मोहनविक्रम सिंह ##
गोमती एकसप्रेसद्वारा नयाँदिल्ली जङ्क्सनमा पुग्दा रात धेरै नै अबेला भइसकेको थियो । गाडी निर्धारित समयभन्दा धेरै ढिलो पुगेको थियो । त्यसकारण उनलाई लिन आएका साथीहरू कतै देखिएनन् । उनले रेलवे स्टेसनको प्रतीक्षालयको एउटा कोठा लिइन् र त्यहाँ बसिन् ।
उनको सधैँ लागेको बानीजस्तै ४ बजे नै उनका आँखा खुले । उनले एकपल्ट ढोका उघारेर बाहिर स्टेसनतिर हेरिन् । त्यो बेला त्यहाँ सबैतिर शान्त थियो । उनी फेरि आएर आफ्नो बिस्तरामा पल्टिन् तर उनलाई निद्रा लागेन । उनका मनमा कैयौँ कुरा उठ्न थाले । उनको मनमा कैयौँ तर्कवितर्क हुन थाल्यो ।
सर्वप्रथम उनको ध्यान जड र चेतनाको सम्बन्ध वा ती दुबैका बिचमा भएको अन्तरसम्बन्ध र अन्तरविरोधतर्फ गयो । त्यस सन्दर्भमा मुख्य विवाद यो कुरामा थियो : चेतना प्रधान वा भौतिक तत्त्व ? धेरैजसो दार्शनिकले चेतनालाई प्रधान बताउँथे र भौतिक तत्त्वलाई गौण ठान्दथे । कतिपय दार्शनिकले ता भौतिक तत्त्वको अस्तित्वलाई नै सम्पूर्ण रूपले अस्वीकार गर्दथे । उनलाई यो सोचेर आश्चर्य लाग्दथ्यो, आखिर त्यस प्रकारका विचार कसरी उत्पन्न भएका थिए ?
त्यस सिलसिलामा उपन्यासमा लेखिएको छ– “यो कुरा स्पष्ट थियो, चेतना वा जीवन ब्रह्माण्ड वा पृथ्वीको विकासको एउटा विशिष्ट अवस्थामा नै उत्पन्न भएका थिए । पृथ्वीबाहेक ब्रह्माण्डको कमसेकम ज्ञात ब्रह्माण्डको ठुलो भागमा चेतना वा जीवनको अभाव थियो । पृथ्वीमा पनि अर्बौं वर्षपछि चेतना पैदा भएको थियो । त्यसरी यो प्रस्ट हुन्छ, भौतिक पदार्थ प्रधान पक्ष हो चेतनाको अभावमा पनि भौतिक पदार्थको अस्तित्व रहन सक्छ तर भौतिक पदार्थको अभावमा चेतनाको अस्तित्व सम्भव थिएन । के पृथ्वीको जस्तो परिस्थितिमा अन्यत्र पनि चेतना र जीवनको विकास भएको थियो ? कति राम्रो हुन्थ्यो त्यसो भएमा ?”
भौतिक पदार्थको अभावमा न वीर्य उत्पन्न हुन सक्थ्यो, न जीवनको निर्माण । त्यसरी जीवनको निर्माणमा भौतिक पक्षको प्रधान भूमिका रहेको कुरा प्रष्ट थियो तर उनको ध्यान पुनः यो कुरातिर गयो, के जड पदार्थ पनि सम्पूर्ण रूपले भौतिक थियो ? यदि त्यो पूरै भौतिक भएको भए त्यसबाट चेतना कसरी उत्पन्न भयो वा हुन सक्दथ्यो । उनलाई भौतिक जगत् पनि पूरै जड भएजस्तो लाग्दैनथ्यो । उनलाई यस्तो लाग्दथ्यो कि चेतना र भौतिक तत्त्व दुबै एकअर्कासित जोडिएका थिए । निश्चय नै सूर्य, चन्द्र वा आकाशका सबै ग्रह र तारा जड नै थिए तर उनलाई लाग्दथ्यो कि जड पदार्थमा पनि कुनै न कुनै रूपमा चेतना निहित थियो ।
अन्य सबै ग्रह वा ताराभन्दा बेग्लै पृथ्वीमा जीवन थियो तर यदि पृथ्वीमा सूक्ष्म रूपमा चेतना अन्तर्निहित नभएको भए त्यहाँ जीवन निर्माण कसरी हुन सक्दथ्यो ?
