मोहनविक्रम सिंह ##
सन्दर्भ ‘कामरेड जलजला’ उपन्यास को पच्चिसौँ अङ्क पूरा भएर यो छब्बिसौँ अङ्क सुरु हुँदैछ । त्यसरी त्यो पुस्तकको आधा भाग पूरा भएको छ । ती लेखहरूको पचास अङ्क पूरा भएपछि ती सबैलाई मिलाएर पुस्तकको रूपमा प्रकाशित गरिनेछ ।
कामरेड जलजलाको दिल्लीको एउटा बस दुर्घटनामा मृत्यु भइसकेको थियो । आफ्नो मृत्युभन्दा पहिले उनले (कामरेड जलजलाले) अजितलाई र उनले (अजितले) उनलाई पठाएका पत्रहरू उनलाई दिएकी थिइन् । ती सबै पत्र पहिले फैजावादका एक जना मित्र इस्लाम खाँकहाँ राखिएका थिए । कामरेड जलजला र उनी सँगै इस्लामको घरमा गएका थिए र जलजलाले सबै पत्र उनलाई नै राख्न दिएकी थिइन् र उनलाई ती पत्र पढ्नका लागि अनुमति पनि दिएकी थिइन् । आज उनले ती पत्र पढ्न थालेकी थिइन् । उनको मुख्य ध्यान कामरेड जलजलाले अजितलाई लेखेका पत्रहरू पढ्नेतिर नै थियो । त्यसरी उनले जलजलाबारे नै बढी अध्ययन गर्न चाहन्थिन् ।
उपन्यासमा लेखिएको थियो– “कामरेड जलजला र अजितमाथि कारबाही भएपछि उनीहरू दुवै जनाको निन्दा गरेर कैयौँ आरोप लागेका थिए । अजित ता टाढा थिए, दक्षिण भारतको चेन्नई र केरलामा । त्यसकारण मानिसले उनीहरूबारे गरेका टिप्पणी, आरोप वा हल्लालाई उनले सुन्नुपर्दैनथ्यो तर कामरेड जलजलाले लगातार तिनीहरूको सामना गर्नुपर्दथ्यो । त्यसैले उनी अत्यन्त क्षुब्ध वा उत्तेजित भएको कुरा उनका पत्रहरूबाट थाहा हुन्थ्यो ।”
उनीहरूका विरुद्ध भएको टीकाटिप्पणी, आरोप र हल्लाबाट उनी कति धेरै क्षुब्ध वा व्यथित भएकी थिइन् ? त्यो कुरा उनले अजितलाई पठाएको आफ्नो एउटा पत्रमा लेखेका यी पङ्क्तिबाट थाहा हुन्छ, “यहाँ आएका सबै जनाले मलाई पागल नबनाई छाड्ने छैनन् ।” त्यस सिलसिलामा अगाडि लेखिएको थियो– “अब सबै मिलेर किन मलाई मार्न खोज्दैछन् ? तर मैले हिम्मत हारेकी छैन ।”
अर्को एउटा पत्रमा उनले लेखेकी थिइन्– “कहिले निराश हुन पुग्छु । मरुँ मरुँ पनि लाग्छ । मर्ने उपाय छैन । तपाईंलाई सम्झेर रुन मन लाग्छ । आजकल धेरै रुने गरेकी छु । यसपालि भेट भएन भने त म ज्यादै निराश हुनेछु । तपाईंको छातीमा घोप्टो परेर रुन पाए छाती अनि हल्का हुने थियो कि ? कहिले सम्भव होला ?”
उपन्यासमा लेखिएको थियो– “बाहिर कैयौँ प्रकारका हल्ला चलिरहन्थे । त्यस प्रकारका हल्लामा कुनै बेला अजितलाई मार्ने र कुनै बेला कामरेड जलजलालाई समाप्त गर्ने हल्ला पनि चल्थे । खास गरेर अजितबारे चल्ने त्यस प्रकारका हल्लाबाट उनी बढी आतङ्कित र चिन्तित हुन्थिन् ।”
उनले एउटा पत्रमा अजितलाई एकदम सतर्क हुन भनेकी थिइन् । एउटा पत्रमा उनले उनलाई (कामरेड जलजलालाई) खतम गर्नका लागि ‘जाल’ रचेको हल्ला सुनेको कुरा उल्लेख गरेकी थिइन् । त्यो कुरा कहाँसम्म सत्य थियो ? पक्का थिएन । त्यसबारे पत्ता लगाउन कोसिस गर्ने कुरा उनले लेखेकी थिइन् ।
त्यस सन्दर्भमा उपन्यासमा लेखिएको थियो– अजित वा आफ्नाबारे चलेका टीकाटिप्पणी आरोप वा हल्लाबाट जलजलालाई धेरै दुःख लाग्थ्यो । उनलाई चोट पुग्थ्यो । त्यस्ता कैयौँ कुरा अजितलाई लेखेर पठाउँथिन् । त्यसको जबाफमा अजितले लेख्ने गर्दथे– कसैसित नरिसाउनू, झगडा नगर्नु आदि आदि । त्यसबाट पनि कामरेड जलजलालाई दुःख पुग्थ्यो वा रिस पनि उठ्थ्यो । उनले उत्तेजित भएर अजितलाई लेख्थिन्– “तपाईंलाई पनि कसैका बारेमा केही भन्नुहुन्न । अबदेखि केही पनि लेख्दिनँ ।”
