब्रिलेसन पत्ता लाग्ने सम्भावना तीन गुणासम्म बढेको छ भने मुटुको भल्भ बिग्रिने रोग पहिचान हुने सम्भावना पनि करिब दुई गुणाले बढेको छ ।
विशेषज्ञको भनाइ
इम्पेरियल कलेज लन्डनका डा. पाट्रिक बैस्टिगरले भने– ‘२०० वर्षदेखि स्टेथोस्कोपको डिजाइनमा खासै परिवर्तन भएको थिएन । अहिले भने १५ सेकेन्डमै एआईबाट नतिजा दिने स्मार्ट स्टेथोस्कोप आएसँगै ठुलो प्रगति भएको छ ।’
अमेरिकी कम्पनी इको हेल्थले निर्माण गरेको यो उपकरण खेलको पत्ताजति आकारको छ । बिरामीको छातीमा राखेर मुटुको ध्वनि र धड्कन रेकर्ड गर्ने यो उपकरणले सङ्कलित डाटा क्लाउडमा पठाउँछ, जसलाई एआईले विश्लेषण गरेर सम्भावित जोखिमको नतिजा स्मार्टफोनमा फर्काउँछ ।
यद्यपि अनुसन्धानकर्ताले यसलाई शङ्का लागेका बिरामीमा मात्र प्रयोग गर्न सुझाव दिएका छन् किनकि गलत नतिजा आउने जोखिम पनि रहन्छ ।
भविष्यको सम्भावना
ब्रिटिस हर्ट फाउन्डेसनका डा. सोन्या बाबु–नारायणका अनुसार अझै चाँडो रोग पहिचान गर्न सकिने भएकाले बिरामीले समयमै उपचार पाउनेछन् र लामो समयसम्म स्वस्थ जीवन जिउन सक्नेछन् ।
त्यसैगरी, एनआइएचआरका प्रोफेसर माइक लुइसले भने– ‘यो उपकरणले स्थानीय चिकित्सकलाई समुदायमै समस्या पत्ता लगाउन सघाउँछ । यसलाई स्वास्थ्य क्षेत्रमा ठुलो गेम चेन्जरका रूपमा लिन सकिन्छ ।’ (स्वास्थ्यखबर)