त्यस सन्दर्भमा उपन्यासमा लेखिएको छ– “त्यो कुरा सोच्नेबित्तिकै उनले आफ्ना अगाडि भएको सबै भौतिक पदार्थलाई मात्र होइन, सम्पूर्ण विश्वलाई नै चेतनामय रूपमा हेर्न थालिन् । त्यसपछि उनलाई संसार पहिलेभन्दा कैयौँ गुणा सुन्दर र आकर्षक लाग्न थाल्यो ।”
उनको मनमा फेरि यो विचार आयो, सत्य उनले सोचेको भन्दा बेग्लै पनि हुन सक्थ्यो । पहिले भौतिक पदार्थमा चेतना नभएको र पछि भौतिक तत्त्वमा भएको विशेष प्रकारको समायोजनको परिणामस्वरूप नै चेतना उत्पन्न भएको पनि हुन सक्दथ्यो ।
उनको मनमा एकैसाथ परस्पर विरोधी विचार देखा परिरहेका थिए । उनलाई यो ठहऱ्याउन मुस्किल परिरहेको थियो, के सत्य थियो र के असत्य ? त्यस सिलसिलामा उपन्यासमा लेखिएको छ– उनले जुन कुरा सोचिरहेकी थिइन, “ती दुबैमध्ये कुन कुरा सत्य थियो ? कुन कुरा असत्य थियो ? सत्य र असत्य दुवै एकअर्काबाट बेग्लै थिए तर फेरि दुवै कुरा आपसमा मिलेका पनि थिए । सत्यमा असत्य अन्तर्निहित थियो । असत्यमा सत्य अन्तर्निहित थियो…. । जे असत्य थियो, त्यो पनि सत्य थियो किनभने असत्यको अभावमा सत्यको अस्तित्व पनि सम्भव थिएन । जे सत्य थियो, त्यो पनि असत्य थियो, अहिले जुन कुरा सत्य छ, त्यो सधैँ त्यही रूपमा रहिरहँदैनथ्यो ।
उनको ध्यान सूर्य, चन्द्रमा, तारा, पृथ्वी, समुद्र, हिमालय आदितिर गयो तर ती न सधैँ सत्य थिए, न सधैँ सत्य रहनेछन् । त्यो कुरा सोच्दासोच्दै उनको ध्यान स्वयम् आफूतिर नै गयो र उनले सोचिन्– “म आज सत्य छु किनभने मेरो अस्तित्व छ† किनभने म जीवित छु तर म सधैँ जीवित रहने छैन । त्यसकारण आजको सत्य, भोलि असत्य हुन पनि सक्छ ।”
त्यो कुरा सोच्दा उनी केही गम्भीर भइन् र उनलाई केही दःख पनि लागेको आयो । यो कुरा सोच्दा उनलाई धेरै दुःख लागेर आएको थियो कि कुनै दिन उनको पनि अस्तित्व रहने छैन तर फेरि उनले केही धैर्य गरिन् र यो सोचिन्– “सत्यको असत्यमा र असत्यको सत्यमा रूपान्तरण । सायद यो भौतिक जगत्को शाश्वत नियम हो । सायद त्यसैले जीवन पनि त्यो नियमबाट अपवाद हुन सक्दैन । त्यसकारण म पनि त्यो प्राकृतिक वा शाश्वत नियमबाट अपवाद हुन सक्दिनँ ।
“उनले पुनः सोच्दै गइन्, आज जे सत्य छ, त्यो पनि खालि सापेक्ष अर्थमा नै सत्य हो । निरपेक्ष रूपमा त्यो सत्य होइन र रहने छैन । सायद सम्पूर्ण प्रकृतिको त्यही नियम थियो ।”
उनलाई लाग्यो उनका मनमा प्रश्न र तर्कको एउटा लामो सिलसिला उठिरहेको थियो । सायद त्यसको कुनै अन्त्य थिएन । सायद त्यो कुरा खालि
उनका बारेमा मात्र होइन, सम्पूर्ण विश्व, प्रकृति वा मानवजाति नै प्रश्नको त्यही प्रकारको सिलसिलाबाट गइरहेको थियो। एउटा अन्त्यहीन प्रश्नको सिलसिला ।