उपन्यासमा त्यस सिलसिलामा अगाडि लेखिएको थियो– “उनका पत्रबाट थाहा हुन्थ्यो, चौतर्फी हमलाका बेलामा पनि उनीभित्रको कुनै शक्तिले रुनु, कराउनु वा बहुलाउनुबाट उनलाई रोकिरहन्थ्यो । नचाहँदा–नचाहँदै पनि उनलाई हँसाउँथ्यो । उनलाई दृढ भएर क्रान्ति र पार्टीका लागि सम्पूर्ण जीवन होम्नका लागि प्रेरणा दिन्थ्यो । कुनै बेला उनी रुन्थिन्, कुनै बेला निराश हुन्थिन्, कुनै बेला आत्तिन्थिन् तर उनी वास्तवमा के थिइन् ? त्यो कुरा थाहा पाउनका लागि उनका कुनै बेलाका क्षणिक आवेगलाई होइन, उनको सम्पूर्ण जीवनलाई नै बुझ्नुपर्ने आवश्यकता थियो ।”
उनले एउटा पत्रमा लेखेकी थिइन्– “उनीभित्रको कम्युनिस्ट नैतिकताले नै उनलाई सबै प्रकारको प्रतिकूल परिस्थितिमा पनि दृढ भएर अगाडि बढ्नका लागि शक्ति दिइरहेको थियो ।”
साथीहरूको आफूप्रतिको अपमानजनक र आक्रमण व्यवहारबाट उनी रिसाउँथिन् र कुनै बेला रुन्थिन् पनि तर उनले आफूलाई सन्तुलित राख्ने तथा साथीहरूप्रतिको व्यवहारलाई सकारात्मक र मैत्रीपूर्ण पनि बनाउने प्रयत्न गर्दथिन् । अजितलाई पठाएको एउटा पत्रमा उनले लेखेकी थिइन्– “मप्रति साथीहरूको यस्तो सोचाइ भयो भन्दैमा म उहाँहरूसँग बाझ्न जान्न बरु भविष्यसम्म आफ्नो कार्यद्वारा जबाफ भने दिई नै रहनेछु ।” उनको त्यो भनाइमा उनीभित्र उम्लेको असन्तोष र क्षोभ पनि थियो र त्यसका साथै उनको मनभित्रको दृढता तथा प्रतिबद्धता र जिम्मेवारीबोधको भावना पनि ।

अजितलाई पठाएको एउटा पत्रमा उनले लेखेकी थिइन्– “बुबाको पत्र आयो… । मेरो चीर सपना तिमीलाई रणचण्डी बनाउने सपना पूरा गरिदिऊँ भनेर लेख्नुभएको छ… । अजित म उहाँको त्यो सपना पूरा गर्नेतर्फ नै हुनेछु । आजको स्थितिका बाबजुद आफूलाई इमानदार, क्रान्तिकारी साबित गर्नेछु । यही त तपाईंको पनि मप्रतिको सपना हो† हैन र ? म बुबाका साथै तपाईंको इच्छा पूरा गर्न कार्यरत हुनेछु । म निराश भएकी छैन । मेरो अजित, मेरो साथी । ममाथि विश्वास गर्नुहोस् । म हरतरहबाट आफूलाई तपाईंको योग्य पार्ने कोसिस गर्नेछु ।”
एउटा पत्रमा अजितले उनलाई लेखेका थिए– “साना साना कुरामा उत्तेजित बन्ने, अस्थिर हुने, झोकमा आएर अकस्मात् बौलाउन थाल्ने बानी देखेर डर लाग्छ । तिम्रो त्यो बानी देख्दा मलाई कुनै बेला हाम्रो प्रेम बिचमै टुट्ने हो कि भन्ने डर लाग्न थाल्छ । मेरो यही कामना छ, त्यस्तो नहोस् तर तिम्रो लडाकु र विद्रोही बानी मलाई मन परेको छ । त्यसैले त म तिमीलाई माया गर्न पुगेँ ।”
त्यो पत्रको जबाफमा कामरेड जलजलाले लेखेकी थिइन्– “मेरो रिस र झोक त्यति डरलाग्दो छैन, जति तपाईंले लेख्नु भएको छ । त्यो रिस र झोकमा पनि दृढता र धैर्यता लुकेको छ । अबदेखि नडराउनुस् है ।”
कामरेड जलजलाको रिसाहा स्वभावबारे अजित र जलजलाका पत्र पढेपछि सुनन्दालाई लागेको थियो, जलजलाको व्यक्तित्व त्यति सिधा र सरल थिएन, जति उनी बाहिरबाट देखिन्थिन् । उनको व्यक्तित्वका कैयौँ पक्ष र आयाम थिए, जो अझै प्रकट हुन पाएका थिएनन् तर उनको मृत्युले ती सबैको भ्रुणहत्या गरिदियो र ती कहिल्यै प्रकट हुन पाएनन् ।
