मीना पुन
तिजपर्व २०८२ को अवसरमा देशविदेशमा रहनुहुने सम्पूर्ण आमा दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दछु ।
हामीले स्थापनाकालदेखि नै तिजपर्वलाई महिलामाथि भइरहेको विभेद, हिंसा, असमानता, अन्धविश्वासको अन्त्य, महिलाको समानता, मुक्ति र राजनीतिक, सामाजिक परिवर्तनसँग जोडेर तिजको कार्यक्रम मनाउँदै आइरहेको छ ।
पछिल्ला समयमा महिलाका पक्षमा केही उपलब्धि प्राप्त भएता पनि समाजमा अझै पनि पितृसत्ता हावी छ । महिलामाथिको हत्या, हिंसा, बलात्कार, बेचविखन, अन्धविश्वास जस्ता घटनामा कमी आउनुको सट्टा झन् बढिरहेका छन् । यस प्रकारको परिस्थितिमा तिजपर्वलाई असफलता, विभेद, विकृति, विसङ्गति, हिंसाका विरुद्धमा सङ्घर्ष गर्ने साधनको रूपमा लिनपर्दछ । यी सबैमा परिवर्तनसँग जोडेर मनाउनुपर्ने आवश्यकता छ ।
आज तिजसँग जोडिएको अन्धविश्वास, विकृति, भड्काव, तडकभडकले यसको मौलिकता गुम्दै गइरहेको छ भने अर्कोतर्फ धनी र गरिबबिचको खाडल झन् गहिरो बन्दै गइरहेको छ । तिजलाई तडकभडक, अन्धविश्वास, विकृतिबाट मुक्त गरेर यसको मौलिकताको रक्षाका लागि जोड दिनु आवश्यक छ ।