उनले कैयौँ बेरसम्म जड र चेतनाको प्रश्नबारे विचार गरिरहिन् । यो कुरा सोच्दासोच्दै उनको ध्यान जीवन र मृत्युतिर गयो । त्यसबारे उपन्यासमा लेखिएको छ– “वास्तवमा त्यो प्रश्न पनि अत्यन्त जटिल र गम्भीर थियो, सायद रहस्यमय पनि । धेरै रहस्यमय । जीवन के हो ? मृत्यु के हो ? जड, चेतना र प्रकृतिसित मृत्युको के सम्बन्ध छ ? उनका मनमा त्यसबारे कैयौँ प्रश्न उठ्न थाले । तर्क र वितर्क । पुनः प्रश्नको एउटा लामो सिलसिला ।”
त्यसबारे दार्शनिकले प्राचीनकालदेखि नै विचार वा छलफल गर्दै आएका छन् । सायद दर्शनको क्षेत्रमा सबैभन्दा बढी छलफल त्यही विषयमा नै हुने गरेको छ । चेतनाको अन्त्यपछि मृत्यु हुन्छ । त्यो ता आम रूपमा स्वीकार गरिएको कुरा थियो तर त्यस सन्दर्भमा यो अत्यन्त विवादग्रस्त प्रश्न थियो : मृत्युपछि चेतनाको पनि अन्त्य हुन्छ वा त्यो निरन्तर कायम रहन्छ ? प्रायशः सबै अध्यात्मवादी दार्शनिकले यो बताउने गरेका छन् कि मृत्युपछि शरीर समाप्त हुन्छ तर चेतना वा आत्मा कायम रहन्छ† आत्मा अमर रहन्छ र त्यसले लगातार आफ्नो चोला बदलिरहन्छ । हिन्दु दर्शनले यो मान्दछ कि जीवनमा गरेका पापपुण्यका कर्मअनुसार आत्माले चोला बदलिरहन्छ र अन्तमा आफ्ना पुण्यकर्मका आधारमा त्यो मुक्त भएपछि ईश्वरमा विलीन हुन्छ । त्यसपछि त्यसले पुनर्जन्म वा जीवन र मृत्युको कष्ट व्यहोरिरहनु पर्दैन ।
पश्चिमी दर्शनमा पनि शरीर र आत्मालाई बेग्लै ठान्ने तथा शरीरलाई अनित्य र आत्मालाई अमर ठान्ने सोचाइ निकै प्रचलित छन् तर संसारमा यस्ता दार्शनिकको पनि उल्लेखनीय सङ्ख्या छ, जसले शरीर र आत्मालाई बेग्लै ठान्दैनन् र मृत्युका साथै चेतनाको पनि अन्त्य भएको मान्छन् ।

जीवन र मृत्युबारे सोच्दासोच्दै जलजलाको ध्यान युनानका प्राचीन महान् दार्शनिक एपिकुरसतिर गयो । त्यस सिलसिलामा उपन्यासमा लेखिएको छ– “उनले सुकरात वा प्लेटोको शरीरभन्दा आत्मा बेग्लै हुन्छ र आत्मा अमर हुन्छ भन्ने विचारलाई अस्वीकार गर्दथे । उनको यो सोचाइ थियो कि मृत्युको भय सबैभन्दा निरर्थक भय थियो । त्यो भयका कारणले नै मानिस दुखी हुन्छ । त्यो भयबाट मुक्त भएपछि नै मानिस वास्तविक अर्थमा सुखी हुन सक्छ । मृत्यु त्यस्तो चिज हो, जसलाई हामीले अनुभव गर्न सक्दैनौँ । जुन चिजको अनुभव नै हुँदैन, त्यसबारे भयभित हुनपर्ने कुनै आवश्यकता छैन ।”
भारतको चार्वाक दर्शनले पनि मृत्युपछि अर्को जन्म हुन्छ भन्ने विचारलाई अस्वीकार गर्दथ्यो ।
जलजलाले पनि मृत्युपछि पुनर्जन्म वा अर्को जीवनको कल्पनालाई सही ठान्दैनथिन् तर सबैजसो धर्म वा आध्यात्मिक दर्शनले जीवनभन्दा मृत्युपछिको जीवनबारे नै बढी ध्यानकेन्द्रित गरेको पाइन्थ्यो । त्यही कारणले धर्ममा स्वर्ग, नर्क, विभिन्न प्रकारका आजापूजा, तीर्थब्रत आदिको चर्चा गरिएको पाइन्छ । वास्तवमा भन्ने हो भने धर्म वा आध्यात्मिक दर्शनको मुख्य केन्द्र जीवनभन्दा बढी जीवनपछिको अर्को जन्मबारे नै हुन्छ । जीवनलाई कसरी सुखी बनाउनेभन्दा अर्को जीवन वा परलोकलाई कसरी सुखी बनाउने ? त्यो विषयमा नै उनीहरूको बढी ध्यान हुन्छ र मानिसको विचार वा क्रियाकलापलाई पनि त्यही दिशामा केन्द्रित गराउने उनीहरूको कोसिस हुन्छ ।