उपन्यासमा लेखिएको थियो– “कामरेड जलजलाका पत्रबाट थाहा हुन्थ्यो, उनले मानसिक र व्यावहारिक दुवै दृष्टिकोणले नै अत्यन्त अप्ठ्यारो र तनावयुक्त जीवन बिताउनु परिरहेको थियो । अजित र उनी दुवै जना पार्टीको सदस्यताबाट निष्काशित हुनुपरेको थियो र अजित धेरै टाढा गएका थिए । उनी गम्भीर प्रकारको आर्थिक सङ्कटमा थिइन् । उनीमाथि चौतर्फी रूपले आक्रमण भइरहेको थियो । त्यसका साथै परिवार र बुबासित उनको एउटा नजानिँदो प्रकारको अन्तर्विरोध पनि देखा पर्दै गइरहेको थियो । त्यो उनको विवाहसित सम्बन्धित विषय थियो । छिट्टै विवाह गर्नका लागि बुबाको दबाब तर अजितलाई छाडेर अरू कसैसँग विवाह गर्ने कुरा उनले सोच्न पनि सक्दिनथिन् । विवाहका कारणले बुबासित पैदा भएको त्यस प्रकारको अन्तर्विरोधका कारणले पनि उनी धेरै नै तनावमा थिइन्…।”
त्यसबारे अजितलाई पठाएको एउटा पत्रमा उनले लेखेकी थिइन्– “मैले बुबालाई असाध्यै माया गर्छु । यसको अर्थ यो होइन कि उहाँले भन्दैमा म आफ्नो सिद्धान्त र प्यारको बलि चढाउँछु… । उहाँले यसको उल्टो रोल खेल्नु एमा मैले बाध्य भएर उहाँको विरोध गर्न सक्नुपर्छ, गर्नेछु पनि । उहाँले विवाहको प्रस्ताव राखेमा मेरोतर्फबाट शान्तिपूर्ण तरिकाबाट सुल्झाउने प्रयत्न हुनेछ… । नमानेमा मेरो भावनामा चोट लाग्नुको बाबजुद आफ्नो पार्टी, क्रान्ति र प्यारका लागि उहाँसँग (बुबासँग) सम्बन्ध तोड्न सफल हुनेछु ।”
कामरेड जलजलाको त्यो पत्र पढेर सुनन्दा एकदम भावुक मात्र होइन, स्तब्ध पनि भइन । ती पङ्क्ति पढेर उनलाई लाग्यो, कामरेड जलजला सामान्य होइन, असाधारण महिला थिइन् । सिद्धान्त र प्रेमलाई उनले अरू सबै कुराहरू, यहाँसम्म कि आफ्नो बुबाप्रतिको प्रेमभन्दा पनि धेरै माथि राखेकी थिइन् । सुनन्दाले सोचिन्, त्यस प्रकारको विचार प्रकट गर्ने बेलामा उनको मनमा कति धेरै पीडा भएको थियो होला ? कति धेरै द्वन्द्व चलेको थियो होला ? तैपनि जुनसुकै अवस्थामा पनि उनी आफ्नो सिद्धान्त, पार्टी र क्रान्ति तथा प्रेमप्रति दृढ र सच्चा रहने कुरामा प्रतिबद्ध थिइन् । उनका मनमा कामरेड जलजलाप्रति धेरै नै आदर र श्रद्धाको भाव पैदा भयो ।
कामरेड जलजलाले आफ्ना पत्रमा नेपालका घटनाबारे अजितलाई समाचार लेखेर पठाइरहने गर्दथिन् । एउटा पत्रमा उनले पुष्पलालको मृत्युको समाचार दिँदै लेखेकी थिइन्– “आजको पत्रमा एउटा दुःखको समाचार लेख्दैछु । त्यो हो, पार्टीका संस्थापक क. पुष्पलालजीको निधन । उहाँ १५–१६ दिन अघिदेखि बिरामी र (दिलको दौरा) भएर दिल्लीमा हस्पिटलाइज हुनुहुन्थ्यो… । मृत्युको बेलामा उहाँका साथमा सहानाजी मात्र हुनुहुन्थ्यो ।
पुष्पलालजीको राजनीति गलत थियो, छ । त्यसको आलोचना हामीले गरेका थियौँ, गरिरहने छौँ । त्यसका बाबजुद उहाँको नेपाल कम्युनिस्ट पार्टीप्रतिको जति पनि त्याग र योगदानको जीवन छ, त्यसलाई सम्झेर आउँदा उहाँको मृत्युले अवश्य पनि नेपाली कम्युनिस्टलाई दुःख लाग्नु स्वाभाविक नै हो… । किन हो कुन्नि, पिएलजीको पत्नीको वेदनाको अनुमान लगाई मेरो दिल भारी भइरहेछ ।”
उनले पाकिस्तानमा जुल्फिकार अली भुट्टोलाई फाँसी दिएको विरोधमा काठमाडौँमा चलेको विद्यार्थी आन्दोलनबारे अजितलाई विस्तृत विवरण लेखेर पठाएकी थिइन् । त्यस सिलसिलामा कामरेड जलजलाले त्यो आन्दोलनसम्बन्धी विवरण दिँदै आफ्नो पत्रमा लेखेकी थिइन्– “विद्यार्थीको आन्दोलनले देशमा भयानक रूप लिएको थियो । यातायात रोकिएको थियो । बाटोमा पुल तोडिएका थिए । सरकारले निर्ममतापूर्वक आन्दोलनलाई दबाइरहेको थियो । कैयन् विद्यार्थीको लास गायब थियो । विद्यार्थीले मण्डले र सिपाहीलाई काठमाडौँ, जनकपुर, विराटनगर, चितवन, पोखरा सबै ठाउँमा गोदिरहेका थिए ।”
