काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले रुकुम पश्चिमको हत्या काण्डमा निर्मला पन्त बलत्कार काण्डकै पुनरावृत्ति हुने सम्भावना औँल्याएको छ ।
सो काण्डमा प्रमाणहरु नष्ट गर्ने र घटनाको वास्तविकतालाई बंग्याउन चलखेल भैरहेको मसालले आशंका गरेको छ । नेकपा (मसाल)का प्रवक्त रामप्रकाश पुरीले बुधबार एक वक्तव्य प्रकाशित गरी राजनीतिक चलखेलका कारण सो घटनाका अपराधीहरुले उन्मुक्ति पाउने त होइनन् भनि प्रश्न गर्नुभएको छ ।
यस्तै, मसालले कोरोना संक्रमण नियन्त्रण गर्न प्रभावकारी कदम सञ्चालन गर्न र क्वारेन्टिनलाई सुरक्षित र मापदण्ड अनुरुपको बनाउन पनि माग गरेको छ ।
यस्तो छ वक्तव्यः
‘रुकुम (पश्चिम)को सोती गाउँमा भएको हत्या घटनाका प्रमाणहरुलाई नष्ट गर्ने वा जालझेल गरी घटनाको वास्तविकतालाई बङ्ग्याउने प्रयत्न गरेको देखिन्छ । त्यसप्रकारको प्रयत्नले पहिले निर्मला पन्त बलत्कार हत्याकाण्डको घटनालाई पुनरावृत्ति गर्नेछ र घटनाका दोषीहरु उम्किने सम्भावना रहने छ । निर्मला पन्त बलत्कार हत्याकाण्डका प्रमाणहरुलाई नष्ट गरेर घटनालाई अन्यौलमा पार्नुका साथै अपराधीहरुलाई उम्किने अवसर दिइएको थियो ।
त्यसरी निर्मला पन्त बलत्कार–हत्याकाण्डको घटनाको पुनरावृत्ति रुकुम पश्चिमको उक्त हत्याको घटनामा पनि भयो भने त्यसले देशको सुरक्षा र न्याय प्रणालीप्रति जनताको विश्वासलाई खतम गर्नेछ । त्यसप्रकारको स्थितिमा सामाजिक अपराधीकरणले संस्थागत रुप लिनेछ र अपराधीहरुलाई सँधै उन्मुक्ति पाउने र विजय भइरहने अवसर प्राप्त हुनेछ । अहिले बिभिन्न घटनाक्रमले रुकुम पश्चिमको हत्याकाण्ड सम्बन्धमा निर्मला पन्त बलत्कार हत्याकाण्डको पुनरावृत्तिको सम्भावना अगाडि आएको छ ।
त्यसप्रकारको अवस्था आउन नदिनाका लागि उक्त घटनाप्रति गम्भीर भएर कडाइपूर्वक कदम उठाउनका लागि र दोषीहरुलाई कारवाहीका दायरामा ल्याउनका लागि हामीले सरकारसित माग गर्दछौँ । साथै उक्त घटनाको छानवीनका लागि सरकारद्वारा गठित छानवीन समितिलाई सत्यतथ्य र निष्पक्ष अनुसन्धान गरी वास्तविकतालाई जनसमक्ष ल्याउनका लागि हामीले ध्यान आकर्षण गर्न चाहन्छौँ ।
कैलालीको लम्कीचूहा नगरपालिका–१ पूर्वलम्कीस्थित सहिद स्मृति माविमा बनाइएको क्वारेन्टाइनमा रहेकी महिलामाथि भएको सामूहिक बलत्कार घटनाको हामीले निन्दा र भ्रत्र्सना गर्दछौँ । अहिले विश्व महामारीको रुपमा रहेको कोरना भाइरसको त्रासदीले मानवजातिलाई छटपटीमा पारिरहेको बेलामा क्वारेन्टाइनमा नै महिलामाथि भएको बलत्कारको घटनाले सामाजिक अपराधको कुरुपतालाई अगाडि ल्याएको छ । हामीले उक्त घटनाका दोषीहरुलाई कडा कारवाहीको माग गर्नुका साथै सामाजिक सुरक्षा व्यवस्थाको लागि पनि सरकारको ध्यान आकर्षण गर्न चाहन्छौँ ।
अहिले विश्वमा मानवजातिले कोरना भाइरसको महामारीविरुद्ध संघर्ष गरिरहेको अवस्था छ । यस सन्दर्भमा नेपालका बिभिन्न स्थानमा रहेका क्वारेन्टाइनको अवस्था नाजुक, कमजोर र असुविधाजनक भएको कुरा सार्वजनिक भइरहेका छन् । बिभिन्न क्वारेन्टाइनबाट मानिसहरु भाग्ने वा आन्दोलित भएको देखिन्छ । यी सबै घटनाक्रमले क्वारेन्टाइनहरु असुविधाजनक रहेका छन् भन्ने कुरा प्रष्ट हुन्छ । असुविधाजनक क्वारेन्टाइनमा स्वास्थ्य स्थिति अझ झन् बिग्रने भएकोले जनतामा असन्तोष पनि पैदा हुँदै गएको छ । त्यो अवस्थामा स्थिति अझै जटिल बन्दै जाने सम्भावनालाई अस्वीकार गर्न सकिन्न ।
त्यसैले हामीले सरकारलाई क्वारेन्टाइनहरुको उचित व्यवस्था गरी तिनीहरुलाई सुविधायुक्त बनाउनका लागि माग गर्दछौँ । साधन, स्रोत र आर्थिक क्रियाकलापका आधारमा क्वारेन्टाइनहरुको व्यवस्था र सुविधा उपलब्ध गराउनका लागि स्थानीय तहलाई अहिलेको स्थितिमा सम्भव छैन । त्यसैले क्वारेन्टाइनहरुको सुविधा व्यवस्था मिलाउनका लागि केन्द्र सरकारले नै दायित्व बहन गर्नुपर्दछ र स्थानीय निकायहरुलाई सहयोगी भूमिका खेल्नका लागि परिचालन गर्नुपर्दछ । तर देशका बिभिन्न क्वारेन्टाइनको स्थिति र स्थानीय निकायहरुको गुनासोमाथि विचार गर्दा केन्द्रले त्यसतर्फ ध्यान पु-याएको पाइँदैन । त्यसकारण त्यसतर्फ यथोचित र शीघ्र ध्यान दिएर व्यवस्था मिलाउनका लागि हामीले सरकारको ध्यान आकर्षित गर्न चाहन्छौँ ।
नेपालको राष्ट्रियता, सार्वभौमिकता र स्वाधीनताको पक्षलाई नागरिकताको प्रश्नले गम्भीर प्रभाव पार्ने भएकोले हाम्रो पार्टीले विगतदेखि नै नागरिकता सम्बन्धी सही र कडा नीति अपनाउनुपर्ने आवश्यकतामाथि जोड दिंदै आएको छ । यस सन्दर्भमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको नेपाली पुरुषसित विवाह गर्ने विदेशी महिलालाई निरन्तर ७ वर्ष नेपालमा बसोवास गरेपछि मात्र वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने भन्ने प्रस्तावलाई हामीले समर्थन गर्दछौँ । उक्त प्रस्तावमा सहमति गर्नका लागि हामीले संसदका सबै राजनीतिक संगठन र पक्षहरुलाई पनि अनुरोध गर्दछौँ ।’