उनको ध्यान मार्क्सको विचारतिर गयो । त्यस सिलसिलामा उपन्यासमा लेखिएको थियो– मार्क्सले “उनले जीवनपछिका सबै भ्रान्त धारणालाई गलत बताउँथे र अस्वीकार गर्दथे । उनको जोड वर्तमान जीवन वा संसारलाई सुखी बनाउनेतिर नै केन्द्रित थियो । त्यसका लागि उनले वर्तमान संसारलाई बदल्नुपर्ने आवश्यकतामा जोड दिन्थे । वर्तमान संसारलाई बदल्न जोड दिनुको अर्थ हुन्थ्यो, संसारमा विद्यमान सबै शोषण, उत्पीडन, अन्याय, अत्याचार आदिलाई समाप्त गर्नु । निश्चय नै त्यसरी वर्तमान संसारलाई बदल्ने कार्य सजिलो थिएन । त्यसका लागि लामो सङ्घर्ष र क्रान्तिको बाटोबाट जानुपर्ने आवश्यकता थियो । संसारभरिका कम्युनिस्ट त्यही दिशामा बढिरहेका थिए र उनी पनि त्यही दिशामा अगाडि बढिरहेकी थिइन् ।”
उनलाई यो सोचेर धेरै नै दुःख लागिरहेको थियो कि संसारभरका जुन कम्युनिस्टहरू संसारलाई बदल्नका लागि प्रयत्नशील थिए, उनीहरू सबै जना नै आफ्नो लक्ष्य पूरा नगर्दै मृत्युको सिकार हुने गर्नुपर्दथ्यो । मार्क्स, एङ्गेल्सदेखि संसारका सबै महान् कम्युनिस्ट नेता वा संसारभरका कम्युनिस्ट कोही पनि मृत्युबाट बच्न सकेका थिएनन् । यो कुरा स्पष्ट थियो कि उनी पनि मृत्युबाट बच्न सक्ने छैनन् ।
मृत्युसम्बन्धी उनको सोचाइको चर्चा गर्दै उपन्यासमा लेखिएको छ– “उनी छिट्टै मर्न चाहँदैनथिन् । उनी लामो समयसम्म बाँच्न चाहन्थिन् । लामो समयसम्म बाँचेर संसारलाई बदल्ने महान् कार्यमा बढीभन्दा बढी योगदान दिन चाहन्थिन् । उनले भर्खर भर्खरै अजितलाई प्रेम गर्न थालेकी थिइन् । उनले लामो समयसम्म उनीसित प्रेम गरेर क्रान्तिको दिशामा सँगै अगाडि बढ्न चाहन्थिन्, जुन दिशामा संसारका लाखौँकरोडौँ कम्युनिस्ट र क्रान्तिकारी अगाडि बढिरहेका थिए ।
तर… तर… । मृत्युको कुनै ठेगान हुँदैनथ्यो । त्यो कुन बेला कताबाट आउँछ ? केही थाह हुँदैनथ्यो । उनको जीवनमा पनि त्यो कुनै बेला कतैबाट पनि आउन सक्थ्यो तर फेरि उनले सोचिन् त्यो कुनै चिन्ता गर्नुपर्ने विषय थिएन । मृत्यु नआउँदासम्म त्यसबारे केही थाहा हुँदैन । त्यो आइहाल्यो भने पनि त्यसपछि त्यसको कुनै अनुभूति हुँदैन । त्यो कुरा सोच्दासोच्दै उनले एपिकुरसले भनेको कुरा सम्झिइन् । मृत्यु नआउँदासम्म त्यसबारे केही थाहा हुँदैन । त्यो आइसकेपछि त्यसको कुनै अनुभव हुँदैन । त्यसकारण मृत्युसित डराउनु व्यर्थको कुरा हो । मृत्युको भयबाट माथि उठेपछि नै मानिस वास्तविक अर्थमा खुसी बन्न सक्छ । त्यसकारण उनले सोचिन्, मृत्युको चिन्ता गर्नुपर्ने कुनै आवश्यकता थिएन । जबसम्म उनी जीवित रहन्थिन्, मृत्युबारे कुनै चिन्ता नलिईकन उनी अगाडि बढ्न सक्थिन् र बढ्नु पनि पर्दथ्यो ।”