एउटा पत्रमा उनले झापालीले उनलाई कोअर्डिनेसनको पक्षमा लैजान खोजेको कुराको चर्चा गरेकी थिइन् । सायद उनीहरूमा उनी झापाली समूहलाई समर्थन गर्न तयार हुन सक्छिन् भन्ने भ्रम थियो । त्यसकारण उनले एउटा झापाली समर्थक कार्यकर्तालाई बोलाएर आफ्नो स्थिति स्पष्ट गरिदिएकी थिइन् ।
त्यस सिलसिलामा उपन्यासमा अगाडि लेखिएको थियो– “केही गरूँ भन्ने भावना भएका युवक उग्रवामपन्थी भड्कावमा पर्न पुगेका छन् । यसरी कति युवकको त्याग, बलिदान गलत लाइनले व्यर्थ गराइदिएको छ ।”
कतिपय मानिसले अजितप्रतिको उनको मायालाई मुक्त (छाडा) भएको भनेर आलोचना गरेको कुराको उल्लेख गर्दै अजितलाई पठाएको एउटा पत्रमा कामरेड जलजलाले लेखेकी थिइन् : “साथीहरूले मेरो तपाईंप्रतिको मायालाई मुक्त (छाडा) भनेर प्रमाणित गर्न खोजिरहनु भएको छ । त्यो माया छाडा हो वा सच्चा हो, त्यो त भविष्यले नै बताउँछ । अरूले जसरी सोचे पनि तपाईंले भने मेरो मायाको निस्वार्थता र सच्चाइमा विश्वास गरिरहनु हुनेछ भन्ने विश्वासमा बाँचेकी छु ।”
उपन्यासमा लेखिएको थिया– “जलजला र अजित गम्भीर प्रकारको दुःख र कष्टमा थिए । उनीहरू एकअर्काबाट धेरै टाढा थिए । ती सबै कुराले ता उनीहरू दुवै जनालाई धेरै नै दुःख पुऱ्याउँथ्यो । त्योबाहेक अर्को एउटा समस्या पनि थियो, अजित विवाहित थिए । एउटी पत्नीको पति र छोराछोरीको बाउ ।” त्यो कार्यले पनि उनीहरूको प्रेमलाई केही असहज र अस्वाभाविक बनाएको थियो तैपनि उपन्यासमा अगाडि लेखिएको थियो– “उनीहरूका पत्रबाट थाहा हुन्थ्यो, उनीहरू दुवै जनाले एकअर्कालाई अगाध माया गर्थे ।”
एउटा पत्रमा कामरेड जलजलाले लेखेकी थिइन्– “तपाईंले पत्रमा बौलाही भनेर लेख्नुभएको रहेछ । सत्य यो हो कि म अहिले होइन, जति बेलादेखि तपाईंसँग भेट भयो, त्यति बेलादेखि नै बौलाही भइसकेकी हुँ । तपाईंको मायामा पागल भइसकेकी छु… । एकपटक मेरो छाती चिरेर त हेर्नुस्, त्यो कमजोर दिलमा कसको स्थान उच्च रहेछ ? यो क्षणिक जीवनमा कसको महत्त्व अधिक रहेछ ?”
त्यस सन्दर्भमा उपन्यासमा लेखिएको थियो– “जलजलाको पत्रमा ‘क्षणिक जीवन’ को उल्लेख गरेको पढेर सुनन्दा केही बेर रोकिइन् । अन्तमा उनको छिट्टै नै निधन भयो र उनको जीवन क्षणिक नै साबित भयो । के ती पङ्क्ति लेख्ने बेलामा उनले कल्पना गर्न सकेकी थिइन् होला कि उनको जीवन क्षणिक नै साबित हुनेछ ?”
एउटा पत्रमा कामरेड जलजलाले लेखेकी थिइन्– “तपाईंका शब्दमा एकातिर लाञ्छना र बदनामी, अर्कातिर मेरो मायाका लागि तिमीले कतिका त्याग गर्ने कुरा सोच्दैछौ ? अजित, तपाईंको वाक्यमा मेरो मायाका लागि बिचमा ‘पाउनका’ शब्द थपिदिएकी छु । तपाईंको माया पाउनका लागि अजित तपाईंको माया मेरो जीवन हो भने, त्यो मायाका लागि जति पनि त्याग मेरो निम्ति नै हुन्छ, न कि तपाईंको निम्ति । जब तपाईंबिना मेरो जीवन अधुरो हुन्छ भने तपाईंलाई पाउन गरेको प्रत्येक त्याग र बलिदान पनि मेरो निम्ति नै हुन्छ । हो कि हैन ? अनि मैले तपाईंको मायाका लागि गर्न लागेको यति सानो त्यागलाई तपाईंले देख्नुभएछ । एकपटक आफूलाई हेर्नुहोस् त, मेरो निम्ति तपाईंले कतिका त्याग गर्नुभएको छ । तपाईंको जीवनको अभिन्न अङ्ग भइसकेको कार्यक्षेत्रबाट मैले तपाईंलाई अलग गरिदिएको छु । अजित तपाईंलाई थाहा छैन, मेरो जीवनमा तपाईंको कति ठुलो महत्त्व छ ।”
