काठमाडौँ । आज गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने तथा अन्यत्र मध्यम वर्षा हुने देखिएको छ ।
२०८२ भदौ १५ गते आइतबार बिहान ६ बजे जल तथा मौसम विभाग मौसम पूर्वानुमान महाशाखाले सो पूर्वानुमान गरेको हो ।
हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह केही बढेको देखिएकाले देशैभरि मध्यम वर्षाको अवस्था आएको महाशाखाको भनाइ छ ।
आज दिउँसो
दिउसो देशभर साधारणतया बदली रहनेछ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
आज राती
देशभर साधारणतया बदली यथावत् रहनेछ । त्यस क्रममा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थान र बाँकी पहाडी र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।