जीवन र मृत्युबारे सोच्दासोच्दै उनको ध्यान यो प्रश्नप्रति गयो– आखिरमा मृत्यु भनेको के हो ? जबसम्म कुनै व्यक्ति वा प्राणीमा चेतना हुन्छ, त्यो बेलासम्म ऊ जीवित हुन्छ । चेतनाको अन्त्यपछि मृत्यु अनि के त्यसको अर्थ यो हुन्छ कि जहाँ चेतना छैन, त्यो मृत्यु हो ? त्यो अवस्थामा चेतना नभएका सबै जड पदार्थ सूर्य, चन्द्र, तारा आदि सबैलाई मृत्युको रूपमा लिनुपर्नेछ अनि त्यसको अर्थ यो भयो, मृत्यु विश्वव्यापी छ । पृथ्वी पनि पहिले पूरै जड थियो र पछि त्यसबाट चेतना वा जीवनको उत्पत्ति भयो । त्यसको अर्थ पुनः यो हुन्छ ? मृत्युबाट नै जीवनको उत्पत्ति हुन्छ । एकपल्ट उत्पन्न भइसकेपछि पनि जीवन चारैतिरबाट मृत्युले घेरिएको हुन्छ र मृत्युका विरुद्ध सङ्घर्ष गर्दै उसले आफ्नो अस्तित्व बचाउनुपर्दछ । यो पनि कम महत्त्वपूर्ण कुरा होइन कि चौतर्फी मृत्युको घेराका बिचमा पनि त्यसले लगातार जीवित रहनका लागि प्रयत्न गरिरहन्छ ।
सामान्यतः चेतनाको अन्त्यलाई नै मृत्यु सम्झनुपर्दछ तर चेतना नभएका कैयौँ पदार्थको पनि अन्त्य हुन्छ† जस्तै कि रुखवृक्ष । केही काल बितेपछि उनीहरूको अन्त्य हुन्छ । के उनीहरूको अन्त्यलाई पनि हामीले मृत्यु नै भन्न सक्छौँ ? ग्रहताराको पनि कुनै खास अवधि पुगेपछि अन्त हुन्छ । के त्यसलाई पनि हामीले मृत्युको सङ्ज्ञा दिन सक्छौँ ? सायद मृत्युसित जोडिएका यस्ता अन्य कैयौँ व्याख्या हुन सक्दछन् ।
मृत्युबारे सोच्दा सोच्दै कामरेड जलजलाको ध्यान यो कुराप्रति गयो कि विभिन्न प्राकृतिक घटना, रोगव्याधि, जङ्गली जनावर आदिद्वारा मानिसको जुन मृत्यु हुन्छ, त्यसका साथै मानिसद्वारा नै मानिसको मृत्यु हुने घटना पनि संसारमा कम थिएनन् ।
कामरेड जलजलाको मनमा कैयौँ कुरा आइरहेका थिए र गइरहेका थिए । ती कुरा सोच्दासोच्दै उनलाई लाग्न थालेको थियो कि वैचारिक दृष्टिकोणले उनका धेरै भ्रम हट्दै गइरहेका थिए र उनी एउटी बेग्लै प्रकारकी मान्छे बन्दै गइरहेकी थिइन् । त्यस सिलसिलामा उपन्यासमा लेखिएको थियो– “ती कुरा सोच्दासोच्दै उनलाई लाग्न थालेको थियो, उनी संसारका सबै दुःखकष्टबाट माथि उठेकी थिइन् । अब उनलाई कुनै चिजले दुःखी बनाउन सक्दैनथ्यो । कुनै कुराले भयभित बनाउन सक्दैनथ्यो । यहाँसम्म कि मृत्युले, मृत्युको भयले पनि उनलाई कुनै दुःख पुऱ्याउन सक्दैनथ्यो । मानवजातिको उत्पत्ति नै दुःखकष्ट र आपत्बिपत्का विरुद्ध सङ्घर्ष गर्दै भएको थियो । प्रत्येक पाइलामा मृत्युको विरुद्ध सङ्घर्ष गर्दै त्यसको विकास हुँदै आएको थियो । त्यसकारण त्यही प्रकारको सङ्घर्षमा नै जीवनको सुख थियो र आनन्द पनि थियो ।