एउटा पत्रमा उनले लेखेकी थिइन्– “सायद उनको भाग्यमा नै कसैको पत्नी भएर बस्ने लेखिएको रहिन्छ कि क्या हो ? त्यसैले ता आफूले चाहेजस्तो पति पाएर पनि उनी एक्लै बस्नुपरेको थियो ।”
एउटा पत्रमा कामरेड जलजलाले यो स्पष्ट गरेकी थिइन् कि जहाँसम्म मेरो पार्टी र राजनीतिक जीवनमा व्यवधान उत्पन्न भएको छ भन्ने कुरा छ, त्यो सरासर झुटो कुरा हो । त्यस सिलसिलामा उनले अगाडि यो पनि लेखेकी थिइन्– “हालको घटनाले मेरो मनमा पार्टी र राजनीतिक जीवनमा कुनै गत्यावरोध आएको छैन, झन् त्यसमा वेग पैदा भएको छ । त्यसमा विश्वास गर्नुस् । क्रान्ति र पार्टीको लागि आफूलाई हरतरहबाट तयार पार्नेछु । तपाईंको मायाले म हतास बरबाद भएजस्तो (अरूको दृष्टिमा) देखिए पनि भविष्यमा त्यसको असर राम्रो हुनेछ । म बर्बाद भएको छैन, हुने पनि हैन ।”
कामरेड जलजलाको त्यो पत्र पढेर सुनन्दा खुसी भइन् । त्यस प्रकारको कठिन र प्रतिकूल परिस्थितिमा पनि उनी निराश भएकी थिइनन् तर उनमा “झन् वेग” पैदा भएको थियो । भविष्यमाथि उनको अगाध विश्वास थियो । त्यस सिलसिलामा उनले लेखेकी थिइन्– “भविष्यमा त्यसको असर राम्रो हुनेछ तर भविष्यमाथिको त्यस प्रकारको विश्वासलाई मृत्युले बिचैमा चुँडालिदियो र भविष्यमा त्यसको के ॅअसर’ हुन्थ्यो त्यो कुरा कहिल्यै थाहा हुन सकेन ।”
कामरेड जलजला र अजितका सबै पत्र पढेपछि सुनन्दाले सोचिन्– “उनीहरू पार्टीद्वारा कारबाही भएपछि एकअर्काबाट धेरै टाढा बस्नुपरेको थियो । यदि उनीहरू त्यस प्रकारको कारबाहीपछि टाढा टाढा बस्नुनपरेको भए ती पत्र कहिल्यै पनि लेखिने थिएनन् । त्यसकारण उनीहरूमाथिको कारबाही र उनीहरू टाढा टाढा बस्नुपरेकाले नै उनीहरूका बिचमा लामो पत्रव्यवहार भयो । अब कामरेड जलजला थिइनन् । अजित पनि को हुन् ? कहाँ छन् ? त्यो कुराको पनि सुनन्दालाई ज्ञान थिएन तैपनि उनीहरू दुवैका पत्र उनका अगाडि थिए । कामरेड जलजला गइन् तर उनले ती पत्र पछाडि छाडेर गएकी थिइन । त्यसैले उनीहरू दुवै जनाको प्रेम र भावनाबारे उनलाई धेरै ज्ञान हुन सकेको थियो । उनलाई लाग्यो, ती पत्र उनको ठुलो सम्पत्ति थियो । त्यो सम्पत्ति कामरेड जलजलाले उनलाई दिएर गएकी थिइन् । ती पत्र उनको नासो थियो । उनले ती पत्रलाई सधैँ जोगाएर र सुरक्षित राख्नेछिन् ।”
कामरेड जलजलाको मृत्यु भएको कैयौँ दिन बितिसकेका थिए तैपनि सुनन्दाको मस्तिष्कमा अहिलेसम्म पनि उनको तस्बिर घुमिरहेको थियो । उनीसित लखनऊमा भेट भएको, सँगै बनारस गएको, त्यहाँ उनीसित सँगै बसेका, घुमेका, कुराकानी भएका र त्यहाँबाट सँगै लखनऊ फर्केका कैयौँ सम्झना उनको मस्तिष्कमा घुमिरहन्थे ।
उपन्यासमा लेखिएको थियो– “सुनन्दालाई कामरेड जलजलाबारे जे थाहा भएको थियो, त्यसका आधारमा उनका (सुनन्दाका) मस्तिष्कमा जलजलाको व्यक्तित्वको एउटा वृत्तचित्र तयार भएको थियो ।
प्रारम्भमा त्यो चित्र केही सानो सामान्य धमिलोजस्तो थियो तर त्यसले क्रमशः स्पष्ट तथा झन् झन् ठुलो आकार लिँदै गयो र अन्तमा त्यो एउटा बृहत् आकारमा बदलिएको थियो । सायद त्यसको कुनै सीमा थिएन । जति जति उनले कामरेड जलजलाको व्यक्तित्वबारे विचार गर्दै जान्थिन्, त्यसमा कैयौँ नयाँ आयाम थपिँदै जान्थे र उनले कामरेड जलजलाको व्यक्तित्वबारे नयाँ नयाँ कोणबाट विचार गर्नुपर्ने आवश्यकता महसुस गर्न थालिन् । उनको व्यक्तित्वसित सम्बन्धित कैयौँ नयाँ प्रश्न र समस्या थपिँदै जान्थे। तिनीहरूबारे विचार गर्दागर्दै उनका अगाडि उनको व्यक्तित्वसित सम्बन्धित कैयौँ नयाँ प्रश्न र समस्या थपिँदै जान्थे । तिनीहरूबारे विचार गर्दागर्दै उनका अगाडि उनको व्यक्तित्वसित सम्बन्धित कैयौँ नयाँ अज्ञात पृष्ठ खुल्दै जान्थे अथवा कैयौँ नयाँ रहस्यको उद्घाटन हुँदै जान्थ्यो ।
जलजलाको व्यक्तित्वबारे सोच्दासोच्दै उनको ध्यान अकस्मात् बनारसमा कान्ताले भनेको एउटा कुरातिर गयो : “बुबाले दिदीलाई रणचण्डी बताउनु हुन्थ्यो : रणचण्डी ।”
त्यो बेला पनि सुनन्दाको ध्यान यो कुराप्रति गएको थियो । कान्ताले खालि ठट्टाको रूपमा नै त्यो कुरा बताएकी थिइन् । सुनन्दाले त्यो बेला पनि त्यो कुरालाई गम्भीर रूपमा लिएकी थिइन् तर पछि त्यो कुराबाट उनको ध्यान हटेको थियो । पछि जलजलाले अजितलाई केरलामा पठाएको पत्रमा पनि त्यो कुरा उठाएकी थिइन् । त्यो पत्रमा उनले लेखेकी थिइन्– “बुबाले मलाई रणचण्डी बताउनुहुन्छ । तपाईंले पनि मलाई रणचण्डी बनाउन खोज्नुहुन्छ । मैले तपाईंको त्यो सपना पूरा गर्ने प्रयास गर्नेछु ।”
कामरेड जलजलाले लेखेको पत्रको यो भनाइलाई सम्झेपछि सुनन्दा गम्भीर बनिन् । उनले कैयौँ बेरसम्म त्यसबारे सोचिरहिन् । उनले मनमनै प्रश्न गरिन् । त्यो भनाइले जलजलाको व्यक्तित्वबारे के कुरा बताउँथ्यो ? त्यो भनाइले उनको व्यक्तित्वसित कुन प्रकारको सम्बन्ध राख्थ्यो ? सुन्दालाई अकस्मात् यस्तो लागेर आयो, त्यो भनाइले उनको व्यक्तित्वसित गम्भीर सम्बन्ध राख्दथ्यो । त्यो प्रश्नको ठिक जबाफ दिनु त उनका लागि सम्भव थिएन तैपनि उनका बुबाले उनका बारेमा जे भनेका थिए वा अजितले उनका बारेमा जुन सपना देखेका थिए, त्यसलाई हल्का रूपमा लिनु पनि सही हुँदैनथ्यो । त्यस भनाइमा अर्थात् जलजलालाई रणचण्डी बताउने उनको बुवाको भनाइमा, उनलाई रणचण्डी बनाउने अजितको सपनामा वा त्यो सपनालाई पूरा गर्ने कामरेड जलजलाको सङ्कल्पमा कुनै गम्भीर अर्थ थियो ।
उपन्यासमा अगाडि लेखिएको थियो– “त्यही विन्दुमा गएर सुनन्दालाई लाग्यो उनी साँच्चिकै रणचण्डी थिइन् । उनलाई रणचण्डी बनाउने काम सर्वप्रथम उनको बुबाले नै गरेका थिए । उनलाई (सुनन्दालाई) लाग्यो, उनको बुबाले आफ्नी छोरीको व्यक्तित्वलाई उनीभित्र दबेर बसेका अन्तरआत्मालाई ठिकसँग चिनेका थिए । त्यसैले उनले आफ्नी छोरीलाई रणचण्डी बताएका थिए । पछि जलजलाले पनि त्यो कुरालाई आत्मसाथ गरेकी थिइन् र अजितले पनि उनका बारेमा त्यही प्रकारको सपना अर्थात्, उनलाई रणचण्डी बनाउने सपना देख्न थालेका थिए । स्वयम् कामरेड जलजलाले पनि अजितको त्यो सपनालाई साकार रूप दिने सङ्कल्प गरेकी थिइन् । त्यही कुरा उनीहरू दुवै जनाको प्रेमको आधारशिला पनि बनेको थियो ।”
कामरेड जलजलाले बताएकी थिइन् : एकपल्ट उनी र अजित भूमिगत रूपले बढनीभन्दा केही अगाडिबाट नेपाल र भारतको सिमाना पार गरेर नेपालतिर जाँदै थिए । उनीहरू जगदीशपुर, भगवानपुर, शिवपुर र प्युठान दोबाटाको बाटो हुँदै खोलैखोला र जङ्गलको बाटो अर्घाखाँचीको बाटो भएर प्युठानतिर जाँदै थिए । जाबेगाउँको फेदीबाट जङ्गलको बाटो उकालो लाग्दा उनीहरूले एउटा बाघ उभिएको देखे । त्यसलाई देखेर जलजला धेरै आत्तिएकी थिइन् । उनले अजिततिर फर्केर भने कि थिइन्, “अजित झ् तपाईं गइहाल्नुहोस् ।”
अजितले हाँस्दै भने, “तिमी नि ?”
“म पछिबाट आउँछु ।”
“बाघले तिमीमाथि झम्टिए के गर्छ्यौ ?”