यो सोचेर पनि उनलाई धेरै प्रशन्नता अनुभव भइरहेको थियो र उनी धेरै उत्साहित भइरहेकी थिइन कि “अब उनले एउटा विशाल कार्यक्षेत्रमा काम गर्नका लागि कदम बढाउँदै थिइन् । त्यसरी उनको भारत र संसारभरमा पनि चलिरहेको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनसित सम्पर्क हुनेछ । त्यो कुरा सोचेर उनी मनमनै धेरै खुसी भइरहेकी थिइन् । एक प्रकारले भन्ने हो भने उनी अत्यन्त रोमाञ्चित पनि भइरहेकी थिइन् । उनका अगाडि संसारको सिङ्गो कम्युनिस्ट आन्दोलन थियो । उनका मनमा त्यही कम्युनिस्ट आन्दोलनबारे नै कैयौँ कुरा खेल्न थाले ।”
विश्वको कम्युनिस्ट आन्दोलनबारे सोच्दासोच्दै उनको ध्यान यो कुरातिर गयो कि संसारको कम्युनिस्ट आन्दोलन धेरै कमजोर हुँदै गएको थियो । संसारमा विश्वव्यापी रूपमा नै समाजवादी व्यवस्थाको स्थापना भएको थियो तर अब त्यसमा पतन हुँदै गइरहेको थियो । समाजवादका रुस, चीनजस्ता ठुला ठुला किल्ला ढलेका थिए । उनको मनमा यो प्रश्न उठ्यो : आखिर त्यस्तो किन भयो ? त्यसको कारण के हो ? त्यस सिलसिलामा उपन्यासमा लेखिएको छ– “अन्तमा समाजवादको पराजय बाह्य आक्रमणका कारणले होइन, आन्तरिक कारणले नै भएको थियो । चीनमा पनि बाह्य आक्रमणका कारणले होइन, आन्तरिक कारणले नै समाजवादी व्यवस्थाको पतन भएको थियो ।
त्यो आन्तरिक कारण के थियो ? जलजलाको मनमा बारम्बार त्यो कुरा घुमिरह्यो । त्यो आन्तरिक कारण के त्यहाँ भएको समाजवादी वा कम्युनिस्ट पार्टीमा नै अन्तर्निहित ता थिएन ? के त्यो पार्टीको नेतृत्व, कम्युनिस्टको दृष्टिकोण, सङ्गठनात्मक संरचना वा कार्यशैलीमा नै अन्तर्निहित थियो ? उनले कैयौँ बेरसम्म त्यो प्रश्नमाथि विचार गरिरहिन् ।”
ती कुरामाथि विचार गर्दागर्दै उनको ध्यान चारओटा कुरातिर गयो : प्रथम– रुसमा वर्गसङ्घर्ष र सर्वहारा वर्गको अधिनायकत्वमा शिथिलता† द्वितीय– चीनमा “मध्यपन्थी” अवसरवादका विरुद्धको सङ्घर्षमा शिथिलता† तृतीय– समाजमा व्यापक रूपमा घर जमाएको व्यक्तिवादी वा निम्नपुँजीवादी दृष्टिकोण र चतुर्थ– सबै समाजवादी देशमा कम्युनिस्ट पार्टीमा देखा परेको नोकरशाही प्रवृत्ति ।
१. रुसमा उत्पादनका साधनमाथिको व्यक्तिगत स्वामित्व र शोषक वर्गको अन्तपछि स्टालिन अब त्यहाँ वर्गसङ्घर्षको आवश्यकता नभएको निष्कर्षमा पुगेका थिए । त्यसले गर्दा त्यहाँ सर्वहारा वर्गको अधिनायकत्व पनि कमजोर भएर गयो । त्यसको परिणामस्वरूप वितरणको क्षेत्रबाट देखा परेका नयाँ पुँजीपतिलाई अगाडि आउन मौका मिल्यो र त्यसको परिणामस्वरूप रुसमा समाजवाद अन्त र पुँजीवादको पुनर्स्थापना भयो ।
२. चीनमा माओको नेतृत्वमा दक्षिणपन्थी खतराका विरुद्ध कडा र व्यापक सङ्घर्ष चल्यो । त्यस सिलसिलामा महान् सर्वहारा सांस्कृतिक क्रान्ति पनि सञ्चालन गरियो तर मध्यपन्थी अवसरवाद विरुद्धको सङ्घर्षमा शिथिलता देखाइयो । त्यसको परिणामस्वरूप त्यहाँ दक्षिणपन्थी शक्तिले सत्ता कब्जा गर्ने अवसर पाए र त्यहाँ पनि समाजवादको अन्त र पुँजीवादको पुनर्स्थापना भयो ।