“म त्योसित लड्छु । लड्दालड्दै बाघले मलाई माऱ्यो भने पनि केही चिन्ता छैन । तपाईं बच्नुपर्छ । तपाईं बचे मलाई पुग्छ ।”
उपन्यासमा अगाडि लेखिएको थियो– “बाघको प्रसङ्गको त्यो कुरा बताउँदा कामरेड जलजलाले सुनन्दालाई भनेकी थिइन्, पछि अजितले बताएपछि मलाई थाहा भयो । त्यो साधारण चितुवा मात्र थियो र सामान्यतः त्यसले मानिसमाथि आक्रमण गर्दैनथ्यो । दुई/तीन जना मानिस देखेपछि त्यो भागेर नै जान्थ्यो । त्यसैले त्यो बाघबाट कुनै खतरा थिएन तर मैले ता चिडियाखानामा बाहेक अन्त कतै बाघ देखेकी थिइनँ । त्यसैले मैले त्यो बाघलाई देखेपछि हाम्रो ज्यानमा साँच्चिकै खतरा आइलागेको ठानेकी थिएँ ।”
त्यस सिलसिलामा उनले अगाडि भनेकी थिइन्– “त्यो बाघलाई देखेपछि उनी साँच्चिकै भयभित भएकी थिइन् । उनलाई आफ्नो ज्यान जाने कुराको अलिकति पनि डर लागेको थिएन तर उनलाई यो कुराको धेरै चिन्ता लागेको थियो, अजितलाई केही भयो भने ? तर उनले निश्चय गरेकी थिइन्, उनले अजितलाई केही पनि हुन दिने छैनन् ।”
त्यो बेला उनको मनभित्र ठुलो साहस पैदा भएको थियो । एकैपल्ट सयओटा बाघले आक्रमण गरे पनि एक्लै ती सबैसित लड्न सक्छु भन्ने उनलाई लागेको थियो तर त्यो बेला उनले जानभन्दा पनि अजित त्यहाँबाट नहिँडेकोमा उनलाई (कामरेड जलजलालाई) उनीमाथि धेरै रिस उठेको थियो । सक्ने भए उनले उनलाई (अजितलाई) उचालेर सय कोष टाढा फालिदिने थिइन् । त्यसरी उनले अजितलाई बाघबाट बचाउने कोसिस गर्ने थिइन् ।
उनलाई बाघमाथि झम्टिन मन लागिरहेको थियो । उफ्रेर गएर बाघको घाँटी निमोठ्न मन लागेको थियो । त्यसरी उनले त्यो बाघलाई जित्न त सक्दिनथिन् तर त्यसरी केही बेर त्यो बाघलाई अलमलाउन सके पनि अजितको ज्यान बच्न सक्दथ्यो । त्यति भएमा उनको उद्देश्य पूरा हुन्थ्यो र त्यो उनको जीवनको सार्थकता र प्रसन्नताको कुरा हुन्थ्यो ।
त्यो कुरा बताउँदा कामरेड जलजला अकस्मात् जोडले हाँसेकी थिइन् । त्यसपछि उनले भनेकी थिइन्– “आफूले भनेको कुरा सम्झेर मलाई आफै हाँसो लागेर आयो । एकैपटक सयओटा बाघसित पनि लड्न सक्छु भन्ने मेरो भनाइ खालि मेरो भावुकता मात्र थियो । म एउटा बाघसित केही बेर लड्न वा अलमलाउन सक्दथेँ होला तर सयओटा बाघसित लड्ने कुरा मेरो कल्पना मात्र थियो । अजितलाई सयकोष टाढा फालिदिने कुरा पनि सम्भव नै थिएन ।”
सुनन्दाले ध्यानमग्न भएर तथा केही आश्चर्यका साथ कामरेड जलजलाको कुरा सुनिरहेकी थिइन् । त्यो एउटा मात्र प्रसङ्गले पनि यो कुरा प्रस्ट गर्दथ्यो कि उनी वास्तवमा रणचण्डी नै थिइन् । उनलाई यो सोचेर धेरै दुःख लागेको थियो कि उनको त्यस प्रकारको व्यक्तित्वको अल्पकालमा नै अवसान भएको थियो र रणचण्डीको रूपमा उनको व्यक्तित्व प्रकट हुन पाएको थिएन ।
अर्घाखाँचीको बाटो हुँदै प्युठानतिर जाँदा बाटामा उनीहरू एउटा घरमा पसेका थिए । त्यहाँ उनीहरूले देखे, एउटी बुढी आमा दुईओटा बच्चाहरू एउटा छोरा र एउटी छोरी सुताएर बसेकी थिइन् । ती दुबै एक वर्षजतिका थिए । छोरा हृष्टपुष्ट थियो र छोरी एकदम दुब्ली पातली थिइन् । ती बुढी आमाले बताएकी थिइन् । घरमा एउटा गाई थियो । यसले एक मानाजति मात्र दुध दिन्थ्यो, त्यो सबै दुध छोरालाई मात्र ठिक्क हुन्थ्यो र छोरीलाई पुग्दैनथ्यो । छरछिमेकबाट खोजेर ल्याएको घिउसिउ पनि नातिलाई ठिक्क हुन्थ्यो र नातिनीलाई पुग्दैनथ्यो ।
त्यस सन्दर्भमा उपन्यासमा लेखिएको थियो– “जलजलाले अजितको मुखमा हेरिन् । उनले मुखले केही भनिनन् तर उनको आँखाले धेरै कुरा भनेका थिए । उनको आँखामा केही दुःख थियो । केही पीडाको भावना पनि । छोरीप्रतिको त्यस प्रकारको भेदभावको भावनाबाट उनलाई धेरै चोट पुगेको थियो । उनी निकै रिसाएकोजस्तो पनि देखिन्थिन् ।
अजितले मुखले केही भनेनन् तर कामरेड जलजलाको चेहरा, मुखको भाव र आँखाको हेराइबाट उनलाई यो बुझ्न बेर लागेन कि ती बालिकाप्रतिको त्यस प्रकारको भेदभाव देखेर उनी धेरै नै क्षुब्ध भएकी थिइन ।”
उपन्यासमा अगाडि लेखिएको थियो– “नातिनीप्रति गरिएको भेदभाव कामरेड जलजलालाई असह्य भएको थियो र उनी निकै रिसाएकी थिइन् । त्यसैले उनले तुरुन्तै त्यहाँबाट हिँड्ने कुरा गरेकी थिइनन् ।”
बाटोमा हिँड्दाहिँड्दै एक ठाउँमा एउटा ठुलो रह देखेर अजित त्यसमा पौडी खेल्न पसेका थिए तर त्यसमा भुमरी रहेछ । भुमरीले उनलाई घुमाइरह्यो र बाहिर निस्कन दिएन । त्यो देखेर कामरेड जलजला उनलाई निकाल्न रहमा पस्न थालेकी थिइन् । त्यही बेला एउटा कुमालले चिच्याएर उनलाई रहमा नपस्न भनेर आएर अजितलाई बाहिर निकालिदिए । उनी धेरै पानी पिएर बेहोस भएका थिए । कुमालले पेटमा पटुका कसेर पानी निकालिदिएका थिए र अजित होसमा आएका थिए ।
त्यस सन्दर्भमा उपन्यासमा लेखिएको थियो– “उनले स्वर्ग र देवीदेवतामाथि विश्वास गर्दैनथिन् तर अहिले उनलाई यस्तो भान भइरहेको थियो, त्यो व्यक्ति कतै स्वर्गबाट अजित वा उनीहरू दुवै जनाको रक्षाको लागि आएको देवदूत नै थियो ।”
उपन्यासमा लेखिएको थियो– “कुमालले कामरेड जलजलालाई सोधेका थिए, उहाँ तपाईंको को हुनुहुन्छ ?”