३. समाजवादी देशमा उत्पादनका साधनको व्यक्तिगत स्वामित्व र त्यहाँका शोषक वर्गको अन्त भए पनि आम जनतामा व्याप्त व्यक्तिवादी र निम्न पुँजीवादी दृष्टिकोणका कारणले पुँजीवादको पुनर्स्थापनाका लागि मनोवैज्ञानिक आधार तयार पारेको थियो । त्यस प्रकारको मानसिकतालाई हटाउन चीनमा सांस्कृतिक क्रान्ति सञ्चालन गरिएको थियो तैपनि त्यो सफल हुन सकेको थिएन । अन्य देशमा ता त्यस प्रकारको सांस्कृतिक क्रान्ति पनि चलेको थिएन ।
४. विभिन्न समाजवादी देशमा कम्युनिस्ट पार्टी सत्तारूढ भएपछि त्यहाँ कम्युनिस्टमा काफी हदसम्म नोकरशाही प्रवृत्ति बढ्दै गयो । त्यसले गर्दा पनि त्यहाँ समाजवादको जगलाई कमजोर बनायो ।
उपन्यासमा लेखिएको छ– “कम्युनिस्टमा भएको व्यक्तिवादी, निम्नपुँजीवादी वा गैरसर्वहारा दृष्टिकोणबाट सम्भावित प्रतिक्रान्तिकारी खतराप्रति उनको गम्भीर रूपले ध्यान आकर्षित भयो । त्यस अवस्थामा पार्टीको नेतृत्व पङ्क्ति, आमकार्यकर्ता र समाजमा नै सांस्कृतिक रूपान्तरण आवश्यक थियो । त्यसका लागि पार्टी र पूरै समाजमा सर्वहारा सांस्कृतिक रूपान्तरणको आवश्यकता थियो । निम्नपुँजीवादी सोचाइलाई बदलेर उनीहरूको सोचाइमा सर्वहाराकरण गर्नुपर्ने आवश्यकता थियो ।”
कम्युनिस्ट पार्टीभित्र देखा पर्ने गरेका त्यस प्रकारका समस्याबारे सोच्दासोच्दै कामरेड जलजलालाई धेरै दुःख र चिन्ता लागेर आयो । उनलाई यस्तो लाग्यो, दुस्मनका हमलाबाट भन्दा स्वयम् कम्युनिस्ट पार्टीभित्रका विकृतिका कारणले नै कम्युनिस्ट पार्टीलाई धेरै नोक्सान पुग्ने गरेको थियो । विश्व समाजवादी व्यवस्थाको पतनका पछाडि त्यो कारणले पनि ठुलो भूमिका खेलेको थियो ।
कामरेड जलजलाको ध्यान नेपालको कम्युनिस्ट आन्दोलनप्रति पनि गयो । नेपालमा निरङ्कुश राजतन्त्र र पञ्चायती तानाशाही व्यवस्था थियो । त्यसका विरुद्ध कम्युनिस्टले पनि सङ्घर्ष गरिरहेका थिए तर उपन्यासमा लेखिएको छ– “तर उनीहरूभित्र पनि विभिन्न रूपमा पुँजीवादी, निम्नपुँजीवादी वा व्यक्तिगत स्वार्थपरायण दृष्टिकोणले काम गरिरहेका हुन्थे । उनीहरू प्रायः सानातिना व्यक्तिगत स्वार्थका लागि आपसमा लडिरहेका पनि देखिन्थे । पार्टीमा विभिन्न प्रकारका व्यक्तिगत अवसर, महत्त्वाकाङ्क्षा, स्वार्थ आदिका लागि एकअर्काको विरोध गर्दथे । गुटबन्दी गर्ने, कतिपय अवस्थामा निष्क्रिय हुने वा पार्टी परित्याग गर्ने गरिरहेका हुन्थे ।
पार्टी वा पार्टीका विभिन्न नेतृत्वदायी पदमा रहेर वर्षौँ वा दशकौँसम्म काम गरेका कैयौँ व्यक्तिको पनि त्यसरी पतन हुने गरेका थुप्रै उदाहरण थिए । उनीहरू मन्त्री बन्थे । राजदूत, अञ्चलाधीश, सिडिओ, राष्ट्रिय पञ्चायत सदस्य बन्थे वा अरू कैयौँ पदमा पुग्थे । त्यसलाई उनीहरूले आफ्नो जीवनको सफलता ठान्थे ।