जलजलाले तुरुन्तै नै त्यो प्रश्नको जबाफ दिन सकिनन् । के जबाफ दिने ? उनको अजितसित कुनै नाता पर्दैनथ्यो तर त्यो कुरा सत्य थिएन । उनी उनका सबथोक थिए । सर्वस्व थिए ।
केही बेरपछि उनको मुखबाट आवाज निस्कियो, “पति” । उनले अगाडि भनिन्– “उहाँ मेरो श्रीमान् हुनुहुन्छ ।”
त्यो बताउँदा जलजलालाई धेरै नै खुसी लागेको थियो । उनलाई संसारको सम्पूर्ण सुख प्राप्त भएजस्तो लागिरहेको थियो ।
त्यही बेला अजितले आँखा खोलेर भने– “कामरेड जलजला ।” अजित होसमा आएको र उनलाई कामरेड जलजला भनेर बोलाएको सुनेर उनी धेरै नै खुसी भइन् ।
उनलाई तुरुन्तै गएर अजितलाई अँगालो हाल्न र भन्न मन लागेको थियो– “अजित, मेरो पति झ् उनलाई सयकडौँ हजारौँपल्ट उनको म्वाइँ खान मन लागेको थियो तर उनले त्यसो गर्न सकिनन् । उनका नजिकै कुमालदाइ थिए ।
यस सन्दर्भमा उपन्यासमा लेखिएको थियो– “सुनन्दाले ध्यानमग्न भएर जलजलाका कुराहरू सुनिरहेकी थिइन् । कुमालले अजितलाई रहबाट बाहिर निकालेको, उनी बेहोस भएको, कुमालदाइले सोध्दा उनले अजितलाई आफ्नो श्रीमान् बताएको, उनी होसमा आएर जलजला भनेर सम्बोधन गरेको, त्यसबाट उनी (जलजला) धेरै नै प्रसन्न भएको, उनले मेरो अजित, मेरो पति भन्दै अजितलाई अँगालो हाल्न र म्वाइँ खान मन लागेको तर कुमालदाइ त्यहाँ भएकोले त्यसो गर्न नसकेको र आफ्नो काखमा उनको टाउको राखेर मुसारेको कुरा सुनेर उनी (सुनन्दा) धेरै नै भावुक भइन् । त्यो बेला उनले सुलोचना महाकाव्यमा लक्ष्मीप्रसाद देवकोटाले सुलोचना र अनङ्गको प्रेमप्रसङ्गबारे लेखेका कविताका पङ्क्ति सम्झिइन् । सुनन्दा बसेको ठाउँबाट उठिन् । आफ्नो आलमारीबाट लक्ष्मीप्रसाद देवकोटाको “सुलोचना” पुस्तक झिकेर पढ्न थालिन् ।”
देवकोटाले लेखेका पुस्तक बनारसमा कामरेड जलजलाले उनलाई दिएकी थिइन् र उनले सँगै लिएर आएकी थिइन् ।
सुलोचना र अनङ्गको प्रेमप्रसङ्गको चर्चा गर्दै त्यसमा लेखिएका पङ्क्ति उनले पढिन् :
चन्द्रमा हाँस्तथे माथि पियुषकर मोहन
‘लागे लागे’ भनी ‘मिल्न’ अनङ्ग र सुलोचना
ताजलाई झल्केर पूर्वपट्टि हिमालय
‘प्रेम बिहा’ भन्दै लागे चम्किन सुन्दर
कुर्ल्यो ढुकुर चोरेर सपना अलिकति
पृथ्वीमा टुना जान्ने एक जीव अनन्तको…
अनङ्ग र सुलोचनाको विवाह भएको थिएन । उनीहरू पतिपत्नी थिएनन् तैपनि दुवैले एकअर्कालाई प्रेम गर्दथे । उनीहरूको बिचमा वैधानिक सम्बन्ध नभए पनि उनीहरूका बिचको प्रेमलाई कविले उच्च शब्दमा प्रशंसा गरेका थिए
जलजला र अजितको विवाह भएको थिएन तैपनि उनीहरूका बिचमा उच्च प्रकारको प्रेम थियो । त्यसैले लक्ष्मीप्रसाद देवकोटाले आफ्नो महाकाव्य “सुलोचना” मा लेखेजस्तै त्यो बेलाको दृश्यले उनीहरू कामरेड जलजला र अजितका बिचको ‘प्रेमविवाह’ लाई नै बताउँथ्यो । क्रमशः