“एकातिर सारा संसारलाई बदल्ने र समाजवाद तथा साम्यवादको लक्ष्य प्राप्त गर्ने महान् क्रान्तिकारी लक्ष्य, अर्कातिर, विद्यमान पुँजीवादी, प्रतिक्रियावादी सामाजिक व्यवस्था, मनोविज्ञान वा संस्कृतिसितको सम्बन्ध झ् त्यो सीमाभित्र नै बाँच्नुपर्ने र काम गर्नुपर्ने बाध्यताले वा स्थितिले नै कम्युनिस्टमा दोहोरो चरित्र देखा पर्ने गर्दछ ।”
त्यस सिलसिलामा उपन्यासमा अगाडि लेखिएको छ– “जीवनभरको तपस्या, क्रान्तिको साधना तर पुँजीवादी प्रलोभन वा भयका कारणले कैयौँ कम्युनिस्टको तपस्या भङ्ग हुन्छ । उनीहरूको विचलन हुन्छ । उनीहरू क्रान्तिको बाटोबाट पछाडि हट्छन् । दक्षिणपन्थी अवसरवादी बन्छन् । गद्दार बन्छन् । उनीहरू गैरक्रान्तिकारी उद्देश्य पूरा गर्न लाग्छन् । त्यसैमा रमाउँछन् ।”
कम्युनिस्ट बिग्रेर गएका असङ्ख्य उदाहरण थिए तर विश्व कम्युनिस्ट आन्दोलनको इतिहासमा आफूलाई पूरै क्रान्तिका लागि समर्पण गरेर लागेका कम्युनिस्टको सङ्ख्या त्योभन्दा अझ कैयौँ गुणा बढी थियो र त्यो अरू बढ्दै जानेछ भन्ने कुरामा उनलाई पूरै विश्वास थियो ।
कामरेड जलजलाको ध्यान यो कुराप्रति पनि गएको थियो कि प्रत्येक युगका क्रान्तिकारीमा कैयौँ कमजोरी देखा पर्ने गरेका छन् तर त्यस प्रकारका कमजोरीबाट माथि उठ्दै क्रान्तिकारी आन्दोलन अगाडि बढ्दै गयो । समाजको अवस्थामा परिवर्तन हुँदै गयो । दासयुगको अन्त भयो । सामन्तवाद पराजित भयो । राजतन्त्र समाप्त हुँदै गयो । त्यही प्रकारले पुँजीवादको पनि अन्त हुनेछ ।
त्यस सिलसिलामा उपन्यासमा लेखिएको छ– “विभिन्न देशका कम्युनिस्ट एक प्रकारले बिग्रन सक्छन् । आफ्नो क्रान्तिकारी पथबाट हट्न सक्छन् तर क्रान्तिको प्रवाह लगातार अगाडि बढ्दै जान्छ । भौतिक परिस्थितिले क्रान्तिको आधार तयार पार्दै लैजान्छ । क्रान्तिकारी विचारको अरू उच्चस्तरमा विकास हुँदै जान्छ । त्यो अवस्थामा क्रान्तिको प्रवाहलाई अगाडि बढाउन पुनः नयाँ क्रान्तिकारीहरू पैदा हुन्छन् । नयाँ क्रान्तिकारी पिँढी तयार हुँदै जान्छ ।
“क्रान्ति रोकिन सक्दछ तर त्यो अस्थायी कुरा हो । स्थायी कुरा यो हो : क्रान्तिको प्रवाह लगातार अगाडि बढिरहन्छ । एउटा युगदेखि अर्को युगसम्म ।”
त्यस सिलसिलामा अगाडि लेखिएको छ– “उनलाई लाग्यो, कतै सुदूर अतीतबाट एउटा ज्योति फैलिँदै आएको थियो । त्यो सारा संसारमा फैलिँदै गइरहेको थियो । त्यो आशाको ज्योति थियो । क्रान्तिको ज्योति थियो । उनलाई विश्वास थियो, क्रान्तिको त्यो ज्योतिले सारा संसारमा परिवर्तन ल्याउनेछ । त्यो युगको ज्योति थियो । उनलाई विश्वास थियो, युगको त्यो ज्योतिले नयाँ युग ल्याउनेछ । अन्तमा नयाँ युग ल्याउने छ ।” (क्रमशः)